७ वैशाख २०८१ शुक्रबार
अन्य

‘खप्तडमा दिनमै २५ नेपाली’

प्रकाश शाह सहायक वार्डेन, खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड किन घुम्ने ?
खप्तड प्राकृतिक हिसाबले भूस्वर्ग हो जहाँ २२ वटा ठूल–ठूला पाटन छन्। त्यहाँ वर्षका चार महिना रंगविरंगका फूल फुल्छन्।  खप्तडबाट शैपाल हिमश्रृङ्खला देखिन्छ। खापर दह पनि छ। खप्तडको धार्मिक महिमा पनि ठूलो छ। यहाँको त्रिवेणीधाममा नुहाएर सह्रसलिंग दर्शन गरेमा पापमोचन हुने विश्वास छ। दर्शनका लागि नागढुंगा, सहस्रलिंग लगायत सम्पदा छन्। साथै खप्तड बाबाको तपोभूमि पनि हो। सांस्कृतिक हिसाबले पनि खप्तड क्षेत्र समृद्ध छ। डेउडाको झंकार सुनिन्छ यहाँ।
खप्तडमा केके गतिविधि गर्न सकिन्छ ?
आजका दिनमा पर्यटकले खप्तडमा पदयात्रा, पूजापाठ, ध्यान र योग गर्न सक्छन्। बाक्लो हिउँ परेका बेला स्की खेल्न सकिन्छ। स्कीको विषयमा अध्ययन भैरहेको छ। जैविक विविधता अध्ययन गर्न पनि राम्रो गन्तव्य हो। वर्ड वाचिङ, फोटोग्राफी र भिडियोग्राफी पनि गर्न सकिन्छ।
अचेल कत्तिको पर्यटक घुम्दै छन् खप्तडमा ?
हामी हिउँ पर्ने सिजनलाई ‘अफ सिजन’ मान्छौं। विगतमा गंगा दशहरामा मात्र भिड लाग्थ्यो। अरू बेला आक्कलझुक्कल नेपाली आउँथे। केही महिनादेखि खप्तडमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेको छ। हिजोआज दिनमै २०–२५ जनासम्म आउँछन्। यो सुखद् संकेत हो। नयाँ वर्ष मनाउन त डेढ सय जनाको हाराहारीमा आए। विदेशी पर्यटक पनि विगतको तुलनामा बढ्दै छन्।  
पर्यटक बढ्र्र्दै जाँदा फोहर व्यवस्थापन कसरी गर्नु हुन्छ ?
हामीले प्रत्यक विश्रामस्थलमा खाडल बनाइदिएका छौं। गंगा दशहराका बेला हजारौं तीर्थालु आउँछन्। त्यतिबेला चाहिँ सेना र निकुञ्जका कर्मचारी मिलेर सरसफाइ गर्छौं।


पहिला त आक्कलझुक्कल मात्रै आउँथे। हिजोआज दिनमै २०–२५ जना नेपाली खप्तड घुम्न थालेका छन्। यो सुखद् संकेत हो। 

खान/बस्नको त दुःख छ नि ?
खप्तड क्षेत्रको बीचपानी र निकुञ्ज मुख्यालय क्षेत्रमा एक–एक होटल छन्। बीचपानीमा १५ बेडको हो भने माथि ३० बेडको। सम्पर्कमा आएका पाहुनालाई हामीले जसोतसो व्यवस्थापन गर्दै आएका छौं। हाम्रो आफ्नै पनि गेष्ठ हाउस छ। सुत्न ठाउँ नपुगेका बेला नेपाली सेनाको ब्यारेकले पनि सिल्पिङ ब्याग सजिलै दिन्छ।
दीगो पर्यटनका लागि राम्रा होटल तथा रिसोर्ट खुल्नु पर्ने होइन र ?
पर्यटकहरू सुविधा चाहन्छन्। तर, निकुञ्जमा होटल तथा रिसोर्ट व्यवस्थापन सम्बन्धीको कार्यविधि संसद्बाट पास भैसकेको छैन। निजी क्षेत्रले पनि होटल खोल्नु पाऔं भनेर निवेदन आएका छन्। कार्यविधि छिटो पास होस् भन्ने हाम्रो आग्रह छ। त्यसपछि मात्रै होटल तथा रिसोर्ट खोल्न सकिन्छ।   
निकुञ्ज सेरोफेरोमा अरू गन्तव्य केके छन् ?
खप्तडबाट मुगुको राराताल, बाजुराका बडिमालिका र रामारोशन पदयात्रा गर्न सकिन्छ। खप्तडबाट एक हप्तामा रारा पुगिन्छ।
के कारणले खप्तडमा पर्यटन फस्टाउन सकेन ?
पहिला प्रचारप्रसारको कमी थियो। पछिल्लो समय राम्रो प्रचार भएको छ। मान्छेहरूमा खप्तड दर्शन गर्ने इच्छा तीव्र छ। अहिले खप्तड भ्रमणको वातावरण बनेको छ। यसपालादेखि आन्तरिक पर्यटकसँग निकुञ्ज प्रवेश शुल्कस्वरूप सय रुपैयाँ उठाउन थालेका छौं। अब हामी व्यवस्थापनमा ध्यान दिन्छौं।
पर्यटन प्रवद्र्धनमा निकुञ्जको योजना के छ ?
हामी पदमार्ग सुधार, विश्रामस्थल निर्माण, खानेपानी व्यवस्थापन, भ्यूटावर निर्माण लगायतका काम गर्दैछौं। क्याम्पिङ साइट व्यवस्थित गर्दै छौं। हामी वर्षैभरिलाई पर्यटकीय सिजनका रूपमा ब्राण्डिङ गरेर मार्केटिङ गर्ने छौं। 

प्रकाशित: ७ वैशाख २०७६ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App