६ आश्विन २०७७ मंगलबार
अन्य

हाइकिङले बलियो बनाएको मन(फोटो फिचरसहित)

रामदेवी महर्जन  
निस्पट्ट अँध्यारोमा मोबाइलको मधुरो उज्यालो। चन्द्रागिरीको घना जंगल। विहानै देखि पानी परेर चिप्लो बाटो। त्यसमाथि एक जना मात्र हिँड्न मिल्ने गोरेटो। थानकोट गोदामदेखि चित्लाङ पुग्ने मोटरबाटो बनाउँदै गरेकाले फर्कंदा पनि पुरानै ठाडो ओरालो झर्नुपर्ने भयो।

दोस्रो पटक पदयात्रामा आएका चन्द्रलाई अप्ठेरो भयो। युरिक एसिडका कारण उनका खुट्टा ओरालोमा खुम्च्याउनै नमिल्ने गरी जाम भए। बिस्तारै कहिले उल्टोबाट त कहिले चार हात टेकेर पानीघाट पुग्दा बेलुकीको ८ बज्यो। बीचबीचमा ‘ट्याक्सी’ बनेर अप्ठेरोमा पनि पिठ्यूँमा बोकेर पानीघाटसम्म ल्याइदिनुहुने मित्रहरू गंगाराम महर्जन, राजु पुडासैनी, तेजराम महर्जन, अनिल श्रेष्ठ लगयत पछाडि बसेर सहयोग गर्नु हुने सबै सहयोगीलाई धन्यवाद !  
पानीघाटबाट पनि गाडी बसेको गोदाम पुग्न ३ किमी हिँड्नु थियो। गाडीलाई गोदामबाट १ किमी माथि बोलायौं। हामीले उनलाई बोकेरै गाडी भएको ठाउँसम्म पु-यायौं।

हिँड्न साहस र चाहना भएर मात्र पुग्दैन। शरीर पनि ठिक हुनपर्छ। शरीर स्वस्थ राख्न उचित खाना खानु पर्छ। शरीर स्वस्थ भएन भने आत्मबल भएर मात्र हुँदैन। त्यसैले शरीरलाई ठेगानमा राख्नु अति आवश्यक छ। चैत २४ गते, विहान देखि नै धुम्म मौसम। चारैतिर कालो बादल, पूरै अँध्यारो। खराब मौसमका कारण पनि चिल्लाङ जाने रहले तीन सय जना पदयात्री आएका थिए। निरोगधाम, सातदोबाटोमा विहान नाम दर्ता गर्दा नै गड्याङगुडुङ गर्दै आकाश कराउन थाल्यो। नाम दर्ता सकेर हामी १० वटा गाडीमा बल्खु, कलंकी हुँदै थानकोट गोदामसम्म पुग्यौं। पानी पर्दै थियो। आकाश कराएको देखेर ठूलै पानी पर्ने छाँटकाँट थियो र पनि हामी अघि बढ्यौं।

हाम्रो १४२ औं हाइकिङको गन्तव्य थियो मकवानपुरको चित्लाङ। हाम्रो (प्रकृतिप्रेमी समूह पदयात्राको नियम अनुसार सबैभन्दा अगाडि डा. उमेश श्रेष्ठ बस्नु भयो भने सबै पछाडि म, साथी सरिता र राजेश तुलाधर। कच्ची सडक त्यसमाथि पनि भर्खर बाटो बिस्तार हुँदै गरेकाले हिलाम्मे। तीन किमी कच्ची बाटो हिँडेपछि पानीघाट पुग्यौं। त्यहाँबाट भने रियल हाइकिङ सुरु भयो। मोटर गुड्ने सडक बिस्तार हुँदै गरेकाले हामी पुरानो गोरेटोबाट उकालियौं। 

ठूलो हुल लामबद्ध भएर हिँड्दा पहिलो र अन्तिम हाइकर्सको फरक करिब ३० मिनेटको थियो। बिस्तारै उकालो चढ्यौं हामी, चन्द्रागिरीको घना जंगलमा। प्रकृति भने आफ्नै लय र तालमा गर्जंदै थियो। हामी आफ्नै तालमा अघि बढ्यौं। पानीघाटबाट चन्द्रागिरी भन्ज्याङ करिब २.५ किमी ठाडै उकालो। चन्द्रागिरीबाट हामी मोटरबाटोमा हिँड्यौं। पानी परेकाले चित्लाङ सेतो कुहिरोमा लुकेको थियो। वरिपरि हरियाली देखिन्थ्यो।

चित्लाङको गुर्जुधारा होमस्टेमा हाम्रा लागि खाना तयार हुँदै थियो। हामी पछाडि बसेकाहरू त्यहाँ पुग्दा घडीले १ बजाइसकेको थियो। होमस्टेमा सबैलाई गुराँसको १–१ गिलास जुसले स्वागत गरियो। ब्राउन राइस, दुई थरी हरियो तरकारी र अचार। हामी पदयात्रामा सबैलाई स्वस्थ रहन उचित आहार खानुपर्छ भन्ने ज्ञान दिँदै हिँड्छौं। त्यसको व्यावहारिक अभ्यास पनि गर्छौं।

हिँड्न साहस र  चाहना भएर मात्र पुग्दैन। शरीर पनि ठिक हुनपर्छ। शरीर स्वस्थ राख्न उचित खाना खानु पर्छ। शरीर स्वस्थ भएन भने आत्मबल भएर मात्र हुँदैन। अर्को कुरा, समूहमा हाइकिङ गर्दा एकले अर्कालाई सहयोग गर्दै हिँड्नु पर्छ। यसबाट आपसमा प्रेम र सद्भाव बढ्छ।  

खानापछि बजार घुमेर त्रिगजुरेश्वरमा एक छिन सांगीतिक कार्यक्रम गरेर फेरि गएकै बाटो फक्र्यौ। बाटैभरि लालीगुराँस। केही दिनअघि बाटो रेकी गर्न आउँदा गुराँसको रुखमा बसेर फोटा खिचेका थियौं।  
चन्द्रागिरी भन्ज्याङबाट हामी देउराली पुग्यौं। देउराली पुग्दा सबै पदयात्री अलमलमा परेछन्। मोटरबाटोबाट फर्कने योजना थियो तर फराकिलो बन्दै गरेको सडकका कारण त्यो संभव भएन। अघि चढेकै उकालोमा ठाडै ओरालो झर्नु पर्ने भयो। ठाडो अनि चिप्लो ओरालो। म सबैलाई सम्हालिएर हिँड्न सल्लाह दिँदै थिएँ, त्यत्तिकैमा ऐया, मरे नि भन्ने शब्द कानमा गुञ्जियो।

महिला मित्र लड्नु भएछ। कम्मरमा चोट लाग्यो। घडीले ४ः३० बजाइसकेको थियो। आराम गराउन पनि समय भएन। हामीलाई ओराले झरेर गोदाम पुग्नु थियो। अगाडिका मित्रलाई सम्हाल्दै चोट लागेका मित्रलाई समाउँदै अघि बढाएँ।  
दुई किमी ठाडो ओरालो। पदयात्रीलाई सम्हाल्दै, चोट लागेको दिदीलाई हात समाएर ल्याउँदा मैले एक पल पनि त्यो बाटो हिलो र अप्ठेरो महसुस गरिन। मेरो मनमा सबै हाइकर्सलाई कसरी तलसम्म सेफ ल्यान्डिङ गर्ने भन्ने कुरा मात्र खेलिरह्यो। करिब १ घण्टापछि हामी पानीघाट पुग्यौं। पानीघाटबाट भने सजिलो बाटो थियो। उहाँलाई बससम्म पु¥याउँदा ६ बजिसकेको थियो। पछाडी अझ धेरै आउन बाँकी थिए। झन्झन् रात छिप्पिँदै थियो। तलबाट फेरि हामी नसक्नेलाई लिन म दाइ श्रीकृष्ण श्रेष्ठलाई लिएर पानिघाटतिर फर्कें। दुईचोटि ओहोरदोहोर गर्दा पनि एक पल थकान र डरको महसुस भएन।

हुन त अप्ठेरोमा र ढिलोसम्म हिँडेको यो पहिलो पटक होइन तर त्यतिबेला मनमा भने केही न केही डर हुन्थ्यो। यसपालि मनमा डर थिएन। हाइकिङ गर्दागर्दै मन यति धेरै बलियो र निडर बनिसकेको रहेछ ! ममा सबैलाई सुरक्षित ढंगले बससम्म कसरी पु¥याउने भन्ने मात्र चिन्ता भयो। करिब ८ बजे सबै आइपुगे। पानीघाटबाट तलसम्म हिँड्न नसक्ने मित्रलाई पालैपालो बोकेर गादोम पुग्दा साँढे ८ बज्यो। त्यो दिन हामी निरोगधाम पुग्दा रातिको ९ बजेर १५ मिनेट गएको थियो। 

हाइकिङ गर्नु भनेको सजिलो बाटोमा मोजमज्जा गर्दै हिँड्नु होइन। प्रकृतिको नियम बुझ्दै, नयाँ ठाउँको भौगोलिक बनावट हेर्दै सबैसँग आत्मीय हुँदै हिँड्नु हो। नसक्नेलाई सघाउँदै हिँड्दा सबैलाई सहयोग पुग्छ। र, अप्ठेरो ठाउँमा हिँडदा आत्मबल बढ्छ।

थानकोट गोदाम
सातदोबाटोबाट १४ किमी दूरीमा छ गोदाम। उहिल्यै यही बाटो चन्द्रागिरि भएर तराई (हेटौंडा)झरिन्थ्यो। तिनताका यहाँ सामान ल्याएर गोदाम गरिन्थ्यो। त्यही भएर यस ठाउँलाई गोदाम (१,४००मिटर) भन्न थालियो। चन्द्रागिरी जंगलमुनि गोदाम शीतल छ। हाल केबलकारको चहलपहलले गोदाम पनि गुल्जार भएको छ। गोदामबाट १० मिनेट  केबल कार चढे पुगिन्छ भालेश्वर महादेव (२,५००मिटर)। गोदाममा नपाली सैनिकको फायरिङ प्वाइन्ट पनि  छ।

चन्द्रागिरी भन्ज्याङ
काठमाडौं र मकवानपुरको संगम हो चन्द्रागिरी भन्ज्याङ (२,२५५ मिटर)। राणाकालमा मान्छेले गाडी बोकेर भीमफेदी, चित्लाङ, चन्द्रागिरी हुँदै काठमाडौं ल्याएका थिए। काठमाडौंको त्यहीँ दक्षिणी पुरानो नाका हो चन्द्रागिरी। उहिल्यै सडक सञ्जाल नखुल्दा काठमाडौंबाट तराई र भारत आउजाउ गर्ने नाका थियो चन्द्रागिरी।

इतिहास पनि बोकेको छ भञ्ज्याङले। राष्ट्र निर्माता पृथ्वीनारायण शाह मावली हुँदै तोप्लाङ भएर भन्ज्याङ पुग्दा उपत्यकाको राम्रो दृष्य देखेर उनलाई उपत्यका आक्रमण गर्ने मन भयो र पछि भालेश्वरमा गएर पूजा गरी उपत्यका जिते। 

त्यस्तै पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको विष महादेवले पिए। विषले डाहा भएपछि उनी यहाँ आएर त्रिशूल गाड्न खोज्दा गडेन। त्रिशुल नगडेकाले यहाँ चंडालको बास रहेछ भनेर एकै पाइलामा उनी गोसाईंकुण्ड पुगे र त्यहाँको चिसो पानीमा विश्राम गरेको कथा छ। चण्डालको बास भएको थुम्को भएकाले चन्डालगिरी भन्दाभन्दै चन्द्रागिरी नाम रह्यो।

भन्ज्याङमा बौद्ध स्तुप र बुद्धका मूर्ति छन्। नजिकै सानो पसल जुन धेरै वर्ष पुरानो छ। त्यहाँ एउटै मात्र पसल छ सानो भाइको। श्री ३ जुद्धशमसेरले उनका बाजेलाई पसल चलाउन दिएका थिए। पसलमा थकाइले लखतरान भएर आएकाहरू आरामको सुस्केरा फेर्छन्। त्यहाँ चिया नास्ता, आलु, चना, सेल लगायत खाजा पाइन्छ। हिँडेर आएकाहरूको थकान मेटाउँछन् उनी। चन्द्रागिरी पुगेपछि उनको पसल नछिर्ने कोही हुँदैनन्। 

भन्ज्याङमा चौबाटा छन्। दक्षिण लागे प्रख्यात धार्मिक पर्यटकीय मन्दिर भालेश्वर ३ किमी दूरीमा छ। पश्चिम लागे चित्लाङ र उत्तर लागे पुरानो बस्ती तोप्लाङ पुगिन्छ।

कसरी पुग्ने:  काठमाडौंको थानकोट गोदामसम्म गाडीमा। गोदामबाट पानीघाट ठाडो उकालो, देउराली, चन्द्रागिरी भन्ज्याङ हुँदै चित्लाङ र चित्लाङबाट बजार घुमेर फेरि गएकै बाटो फर्कने। गोदाम–पानीघाट ३ किमी, पानीघाट– देउराली १.५ किमी ठाडो उकालो,  देउराली– चन्द्रागिरी भन्ज्याङ ५ किमी उकालो, भन्ज्याङ चित्लाङ २ किमी छोटो बाटो, चित्ला– बजार २ किमी। जम्मा पदयात्रा दूरी १८ किमी। समय ६ देखि ७ घण्टा। बाटो अधिकांश उकालो र ओरालो छ। पदयात्रा गर्दा एक रात चित्लाङ बास बसेर फर्कँदा मार्खु, कुलेखानी, फाखेल हुँदै लामो बाटोबाट फर्पिङ निस्कन पनि सकिन्छ।
जनबोली
राजु पुडासैनी नेपाली सेनाका प्रमुख सेनानी हुनुहुन्छ। हाइकिङमा सहयोग गर्न पाउँदा उहाँ धेरै खुसी हुनु भयो। ‘कठिन परिस्थितिमा कसरी अरूको आत्मबल बढाउने र  सहयोग गर्ने भन्ने थाहा भएकाले सहयोग गर्न सकें’, राजु भन्नु हुन्छ,‘तर हिँड्नलाई पहिले शरीर ठिक हुनु पर्छ। शरीर ठिक भए आत्मबल आफैं बढ्छ।’
...
गंगाराम महर्जन हस्तकला व्यवसायी हुनुहुन्छ। उहाँले धेरैपटक हाइकिङ गरिसक्नु भएको छ। ‘यसपालि अप्ठेरो बाटोमा पदयात्रीलाई बोकेर सहयोग ग¥यौं’, गंगाराम भन्नु हुन्छ, ‘अप्ठेरो बाटो, एक्लै हिँड्न पनि गाह्रो, पहिला त बाटो देखेर अलिक डर लाग्यो पछि बोकेर हिँडेपछि डर पनि हरायो। सायद सहयोग गर्न पाउँदा मनमा पनि आत्मबल बढेको हो कि !’
...
नवराज गिरी सिटिजन क्यापिटल बैंकका सिइओ हुनुहुन्छ। उहाँ कुशल हाइकर्स हुनु हुन्छ। ‘म सबैलाई सहयोग गर्न पछिल्लो लहरमा बस्ने गर्छु। यसपालि पनि सहयोग गर्न पाइयो’, नवराज भन्नु हुन्छ, ‘पदयात्रामा परिस्थिति र समय बुझेर अनुशासित भएर हिँड्नुपर्छ। सहयोग नै धर्म हो त्यसैले म पदयात्रामा सधैं पछाडि बस्छु।’

प्रकाशित: २८ वैशाख २०७६ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App