८ वैशाख २०८१ शनिबार
अन्य

‘सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको छु’

राजु अधिकारी, वडा अध्यक्ष, बूढानिलकण्ठ वडा नं ११

जनप्रतिनिधि भएर आएपछि जनतालाई महसुस हुने के–के काम गर्नुभयो?
हामी जनप्रतिनिधि भएर आइसकेपछि थुप्रै काम गरेका छौँ। तर, देखिएको छैन। अहिले जंङ्लादेवी, काफलडोलमा  ढल निर्माण भइरहेकोे छ। प्रगतिचोकलगायत ठाउँको करिब डेढ किलोमिटरको सडकको पिच हुँदैछ।

कपन शंखरेडाँडाबाट बूढानिलकण्ठ १३ वडामा जाने तीन किलोमिटर सडक, राममन्दिर जाने दुई किलोमिटर र फाइका चोक जाने डेढ किलोमिटर लगायत अरु ठाउँको सडक निर्माणको काम भइरहेको छ। विद्यालयलाई पनि सहयोग गरिरहेका छौं। स्वास्थ्य, शिक्षालगायत सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छु।

तपाईंकोे वडामा सडक बेहाल छन्, कहिलेसम्ममा मर्मत सम्भार गर्नुहुन्छ?
केन्द्रीय योजनाअन्तर्गत बाटो निर्माण हुँदै छन्। हामीले ताकेता गर्दै आए पनि ठेकेदारले समयमै काम सम्पन्न नगर्दा बूढानिलकण्डवासीले नाकाबन्दीको अवस्थाबाट गुर्जिनुपरेको छ। हामीले सडक विभाग, ठेकेदारलगायत सँग सयौँ पटक कुरा गर्यौं। तर, आश्वासन मात्रै पायौं। काम गरेनन्। हामीले सडक विभागका इन्जिनियरलाई बोलाएर छलफल ग-यौँ । भनेको काम नगर्ने, नगर्नु पर्ने काम गर्ने पाइएको छ। यी सबै सडकको काम यो मसान्त सम्ममा सक्ने भनेर ठेकेदारले आश्वसन हामीलाई दिएका छन्। हामीले यसको निरन्तर फलोअप गरिरहेका छौं। गणेश मन्दिर लगायतको केही ठाउँमा पिच सकिएला। तर, अरु ठाउँको काम सकिने अवस्था देखिएको छैन। अझै यी सबै सडक पिच गर्न लागि डेढ वर्ष लाग्छ । ढल निर्माण ८० प्रतिशत सकिएको छ।

ठेकेदारले काम नगर्नुको कारण के देख्नु भयो?
एउटै ठेकेदारले धेरै टेण्डरको काम लिने गरेको र एउटा काम नसकी अर्को काम थाल्ने गरेकाले समयमै सडक पिच गर्न सकेका छैनन्। अर्को कारण सडक विभागले ठेकेदारलाई पैसा दिएन भनेर बहाना गर्ने पनि ठेकेदारबाट पाइएको छ।  
सडक निर्माण गर्दा पहिरो जाने कत्तिको सम्भावना छ?
यहाँ ठेकेदारले समयका काम नगर्दा केही व्यक्तिको घर क्षतिग्रस्त हुने देखिएको छ। त्यसैले घर संरक्षणको लागि पहिलो त बाटो नै निर्माण गर्नुपर्छ।
स्थानीयवासीले वडा कार्यालयले फोहोरमैला व्यवस्थापन गर्र्र्न सकेको छैन भनेर भन्छन् नि?
पहिले निजी संघसंस्थाले फोहोरमैला व्यवस्थापन गर्दा समयमा फोहोर उठ्न भन्ने गुनासो आयो। त्यसपछि हामीले ती संघसंस्थालाई राम्रोसँग फोहोर व्यवस्थापन गर्न पत्राचार ग-यौं। तर, टेरेनन्। त्यसपछि वडा कार्यालयले आफ्नै पहलमा प्राइभेट कम्पनीलाई फोहोर उठाउने जिम्मेवारी दियो। अहिले समयमै फोहोर उठ्छ।

केही हदसम्म समस्या हल भएको छ। उनीहरूले हप्ताको दुई चोटी उठाउँछौँ भनेर हामीसँग समझदारी गरेका छन्। अघि फोहोर उठाउने ठेकेदारलाई भने अहिले प्रतिबन्ध नै लगाएको छैनौँ।

तपाईंको वडामा पानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
खानेपानीको समस्या त नेपाल अधिराज्यभरी नै छ। बूढानिलकण्ठमा केही ठाउँमा पानीको स्रोत भए पनि वडा १०, ११ र १२ मा भने पानीको धेरै समस्या छ। यी समस्या भएको वडामा पानीको स्रोत नै छैन। पानीको समस्यालाई न्यूनीकरण गर्न आठ साना बोरिङ ल्याएका छौँ। यो दीर्घकालीन उपाय भने होइन। त्यसैले यसको लागि मेलम्ची खानेपानी ल्याउनको लागि जनप्रतिनिधिले मेलम्ची खानेपानी आयोजना केयुेयलमा गएर छलफल ग-यौँ। पानीको माग गरेपछि बजेटको व्यवस्था भएमा पानी दिने सहमति भयो।   यसको लागि अर्थ मन्त्रालयले दुई अर्ब ५४ करोड रूपैयाँको बजेट विनियोजन भइसकेको छ, यसको टेन्डर पनि भइसकेको छ। काम सुरु गर्न छलफल गरिरहेका छौं। यो पानी आएपछि यहाँको पानीको समस्या केही न्यूनीकरण हुने अनुमान छ।

पहिले सडक पिच थियो, जनप्रतिनिधि आएपछि सडक लथालिंग बनायो भन्ने आरोप स्थानीयको छ नि?
सडक निर्माण गर्दा सडक पेटी, वाल लगाउने, ढल, खानेपानी पाइप विछ्याउने लगायत काम गर्नुपर्छ। प्राविधिका अनुसार ढल हालेको एक वर्षपछि सडक पिच गर्दा दिगो हुन्छ। त्यस्तो गर्दा सडक लथालिंग त भइहाल्छ। सडकको धुलो उड्नु स्वभाविकै हो। केको लागि यो वडावासीले धुलो खानुप-यो? यो स्थानीयले बुझ्नुपर्छ। यस वडामा दुई करोड १५ लाख बजेट विनियोजन भएको थियो। नगरस्तरीय योजना पनि छन्। यही बजेटमा रहेर विकास निर्माणलाई अगाडि बढाएका छौँ।

सार्वजनिक जग्गा कसरी संरक्षण गरिरहनुभएको छ?
यहाँ धेरै डाडाँपाखामा सार्वजनिक जग्गा छन्। केही ठाउँमा अतिक्रमण पनि भएका छन्। यसलाई संरक्षण गरिरहेका छौँ। यसको लागि केही बजेट समेत विनियोजन भएको छ। केही ठाउँको सार्वजनिक जग्गामा हस्पिटल, पार्क लगायत बनाउने योजना छ।

तपाईंको कार्यकालमा यो वडा कस्तो बनाउने सपना छ?
मेरो कार्यकालमा पूर्वाधारदेखि विकास गर्नुपर्ने संरचना, जस्तै: सडक, बत्ती, स्वास्थ्य, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वच्छ हराभरा वातावरण बनाएर वडालाई पर्यटकीय नमुना बनाउने छु। जनतासँग पनि यही प्रतिवद्धता गरेको थिएँ।

प्रकाशित: १३ वैशाख २०७६ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App