सत्यमोहन जोशी, संस्कृतिविद्
तपाईको विचारमा सहर के हो ?
इतिहास, मौलिकतासहित जिउँदो सभ्यता बोकेको ठाउँलाई नै सहर मानिन्छ। सहरको परिभाषा ठाउँ अनुसार र त्यहाँको वनावट अनुसार गर्न सकिन्छ। उपत्यकाकै कुरा गर्दा यहाँको सहर भनेको नितान्त मौलिक सहर हुन्। यी सहरभित्र अदभूत कला संस्कृति छ। यहाँको भूमिलाई कलैकलाको भूमि भन्न सुहाउँछ। तर, जमाना फेरिँदै जाँदा सहरको परिभाषा, रहनसहन र भेषभूषामा पनि धेरै–थोरै फरक आएको छ। सहरमा अलि ज्यादा तडकभडक देखिन थालेको छ। उपत्यकाकै कुरा गर्दा यहाँका कला संस्कृति र रैथाने केही सभ्यता मासिएका छन्, केही जोगिएका छन्। पौराणिक र हिन्दू मान्यता अनुसार सहरमा देवी देवताका पीठ, देवालय हुन्छन्। हिजोको पुस्ताले सिर्जेको मौलिक परम्परा जीवितै हुन्छन्।
अहिले तपाईंले जे–जे भन्नुभयो, ती सबै पक्ष हाम्रा सहरमा पाइन्छन् त ?
पाइँदैन, हाम्रा सहर मिश्रित किसिमले विकास भइरहेका छन्। समाज र सहर विकसित हुने क्रममा हाम्रो पुरानो मौलिक कला र संस्कृतिभर क्रमशः लोप भए। जीवनसँग जोडिएका कतिपय कला संस्कृति हराए नै। यो निकै दुःखको कुरा हो। ५० वर्षअघि ध्यान नदिँदा अहिले सहरको रूपै बिग्रियो। कम्तिमा शिक्षित वर्ग र जिम्मेवार निकायमा बस्नेले विकास निर्माणका काम गर्दा संस्कृति बचाउतिर लागेको भए आज यो विरासत देख्नुपर्ने स्थिति हुने थिएन। आधुनिक सेवा–सुविधा मात्रै थपिए। तर, पुराना मौलिक कला संस्कृति बचेनन्। यो मानवीय कमजोरी हो।
तपाईं उपत्यकाकै रैथाने हुनुहुन्छ, कस्तो थियो त्यतिबेलाको काठमाडौं ?
आजभन्दा ७०÷८० वर्षपहिले पनि काठमाडौं उपत्यका अहिलेभन्दा धेरै भिन्न थियो। जीवनशैली ग्रामीण थियो। अहिलेजस्ता अग्ला भवन थिएनन्। अहिले सिमेन्टका घर ठडिएका ठाउँमा उतिबेला धान, मकै, कोदो, फापर, तोरीलगायत अन्न उब्जाउ हुन्थ्यो। धेरै ठाउँमा चउर थियो। चउरमा उपत्यकावासीले गाई चराउने गर्थे।
ऊबेलाको उपत्यकालाई कसरी सम्झनुहुन्छ ?
त्यतिबेलाको उपत्यका निकै स्वस्थ थियो। सबैतिर हराभरा थियो। खेतीयोग्य समथर फाट थिएँ। खानेपानीका धारा थिए। अहिले उपत्यकाका बाहिरका गाउँमा पाइने परिवेश पहिला काठमाडांैमै थियो। पुरानो काठमाडौं सम्झँदा रुन मन लाग्छ। समय परिवर्तनसँगै पुराना बस्ती मासिए। पुराना कला र संस्कृतिको संरक्षण गर्ने कोही भएन। हाम्रा खेतीयोग्य जमिनमा सिमेन्टका भवन ठडिए। नेपाली कला र सीपले निर्माण गरिएका वस्तु नासिए।
३० वर्षअघिसम्म तपाईं बसोबास गर्दै आएको पाटन क्षेत्र कस्तो थियो ?
३० वर्षपहिलेसम्म पाटन मंगलबजारबाट जावलाखेलको चिडियाखानामा जनावर कराएको आवाज सुुनिन्थ्यो। दिउँसो अपराह्न्नतिर चिडियाघरमा सिंह कराएको आवाज आउँथ्यो। घरबाट उत्तर र पूर्वका सेता हिमाल देखिन्थे। अहिले गगनचुम्ने भवन बने। त्यस्ता दृश्य नियाल्न नसकिने भयो। घरमै बसेर नियाल्न सकिने सबै दृश्य अग्ला घरले छेके।
कसरी मासिएको होला सहरको मौलिकता ?
पहिलोको उपत्यका लोभलाग्दो थियो। जताजतै खुला चउर देखिन्थे। पुराना शैलीका बुट्टेदार झ्याल भएका घर थिए। २००५ सालतिर उपत्यकामा जम्मा ५ लाखको हाराहारी जनसंख्या थियो। हेर्दै मन लोभ्याउने प्राकृतिक सौन्दर्यता थियो। विस्तारै मानिसको चाप बढ्दै जादा सहरका संरचनामा फेरबदल आयो। राजनीतिक परिवर्तनपछि नीति नियम पनि अदलबदल भए। सरकारमा रहनेले आफ्नो पक्षमा काननु बनाए। पुराना संस्कृतिलाई जोगाउनुपर्छ भन्ने सोच थोरैमा मात्रै आयो। पहिले–पहिले पोखरी भएको ठाउँमा संरचना र सडक बने। मठ–मन्दिरको ठाउँ पनि खोसिन थाले।
७० वर्षअघि काठमाडौंको सुन्धारा क्षेत्र कस्तो थियो ?
काठमाडौंको रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म एउटै चउर थियो। वरपर रूखैरूख थिए। शितल हावा खाने ठाउँहरू थिए। सुन्धारा क्षेत्रमा तीन वटा ढुंगेधारा थिए। ढुंगेधारामा पल्टनेहरू लुगा धुने तथा नुहाउने गर्थे। अहिले दशरथ रंगशाला भएको ठाउँमा पहिले दुई वटा कमलका पोखरी र खरीका बोट थिए। पोखरीमा कमलका फूलहरू थिए। काठमाडौंको छाउनी, कालोपुल, लैनचौर, सुन्धारा क्षेत्रमा यहाँका स्थानीयले गाई चराउँथे। असनको गणेशस्थानमा सिद्दे नुनको ढिका राखिन्थ्यो गाईबस्तुले त्यही चाट्ने गर्थे। २०१३ सालमा ती पोखरी र खरीबोटको छेउमा बौद्ध सम्मेलन पनि भएको थियो। सुन्धाराको चारैतिरबाट सेता हिमाल नियाल्न पाइन्थ्यो। सहरमा अग्ला घर थिएनन्।
पहिलेको मौलिकता फर्काउन सकिएला ?
नसकिने होइन। तर, निकै चुनौती छ। यदि त्यतिबेला नगरपालिका, पुरातत्व विभाग, स्थानीय बुद्धिजीवीले राम्ररी काम गरेको भए अहिले सहर यस्तो हुने थिएन। अरु देशमा पढेलेखेकाले सहरलाई बनाउँछन्। विगतको इतिहास बचाउँछन्। हाम्रो त्यसको उल्टो भयो। पढेलेखेकाले नै सहरको रूप बिगारे। विकास निर्माणका योजना बनाउँदा सहर सुहाउँदो बनाएनन्। यदि अहिले पनि अलिक कडाई गरेर सहरलाई मौलिक रूप दिनतिर लाग्ने हो भने केही हदसम्म सुध्रिन्छ जस्तो लाग्छ।
उपत्यकाका तीन सहरलाई अति राम्रो, सफासुग्घर र पुराना कला कौशलले भरिएका ठाउँ मानेर युनेस्कोेले विश्व सम्पदा सूचीमा राखेको छ, अहिले कुरूप भयो भनेर चेतावनी दिन थालेको छ, यसलाई कसरी लिनुहुन्छ ?
पुरानो सहरको अहिले सबैको नामो निशाना छैनभन्दा पनि हुन्छ। पुरानो सहरको सुन्दरता पूरै गुम्यो। काठमाडौं सहर अस्तव्यस्त बन्यो। युनेस्कोले ३० वर्षपहिले उपत्यकाका तीन सहरलाई अति राम्रो, सफासुग्घर र पुराना कला कौशलले भरिएको भन्दै विश्व सम्पदा सूचीमा राख्यो। बीचमा यी सहरका दरबार क्षेत्र कुरूप बनेको र पुराना शैलीमा मन्दिर र पाटी मासिन थालेपछि युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनीसमेत दिएको थियो। तर, हामीले अनुनय विनय गरेर खतराको सूचीमा नराख्न आग्रह पनि गरेका थियौं। अझै पनि यस्तो चेतावनी नआउला भन्न सकिन्न।
तपाईलाई मनपर्ने सहर कुन हो ?
पहिले–पहिले त उपत्यका नै सुन्दर लाग्यो। यो जस्तो ठाउँ अन्त छैन भन्ने हुन्थ्यो। जब मानिसको चाप बढ्दै गयो। सहरमा घना बस्ती बढ्दै गयो त्यसपछि सहर बस्नलायक लाग्नै छाड्यो। अहिले अलि मनपर्ने सहर भनेको पोखरा हो। यहाँ टाउन प्लानिङ राम्ररी गरिएको छ। सहर सफा पारिएको छ। मानिसको चाप पनि अन्तभन्दा अलि कम छ। अब अन्य सहरलाई पनि यस्तै बनाउने उद्देश्य राखेर अघि बढ्न जरुरी छ।
अब बन्ने सहर कस्तो हुनुपर्छ ?
अबको सहर आधुनिक र मौलिक दुवै हुनुपर्छ। सहरमा हिजोको इतिहास र मौलिकता चिनेर राख्नुपर्छ। इतिहास भुलेर कुनै पनि ठाउँको सभ्यता रहँदैन। सहरी सभ्यता भनेकै हिजो मौलिक कला संस्कृति हो। सहरको पुरानो संस्कृति आगामी पिढिले पनि जान्न पाउनुपर्छ।
हिजोको सहरको मौलिकता खोसिनुमा कसको कमजोरी देख्नुहुन्छ ?
पढेलेखेका र जिम्मेवार निकायमा पढ जमाएर बस्नेहरूकै देखिन्छ। किनभने सहरको विकास गर्छु भनेर उदाएको शिक्षित वर्ग स्वार्थपूर्तिमा लागेको छ। म अहिले काठमाडौं महल भएको ठाउँको स्मरण गर्छु। सानो छँदा त्यो ठाउँमा ढुंगेधारा थिए। सम्मो चउर थियो। साना–साना पार्टी थिए। अहिले ती सबै गुमे। सरकारी निकायले आधुनिक सहर बनाउने नाममा जुन ठाउँलाई अलि खुला र सांस्कृतिक सहर कायम गर्नुपर्ने थियो, त्यही ठाउँमै व्यापारिक भवन बने। यसले हाम्रो मौलिकता धरापमा परेको छ।
अहिले त्यो बेलाका सहरी संरचनामा के फरक देख्नुहुन्छ ?
आजभन्दा ५० वर्षपहिले उपत्यकामा साढे दुई तलाभन्दा माथिका घर थिएनन। कुनै सरकारी कार्यालय वा राणाले बनाएका दरबार त्योभन्दा अग्ला हुन्थे। नत्र नागरिकले आफ्ना घर दुई तलाभन्दा माथि बनाउँदैनथे। मन्दिरभन्दा ठूला घर बनाउन नपाइने नियम थियो। अहिले त्यो नियम कहाँ गयो कसैलाई थाहा छैन। पैसा हुनेले जता पनि फर्काएर घर बनाउन थालेका छन्।
त्यतिबेला उपत्यकावासीको जीवनशैली कस्तो थियो ?
जीवनशैली सुखी थियो। स्वस्थ खानेकुरा पाइन्थ्यो। मान्छे कम थिए। बजार सस्तो र सुलभ थियो। तेल बेच्नेले शुद्ध बेच्थे। साग–सब्जी बेच्नेले विषादी नहालेको बेच्थे। अहिले सहरमा किनेको खानेकुरा ढुक्क भएर खान डर लाग्छ। सबैमा मिसावट मात्रै छ।
प्रस्तुतिः शिवहरि घिमिरे
प्रकाशित: ११ जेष्ठ २०७६ ०३:१० शनिबार