१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सबैकी प्यारी, रामप्यारी

ज्योति श्रेष्ठ
देब्रे हातमा काँटी (स्विटर बुन्ने औजार),  दाहिनेमा धागो। हातको सहायतामा एक सुरले धागो सर्काउँदै त्यसलाई काँटीले बेर्दै छिन्। झट्ट हेर्दा सामान्य व्यक्तिभन्दा अलि भिन्दै देखिन्छिन् उनी। काम गर्ने शैली पनि सामान्य मानिसको भन्दा भिन्दै छ। उनी हुन्, बनेपा नगरपालिका वडा नं ८ की रामप्यारी पोटे अवाले।

उनको दाहिने हातको कुहिनाभन्दा तलको भाग छैन। एक हातको भरमा सबै काम गर्न सक्ने क्षमता उनमा छ। उनले यसरी नै काम गरेर उद्यम क्षेत्रमा आफ्नो पहिचान छुट्टै बनाएकी छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनपछि उनी बनेपा नगरपालिका वडा नं ८ मा महिला वडा सदस्यको रूपमा जिम्मेवारी पाएकी छन्। काभ्रे उद्योग वाणिज्य प्रवद्र्धन संघअन्तर्गत महिला उद्यमी समितिकी अध्यक्षलगायत अन्य संस्थामा उनको सक्रिय सहभागिता छ। ‘समय मिलाउने भनेको आफैमा भरपर्छ,’ उनले हाँस्दै प्रसंग जोडिन्, ‘बिहान घरधन्दा सकेर दिनहुँ एकपटक वडा कार्यालय जान्छु। विभिन्न कार्यक्रमको निमन्त्रणा हुन्छ। त्यहाँ पनि सहभागी हुनैप¥यो। जिम्मेवारी लिएपछि निभाउन सक्नुपर्छ।’

बिहान बेलुकाको समय घरधन्दामा नै बित्छ उनको। दिउँसो फुर्सद मिलेको समयमा स्विटर बुन्ने गर्छिन्। तर, पहिलाको तुलनामा अहिले अलि कमै बुन्ने गर्छिन्, ढल्किदो उमेरका कारण। यिनै कारणले गर्दा पनि अहिले हप्तामा दुई मात्रै स्विटर बुन्न भ्याउँछिन्। पहिला आफूले गर्न सक्ने बेलामा ३ दिनमा २ स्विटर समेत बनाउने गरेको, हस्तकलामा गमला, ब्याग, ढाका बनाएको अनुभव उनीसँग छ। सिलाइ–बुनाइको काम उनले समुदायका अन्य बेरोजगार महिलालाई पनि दिएकी छन्।

यसअघि आफू राजनीतिक क्षेत्रमा पनि जोडिन्छु भनेर उनले कहिल्यै सोचेकी थिइनन्। २०५४ सालमा स्थानीय तहको निर्वाचनको तयारी हुँदै थियो। महिला वडा सदस्यकोे लागि सक्रिय र सक्षम महिलाको खोजी भइरहेको थियो। त्यतिबेला रामप्यारी उद्यमका क्षेत्रमा मात्र नभएर  समाजसेवामा पनि उत्तिकै अब्बल थिइन्। स्थानीयले नै हौसाएपछि नेपाली कांग्रेसबाट बनेपा नगरपालिकाको साबिक वडा नं ७ मा महिला सदस्यको लागि उनले उम्मेदवारी दिइन्। उनको कामको विशेषता र फरक क्षमताले गर्दा पनि स्थानीयले उनीबाट केही अपेक्षा राखी विजयी बनाए। वडाअध्यक्षको भन्दा करिब तीन सय मत बढी पाएर उनी निर्वाचित भएकी थिइन्। आफू निर्वाचित भएपछि उनले महिला सशक्तीकरणमा विशेष जोड दिइन्। महिलालाई आत्मनिर्भर बनाउन हस्तकला र सीपमूलक तालिम प्रदान गर्न समन्वय गरिन्। उनका कार्य र योगदानप्रति नागरिकको जनविश्वास बढ्दै गयो। यहीँ विश्वासले उनको लागि अर्को बाटो खुल्यो।

२० वर्षपछि २०७४ सालमा स्थानीय तहको चुनाव भयो। हाल बनेपा नगरपालिका वडा नं ८ को महिला वडा सदस्यको लागि उनले फेरि पनि नेपाली कांग्रेसबाटै उम्मेदवारी दिइन्। यसपटक पनि उनलाई सफलता हात पार्न कठिनाइ भएन। ‘पहिलाको जसरी जनताको विश्वास जित्न अहिले निकै गाह्रो देख्छु,’ उनले सुनाइन्, ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनिरहँदा अहिले आफ्नै हातमा अधिकार छैन। नगरले हामीलाई अधिकार दियो। तर बजेट पर्याप्त दिएन। भूगोल र जनसंख्यालाई हेर्दा यो नगरकै सबैभन्दा ठूलो वडा हो। पर्याप्त बजेट नहुँदा बितेको दुई वर्षमा सोचेअनुसार केही गर्न नसक्दा निकै दुःख लागेको छ। हामीले यहाँका नागरिकलाई एउटा सीपमूलक तालिम पनि दिन सकेका छैनौँ।’

अहिले जनताले पनि उनीबाट पहिलाको जस्तै अपेक्षा राखेका छन्। ‘उहाँले समुदायमा धेरै राम्रो काम गर्नुभएको छ,’ एक स्थानीयले भने, ‘पहिला जनप्रतिनिधि हँुदा पनि जनताकै हितका लागि काम गर्नुभएको थियो। अहिले पनि त्यस्तै गर्नुहुन्छ भन्ने आशा राखेका छौँ। फरक क्षमता भए पनि उहाँले उदाहरणीय काम गरिरहनुभएको छ।’

दुर्घटनापछि पढ्ने अवसर
राजनीतिक र उद्यमका कुरा गर्दा उनले आफ्नो हात घुमाउँदाको घटना सुनाइन्। २०३६ सालमा उनको जीवनकै अविष्मरणीय पल। त्यतिबेला उनको उमेर १३ वर्ष थियो। जनै पूर्णिमाको दिन अलि व्यस्त थिइन्। बिहान १० बजेतिर तोरी पेल्न मिलमा पुगेकी थिइन््, घरबाट झन्डै सय किलोमिटर पर। त्यसैबेला मेसिनमा परेर उनको एक हात गुम्यो। त्यो दुर्घटनाले गर्दा नै उनले पढ्ने अवसर पाइन्। शारीरिक रूपमा अपांग भएपछि भोलि केही गर्न सक्दिनँ भनेर परिवारले पढाउने निधो गरे। पढाइमा उनले त्यति समस्या भोग्नुपरेन। पहिलो र दोस्रो स्थान ल्याउँदै शैक्षिक क्षेत्रमा सफलता प्राप्त गर्दै गइन्। तर पछि एस.एल.सी मा भने उनलाई सफलता प्राप्त गर्न निकै कठिन भयो। ‘थोरै अंक नपुगेर पास हुन सकिन,’ उनले भनिन्, ‘पढ्ने जाँगर पनि हरायो। त्यतिकैमा पढाइलाई बिट मारे। त्यतिबेला पढाइलाई  प्राथमिकता दिइँदैन्थ्यो।’

श्रीमानको साथले थपेको उर्जा
पढाइपछि व्यापार व्यवसायमा आबद्ध भइन्। उनीहरूको सानो होटल थियो। होटलमा सोही ठाउँकै श्यामकुमार अवालेको दैनिक आवतजावत हुन्थ्यो। दिनहुँ भइरहने भेटघाट प्रेम सम्बन्धमा परिणत भयो। प्रेम सम्बन्धमा रहेको १ वर्षपछि उनीहरूले भागी विवाह गरे। विवाह अघिदेखि नै हरेक कार्यमा उनलाई पतिले साथ मिलेको थियो। फरक क्षमता भएकीसँग विवाह गर्नु नै जीवनको लागि ठूलो योगदान भएको बताउँदै उनले भनिन्, ‘आज यहाँसम्मको सफलता पनि उहाँ (पति)कै कारणले पाइएको छ। यो सफलताको श्रेय पनि उहाँलाई पनि जान्छ।’

विवाहपछिका दिन पनि उनका लागि अप्ठ्यारा भएनन्। परिवार पनि उस्तै बुझ्ने। उनले चाहेका हरेक कदममा साथ र समर्थन जनाउने। ‘आवश्यक परे मात्र सहयोग माग्छु,’ उनले भनिन्,  ‘सबै काम प्रायः म आफैले गर्ने गर्छु। त्यस्तै सक्दै सकिनँ भने मात्र परिवारमा सहयोग माग्छु।’

प्रकाशित: ११ जेष्ठ २०७६ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App