३० असार २०७७ मंगलबार
अन्य

सयौं थुँगा फूलका हामी...

भाइबहिनी हो ! हाम्रो राष्ट्रिय गान ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ ०६२/६३ को आन्दोलनपछिको उपलब्धि हो। यसमा हाम्रो हिमाल, पहाड, तराई र जातजातिप्रतिको गौरवबोध छ। त्यसैले राष्ट्रिय गान गाउँदा मन प्रफुल्ल बन्छ।  
त्यो आन्दोलनले राजतन्त्र फ्याँकेर गणतन्त्र ल्यायो। हाम्रो पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भिर’लाई संसदले खारेज ग-यो र नयाँ राष्ट्रिय गानको खोजी गरियो। सरकारले राष्ट्रिय गान छनोट गर्न संस्कृतविद् सत्यमोहन जोशीको संयोजकत्वमा १४ सदस्यीय छनोट कार्यदल गठन गरेको थियो। त्यसले प्रतिष्पर्धाका माध्यमबाट गीत छान्ने निर्णय ग-यो।

व्याकुल माइलाले त्यससम्बन्धी सूचना ‘गोरखापत्र’ मा भेटें। त्यतिबेला उनी जनप्रशासन क्याम्पस जमलमा थिए। वकिल पेशामा आबद्ध थिए। ‘त्यही दिनबाट राष्ट्रिय गान लेख्न सुरु गरें’, उनले सुनाए। राष्ट्रिय गानको मापदण्ड तोकिएको थियो। विभिन्न जातजाति, भौगोलिक, सांस्कृतिक, प्राकृतिक सम्पदा समेटिएको हुनु पर्ने, राजनीतिक परिवर्तनलाई सम्बोधन गर्ने विषयवस्तु समेट्नु पर्ने भनिएको थियो। साथै ८ हरफ र बढीमा ५० वाक्य शब्द संरचना पनि तोकिएको थियो।

भएछ के भने, उनले प्रयास गर्दागर्दै राष्ट्रिय गान लेख्न दिइएको समय सीमा सकिए छ। उनले जति लेखे त्यतिमा चित्त बुझेन। उनी बिहान लेख्ने प्रयास गर्थें। दिउँसो कानुनको अभ्यास गर्ने क्रममा, अदालत धाउने समय र बेलुका अबेरसम्म पनि सोच्थे। तर, उनले कल्पना गरे जस्तो लेख्न सकेनन्। त्यसैले उनी प्रतिष्पर्धाबाट बाहिरिए।

त्यसको दुई दिनपछि उनी बागबजार, काठमाडौंमा डुल्दै थिए। त्यहाँ कवि श्रवण मुकारुङले राष्ट्रिय गानका लागि १५ दिन म्याद थपिएको जानकारी दिए। ‘अहो दाइ, म लेखेर पूरा गर्छु’, उनले गद्गद् हुँदै मुकारुङसँग भने। यसरी फेरि राष्ट्रगान लेख्न थाले।

हुँदाहुँदा थपिएको म्याद सकिनै लागेको थियो, ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली’ भन्ने लाइन फु¥यो उनको दिमागमा। उनलाई लाग्यो–बल्ल भन्न खोजेको कुरा लेख्न पाएँ।
उनले लेखेको राष्ट्रिय गान पहिलो भयो। र, ०६४ साउन १८ देखि लागु गरियो। अम्बर गुरुङको संगीतमा एउटा समूहले गाएपछि हाम्रो राष्ट्रिय गान झन् लोकप्रिय बन्यो। राष्ट्रिय गानका लेखक भैसकेपछि उनको दिनचर्या बदलियो। उनलाई विभिन्न स्कुल तथा संस्थाले प्रमुख अतिथिका रूपमा बोलाउन थाले। कुनैकुनै दिन त उनले ६ ठाउँमा प्रमुख अतिथि बन्नु प-यो। 

घरबाट १ घण्टा उकालो र १ घण्टा ओरालो हिँडेपछि मात्रै पुगिन्थ्यो हर्कपुरको स्कुल। स्कुलमा खाजा खाने चलन थिएन। दुई घन्टा हिँडेर जान्थे, फेरि दुई घन्टा हिँडेर फर्कन्थे। घर आइपुग्दा भोकले लखतरान हुन्थे। उनले कक्षा ८ देखि १० सम्म भगवती मावि मानेभञ्ज्याङमा पढे। घरबाट ५ घन्टा हिँड्नु पर्ने भएकाले उनी डेरामा बसेर पढ्न थाले।

हामी नयाँ नेपालको कुरा गर्छौं। नयाँ नेपाल बनाउने जिम्मेवारी नयाँ पुस्ताको हो। आजका विद्यार्थीले भोलिको नेपाल हाँक्छन्। उनीहरूमा आशा र उत्साह देखेका छन् माइलाले। उनीहरूले ग्रहण गर्ने शिक्षा नै नयाँ नेपाल समृद्ध, सम्पन्न, सभ्य र सुसंस्कृत नेपालको आधारशीला बन्न सक्छ।

त्यसैले उनी विद्यार्थीमा ऊर्जा बढाउँछन्। आफ्नो संघर्षको कथा सुनाउँछन्। र, मुलुकभित्रै पसिना चुहाउन प्रेरित गर्छन्।
अनुशासित र नियमित किसिमले राष्ट्रिय गान गाउने थलो विद्यालय हुन्। र, गाउने  विद्यार्थी नै हुन्। उनीहरूमा राष्ट्रिय गान लेख्ने व्याकुल माइला कस्तो होला भन्ने  कौतुहलता हुन्छ। ‘त्यो कौतुहलता मेटाउनु भनेको उनीहरूलाई जानकारी दिनु हो। म गइसकेपछि मैले दिने सुनाउने प्रेरणादायी अनुभवका कुरा आफ्नो ठाउँमा छ’, उनी भन्छन्, ‘धेरैलाई व्याकुल माइला सत्तरी वर्षको बूढो होला भन्ने लागेको हुँदो रहेछ। तर, उनीहरूका सामु म उभिँदा चकित पर्छन्।’

जब उनी विद्यार्थी र शिक्षक माझ उभिएर राष्ट्रिय गान गाउँछन् तब सबै जना उनका कुरा ध्यानपूर्वक सुन्छन्। उनी विद्यार्थीलाई पढ्नुको विकल्प नभएको सुझाउँछन्। राम्रो लक्ष्य लिएर पनि पढ्नु पर्छ भन्छन्। समाजका लागि योगदान पु-याउनु पर्छ भन्ने भावनाले पढ्नु पर्छ, देशलाई बनाउने सपना बोकेर पढ्नु पर्छ भन्नेमा जोड दिन्छन्।

‘भोलि म देशका लागि केही गर्छु भन्ने जिम्मेवारीबोध सहित पढ्नु पर्छ’, उनी विद्यार्थीसँग आग्रह गर्छन्, ‘अहिले त प्लसटु पढ्न पाएको छैन अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता देशमा उडिहाल्ने सोच छ। त्यसो सोचबाट हामी माथि उठ्नु पर्छ।’

उनलाई लाग्छ यहाँ रोजगारी पाइँदैन भनेर निराश भएर बस्नु पर्दैन। भोलि म रोजगारी सिर्जना गर्छु भन्ने हिम्मत बोकेर पढ्नु पर्छ। आखिर व्याकुल माइला पनि ओखलढुंगाको विकट गाउँमा जन्मे÷हुर्केर दुःखबाट खारिएका प्रतिभा हुन्। पढाइकै कारण यो ठाउँसम्म आइपुगेको उनी सुनाउँछन्।

अमेरिका, बेलायत या विश्वका जुनसुकै देशको मान्छेले नेपाल कति सुन्दर भन्छन्। किन यति सुन्दर र यति धेरै प्राकृतिक स्रोतसाधन भएको देशमा राम्रो हुन सकेन ? किनकि हामीले थिति बसाल्न सकेनौं। विकासको राम्रो कार्यक्रम गर्न सकेनौं। त्यो किसिमको नेतृत्व मुलुकले पाएन। नयाँ पुस्ताले यस्ता बेथिति हटाउने अठोट लिएर पढ्नु पर्छ।

उनी मानेभञ्ज्याङ गाउँपालिका– ६, हिलेपानी, सोक्कमाटार, ओखलढुंगामा ०२९ चैत २५ गते जन्मेका थिए। उनको खेत सोक्माटार दूधकोसी किनारमा पर्छ। पारिपट्टि खोटाङ र वारिपट्टि ओखलढुंगा छ। उनका पिताजी मनबहादुरको केही महिनाअघि निधन भयो। उनी सानै छँदा माता धनलक्ष्मीको निधन भएको थियो। उनलाई आमाको मुहार कस्तो थियो भन्ने सम्झना छैन। हजुरआमाले हुर्काइन् उनलाई। 

उनी गाउँको महादेवस्थान प्राविमा ३ कक्षासम्म पढे। तिनताका अहिले जस्तो कापीकलम र किताब हुँदैनथ्यो। कालो पाटीमा खरीढुंगाले लेख्ने गरिन्थ्यो। पढ्न बत्तीको चलन थिएन। बोत्तलमा सलेदो बालेर पढ्नु पथ्र्यो। गाउँको स्कुलबाट ३ कक्षा पढेपछि उनले ४ देखि कक्षा ७ कक्षासम्म हर्कपुर निमाविमा पढे।

घरबाट १ घण्टा उकालो र १ घण्टा ओरालो हिँडेपछि मात्रै पुगिन्थ्यो हर्कपुरको स्कुल। स्कुलमा खाजा खाने चलन थिएन। दुई घन्टा हिँडेर जान्थे, फेरि दुई घन्टा हिँडेर फर्कन्थे। घर आइपुग्दा भोकले लखतरान हुन्थे। उनले कक्षा ८ देखि १० सम्म भगवती मावि मानेभञ्ज्याङमा पढे। घरबाट ५ घन्टा हिँड्नु पर्ने भएकाले उनी डेरामा बसेर पढ्न थाले।

सानैदेखि ज्ञानी स्वभावका थिए उनी। उनलाई सबैले मन पराउँथे। शिक्षकले पढाएको थपक्क बुझिहाल्थे। उनलाई लाग्छ कक्षामा पहिलो नै हुन्छु भनेर पढ्नुभन्दा राम्रोसँग बुझेर पढ्न प्रयास गर्नु पर्छ। र, जीवनमा असल नागरिक बन्नु पर्छ।
उनले मानेभञ्ज्याङबाट ०४६ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे। अनि काठमाडौं आएर कानुन पढे। नेपाल कानुन क्याम्पसमा पढेर वकिल बने। पछि जनप्रशासन र समाजशास्त्र विषयमा एमएको पढाइ गरे। अब संस्कृति विषयमा विद्यावारिधि गर्ने उनको चाहना छ।   

गाउँका स्कुल पढ्दैदेखि कविता मोह पलाएको थियो उनमा। काठमाडौं आएपछि मात्र गाउँ सम्झेर कविता लेख्न थाले उनी। उनको पहिलो कविता ०४८ सालमा ‘नयाँ वर्षको शुभकामना तिमीलाई’ ‘समीक्षा’ पत्रिकामा छापियो। पत्रिकामा छापिएको कविता पढेर उनी निकै खुसी भए।
उनले धेरै कविता र गीत लेखेका छन्। उनको अधिकांश समय सामाजिक काममा बित्छ। सिंगो जीवन समाज हितमै बिताउने उनको इच्छा छ। हाल उनी ललितपुरको डेरामा बस्छन्। जीवनसाथी नानुकला र छोरी निष्ठासँगै बस्छन्।

प्रकाशित: २१ वैशाख २०७६ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App