७ वैशाख २०८१ शुक्रबार
अन्य

विपद्का घटनाले करोडौंको क्षति

ताप्लेजुङ– विपद्का घटना न्यूनीकरणमा सरोकारवाला पक्षको भूमिका बढाउनुपर्ने देखिएको छ। हिमाली जिल्ला ताप्लेजुङमा चालु आर्थिक वर्ष २०७५/०७६ मा मात्र १ सय २३ घरधुरीमा विपद्का घटनाले क्षति गरको पाइएको छ भने करोडौं मूल्य बराबरको नोक्सानी भएको छ।

जिल्ला प्रहरी कार्यालय विपद् व्यवस्थापन शाखाको अभिलेखअनुसार सबैभन्दा बढी बाढी–पहिरोका घटनाबाट प्रभावित र नोक्सानी व्यहोर्नुपरेको छ भने त्यसपछि आगलागीको घटना डरलाग्दो छ। हावाहुरीसमेतले यहाँ क्षति गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख सञ्जयसिंह थापाका अनुसार चालु आवमा बाढी–पहिरोका घटनाबाट जम्मा ८६ घरधुरीमा प्रत्यक्ष प्रभाव पारेको छ। बाढी–पहिरोबाट चालु आवमा मात्र १ करोड ९८ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने करिब २ सय ८० जना मानिस प्रभावित भएका छन्। तीमध्ये केही विस्थापित भई आफ्नो थलोसमेत छोड्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ। यस वर्षको मध्यबर्खा समय सुरु हुन अझै बाँकी छ। आगलागीबाट ३० वटा घर ध्वस्त भएको छ। आगलागीका घटनामा मात्रै ३ करोड ७० लाख क्षति भएको प्रहरीले संकल गरेको तथ्याङ्कमा उल्लेख छ। आगलागीका लागि सबैभन्दा बढी जोखिम समय भनेको फागुनदेखि जेठसम्म हो। तर, आगलागीका घटनाले जुनसुकै बेला पनि क्षति गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षको तथ्याङ्क हेर्ने हो भने साउनदेखि चैतसम्मको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्।

जंगलमा लागेको आगो बस्तीमा पसेर, बालबालिकाले आगो चलाउँदा र अचानक फुत्किएको आगोले सबैभन्दा धेरै घरमा क्षति गरेको प्रहरीले जानकारी दिएको छ। गाउँ–घरतिर अझै पनि आगोको माउ राख्ने चलन रहेको छ। बिहान बाल्न चाहिने आगोको ढिक्कालाई खरानीले छोपेर राख्नाले आगो फुत्कने गरेको छ। यसबाहेक अँगेनाको ठीक माथि दाउरा राख्ने र बालबच्चाले भेट्ने गरी सलाई–लाइटर जस्ता प्रज्वलनशील वस्तु राख्नाले समेत आगलागीका घटना हुने गरेका छन्। बालबच्चालाई घर रुघ्न राखेर आफू काममा जाने र आफ्नो पहुँचमा भएका प्रज्वलनशील वस्तु बालबच्चाले प्रयोग गर्दा एकैछिनमा घर खरानी हुने गरेको उदाहरण छन्। हावाहुरीको समयमा आगो बालेर काममा व्यस्त हुने, काम सकिएपछि आगो ननिभाउने, परालको माच र यस्तै प्रकृतिका आगोले चाँडो भेट्ने नजिक आगो बाल्ने जस्ता घटनाले ग्रामीण भेगमा आगलागीका घटना भएका छन् भने बजार क्षेत्रमा ग्याँस बालेर बाहिर जाने, मैनबत्ती बालेर धेरै समय त्यसलाई वास्ता नगर्ने र विद्युतीय उपकरणको नियमित सम्भार तथा रेखदेख नगर्नाले आगलागीका घटना हुने गरेका छन्। आगलागीलाई मानव सिर्जित हेलचेक्र्याइँको मुख्य कारणका रुपमा लिने गरिन्छ।

अघिल्लो वर्षको साउन महिनादेखि यो अवधिसम्ममा यहाँ हावाहुरीबाट ७ घर परिवारका करिब ४० जना प्रभावित भएको पाइएको छ। हावाहुरीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अभिलेखमा उल्लेख छ। यी घटनाबाट चालु आवमा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। हावाहुरीका ७ वटै घटना पाथीभरा याङ्वरक गाउँपालिकाका रहेका छन्।

यसैबीच विपद्का घटनासँग सामना गर्ने तथा यस्ता घटना न्यूनीकरणका उपायका बारेमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् प्रतिकार्य योजना बनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जिल्ला रेडक्रस सोसाइटी र सबै स्थानीय तहको समन्वयमा विपद् प्रतिकार्य योजना तयार भएको र यसलाई यही साता अन्तिम रुप दिएर प्रयोगमा लैजान बाटो खुलाउने बताए।

प्रकाशित: २८ वैशाख २०७६ ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App