१ श्रावण २०७७ बिहीबार
अन्य

मुक्तिक्षेत्रमा सिसाका बोतल प्रतिबन्ध

मुस्ताङको मुक्तिक्षेत्रबाट संकलित मदिराका बोतल खाडल खनेर परिँदै। तस्बिरः सुशीलबाबु/नागरिक

मुस्ताङ– प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर र आसपासका क्षेत्रलाई स्वच्छ र सफा राख्न सिसाको बोतलमा पाइने पेय पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ।

मन्दिरभन्दा केही दूरीका तलका होटल तथा रेस्टुरेन्टले सिसाको बोतलमा मदिरालगायतका पेय पदार्थ बिक्री गर्ने र त्यसपछि जथाभावी फ्याँक्ने गरेपछि त्यहाँ फोहोर बढेको थियो। जथाभावी फ्याँकिएको बोतलले त्यस क्षेत्रको सौन्दर्यसमेत बिगारेपछि स्थानीयको पहलमा रोक लगाइएको हो।

जथाभावी फ्याँकिएको बोतलले त्यस क्षेत्रको सौन्दर्यसमेत बिगारेपछि स्थानीयको पहलमा रोक लगाइएको हो।


त्यहाँका होटल तथा रेस्टुरेन्टमा थुपारिएका र आसपासका क्षेत्रमा फ्याँकिएका सिसाका बोतल जम्मा पारेर खाडल खनेर पुरेको र आगामी दिनमा कसैले पनि सिसाको पेय पदार्थ प्रयोग नगर्ने सहमति स्थानीयस्तरमा भएको छ। स्थानीय युवा अगुवा तथा रानीपौवा मुक्तिनाथका गाउँ प्रतिनिधि सुरज गुरुङले होटल तथा रेस्टुरेन्टले अबदेखि सिसाको बोतलमा पाइने कुनै पनि पेय पदार्थ बिक्री नगर्ने प्रतिबद्धता जनाएको बताए।

उनका अनुुसार होटल तथा रेस्टुरेन्टमा स्टक रहेको सामान बिक्री गर्न पाइने र आगामी दिनमा अरू भित्र्याउन नपाइने उनले बताए । ‘सिसाको बोतलको बियर त भित्र्याउनै पाइँदैन,’ उनले भने, ‘क्यानमा रहेको पेय पदार्थ बेच्न पाइन्छ।’ कुनै होटल तथा रेस्टुरेन्टले महँगो मूल्य पर्ने सिसाको मदिरा बेच्नुपरेको खण्डमा ती सिसा आफैंले व्यवस्थापन गर्नुपर्ने उनले बताए।

‘मन्दिर आसपासमा नभए पनि झन्डै तीन सय मिटर तलको बस्ती क्षेत्रमा जथाभावी मदिराका सिसाको बोतल फ्याँक्दा फोहोर भयो,’ उनले भने, ‘त्यही भएर अबदेखि सिसाको बोतलमा भएको मदिरा बिक्री गर्न नपाइने नियम बनाएका छौं।’ मदिरा पिएपछि सिसा बिक्री नहुने र संकलन गरेर पोखरासम्म ल्याउँदा पनि फुट्ने भएकाले व्यवसायीले ती बोतल घरमै संकलन गर्ने वा आसपासका क्षेत्रमा फ्याँक्ने गरेका थिए।

‘प्लास्टिकको बोतल वा क्यानमा आयात गरिएको कुनै पनि मदिरा बिक्री गर्न पाइन्छ। तर, अब सिसामा मात्र नपाइने हो,’ उनले भने, ‘सबैभन्दा बढी खपत सिसाको बोतलको बियर हुने गरेको थियो। अब सिसाको सट्टा क्यान मात्र प्रयोगमा आउनेछ।’ उनका अनुसार मदिराबाहेकका नरम पेय पदार्थ (कोक, फ्यान्टा, स्प्राइट, पेप्सीलगायत) भने त्यस क्षेत्रमा प्लास्टिकको बोतलमा बिक्री गर्ने गरिएको थियो।

गुरुङका अनुसार कतिपय मदिरा सिसामै मात्र आउने हुनाले ती मदिरा बेच्नेले फोहोर व्यवस्थापन आफैं गर्नुपर्ने नियम लगाइएको छ। स्थानीयले आगामी दिनमा सिसाका बोतलमा मदिर आयात गरेर बेच्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरी निर्णय गरेको समेत उनले जानकारी दिए। ‘हामीले मदिरा नै नबेच भनेको होइन। तर, सिसाको बोतलको सट्टा प्लास्टिक वा क्यानको बिक्री गर्न भनेका हौं,’ उनले भने।
उनका अनुसार प्लास्टिक र क्यानका बोतल पोखरासम्म ल्याउन सकिने र रिसाइकलपछि पुनः प्रयोग गर्न मिल्छ। तर, सिसाको बोतल बिक्री नै हुँदैन र पुन प्रयोगका लागि पोखरासम्म पनि ल्याउन सकिन्न। स्थानीयले आइतबार त्यस क्षेत्रमा सरसफाइ गर्दा १५ टनबराबरको सिसाजन्य वस्तुहरू संकलन गरेका थिए। जसलाई मुक्तिनाथ नजिकैको बसपार्कदेखि करिब एक किलोमिटर टाढा खाल्डो खनेर व्यवस्थापन गरिएको उनले बताए।
‘हामीले घर, होटल, रेस्टरेन्ट र आसपासका क्षेत्रमा भेटिएका सबै सिसालाई संकलन गरेर एकै ठाउँ पुरेका छौं,’ उनले भने। यसअघि मन्दिरपरिसरको सरसफाइ गरिए पनि अहिले भने नजिकैका होटल तथा रेस्टुरेन्टमा थुप्रिएका मदिराका बोतल हटाएर सफा गरिएको उनले बताए।

अन्यत्र सहरमा जस्तो घरघरैबाट सिसा बिक्री नहुँदा त्यहाँका व्यवसायीले घरमै थुपारेर राख्ने गरेका थिए। कतिपयले आसपासका खाली मैदानमा समेत ती सिसा फ्याँक्ने गरेका थिए। ‘धार्मिक क्षेत्रको नजिक साहै्र नै फोहोर भयो। त्यही भएर हामीले सरसफाइ अभियान चलाएका हौं,’ उनले भने।

पछिल्लो समय मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको दिनानुदिन चाप बढिरहेको अवस्थामा औपचारिक रूपमै मुक्तिनाथ परिसरलाई प्लास्टिक र सिसामुक्त क्षेत्रको रूपमा घोषणा गर्ने अभियानका साथ लागिपरेको गुरुङले बताए। उनका अनुसार धार्मिक क्षेत्र जस्तो पवित्र स्थानमा दिनानुदिन फोहोरमैला व्यापक रूपमा बढ्दा नकारात्मक सन्देश गएको भन्दै अभियानकै रूपमा सरसफाइ अभियान अघि बढाएको छ।

‘अब चाँडै नै रानीपौवा मुक्तिनाथ परिसरलाई सिसा, फोहोरमैला र प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्दै छौं,’ उनले भने।  पछिल्लो समय मुस्ताङ जिल्लाका लागि विशेष महत्व बोकेको धार्मिक तथा पर्यटकीयस्थलमा यसप्रकारको फोहोरमैला तथा प्रदूषणले बिस्तारै यहाँको पहिचान हराउने त्रास बढेको उनले बताए।

रानीपौवा मुक्तिनाथ क्षेत्रका मुखिया (अध्यक्ष) कर्म छिरिङ गुरुङले सिसाजन्य बोतलको व्यवस्थापन गर्नु नै सबैभन्दा ठूलो चुनौती रहेको बताए। ‘निकट भविष्यमै सिसाको बोतल र प्लास्टिकका झोलामुक्त गाउँ घोषणा गरेर त्यसको विकल्प खोज्दै छौं। अब चाँडै नै प्लास्टिकको सट्टा कपडाको झोला प्रयोगमा ल्याउन सकियोस्,’ उनले भने, ‘सिसाका बोतल पूर्णरूपमा नष्ट हुनेछ साथै स्टकमा रहेका बोतललाई पनि चाँडै नै व्यवस्थापन गर्न सम्बन्धित होटेल व्यवसायीहरूलाई जानकारी गराइसकिएको छ।’

पछिल्लो समय पर्यटकको चाप अत्यधिक मात्रामा बढ्दा र उचित रूपमा फोहोरमैलाजन्य वस्तुहरू व्यवस्थापन गर्न नसक्दा समस्या भएको उनले बताए। वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख फेन्चोक छेप्टेन गुरुङले पहिलापहिला मुस्ताङबासीका घरको छानाछानामा दाउराको थुप्रो देखिने गरेकोमा पछिल्लो समय मदिराका बोतलको थुप्रो देख्नुपरेको बताए।

‘दाउराको ठाउँ अहिले मदिराका बोतलले भरिएको छ,’ उनले भने, ‘धार्मिक महत्वको क्षेत्रमा यसले विकृति ल्यायो।’ गाउँपालिका मात्र नभएर सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि सहयोगी भूमिका निर्वाह गरिदिएमा यसले मुक्तिक्षेत्रको सरसफाइमा सहज हुने उनी बताउँछन्।

प्रकाशित: २९ वैशाख २०७६ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App