१५ चैत्र २०८० बिहीबार
अन्य

नफेरिएको नयाँ वर्ष

लक्ष्मी थापा

फेरिएको त
भित्तामा झुण्डिएको निर्जीव क्यालेन्डर होे
तिम्रा शुभकामना कार्डमा रंगिने
वर्षका अंक हुन
थोरै बालकका तोते बोली
अलिकति युवाको बँैसालु मन
केही मात्रामा अधबँैसेको कपालको रंग
यति न हो।

कहिल्यै नफेरिएर
सधैँसधैँ उस्तै र उही स्वरूप बोकेर
मेरो सपना विपना दुवै बिथोलिरहने
यावत् घटनाहरूबीच  
म लेख्न सक्दिन
शुभकामना नयाँ वर्षको
फुस्काउनै सक्दिन
एक टुक्रा मुस्कान हर्षको।

न फेरिए
राधिकाहरूका चित्कारले
अखबारका पाना पोतिने क्रम
न छोड्यो
नातिनीका लागि
असुरक्षित बनेको
हजुरबाको काखले लखेट्न

न रोकियो
चार हिउँद कटिसक्दा पनि
भूकम्पले छोडिगएको
अभावको पराकम्पनले
लाखौ मुटु ठग्ठगाउनु

जव
पीडितका लागि गठित आयोगमा
उनैउनै ब्वाँसाहरू
नाम फेरिफेरि
हाम्रो सारंगी पेट र
कठाङ्ग्रिएको आङमाथि शासन
गरिरहेको देख्छु
लाग्छ,
यहाँ फेरिने  मुकुन्डो मात्रै हो
मान्छे होइन
यहाँ फेरिने नारा हुन्
विचार होइन।

उस्तैउस्तै ढाँट सपना बाँड्नेहरूकै
रजाइ छ यत्रतत्र
लाग्छ
बतास पनि
सान्त्वनाका चिल्ला शब्द मात्र बाकेर बहन्छ
कुरा मात्र दोचार्ने
कामको सिन्को नभाँच्नेकै बिगबिगी भएको
यो बस्तीमा
म केही फेरिएकै देख्दिनँ
ए साथी ! तिमीले
कहीँ कतै केही फेरिएको देख्यौ भने
सुटुक्क भन् है
मलाई पनि
अब त एउटा परिवर्तनको
कविता लेख्ने रहर छ।

प्रकाशित: २१ वैशाख २०७६ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App