६ वैशाख २०८१ बिहीबार
अन्य

लेकका हामी केटाकेटी

संगीतकार एवं गायक आभास काठमाडौंको काँठ क्षेत्रका रैथाने हुन्। महानगरको उत्तरपूर्वी कुनो आलापोटमा ०१९ चैत १ मा जन्मेका हुन् उनी। सामान्य किसान परिवारमा जन्मे/हुर्केका उनी लामो साधना र संघर्षबाट स्थापित संगीतकर्मी बनेका हुन्।

सानैदेखि उनको रुचि संगीत र साहित्यमा थियो। उनले लेखेर संगीत गरेको ‘लेकका हामी केटाकेटी’ गीत धेरैले मन पराएका छन्। उनले यो गीत ०४२ सालतिर लेखेका थिए। रामेश, मञ्जुल र आभासहरूको ‘आस्था परिवार’ भन्ने सांगीतिक समूह थियो। त्यो परिवारमा एक जना चर्चित कथाकार सुन्दर जोशी पनि उपस्थित थिए। उनले आभासलाई सुझाए, ‘लेकमा बस्ने बालबालिका’ लागि एउटा गीत लेख्नुस् न।’ उनले त्यसो भन्नासाथ आभासको दिमागमा कुरा खेल्न थाले। उनले लेखिहालेः   

‘लेकको हामी केटाकेटी कुहिरोभित्र स्कुल छ,
चौँरीलाई चराउँदै दिन बित्छ, पढ्न र लेख्न मुस्किल छ।’
उनको दिमागमा पहिलो दिन पहाडी चित्र दुई लाइनमै आयो। दुई लाइनमा तुरुन्तै रामेशले संगीत भरे। पछि त्यसमा अरू लाइन थपियो।
त्यसअघि ठूलाहरूका लागि गीत लेख्थे आभास। उनका सांगीतिक गुरु रामेश हुन्। उनी समाजमुखी गीत लेख्थे। पहिलो पटक बच्चाका लागि लेखिएको यो गीत लोकप्रिय बन्यो।

उनले तीन दशकअघि गीतमा उल्लेख गरेको अवस्था आज पनि उस्तै छ लेकमा। आज पनि पढ्न खोज्दाखोज्दै पनि नपाउने अवस्थाका धेरै परिवार छन्। गाउँका गरीब बालबालिका उस्तै छन्। सहरमा चाहिँ परिवर्तन आयो। युट्युब आयो। सबै कुराले  सहरियाको पहुँच धेरै भयो तर गाउँलेको पहुँच कम छ।

यो गीतसित जोडिएका धेरै सम्झना छन् आभाससँग। कतिपय ठाउँमा गीत बजाउँछन् तर उनलाई चिन्दैनन्। अचेल कतिपय युट्युव च्यानलमा आफ्नै गीत भनेर पनि राखेका छन्। आफैले रिरेकर्ड गरेर आफैंले गाएर पनि राखेका छन्। कतिपय स्कुलहरूले पाठ्यपुस्तकमा राखेका छन्। तर त्यसमा उनको नाम पनि उल्लेख छैन।  

 बालबालिकाको चिन्तन उन्नत बनाउन सरल भाषामा गहन कुरा बालसाहित्यमा पस्कनु पर्छ भन्ने लाग्छ उनलाई। 

‘नागी उडेको धुवाँ त बादल बन्न जाइजान्छ,
दिनभरि हेर्नु छ गाईवस्तु, नहेरे भालुले खाइजान्छ।’ 

भोलिपल्ट थप दुई लाइन लेखे उनले। काठमाडौं उपत्यकाको वरिपरि पनि पहाड छ। जनजीवनको विकटता पूर्वपश्चिमका पहाड र काठमाडौंको पहाडमा धेरै फरक छैन। त्यही कुरा लेखे उनले।

हुन त आभास पनि लेकको गोठमा खेलेका मान्छे हुन्। उनका बाजे गोठमै थिए। उनी तल बेंसीबाट डोकोमा धुस्नो, पराल र सामाल बोकेर उकालो लाग्थे। बारीको  मकैको ढोडमा आगो लगाउँदा धुवाँ उड्दै गएको देख्थे। त्यसलाई उनले नागीमा उडेको धुवाँसँग तुलना गरिदिए। यसरी बाल्यकालको अनुभव र प्रभाव गीतमा पोखियो।

यो गीतले पहाडको भौगोलिक र आर्थिक विकटतालाई पनि देखाएको हो। स्कुल पर छ, भूगोल पनि हो। स्कुल पर छ, अभाव पनि हो। उसको घरमा काम गर्नु पर्ने छ। गोठाला जानु पर्ने छ। स्याउला काट्नु पर्ने छ। घाँसदाउरा गर्नु पर्ने छ। उसले पढ्ने मौका कम पाउँछ। त्यसैले भूगोलसँग हाम्रो जनजीवन पनि जोडिएको छ। भूगोलसँग हाम्रो जाति पनि जोडिएको छ।

इमानदार भएर मनैबाट लेखेका थिए उनले। गीत यति धेरै लोकप्रिय होला भन्ने लागेकै थिएन उनलाई। नेपाली बालबालिका लागि रामेशहरूले नै बालगीतको काम थालनी गरेको उनी सुनाउँछन्। ‘बच्चाका लागि साहित्य थिएन। संगीत थिएन’, उनी भन्छन्, ‘त्यही कारणले पनि धेरै बजाइयो।’
आज पैंतीस वर्ष बितिसक्दा पनि उत्तिकै लोकप्रिय छ लेकका हामी केटाकेटी। सुरुमा ‘लेकको हामी केटाकेटी’ क्षेत्रपाटीस्थित भुरुङखेलमा भएको स्वर्णीम स्कुलका बालबालिकाको स्वरमा रेकर्ड भएको थियो। अहिले त्यो स्कुल छाउनी डल्लु आवासमा छ। त्यतिबेला आभासले आफ्नो ‘नाद’ भन्ने स्टुडियोमा रेकर्ड गरेका थिए। संगीत  रामेशको हो।

यो गीतसित जोडिएका धेरै सम्झना छन्। कतिपय ठाउँमा गीत बजाउँछन् तर उनलाई चिन्दैनन्। अचेल कतिपय युट्युव च्यानलमा आफ्नै गीत भनेर पनि राखेका छन्। आफैले रिरेकर्ड गरेर आफैंले गाएर पनि राखेका छन्। कतिपय स्कुलहरूले पाठ्यपुस्तकमा राखेका छन्। तर त्यसमा उनको नाम पनि उल्लेख छैन।   ‘आम बच्चाका लागि यो गीत सिर्जना गरेको हो। उनीहरूले सुन्न पाइरहेका छन्’, उनी भन्छन्, ‘सर्जकहरूलाई दाम नदिए पनि नाम त दिनु प-यो नि।’

आभास राम्रा कवि पनि हुन्। चालिसको दशकमै उनको कविता संग्रह ‘भूगोलमाथि उभिएको जैतुन’ प्रकाशन भएको थियो। उनले पछिल्ला दिनमा पनि कविता लेखेका छन् तर  प्रकाशन गरेका छैनन्। अचेल उनी ‘नेपालय’ मा काम गर्छन्।
बच्चालाई राम्रो बनाउन घरपरिवार, स्कुल, देश सबैतिरबाट उचित वातावरण निर्माण गर्नुपर्छ। चारैतिरबाट संंस्कार निर्माण गर्न प्रयत्न गर्नुपर्छ। त्यही प्रयत्न गरिरहेका छन् आभास। उनले बच्चाका लागि चालीसओटा छोटा गीत तयार पारेका छन्। ती युट्युवमा हेर्न र सुन्न पाइने छ।

साना नानीबाबुका लागि राम्रा गीत आवश्यक छ। अंग चिनाउने, अंक चिनाउने, वर्णमाला भयो। स्वरमाला भयो। अक्षर चिनाउनेदेखि लिएर रमाइलो गर्ने जस्तै हाम्रो पाँच ओटा आंैलालाई चिनाउँछ उनको गीतले। ‘क’ देखि ‘ज्ञ’ सम्म कसरी चिन्ने गीतमै छ। ‘अआइई’ कसरी चिन्ने त्यो पनि गीतमै छ । लोखर्के कस्तो छ, बाँदर कस्तो छ र अंकहरू कसरी जोड्ने गीतले नै भन्छ। यसरी बच्चाहरूको कल्पनामा आउने चीजलाई गीत बनाएका छन् उनले।

‘नेपाली बाल रचना’ भन्ने युट्युव च्यानल सब्सक्राइब ग-यो भने उनका गीत सुन्न र हेर्न पाइन्छ। उनको एलबम ‘ती फूलहरू’मा पनि बालगीत छन्। पवित्रा सुब्बा र बालबालिकाले गाएका छन् त्यसमा।   
राम्रो संगीतले सकारात्मक बनाउँछ। मधुर संगीत सुन्नेहरू कहिल्यै हिंसात्मक काम गर्न आँट गर्दैनन्। उनले छोटाछोटा एक मिनेटमा सबै कुरा भन्ने गरी सिर्जना गरेका छन्। त्यसलाई पढाउँदा पनि खण्डखण्ड गरेर पढाउने, एकैचोटि होइन। आज ‘क’ देखि ‘ङ’ सम्म मात्र पढ्। भोलि ‘च’ देखि ‘ट’ सम्म पढ्। बाल मनोविज्ञान बुझेर काम गरे उनीहरू खुसी हुन्छन्।

बच्चालाई खेल्दै सिक्ने गीत हुनु पर्छ भन्ने लाग्छ उनलाई। बच्चामा कल्पनाशीलता धेरै हुन्छ। त्यसले उनीहरूको जीवनलाई फराकिलो बनाउँछ। त्यो कल्पनाशीलतालाई साँघुरो बनाएर उनीहरूलाई आदेश दिनु हुँदैन। खेल्न र कल्पना गर्न छोडिदिनु पर्छ। उनी स्वतन्त्र ढंगले काम गरिहेका छन्। उनी बालबालिकासँग झ्याम्मिन्छन्। उनी आफ्नो सफलताको श्रेय जाँगर हो भन्छन्। ‘मेरो प्रेरणाको श्रोत बालबालिका नै हुन्’, उनी भन्छन्, ‘घरमा छोरो खेलेको अवलोकन गर्छु। विश्वमा के भइरहेको छ, अध्ययन गर्छु। उनीहरूको मनोविज्ञान बुझेर रचना गर्छु।’

प्रकाशित: ७ वैशाख २०७६ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App