७ वैशाख २०८१ शुक्रबार
अन्य

धम्पुसमा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउने तयारी

सुन्दरीडाँडास्थित सेमी हाई अल्टिच्युड बनाउने स्थान अवलोकन गर्दै गण्डकी प्रदेश सांसद रामजी बराल जीवन (दायाँ), वडाध्यक्ष समबहादुर गुरुङ (बीच) र स्थानीय युवा व्यवसायी तथा समाजसेवी वैकुण्ठ भण्डारी (बायाँ)। तस्बिरः नागरिक

पोखरा– कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाइने भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ सुन्दरीडाँडामा सेमी हाइ अल्टिच्युड फुटबल मैदान बनाउने तयारी भएको हो।

साविक धम्पुस गाविस–८ मा पर्ने सुन्दरीडाँडा पोखरा–बागलुङ सडकखण्डको घट्टेखोला र धम्पुसको बीचमा पर्छ। समुद्र सतहदेखि १ हजार ६ सय मिटर उचाइमा रहेको सुन्दरीडाँडा पोखरादेखि करिब १९ किलोमिटर टाढा पर्छ भने घट्टेखोलादेखि चार किलोमिटर माथि धम्पुस जाने बाटोबाट एक सय मिटरभित्र पर्छ।

सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउनका लागि अहिले त्यसको सम्भाव्यता अध्ययन भइरहेको छ। माछापुच्छ्रे गाउँपालिकाको पाँच लाखको लागतमा अहिले त्यसको सम्भाव्यता अध्ययन भइरहेको हो। खेलकुद र पर्यटन तथा कृषि र पर्यटन सँगसँगै लैजाने योजना राखेर सुन्दरीडाँडामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउन सकिने/नसकिने र त्यसले पर्यटनमा पार्ने प्रभावबारे अध्ययन भइरहेको माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष समबहादुर गुरुङले जानकारी दिए।

सम्भाव्यता अध्ययनले सुन्दरीडाँडामा सेमी हाई अल्टिच्युड फुटबल ग्राउन्ड बनाउन उपयुक्त देखिए त्यसको डिपिआर तयार गरिने र पछि गुरुयोजना बनाएर काम गर्ने योजना रहेको उनले बताए।

सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाइने भनिएको सुन्दरीडाँडामा एक सय रोपनीभन्दा बढी जमिन छ। सार्वजनिक जग्गा रहेको यो ठाउँ हाल प्रयोगविहीन भएर बेवारिसे अवस्थामा छ। करिब आधाजति जग्गा समथर रहेको छ भने आधा जमिन केही गहिरो छ। समथर भागमा अहिले पनि स्थानीयले फुटबल खेल्ने गरेका छन्। गहिरो भागलाई सम्याएर फुटबल ग्राउन्ड बनाउन सकिने वडाध्यक्ष गुरुङले बताए।

सेमी हाई अल्टिच्युड फुटबल ग्राउन्ड बनाउन प्रस्ताव गरिएको यस सुन्दरीडाँडाबाट पानारोमा भ्युमा हिमाल देखिन्छ। सुन्दरीडाँडाबाट धौलागिरी हिमालदेखि माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला देखिन्छ। स्थानीय युवा व्यवसायी तथा समाजसेवी वैकुण्ठ भण्डारीले सुन्दरीडाँडाबाट माछापुच्छ्रे हिमाल सबैभन्दा राम्रो देखिने बताए। उनले भने, ‘पोखराबाट माछापुच्छ्रे हिमालको असली रूप देखिँदैन, यहाँबाट हेर्ने हो भने माछापुच्छ्रेको असली रूप देखिन्छ।’

सुन्दरीडाँडामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउन सकिने/नसकिने र त्यसले पर्यटनमा पार्ने प्रभावबारे अध्ययन भइरहेको छ।


सुन्दरीडाँडामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउन गाउँपालिका सकारात्मक देखिएको छ। अध्ययनले दिएको प्रतिवेदनका आधारमा हाई अल्टिच्युड बनाउने प्रक्रिया अघि बढाउन गाउँपालिका तयार रहेको हो।

सुन्दरीडाँडामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि सकारात्मक रहेको बताइएको छ। मन्त्री विश्वकर्माले सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउन लागिएको सुन्दरीडाँडाको अवलोकनसमेत गरिसकेको वडाध्यक्ष गुरुङले जानकारी दिए।

सुन्दरीडाँडामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउन गण्डकी प्रदेश सांसद रामजी बराल ‘जीवन’ले पनि विशेष पहल गरिरहेका छन्। सो क्षेत्रबाट निर्वाचित प्रदेश सांसद बरालले सुन्दरीडाँडामा सेमी हाई अल्टिच्युड फुटबल ग्राउन्ड बनाउनका लागि प्रदेश र संघ सरकारलाई आफूले झकझकाइरहेको बताए।

यसअघि मन्त्री विश्वकर्मासँगै अवलोकनका लागि गएका सांसद बराल शनिबार दोहो-याएर अवलोकन गर्न सुन्दरीडाँडा पुगेका थिए। अवलोकनपछि उनले भने, ‘सेमी हाई अल्टिच्युड फुटबल ग्राउन्ड बनाउन यो ठाउँ उपयुक्त छ, यसका लागि मैले गाउँपालिका, प्रदेश र संघ सरकारलाई झकझक्याइरहेको छु।’

राष्ट्रिय योजनामा पारेर प्याराफिटसहितको सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउनुपर्ने उनको भनाइ थियो। उनले सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउँदा त्यसले पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले प्रदेश र संघ सरकारले घोषणा गरेको पर्यटन वर्षलाई पनि टेवा पुग्ने बताए।

प्रकाशित: २९ वैशाख २०७६ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App