८ वैशाख २०८१ शनिबार
अन्य

चिराइतोको भाउ कुर्दै किसान

भोजपुर नगरपालिका–५ बोखिम धापखर्कस्थित चिराइतो बिक्रीका लागि चिराइतो नापतौल गर्दै किसान। तस्बिर/नागरिक

भोजपुर–कुनै बेला चिराइतोको स्वाद जति तितो थियो मूल्य भने ठिक उल्टो गुलियो थियो। तितो चिराइतोको मिठो मूल्य पाएर हौसिएका भोजपुरका कृषक अहिले भने निराश बन्न थालेका छन्। चिराइतोको मूल्यमा गिरावट आएपछि कृषकको बारीमा रहेको चिराइतोसमेत खेर जाने अवस्थामा पुग्न थालेको छ। लागत मूल्य नै उठ्ने अवस्था नबनेपछि कृषकको बारीमै चिराइतो रहन थालेको हो।

उत्तरी षडानन्द नगरपालिका–९ किमालुङका मिमछिरी शेर्पाले आफ्नो ४ रोपनी बारीमा चिराइतो खेती लगाएका छन्। वर्षौंदेखि चिराइतो लगाएका उनले दुई वर्षअघि प्रतिमन चिराइतो ५७ हजारसम्म बिक्री गरे। ज्वरो, दम, पिसाब पोल्ने, कलेजो, अल्सर, औलो, छालाका रोगका लागि अचुक औषधि मानिने चिराइतोको मूल्य राम्रै होला भनेर चिराइतो खेतीलाई राम्ररी मलखाद पनि गरे। नभन्दै त्यही ४ रोपनीमा २ मन बनाएको चिराइतो बढेर साढे ४ मन बनाए। तर मूल्य बढ्नुको साटो घट्न थालेपछि उनी निराश बने। गत साल त उनले साढे ५ सय रुपैयाँ प्रतिकेजीमा चिराइतो बेच्न बाध्य भए।

दुःखले लगाएको चिराइतोले मूल्य पाउनुको सट्टा निरन्तर घट्न थालेपछि उनलाई अहिले चिराइतो खेती काउसो जस्तै बनेको छ। ‘जडीबुटी हो, राम्रै आम्दानी होला भनेर झन् स्याहार गरेर उत्पादन बढाइयो, भरे सबै मेहेनत खेर गयो।’ उनले भने, ‘जडीबुटीमा राम्रै आम्दानी होला भनेर सोचे, बढ्नुको सट्टा उल्टै घट्यो। अब यस वर्ष मास्ने कि लगाउने अलमलमा छु।’

बहुउपयोगी जडीबुटी तथा व्यावसायिक नगदेबालीको रुपमा लिइने चिराइतोको खस्कँदो मूल्यले किसान निराश बनेका छन्। बर्सेनि आएको चिराइतोको मूल्य गिरावटले भोजपुरका किसानलाई हैरानी थपिदिएको छ। विगतका वर्षमा प्रतिमन ५० देखि ८० हजारसम्म स्थानीयस्तरमै बिक्री भएको चिराइतोको भाउ गत वर्ष र यस वर्ष भने झन् ओरालो लागको छ। यस वर्ष भोजपुरका किसानले प्रतिमन २२ हजारमा बिक्री गर्न बाध्य भए।

लगानी र परिश्रमअनुसारको प्रतिफल राम्रो नभएपछि खेती छाडेर अन्य खेती लगाउने तरखरमा रहेको षडानन्द नगरपालिका किमालुङकै अर्का चिराइतो कृषक रामप्रसाद तामाङ सुनाउँछन्। भन्छन्, ‘भाउ नै नपाएपछि चिराइतो खेतीमा दुःख गर्नु व्यर्थ लाग्न थाल्यो। सुरुमा राम्रै भाउ पाइएला भनेर गरियो, अहिले गरेको निमेक पनि उठ्दैन। अरु नै खेती लगाउने सोचमा छु।’

एकातिर मूल्यमा आएको गिरावट अर्कोतिर रोग देख्नाले पनि किसान निराश छन्। चिराइतोको बोट कालो हुने र सुुकेर जाने जस्तो रोगको प्रकोप देखिएको किसानहरू बताउँछन्। पौवादुङ्मा गाउँपालिका–१ श्यामशिलाका चिराइतो कृषक कमल भुजेलले पनि ५ रोपनी जग्गामा लगाएको चिराइतो सबै सुकेर खेर गएको सुनाए। राम्रो बीउ र चिराइतोमा लगाइने औषधिको उपलब्ध नभएकाले पनि रोगको प्रकोप बढेको उनको भनाइ छ। उनले औषधि र खेतीको परामर्शका लागि कुनै पनि सहयोगी संस्थाले सहयोग नगरेको गुनासो गरे।

विशेषगरी जिल्लाको माथिल्लो भेगमा उत्पादन हुने चिराइतो कृषकको गतिलो आम्दानी थियो। अघिल्लो वर्षमा राम्रो आम्दानी हुँदै आएको चिराइतो खेती यस वर्ष भने उत्पादनमा पूरै गिरावट आउने देखिएको चिराइतो व्यवसायी राम शेर्पा सुनाउँछन्। चिराइतोमा आएको मूल्य गिरावट, रोगको पहिचान र आउन सक्ने समस्याको विषयमा किसानलाई पूर्व जानकारी नहुँदा ठूलो समस्या देखिएको डिभिजन वन कार्यालयका वनरक्षक सीता ओझाको भनाइ छ।

१७ सयदेखि ३५ हजार मिटर उचाइको उपयुक्त हावापानीमा हुने चिराइतो बाहिरी देशतिर बढी निर्यात हुने गरेको छ। परम्परागत खेतीबाट नगदेबालीतर्फ उन्मुख हुँदै गएपछि प्रतिफल छिटो पाइने र सहज रूपमा खेती गर्न सकिने भएकाले खेतीमा लागेका किसानलाई चिराइतोको मूल्यमा आएको गिरावटले निराश थपिदिएको छ। यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायी बताउँछन्। किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, तिम्मा, खार्तम्छा, युँ, वासिङथर्पु चिराइतोका लागि मुख्य पकेट क्षेत्र मानिन्छन्।

प्रकाशित: २७ वैशाख २०७६ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App