१६ चैत्र २०८० शुक्रबार
अन्य

खप्तडका लेकबेसी

युवराज नयाँघरे

दुई रात र तीन दिनको बास भो !
खप्तडमा बसुञ्जेल अनौठो भइरह्यो। दिनभरि बसुम्–बसुम् हुन्थ्यो, रात परेपछि कहिले यो ठाउँ छोडुम्–छोडुम् लाग्थ्यो।
    ‘उज्यालो नहुँदै टाप ठोकिन्छ !’
    मनमा कुरा खेल्थे रात गहिरिँदै जाँदा।
    ‘बिहान होस् मात्र भागिन्छ याँबाट !’
    बुरुक–बुरुक हुन्थ्यो छाती।
बिहानदेखिको लम्काइले झमक्क साँझमा खप्तड पुगेथेँ म। डोटी, अछाम र बाजुराबाट पनि खप्तड जाने बाटा रहेछन्। तर म पुगेको थिएँ– बझाङको चैनपुरबाट।

    वैशाखको पुछार, दुई हजार पचहत्तर साल। धेरै चोटि पुग्ने इच्छा, अनेक खेप जाने हुटहुटी, प्रशस्तै पल्टको प्रयत्न र मनग्गे चेष्टापछि म पुगेको थिएँ– खप्तड।
    झमक्क साँझमा खप्तड पुग्दा आँखाका नानी पनि चलेनन्। परेली पनि झिम्किएनन्। आँखा भित्रको ज्योति पनि हल्लिएन। एकोहोरो ढप्प, शान्त, चुपचाप र मौन–मौन भइरहे... भइरहे...।
    ‘यो घोडा दाउने !’
रामबहादुर थापाले पाटनको नाम चिनाए।

    ठूलो र आँखाले नछिचोल्ने पाटन टुप्लुकियो। घोडाका बथान थिए पाटनभरि। कति त घोडामाथि डोरी न लगाम– त्यत्तिकै जगर समातेर रल्लिइरहेथे। कति घोडा वरिपरि हल्लिइरहेथे।
    साँझमा खप्तडको लेक औधी मायालु लाग्यो।
    पर–पर बादलको लर्कोले घेरिरहेथ्यो। हरिया जङ्गलले जतिसुकै बारबेर पारेको लाग्थ्यो। फाँटिला टार र बिचित्रका पाटनले आँखाहरु ट्वाल्ल परेका प¥यै भए। खुट्टा गाडिएका गाडिएकै भए। मनमा खुसी, आनन्द र उत्फुल्ल छचल्किरह्यो... छचल्किरह्यो...।
    अचम्म–अचम्मका थुम्काहरु आइरहे। चिल्ला–चिल्ला थुम्काहरु खड्कुलामा चामल, पीठो वा माटो भरेर घोप्ट्याएजस्तो– औधी कलात्मक, साह्रै मनमोहक, ज्यादै लोभलाग्दा।

    बाटो पूर्वतिर थियो।
    ढुङ्गा छापेर हिँड्न सजिलो पारिएको थियो। देब्रे र दाहिनेतिर गजबका पुन्टे थुम्काहरु अग्लिएका थिए। भुइँभरि गलैंचा ओच्छ्याइए जसरी फुलेका थिए बुकी र अरु सेताम्मे पूmलहरु।
    चिमाल फुलेर थुम्काहरु सिँगारिएका लाग्थे। स–साना सङ्ला नदी कुलकुलाइरहेका देखिन्थे। ढुंगाहरु पनि कलात्मक लाग्थे। ढुंगामा अनौठा रेखा, बुट्टा, रङ र आकारले छक्क परिरहेको थिएँ म।
    एउटा थुम्का र गोरेटो हिँडिनसक्दै फेरि बेग्लै खोँच र टार टुप्लुकिन्थे। पानी बेस्सरी ओइरिन खोजिरहेथ्यो।
    सेनाको ब्यारेक पुगी हामी दक्षिण–पश्चिमको भिरालो भएर एकोहोरो समथर हिँडिरहेका थियौँ। घ्वाप्पै अन्धकारले चारैतिरबाट छोपिरहेको थियो।

    ‘खप्परेश्वर, त्रिवेणी, सहस्रलिङ्ग, खुँडुली भुदिली माईका मठ र मन्दिर वरिपरि छन्।’
    थापा भट्याइरहेका छन्।
    प्रकृति नै ब्रम्हा, प्रकृति नै विष्णु र प्रकृति नै महेश्वर देखिरहेको छु म। यी अनौठा गुफा, निर्मल नदी, सुकिला थुम्कामा देउता देखिरहेको छु। यी अविचल टारहरु, यी स्वच्छ पाटनहरु र यी अलौकिक खोंचहरुमा देवी देखिरहेको छु। देवीदेउताहरु त सुन्दरतामा, उज्यालोमा, पवित्रतामा र निश्चलतामा भेटिँदा हुन्। यी सबै कुरा म अहिले खप्तडको लेकमा भेटिरहेको छु।
    ‘सितापाइला, केदारढुङ्गा, केदारधारा, दुर्गास्वरुपिणी माताका मन्दिर नि वरपरै छन्।’
    थापाको भक्तिभाव अजय रुपमा पोखिइरहेको छ।
    म त चिसो हावा र स्याँठले लछारिएको छु। मास्तिरको आकाश नघोप्टियोस् भनेर खुट्टा फट्कारेको फट्कारेकै छु।
    ‘म चैं खप्तड दह, नागढुङ्गा, छिन्टे ढुङ्गा, रोटा चिल्टे, हरिनाचरी जान्छु–जान्छु !’
    यी ठाउँबारे दिउँसो लोखडामा पानी पिउँदा थापाले बताएथे। मेरो रहर जानेर थापा मख्ख परे।
    सँगै थिए मोतीराज। अरु साथीहरु कोही अघि हुन्थे। कोही परै बसेर सुसेला हालिरहेका हुन्थे। कोही पैताला घिसारिरहेका हुन्थे। हारजित भइरहेको थियो— बाटो काट्ने र बिसाउनेको।

     मेरा पाइलामा पाइला थपिरहेथे उनीहरु। तर यी सबैका पाइलालाई एउटै सुर, सास र शक्ति दिएका थिए पद्मराज जोशीले। जसको सुकिलो भावना, चोखो निम्तो र हार्दिक व्यवहारले तानेर म खप्तडको लेकमा खुट्टा लम्काइरहेको छु। छातीमा खुसी भरिरहेको छु। ओठमा उल्लास फुलाइरहेको छु।
    ‘त्रिवेणीधाम बास होला !’
    बाटामा थापा बोलिरहेका छन्।
हामी लम्की–लम्की हिँडिरहेका छौँ। हावा र सिरेटोले हिर्काउन छोडेको छैन। स्याँठभन्दा चाँडचाँडो दगुरेका छन् रगतका सिर्का। आँखाका हेराइ हावाको वेगभन्दा तीव्र भएर हेरिरहेका छन्। मुटुको धुकधुकीले सेरोफेरो पढिरहेका छन् छिटोछिटो।
    निकै तेर्छो लम्केपछि फाँटमा पुगियो। लस्करै तीनवटा धर्मशाला टुप्लुकिए। सबैभन्दा पूर्व र थाप्लामा रहेका टहरोमा हामी पसिनसक्दै असिना पानी बर्सियो गरङ–गरङ। लगातार पानी परिरह्यो। असिना बर्सिएर घुँडा–घुँडासम्म सेताम्मे भुइँ छुन पुग्यो।
    जाडो बेपत्तैले भयो।
    एउटै टहरोमा जोगी, सन्न्यासी, चिकित्सक, प्रहरी, कवि थुप्रेका थियौँ। हार लाएर सुते पनि जाडो बेपत्तै भयो। मुटु र भुँडी दुवैमा पीडा थियो जाडो र भोकको। अरु शरीरका थकाइ र हैरानीको बह पोख्ने पो कसलाई !
०००
    आँखाको विष मारेर बिहान चारै बजे उठेँ म। चराको गायन र स्वरले आँखा चिम्लिरहन पाइनँ मैले।
    बिहानको खप्तड अद्भूत थियो। वरिपरिका थुम्का झन्–झन् चिल्ला थिए, सुकिला थिए र भरिला थिए। हरिया डाँडा झन् राम्रा, झन् अनौठा र झन् उत्पातका देखिएथे।
    घाम बढ्दै गएपछि खप्तडका पाटनमा गाई, भैंसी, घोडा र बोकाबाख्राका बथान आउन थाले।
    म आगो तापिरहेको थिएँ। अघिल्लै दिनदेखि असिनपसिन बर्कबहादुर रोकाया टुप्लुकिए।
    ‘चरनका नियम छन्। बोकाबाख्राको २ रुपैयाँ, घोडा र भैंसीको १० रुपैयाँ तिर्नुपर्छ गाउँलेले मासिक।’
    रोकायाले औंल्याए।

    घामले लुकामारी खेल्दो रहेछ खप्तडमा। कुइरोले नृत्य देखाउँदो रहेछ परिपरिको खप्तडमा। हावाले किसिम–किसिमको धुन सुसेल्दो रहेछ खप्तडमा। नीलो आकाशले यी सबै पाटन, थुम्का र खोंचको अद्भूत संसार हेरेर आफैँ–आफैँ हरक्षण पग्लिइरहँदोरहेछ... ...... मग्न भइरहँदो रहेछ... कोमल भइरहँदो रहेछ...।
    एक–एक गर्दै साथीहरु दक्षिणको चेपतिर लागे। मैले पनि तिनको पाइला नियाल्दै गएँ। बाटाभरि गंगा दशहराको मेलाका लागि सेउला र काठे झुप्रा ठडिइरहेथे। ढुङ्गेनी चम्काले चुला बनिरहेथे। बडे–बडेमानका मूढा जोतेर आगो दन्किइरहे। मानिसहरु मेलामा हुने कमाइ र मजाको हिसाबकिताबमा व्यस्त थिए।

    एकोहोरो पश्चिम–दक्षिण भएर म तल नदी किनारमा पुगेँ। नदीको दोभानलाई त्रिवेणीधाम भनिँदोरहेछ। त्यहाँ २–३ वटा मन्दिर थिए। वरिपरि बिचित्र–बिचित्रका ठूला चट्टान र गुफाले त्रिवेणी अनौठो पनि लाग्थ्यो।
    जताततै मान्छेका खप्पड घोप्टेका लाग्थे। जतासुकै खपटैखपटा घोप्टिएका हुनाले यो ठाउँको नाउँ खप्तड भा’ थियो कि– कुरा खेले मनमा।
    दिउँसोतिर थापासँग खप्तड दह गएँ म। सेनाको ब्यारेकबाट यसो पूर्व उत्तर भएर गएको गोरेटोबाट निकै लम्केपछि म दह पुगेथेँ। लेकको दह उल्काको थियो। कञ्चन पानी, सफा लहर र तरङ्गमा उम्लिएको चित्रले आँखासँग प्रश्नहरु गर्नै सकेनन्।
    म हृदय खन्याएर उभिइरहेँ... उभिइरहेँ...।

    फर्किँदा हत्ताजडी, गनाल्नो, चिराइतोका बिरुवा चिनाए थापाले। त्यस्तै सतुवा, रत्ताजडी, कटुस, अबिस, नग्रेबिस र कालकुट विषका पोथ्रा पनि पटक–पटक देखाए उनले।
    हामी फर्किँदा एकैपटक त्रिवेणी भएर आएछौँ। त्यता घना वन थियो। उनले मलाई भोजपत्र, लोठ सल्लो, धुपी सल्लो, लेक सल्लो, निगालो, बाघबुट्टेका रुखहरु चिनाएथे।
    लेकमा मनै अचम्ममा पर्ने थुप्रै थुम्काका तह छन्। पाटनै पाटनको खात भने नि हुन्छ खप्तडलाई। थुम्कैथुम्का श्रृङ्खला भने नि हुन्छ खप्तडलाई। नदी नै नदीको गुजुल्टो भने नि हुन्छ खप्तडलाई।
    २२ पाटन, ५२ झोती (थुम्का) रहेछन् खप्तडमा।

    हामी अनौठा थुम्काहरु ओर्लेर तल झरेका थियौँ। त्यहीँ भेट भए हर्कबहादुर विष्ट।
विष्टले बताए—
    ‘३६ दह छन्।’
    ‘७० वटा नदी यहीँ बग्छन्।’
    ‘बाह्रवटा गुफा पनि पुग्न सकिन्छ यहीँ नै।’
    विष्टले हाते लट्ठीले चारै कुना देखाएर भने।
    खप्तड पाँच क्षेत्रमा बाँडिएको रहेछ। रहस्य, अचम्म र छक्क पर्छन् आँखा। त्यस्तै अनौठा र उदेक मानेर छातीमा नौलो कुतकुतीले लखेट्न छोड्दैन।
    त्यो राति झन् ठूलो असिना पानी बर्सियो। हावा र हुन्डरीले आकाशमा थुप्रिएको असिना भुइँमा खसाले। राति अबेरसम्म असिना खसिरहे बरर्र बरर्र।
०००
    ‘तपाईंहरु के गर्नु हुन्छ ?’
    ‘म चैं खप्तड बाबाको आश्रमतिर लागेँ है !’
    तेस्रो दिनको बिहानै मैले ताउरमाउर देखाएँ।
साथीहरु सकेसम्म गुजुल्टिएर टहराभित्रै बसिरहन्थे। बाहिर निस्किहाले आगो ताप्ने वा खोकिलामा हात घुसारेर लेकाली हावा खाइरहेका भेटिन्थे। त्यै भएर मैले आपूmलाई लागेको कुरा भन्दिएँ।
    ‘दाइ भीमलडी र भीमघट्टतिर जाने कि ?’
    मोतीराज बम पल्लो कुनाबाट बोले।
    म जुत्ता कस्दै बाहिरिएँ।

फेरि ढोकातिर मुन्टो छिराएर भनेँ—
    ‘म बाबाको आश्रम पुग्छु। जाने भए बेर नगर्नु।’
    तलतिरै अल्याङतल्याङ गरिरहेँ म। केही समयमा साथीहरु नि आए। अनि खोलाको तीरैतीर सेनाको छाउनीतिर लाग्यौँ। बाटामा सेनाका जवानहरु पाल, लट्ठा, चकटी र तन्ना बोकेर आइरहेका भेटिए।
    अघिल्लो दिनको असिना पानीमा धेरै जना तीर्थालु बेस्सरी चुटिएको त्यही सुनेँ मैले। कति त रातभरि निथाचूर्ण भिजेर एकलास जङ्गलमै बस्न पुगेका रहेछन्।

    बाटामा धाप, सिम र पोखरी खुबै भेटिए। थलथले टार नाघ्दै हामी गइरहेथ्यौँ। कति ठाउँमा घाँसे चौर मासिएथे। आँखा नछिचोलिने टारमा पानीका दह भेटिन्थे।
    ‘हामी बाटो कसरी देखौँला भाइ ?’
    मैले मोतीलाई भनेँ।
    हराइएला भन्दा पनि बेलामा आइएन भने बित्यास पर्ला। फेरि वन–वन भट्किएर हिँड्नु परे के गति होला ?
    सेनाका जवानले आश्रम पुग्ने बाटो बताए पनि हामी अल्मलिइहाल्यौँ। फेरि पाटनमा घाँस, हिलो र दबदबे दहले सजिलै बाटो पहिल्याउन सकिन्न्थ्यो।
    उत्तर–पश्चिमको थुम्का ठाडै उक्लिन लाग्दा नाम्ला र डोका बोकेका दुई जना युवतीहरु भेटिए।
    मोतीले भाका मिलाए।
    ‘बाटो देखाउने भए हिँड !’
    तिनले थोरै आनाकानी गरे।
    घर फर्किनु पर्ने, गहुँ काट्न जानु पर्ने, अलमल गरे असिनापानीमा पर्नुपर्ने कुरा बताए।
    ‘बाटो देखाइ देऊ। बेलुका त्यस्तै परे यतै बस्नु। संसार अट्ने ठाउँमा तिमी दुई अट्न के गाह्रो।’
    बमले आत्मीयता पोखे।
    अनि उनीहरु हामीलाई बाटो देखाउन थाले। जङ्गलको बाटो छ घरी उकालो, घरी तेर्छो। घरी ओरालो र घरी तेर्पे। रातभरिको पानीले गोरेटो चिप्लो न चिप्लो छ।

    बूढा, पुराना रुख ठाउँ–ठाउँमा लडेका छन्।
    पश्चिम र उत्तरको सेपिलो डाँडोलाई राम्रैसँग फन्को मारेपछि हामी माथि थुम्कामा पुग्यौँ। वरिपरि घना वन भए पनि आश्रम भए ठाउँमा खुल्ला टारजस्तो थियो।
    एउटा ठूलो घर अघिल्तिर हामी पुग्यौँ।
    ‘यही हो खप्तड बाबाले ४२ वर्ष बसेको घर !’
    काठैकाठको एक तले घर अघिल्तिर हामी पुग्दा आश्रम कुरुवाले बताए। रातो काठे बार थियो। बाहिरको बरण्डामा खप्तड बाबाको सालिक थियो। त्यहाँ मैले श्रद्धापूर्वक भाव चढाएँ, मन अर्पें र आपूmलाई एकपटक बालक तुल्याएँ।
    सेतो कमेराले लिपेको घरमा माथि ढुंगाको छानो थियो। घर अघिल्तिर अनेकौँ पूmलहरु सुवास छर्न आतुर देखिन्थे। अलिक दक्षिणतिर सम्म टार थियो। त्यहाँ हेलिकोप्टर ओराल्न मिल्ने सङ्केत दिइएको थियो।
    ‘वीरेन्द्र राजा आइरहन्थे !’

    ‘खप्तड भनेर चिनाएकै स्वामी र राजाले हो !’
    ‘अरुले खप्तडको नाममा आपूmलाई बनाए, चिनाए !’
    एकजना दाह्री र लट्टेवाल जोगीले भँडास पोखे। शायद हाम्रो हुलमा नेता वा ठालुको अनुहार कसैको हुँदो हो।
    आश्रम पुगेर झर्दा बाटो अर्कै परेछ। ओरालो र चिप्लो। निकै डराएर पाइला सार्नु पथ्र्यो। अलिक तल आएपछि अर्को कुटी पनि भेटियो।
    तीन–चार जना साधुहरु धुनी बालेर बसिरहेथे।
    ‘यो एकलासमा के खान्छन् यी। न अन्नपात, न किन्ने ठाउँ छ।’
    ‘यति पवित्र हावा। यस्तो चोखो पानी, यी शुद्ध वनस्पति। यति खाएर त दीर्घायु होइन्छ।’
    धुनी फुकिरहेका जोगीले मेरा कुरा सुनेर भरर्र बोले।
    मैले सुनेँ मात्र। जवाफ किलकिलेतिरै फर्काएँ।
    बाटाभरि खप्तड बाबाका अनेक किस्साहरु सम्झिएँ। विचार विज्ञान, धर्म विज्ञान जस्ता अमूल्य ग्रन्थका लेखक परमहंश सच्चिदानन्द स्वामीले यसै आश्रममा २००५ सालदेखि २०५३ सालसम्म अध्ययन, चिन्तन र मननमा समय लगाएथे।
    हामी ओरालो झरेर तल केदारधारानिर आइपुग्दा विष्ट टुप्लुकिए। तिनले सुकी दह, बुकी दह, खप्तड दह, फापर दह, खापर दह पुगे जाती हुने बताए।

    ‘चुन्नुमुन्नु दह नि पुग्नु भएन ?’
    विष्टले सोधी त हाले।
    सबै जिल्ल प¥यौं। मैले पनि मुन्टो हल्लाएर अरुसँग मिसिनु प¥यो।
    खोला तरेर पाटन आइपुग्दा हर्कबहादुरले दक्षिणतिरको अग्लो डाँडो देखाएर भने– ‘सहस्र लिंग यहाँको सबभन्दा अग्लो भूमि !’
    ‘होचो नि ?’
    मैले सोधिहालेँ।
    ‘चौखुट्टे !’
    लट्ठी उचालेर उनले भने।
    यताउता गर्दै दिन बित्यो। मैले पश्चिमतिरका ‘छाना’ तिर गोठालासँग बझाङी बोली पनि टिप्न खोजेँ। तर एकदिने मेरो चेष्टा टिम्मुर खाएको जिब्रो जस्तो यताउता भइरह्यो।
    ‘पानीले गोद्ला। असिना थुप्रेलान् टुप्पीभरि।’
    गोठालाहरुले सतक्र्याएपछि म धर्मशाला आएको थिएँ।
    नभन्दै साँझ पर्दा नपर्दै असिनापानी चम्किहाल्यो। हुन्डरी र स्याँठले हामी गुजुल्टो परिहाल्यौँ। चिसा ढुङ्गा र लेकाली फुइँकीले ज्यान तात्न घण्टौँ लाग्यो।

    राति भारी कस्दै गर्दा मोतीले सोधे– ‘दाइ, उज्यालोमा लाग्ने होइन र ? अहिले नै पो तयारी देख्छु त ?’
    ‘हो जाने त भोलि बिहानै हो। झिसमिसेमै बिदा हुनु छ।’
    असिनापानी थामिएपछि एकचोटि खप्तडलाई टहरा बाहिरबाट हेरेँ मैले।
    राति आकाशमा ताराले निहुरेर यी थुम्कामा मायालु स्पर्श गरिरहेथे। बादल तल–तल ओर्लिएर तिख्खर माया पोखिरहेथे।
    खप्तडको चिसोले मेरो मुटुमा भ-यो पिरतीको तातो–तातो ! ०००

प्रकाशित: २२ जेष्ठ २०७६ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App