coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘विपद् बिर्सने बानी अझै हटेन’

पोखरामा शुक्रबार विपद्बारे आयोजित छलफल। तस्बिरः नागरिक

पोखरा– विपद्लाई बिर्सने बानीले विपद्बाट हुनसक्ने क्षति कम गर्न नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। जुनबेला विपद् आइपर्छ, त्यो बेला मात्र तयारी सम्झने तर अरू बेला बिर्सने प्रवृत्ति कम नभएको उनले बताए।

भौगोलिक, मानव सिर्जित र जलवायुका कारण हुने विपद् व्यवस्थापनका लागि अपनाउनुपर्ने तयारीबारे पोखरामा शुक्रबार प्रदेशस्तरीय भेला सुरु भएको छ। त्यही भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि तयारी तीव्र हुन नसकेको बताए।

स्वास्थ्य क्षेत्रको विपद् प्रतिकार्यलाई व्यवस्थित गर्ने उद्देश्यले स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा भएको सो भेलाको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘एकपटक विपद् आइसकेपछि बल्ल तयारी कम भएको महसुस गर्छाैं, अरू बेला चटक्कै बिर्सिन्छौं।’ उनले विपद् व्यवस्थापनका लागि राज्यले काम गर्न नसकेको स्वीकार गरे।

‘विपद्बाट जुन बेला पनि आउन सक्छ, यतिबेला प्रतिकार्यको आवश्यकताको महसुस भए पनि केही समयपछि बिर्सेर जाने प्रवृत्ति अझै हटेको छैन,’ उनले भने। प्रदेश सरकारले पनि विपद् व्यवस्थापनका लागि हिमाली जिल्लामा केन्द्र स्थापना गर्ने योजना बनाए पनि पूरा हुन नसकेको बताए। बाढी, पहिरो, चट्याङ, भूकम्प, स्थल र हवाई दुर्घटनालगायतका विपद्बाट नेपालका धेरैजसो ठाउँ जोखिमयुक्त रहेको सरोकारवालाले जानकारी दिएका थिए।

यसैबीच, प्राकृतिक विपद्का कारण पाँच वर्षयता नेपालमा १३ हजार दुई सय १७ जनाको मृत्यु भएको पनि त्यही अवसरमा जानाकारी गराइएको थियो। साथै चार हजार तीन सय ४४ जना घाइते र दुई सय २४ जना हराएको तथ्यांक सार्वजनिक भएको छ।

२०७२ सालको विनाशकारी भूकम्पमा परी देशभर झन्डै नौ हजार नागरिकको मृत्यु भएको थियो। २२ हजार तीन सय दुई जना घाइते र एक सय ९५ जना हराएका थिए। २०७४ सालको बाढीपहिरोबाट एक सय ६१ जनाको मृत्यु, ४६ घाइते र २९ जना बेपत्ता भएका थिए। २०७४ सालको विमान दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको थियो।

त्यस्तै, २०७५ मा तराईका जिल्लामा आएको चक्रवातले २९ जनाले ज्यान गुमाएको अवसरमा जानकारी दिइयो।

कास्की जिल्लामा मात्र सेतीनदीमा आएको बाढी, पोखरामा भएको डेंगु संक्रमण, सडक दुर्घटना, मौसमी रुवाखोकी, लुम्ले पहिरोबाट चार सय २७ जनाले ज्यान गुमाएका थिए। ती घटनामा हालसम्म २० जना हराएका छन्। ‘प्राकृतिक विपद्बाट जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि हामी चुप लागेर बसे जस्तो भएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘यसका लागि पूर्वतयारी आवश्यक छ। त्यसका पूर्वाधार तयार नपार्ने हो भने भविष्यमा आइपर्ने विपद्बाट झनै बढी क्षति भोग्नुपर्ने हुनसक्छ।’

गण्डकी प्रदेशमा विपत् पूर्वाधार अवस्था तथा जोखिम न्यूनीकरकणको योजना बनाउने, क्षमता अभिवृद्धि गर्ने, विपत्को अवस्थामा सरोकारवालाबीच आवश्यक समन्वय गरी प्रभावकारी व्यवस्थापन गर्ने, विपद्पछिको स्वास्थ्य सेवालाई पनि पुनस्र्थापना गर्नेलगायत विषयमा भेला छलफल केन्द्रित छ।

तीन दिनसम्म चल्ने भेलामा गण्डकी प्रदेशका ११ जिल्लाका सरोकारवालाको सहभागिता रहेको स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए। उनले पनि विपद्को तयारीबारे बेलैमा सचेत हुनुपर्ने सुझाव दिए। बाढी, पहिरो, हिमपात, भूकम्प, दुर्घटना मात्र नभई बेलाबेला फैलने रोगले पनि मानवीय क्षति गराउने भएकाले बेलैमा सचेत हुनुपर्ने अवस्था रहेको खड्काले बताए।

 

प्रकाशित: २८ वैशाख २०७६ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App