८ वैशाख २०८१ शनिबार
अन्य

दोबिल्लामा पशु वधशाला निर्माण गरिने

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्झौतापत्र सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा (बायाँ) र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी (दायाँ)। तस्बिरः नागरिक

पोखरा–पोखरामा अत्याधुनिक वधशाला निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराको दोबिल्लामा पशु वधशाला निर्माण गरिन लागेको हो।

वधशाला निर्माणबारे शुक्रबार गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पोखरा महानगरपालिकाबीच सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी र पोखरा महानगरपालिकाका तर्फबाट महानगरका कार्यकारी अधिकृत शेषनारायण पौडेलले हस्ताक्षर गरे।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार पोखरा महानगरपालिकाले वधशाला निर्माण गर्नेछ। वधशाला निर्माणका लागि प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस आर्थिक वर्षमा तीन करोड प्रदान गर्ने सम्झौता भएको छ। थप दुई करोड अर्को आर्थिक वर्षमा प्रदान गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताए।

वधशाला निर्माणका लागि पोखरा महानगरपालिकाले पनि दुई करोड लगानी गर्नेछ। त्यस्तै, संघीय सरकारले पनि तीन करोड दिने वचन दिएको स्रोतले बताएको छ। त्यसका अलावा हेफर इन्टरनेसनलले एक करोड ५० लाख प्रदान गर्ने जनाइएको छ। हेफरले तालिम, गोष्ठी, छलफललगायतका लागि खर्च गर्नेगरी सो रकम उपलब्ध गराउने बताइएको छ।

२० करोडको लागतमा बन्ने वधशालाको निर्माण यही आर्थिक वर्षबाट सुरु हुने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए। उनका अनुसार वधशाला स्थलको स्थान पहिचान भइसकेको छ। वधशाला पोखरा २१ स्थित दोबिल्लामा निर्माण गर्ने टुंगो लागेको उनले बताए।

दोबिल्लामा करिब एक सय २८ रोपनी क्षेत्रफल भएको जग्गालाई वधशाला बनाउने तयारी गरिएको छ। जुन जग्गा हाल खाली रहेको छ। नजिकै खोला भएकाले पानीको स्रोत प्रशस्त भएको र नजिकमा गाउँ नभएकाले दोबिल्ला छनोट गरिएको महानगरले जनाएको छ।

पशु वधशाला निर्माणसँगै पोखरेलीले स्वस्थ मासु खान पाउनेछन्। पोखरामा हालसम्म व्यवस्थित वधशाला नहुँदा मासु व्यवसायीले आफूखुसी वध गर्दै आएका छन्।


वधशाला स्थलको पहिचान भए पनि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भने बनाउन बाँकी रहेको बताइएको छ। सम्झौता भएकाले अब लगत्तै डिपिआर बनाउन सुरु गरिनेछ। डिपिआर बन्दै गर्दा वधशाला स्थलमा कम्पाउन्ड निर्माण सुरु गरिने जनाइएको छ।

दोबिल्लामा बनाइने वधशाला अत्याधुनिक हुने महानगरले जनाएको छ। एक हजार वटा खसी/बोका एकै दिन वध गर्न मिल्नेगरी वधशाला निर्माण गर्न लागिएको पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख शिव वाग्लेले जानकारी दिए। उनका अनुसार खसी/बोका काट्ने अत्याधुनिक मेसिन ल्याइनेछ। वधशालामा खसी÷बोका वध गर्नुअघि त्यसको स्वास्थ्य परीक्षण गरिने उनले बताए।

उनका अनुसार खसी÷बोका स्वस्थ रहेको प्रमाणित भएपछि मात्र काटिनेछ। अस्वस्थ खसी/बोका भने नकाटिने उनले स्पष्ट पारे। वध गरिसकेपछि त्यसको मासु, छाला, आन्द्राभुँडी, खुट्टा, हड्डीलगायत छुट्याइनेछ। काटिएको मासु प्याकेजिङ गरेर टाँचा मारेपछि बजारमा जाने व्यवस्था गरिने उनले जानकारी दिए। वधशाला निर्माण भएपछि बाहिर खुला रूपमा खसी÷बोका काट्न नपाइने उनले बताए।
यसअघि वधशाला स्थलको अन्तिम निर्णय गर्न पोखरा महानगरपालिकाका पशु विकास महाशाखा प्रमुख शिव वाग्लेको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति बनाइएको थियो। वधशाला स्थलमध्ये जग्गाको उपलब्धता, वातावरणीय असर, लगानी, पूर्वाधार, फोहोरजन्य वस्तुको व्यवस्थापनलगायतका आधारमा वधशाला स्थल छनोट गरेको बताइएको छ।

पशु वधशाला निर्माणसँगै पोखरेलीले स्वस्थ मासु खान पाउनेछन्। पोखरामा हालसम्म व्यवस्थित वधशाला नहुँदा मासु व्यवसायीले आफूखुसी जथाभावी वध गर्दै आएका छन्। जसका कारण सहर दुर्गन्धित हुँदै आएको छ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले नेपालको प्रचलित कानुनअनुसारको उपभोक्ताले गुणस्तरीय मासु खान पाउने अवस्था पशु वधशाला निर्माणले मात्र सम्भव हुने बताए। उनले पशु वधशाला उपभोक्ताको हितमा रहेकाले यो अनिवार्य बन्नुपर्ने बताउँदै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

प्रकाशित: २८ वैशाख २०७६ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App