१० आश्विन २०७७ शनिबार
अन्य

कविता

दिनेश अधिकारी

भोकको भाषा
हो,
म अनैतिक भएँ
हो,
मैले बेइमानी गरें
हो,
म निर्दयी बनें
हो,
म हिंसक भएँ
चाहन्थँे त म पनि
चरित्रवान् बनूँ
लगाऊँ इमानदारिताको टोपी
र, शान्ति र सद्भावको जीवन बिताऊँ
तर आफ्नै इच्छा विपरीत
खाएँ,
मैले सबै ज्ञानहरू खाएँ
भुत्ल्याएँ,
मैले सबै मर्यादाहरू भुत्ल्याएँ,
निमोठें,
मैले दया र हार्दिकताको घाँटी निमोठें
किन थाहा छ ?
धेरै दिनदेखि भोको थिएँ म
र, भोकको भाषा बुझ्न थालेपछि
अन्नका दानाहरुसँग
मैले आफ्नो इमान साटें
मैले सदाचारको पर्खाल नाघें
म आफ्नो कसुर स्वीकार गर्छु
न्यायाधीश महोदय !
छातीमा हात राखेर फेरि पनि भनिरहेछु –
पटकपटक पसिना पराजित भएपछि
अर्को विकल्पै रहेन पेट भर्ने
यसपछि
भोकभन्दा ठूलो समाज पनि लागेन मलाई
भोकभन्दा ठूलो कानून पनि लागेन मलाई
भोकभन्दा ठूलो देउता पनि लागेन मलाई
कहाँ भाग्यो भाग्यो मेरो डर
त्यसपछि खुसीखुसी
मैले अघाएकाहरूको निद्रा खोसें
आत्महत्या गर्न आफ्नै विवेकले दिएन
र,बाँच्नुलाई मैले आफ्नो जीवनको लक्ष्य साँधें

अहिले म तपाईको सामुन्ने उपस्थित छु
सक्नु हुन्छ भने
भोकको भाषा बुझेर फैसला गर्नुस्
सक्नु भएन भने
म जस्ता मान्छेहरूको
ला ––– मो ताँती लाग्ने छ तपाईँको इजलासमा
त्यसका लागि
अहिल्यैबाट आफूलाई तम्तयार राख्नुस् !
बुझ्नु भएन भने भोकको भाषा
म जस्ता मान्छेहरूको
ला ––– मो ताँती लाग्नेछ तपाईँको इजलासमा
त्यसका लागि
अहिल्यैबाट आफूलाई तम्तयार राख्नुस् !!

 

 

प्रकाशित: ४ जेष्ठ २०७६ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App