६ वैशाख २०८१ बिहीबार
अन्य

श्रीमती जलाउने मुकेश भाउजूसहित पक्राउ

निर्मला हत्यामा संलग्न मुकेश र श्यामा प्रहरी नियन्त्रणमा। तस्बिर: सुरेश यादव/नागरिक

धनुषा–भाउजूसँग शारीरिक सम्बन्ध कायम राख्न दश महिनाअघि मात्र बिहे गरेकी श्रीमतीलाई जलाउने धनुषा सहिदनगरका मुकेश गोइतलाई प्रहरीले तीन सातापछि पक्राउ गरेको छ। मुकेशसँगै देवरानीलाई जिउँदै जलाउन देवरलाई उक्साउने श्यामालाई पनि पक्राउ गरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

वैशाख ५ गते सहिदनगर नगरपालिका–१ चिरैया टोलस्थित आफ्नै घरमा १८ वर्षीया निर्मला यादवलाई उनका पति मुकेश गोइतले शरीरमा मट्टितेल खन्याएर आगो लगाइदिएका थिए। तत्कालै दाजु घटनास्थलमा आइपुगेपछि मुकेश फरार भए। स्थानीयले प्रहरीलाई खबर गरेपछि परिवारका सदस्यले निर्मलालाई उपचारका लागि जनकपुर अस्पताल पु-याए। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा भर्ना गरियो। शिक्षणमा प्राथमिक उपचारपछि कीर्तिपुर मोडेल अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा त्यहीं उनको मृत्यु भएपछि घटना अनुसन्धानमा प्रहरी सक्रिय भएको देखिन्छ।

सुरुमा दुर्घटनावश निर्मलाले लगाएको लुगामा आगो सल्केर घाइते भएको भन्दै अपराध लुकाउने प्रयास गरिएको थियो। उपचारको क्रममा निर्मलाले आफ्नै पतिले आगो लगाई मार्ने प्रयास गरेको जनाएपछि उनका बाबु कामे भुसकुलियाले इलाका प्रहरी कार्यालय, सबैलामा ज्वाइँ मुकेशविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा घटनाको अनुसन्धान भइरहेकै बेला निर्मलाको मृत्यु भएपछि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दालाई कर्तव्य ज्यानसम्बन्धी अपराधमा परिणत गरी सशक्त रुपमा मुकेशको खोजी थालेको इलाका प्रहरी कार्यालय सबैलाका इन्चार्ज इन्सपेक्टर चन्द्रभुषण यादवले जनाए।

‘घटनालगत्तै मुकेश फरार भएको र निर्मलाका बाबुले उनीविरुद्ध किटानी जाहेरीसमेत दर्ता गराइसकेपछि घटनाको अनुसन्धान सुरु गरिसकेका थियौं’ इन्सपेक्टर यादवले बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘वैशाख १६ गते घाइतेको मृत्युपछि तत्काल जाहेरी फेर्न लगाएर मुकेशलाई पक्राउ गर्न सक्रिय भएँ। सोही क्रममा जिल्ला प्रहरी कार्यालय र सबैला इलाकाको संयुक्त टोलीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित गड्डाचौकीमा लुकेर बसेका मुकेशलाई पक्रेर ल्याएपछि घटनाको विस्तृत विवरण बाहिर आएको हो।’ मुकेशकै बयानको आधारमा बुधबार साँझ उनकी भाउजू श्यामादेवीलाई पनि पक्राउ गरेको धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालले बताए।

प्रहरीस्रोतको अनुसार दाजु वैदेशिक रोजगारमा गएको मौका छोपेर मुकेशले १३ महिना अगाडिदेखि आफ्नै भाउजूसित अनैतिक शारीरिक सम्बन्ध राख्दै आएका थिए। त्यसको तीन महिनापछि निर्मलासँग विवाह गरे। विवाहपछि पनि भाउजूसँगको सम्बन्ध निरन्तर रहेपछि निर्मला र पति मुकेशबीच विवाह भएको केही महिना नबित्दै विवाद सुरु हुन थालेको थियो। एकदिन निर्मलाले घरमै मुकेश र उनकी भाउजूलाई आपत्तिजनक अवस्थामा देखेपछि श्यामासँग पनि झगडा प-यो।

‘मुकेश र निर्मलाबीच दिनहुँ कुनै न कुनै निहुँमा झगडा बढ्न थाल्यो। घटना भएको दिन मुकेशले तिनै भाउजूको किराना पसलमा खानेपानीको बोतलमा बेच्न राखिएको पेट्रोल किन्न पुगेछन्। पेट्रोल किन चाहियो भनेर भाउजूले सोधेपछि उनले निर्मलाको सबै लत्ताकपडा जलाइदिएर घरबाट निकाल्ने योजना सुनाए। श्यामाले कपडामात्रै किन ? निर्मलालाई पनि त्योसँगै जलाइदिन उक्साइन् र मुकेशले त्यस्तै गरे’ अनुसन्धानमा खटेका इन्सपेक्टर यादवले सञ्चारकर्मीसँग भने।

घटना अनुसन्धानको क्रममा भाउजूसँग अनैतिक सम्बन्ध कायम राख्नकै लागि अबोध निर्मलाको हत्या गरिएको प्रहरीको निष्कर्ष छ। घटनाको विस्तृत अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाहीका लागि अदालतमा पेश गर्ने एसपी खनालले बताए।

बालक हत्या अनुसन्धान गर्न टोली
यसैबीच तीन दिनअघि धनुषाको ढल्केवरमा दुधे बालकको हत्यासम्बन्धी घटना अनुसन्धानका लागि धनुषा प्रहरीले विशेष टोली गठन गरेको छ। घटनाको तीन दिन बितिसक्दा पनि कारण खुल्न नसकेपछि सूक्ष्म अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामेश्वर कार्कीको संयोजकत्वमा ९ सदस्यीय विशेष टोली गठन गरेको एसपी खनालले बताए। ‘घटना बाहिर आएदेखि म आफैं पनि अहोरात्र खटेर अपराधी पहिचान गर्ने प्रयासमा लागेको छु’ एसपी खनालले भने, ‘इलाका प्रहरी कार्यालय ढल्केवर, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालयसमेतको टोलीले काम गरिरहेको छ। घटनाको अनुसन्धान अझ प्रभावकारी होस् भनेर डिएसपीको नेतृत्वमा छुट्टै टोलीसमेत गठन गरेका हौं।’

प्रकाशित: २७ वैशाख २०७६ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App