coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘काठमाडौं बिरानो ठाउँजस्तै भयो’

केशव भट्टराई, अध्यक्ष, चलचित्र विकास बोर्ड

तपाईंको विचारमा सहर भनेको के हो?
मानिसको बढी बसोबास भएको कोलाहल ठाउँ हो सहर। सहरमा अर्गानिक खानेकुरा पाइन्न। त्यहाँको जनजीवन सधैं दौडधुपमा हुन्छ। यति हुँदाहुँदै पनि सहर अन्तभन्दा सुविधायुक्त हुन्छ। त्यो ठाउँमा बढी सुविधाभोगी मानिस बसेका हुन्छन्।

घुमेकोमध्ये मनपरेको सहर?
पोखरा नै मलाई मनपर्छ। त्यो ठाउँ प्रकृतिको खानी हो। सुरक्षाको हिसाबमा पनि पोखरा अग्र स्थानमा रहेको छ।  सहरभित्र खासै प्रदूषण पनि छैन।

काठमाडौं कस्तो लाग्छ?
काठमाडौं देशको राजधानी हो। यहाँ धेरै सेवासुविधा भएकाले देशैभरका मानिस भरिएका छन्। तर, मानिस अनुसार जुन किसिमको व्यवस्थापन सहरी प्रशासनले गर्नुपर्ने थियो त्यो भएन। अहिले महानगरले पनि नमुना सहर बनाउने योजना अघि सारेको छ। तर, बन्ने छाँट देखिएको छैन। यतिका समय बित्दासम्म जनप्रतिनिधिले जनताले महसुस गर्न सक्ने गरी काम गरेका छैनन्। काठमाडौंमा घर थपिए, गाडी थपिए। तर, अरु अत्यावश्यक सुविधा थपिएनन्।

यतिका समय बित्दा पनि सम्म जनप्रतिनिधिले जनताले महसुस गर्न सक्ने गरी काम गरेका छैनन्। काठमाडौंमा घर थपिए, गाडी थपिए। तर, अरु अत्यावश्यक सुविधा थपिएनन्।

काठमाडौं कहिले छिर्नुभयो?
काठमाडौं छिरेको ४५ वर्ष भयो। म पूर्वबाट कन्काई र राजदूत दिवा बस चढेर काठमाडौं आएको थिएँ। तराईबाट बस उकालोमा चढेको देख्दा अताल्लिएको थिएँ, उकालोमा पनि बस चढ्दो रहेछ भनेर।

कस्तो थियो त्यतिबेलाको उपत्यका?
अनामनगर खाली थियो। बासँबारीमा रातीमा हिँड्न नसक्ने जंगल थियो। जोरपाटीसम्म साझा बस चल्थ्यो। सबैतिर चउर नै चउर थिए। सडक विकास भएका थिएनन्। पुराना शैलीका घर थिए। खाटी नेवारी संस्कृति थियो। खेतबारीमा नेवार समुदायका बूढापाका काम गरिरहेको देखिन्थे।

सहर पस्ने बेलाको सपना के थियो?
सहर गएर पढ्ने सपना नै थियो। विस्तारै काठमाडौं र घर आउजाउ बढ्यो। जागिर पढाई पनि यतै भयो। त्यसपछि यतै जम्न थालियोे। सायद, काठमाडौं नछिरेको भए म सिनेमा क्षेत्रमा लाग्ने थिइनँ होला।

उपत्यकाबाहिर कतिको घुम्नुभएको छ?
बेला बेलामा घुम्ने र नयाँ जीवनशैली बुझ्ने गरेको छु। उपत्यकाबाहिरको अलि व्यवस्थित लाग्ने सहर पोखरा हो। पोखरा सहर मनमोहक र सुन्दर छ। अहिलेसम्म यो सहर सबै पक्षमा व्यवस्थित छ। धुवाँधुलो र प्रदूषण पनि खासै देखिँदैन। सहर शान्त र हल्लामुक्त छ।

काठमाडौं अस्तव्यस्त हुनुको कारण के होला?
पछिल्लो समय सबैले काठमाडौंलाई धिक्कार्छन्। सहर बिग्रियो भनेर कुरा काट्छन्। नेताहरूलाई धारे हात लगाउँछन्। अहिले काठमाडौंमा देखिएका समस्या सबै मानिसकै कारण निम्तिएका हुन्। यहाँ सबैथोक पाइन्छ। प्रदूषण हामीले नै निम्त्याएका हौं। विकासका काम पनि हाम्रै कारणले नभएको हो। सहरवासी र राज्यमा बस्नेहरूले सहरको विकासबारे सिन्को पनि नभाचेकाले सहरको अवस्था यस्तो भएको हो। अर्को कुरा, यहाँका सहरभित्र अनेक कला, संस्कृति र सभ्यता लुकेका हुन्छन्।

तपाईंको बुझाईमा सहर कस्तो हुनुपर्ला?
सहरको जनघनत्व बढी भए पनि त्यहाँको प्रशासनले सहरका हरेक पक्षलाई चुस्त दुरुस्त राखेको हुन्छ। सहरले हरेक मानिसका आवश्यकता पूरा गर्छ र आफ्नो स्वरूप पनि सधैं चम्काइरहेको हुन्छ। मैले यस्तै बनोस् भन्ने कामना गर्छु।

के कारणले सहरको विकास हुन नसकेको होला?
सडक, खानेपानी र अन्य विकासका काम भइरहेको देख्दा विकासको नाममा विनास भएको छ भन्ने लाग्छ। किनभने ती काममा भोलि के हुन्छ भन्ने हेरिएको छैन। सबैतिर भ्रष्टाचार मात्रै भएको सुनिन्छ। यस्तो तवरले विकास कसरी होला? सरकारी निकायले तदारुकता नदेखाउँदा सहर विकास हुन नसकेको हो। पदमा बस्नले आफ्नो स्वार्थ मात्रै हेरे। सहरको दीर्घकालीन र प्रभावकारी विकासमा ध्यान दिएनन्। ऐतिहासिक, मौलिक र प्राकृतिक पक्षलाई नियाल्दा नेपाल धेरै अगाडि छ।

विदेशका कुन–कुन सहर घुम्नुभएको छ?
मैले धेरै देशका सहर घुमेको छैन। भारत, मलेसिया, र हङकङका सहर घुमेको अनुभव मसँग छ।

त्यहाँ कस्तो लाग्यो?
हरेक कुरा व्यवस्थित नै छन् त्यहाँ। सरकारी नियम चुस्त छन्। सहरमा कसैले पनि गलत काम गर्न पाउँदैन। हाम्रो सहरमा जस्तो फोहर र प्रदूषण विदेशका सहरमा छैन। त्यहाँ सहर कानुनी परिधिमा छन्। सरकारको नीति नियमलाई सबैले मानेका छन्। बाहिरका सहरको तुलनामा हाम्रा सहर धेरै नै पछि छन्। मलाई मेलबर्न पनि ज्यादै सुन्दर लागेको हो। त्यहाँ साह्रै शान्त र व्यवस्थित छ। नेपालको जस्तै हावापानी र भौगोलिक क्षेत्र छ। समुद्र र वनजंगल पनि छ।

बाहिरी मुलुकको तुलनामा नेपालका सहरमा के भिन्नता पाउनुभयो?
हामीमा सरकारले बनाएको नीतिनियम पालना गर्ने चेतना नै छैन। राज्यले गर्ने काम पनि फितलो छ। सरकारले नै कडाइ गर्न सकेको छैन। ज्ञान भएकाहरू पनि अज्ञानीजस्तै सहरलाई कुरूप बनाउन लागिपरेका छन्। मौलिकताको कसीमा नेपालका सहर अगाडि छन्। यहाँका मठमन्दिर विश्वकै धरोहर हुन्। हिमाल र डाडाँकाडाँले नेपाललाई सुन्दर बनाएको छ।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
सहरमा सबै किसिमको सुविधा होस्। मास्क लगाउन नपरोस्, सुविधा लिन लाइन बस्न नपरोस्। सडक भत्काउने र बनाउने निकायबीच समन्वय भएको देख्न पाइयोस्। अर्को कुरा, प्रत्येक सहरको क्षमता र आयु हुन्छ । सहरको पूर्वाधार र जनसंख्याले त्यसको आयु र क्षमता देखाउँछ। यो हिसाबमा हाम्रा सहर एकदमै जटिल अवस्थामा छन् । काठमाडौंमा थाम्नै नसक्ने जनसंख्या वृद्धि भयो। सहरको जनसंख्या ठिक्क होस्। सबैतिर व्यवस्थित भएको देख्न पाइयोस्।

सहरको विकासको लागि पछिल्लो समय गरिएका गतिविधि कस्ता छन्?
दुई वर्षअघि जनप्रतिनिधिले ल्याएका योजना आशलाग्दा थिए। तर, ती योजना कागजमै सीमित रहे। निर्वाचित भएको एक वर्ष बितिसक्दा पनि जनप्रतिनिधिले कामै गरेनन्। मेरो विचारमा सहर सुन्दर र व्यवस्थित हुनुपर्छ। त्यसको लागि सरकारका सबै निकायले मिलेर काम गर्नुपर्छ । सहर विकास गर्दा खुला ठाउँ प्रशस्त छाडेको हुनुपर्छ।

उपत्यका सपार्न के गर्नुपर्ला?
सहरवासीको सपना मेचलम्चीको आशा अझै पनि लम्बिने अवस्थामा छ। अरु देशमा हेर्ने हो भने त्यहाँका सहरको रातारात स्वरूप फेरिन्छ। नेपालमा विकास निर्माणका काममा जनतालाई दुःख दिने प्रवृत्ति छ। सरकारले गर्ने हरेक विकास निर्माणका काममा सहरवासीले सास्ती पाइरहेका छन्। त्यसकारण सरकारले आफ्ना गतिविधि सञ्चालन गर्दा आम नागरिकलाई सास्ती दिनु हुन्न। विकास निर्माणका हरेक काममा सरकारी निकायबीच समन्वय हुनुपर्छ। मेरो विचारमा काठमाडौंले आज कैयौं मानिसका सपना पूरा गरिदिएको छ। यहाँका सेवा–सुविधा लिएर मानिस संसारमै चर्चित बने। तर, उनीहरूले काठमाडौंलाई केही पनि दिएनन्। यसलाई सपार्नको लागि पनि तिनै सहरवासी जुट्न आवश्यक छ। माथिल्लो निकायले काम गर्ने हो भने १०/२० वर्षमै काठमाडौं कायापलट हुन्छ।

काठमाडौं व्यवस्थित बनाउन सहरवासीको के भूमिका रहला?
सहरवासीको मुख्य भूमिका रहन्छ। भइरहेका विकास निर्माणका कामलाई छिटो सक्न सरकारी निकायलाई घच्घच्याउने। यहाँका पुराना कलाकृतिको रक्षा र संरक्षण गर्ने, सडक विस्तारलाई समयमै सक्नेलगायत काम गर्ने हो भने सहरको विकास हुन सक्छ।

काठमाडौंको राम्रो लाग्ने पक्ष?
यहाँका सहरजस्तो मौसम कतै पाइन्न । उपत्यका आफंैमा इतिहास बोकेको पौराणिक सहर हो।

यहाँको के–के समस्या देख्नुभएको छ?
खाल्डाखुल्डी सडक, ट्राफिक जाम, धुवाँधुलोलगायत सहरका मुख्य समस्या हुन्।

तपार्इंलाई मनपर्ने खानेकुरा के हो?
सहरको मिठो खानेकुरा मम नै हो।

घुम्न मन लागेको ठाउँ?
मलाई नेपालकै रारा पुग्ने धोको छ। एकपटक आधा बाटो पुगेर फर्केको थिएँ, त्यतिबेला बाटोको थियो।

प्रकाशित: २० वैशाख २०७६ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App