२३ श्रावण २०७७ शुक्रबार
अन्य

प्रेरणाकी स्रोत आमा

निर्भिका केसी
कक्षा –९,
काठमाडौं प्रज्ञाकुञ्ज स्कुल, नयाँबानेश्वर, काठमाडौं।      

कुरा ०६१ माघ १९ गतेको। त्यस दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको शासनसत्ता आफ्नो हातमा लिएका थिए रे। अरूका लागि कालो दिन भए पनि म र मेरी आमाका  लागि माघ १९ जीवनकै महत्वपूर्ण दिन हो। किनकि नौ महिना आमाको गर्भमा बसेर मैले पहिलो पटक धर्ती टेकेको त्यही दिन हो।

आमा कामकाजी हुनुहुन्छ। म उहाँको गर्भमा छँदा पनि नौ महिनासम्मै उहाँ कार्यालय जानुभएको थियो। मलाई जन्म दिने बेलामा पनि उहाँ पाटन अस्पतालमा एक्लै जानुभएको रे। राजाले शासन सत्ता हातमा लिएपछि उनले देशमा ल्यान्डलाइन र मोबाइल फोन दुवै बन्द गराएका थिए रे। कफ्र्यु पनि लागेको थियो रे।

एक्लै अस्पताल पुगेकी आमाले अल्ट्रासाउन्ड गराएपछि शल्यक्रिया गर्न एकछिन पनि ढिला भए तिम्रो बच्चालाई जे पनि हुन सक्छ भनिदियो रे डाक्टरले। बाबालाई बोलाउन जान्छु भन्दा पनि डाक्टरले दिएन। त्यसपछि आत्तिएर उहाँले सेनादेखि प्रहरीसम्मका मानिसलाई परिवारसँग फोन सम्पर्क गराइदिन अनुरोध गर्नुभयो। तर कतैबाट पनि सहयोग नमिलेपछि रुनुबाहेक विकल्प भएन। त्यतिबेला झरेका उहाँका आँसुका धाराको ऋण सायद मैले सात जुनीसम्म पनि तिर्न सक्दिन होला।

यसरी मलाई जन्म दिने बेलामा धेरै पीडा सहनुभएकी आमाले म जन्मिएपछि पनि धेरै दुःख गरेर हुर्काउनुभयो। ३÷४ वर्षसम्म उहाँले रातभरि नसुती मलाई सुताउनुभयो। आफूले नखाईनखाई मलाई खुवाउनुभयो र आफूलाई सञ्चो नहुँदा पनि मेरै स्याहारसुसारमा जुट्नुभयो।


हामीले आमाको काखमा बसेर मीठामीठा खानेकुरा खान पाएका छौं। उहाँले नै धोइदिएका सुकिला लुगा लगाएर हिँड्न पाएका छौं। तर कतिपयका आमा छैनन्। आमा नहुनुको दुःख तीनै बालबालिकाले मात्र बुझ्छन्।

उहाँले नै मलाई ‘आमाबाबा’ भनेर तोतेबोली बोल्न सिकाउनुभयो। उहाँकै औँला समातेर बामे सर्न सिकें। उहाँले मेरो खुसीमै आफ्नो खुसी खोज्दै हरदिन बिताउनुभयो। त्यसैले उहाँ मेरो गुरु र साथी मात्रै होइन, आदर्श र प्रेरणा स्रोत पनि हुनुुहुन्छ।

पढ्न जाने उमेर भएपछि उहाँलाई सधैं मैले पढ्ने विद्यालयको खोजी हुन थाल्यो। छोरीले पढ्ने विद्यालय उत्कृष्ट होस् र छोरीले शिक्षासँगै संस्कारको वातावरण पाओस् भन्नेमा उहाँ सधैँ सचेत रहनुभयो। हामी मध्यम वर्गीय परिवारमै पर्छौं। उहाँहरूले म र मेरो भाइको शिक्षाका सन्दर्भमा कहिले कुनै सम्झौता गर्नुभएन। सकेसम्म राम्रो विद्यालयमा पढाउन पाए हुन्थ्यो भन्ने चाहनाअनुसार हामीलाई काठमाडौंको उत्कृष्ट विद्यालय मध्येको एकमा हाल्नुभएको छ। 

पैसा होस् या नहोस्, हाम्रा हरेक आवश्यकता पूरा गरिदिनु हुन्छ। सानामा मलाई विद्यालयको बस स्टपसम्म पु¥याउन जाँदा त्यहीँ रहेका स्टेसनरी पसलमा देखिएका खेलौनाका लागि बाबालाई धेरै पिराउँथें रे। बाबाले ती खेलौना अनावश्यक हुन् भनेर नकिनिदिएपछि आमाले फकाएर किन्न लगाउनुहुन्थ्यो रे। जे माग्यो त्यही पाएर हाम्रो स्वभाव पनि अलि जिद्धी हुँदै गएको होला । आमाले भन्नुभएको बिस्तारै उमेर बढ्दै जाँदा मेरो जिद्धीपना पनि कम हुँदै गएको छ रे।
आजको दिनसम्म आइपुग्दा आमाले मलाई केहीको पनि कमी हुन दिनुभएन। कति कुरा भनेपछि पाएँ भने कति नभनी पाएकी छु। म उहाँले दिनुभएको निःस्वार्थ मायाको वर्णन गर्न सक्दिन।

कहिलेकाहीँ बाहिर घुम्न जाँदा बाटोमा आमाबाबु नभएका बालबालिका देखिन्छ। आमा नहुनुको दुःख तिनै बालबालिकाले मात्र बुझ्छन्। किनकि त्यसको पीडा उनीहरूले मात्र भोगेका छन्। हामीले आमाको काखमा बसेर मीठामीठा खानेकुरा खान पाएका छौं। उहाँले नै धोइदिएका सुकिला लुगा लगाएर हिँड्न पाएका छौं। त्यसैले कहिलेकाहीँ हामी मात्तिएर उनै आमाको महत्व बुझ्दैनौं। पुलपुलिएर जिद्धी गर्छौं र आफ्ना माग जसरी भए पनि पूरा गराउने कोसिस गर्छौं।

म पनि यसरी नै पुलपुलिएँ होला। आमालाई दुःख दिएँ होला। उहाँले भनेका मानिन होला। मैले गरेका सबै गल्तीका लागि आजकै दिन म आमासँग माफी माग्न चाहन्छु। सधैँ उहाँले देखाउनुभएको बाटोमा लागेर देशको एक असल नागरिक बन्ने कोसिस गर्नेछु भन्ने प्रण गर्दछु।

प्रकाशित: २१ वैशाख २०७६ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App