३० असार २०७७ मंगलबार
अन्य

यसरी मनाइन्छ भक्तपुरको बिस्केट जात्रा

भक्तपुर यतिखेर बिस्केट जात्रामय भएको छ। बुधबारदेखि सुरु भएको जात्रा वैशाख ५ गतेसम्म धुमधामका साथ मनाइन्छ। भक्तपुर नगरपालिका वडा नं ५ पाँचतले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेर सुरु हुने जात्रा त्यही रथ तान्ने क्रमको समाप्तिसँगै सम्पन्न हुने परम्परा छ।

तीनतले प्यागोडा शैलीमा काठैकाठबाट बनाएको रथ प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडि (यो वर्ष चैत २७ गते ) दुईतिर डोरीको सहायताले तानातान गरेर विशेष आकर्षणका साथ जात्रा मनाइन्छ। यो ९ दिन लामो जात्राको विशेष आकर्षण पनि हो। जात्रा हेर्न हजारौं मानिस जात्रास्थल पुग्ने गर्छन्।
बिग्रियो रथ
जात्राको पहिलो दिन बुधबार परम्परा अनुसार तानिएको भैरवनाथको रथ बिग्रिएको छ। दुवैतिर जवरजस्त तानिँदा र ठाउँठाउँमा ठोकिँदा रथका विभिन्न भाग बिग्रिएका छन्। रथको गजुर भाँचिएको छ। हेर्दा रथ क्षतिविक्षत जस्तो देखिन्छ।
क्षतिग्रस्त रथलाई तत्काल मर्मतसुधार गर्ने गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरले जनाएको छ। रथ निर्माणका लागि थप ५० देखि ६० हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ।
परम्परा अनुसार रथ अहिले गहिटीमा राखिएको छ। पहिलो दिन पाँचतले मन्दिरबाट रथलाई नगरको तल्लो टोलतिर तानेर लगी गहिटीमा पु¥याई छाड्ने परम्परा छ। रथलाई चैतको अन्तिम दिन गहिटीबाट साँझ लिंगो उठाउने ठाउँ ल्यांसिंखेल भेलुखेलमा तानेर लगिन्छ। तर, यो दिन एकतर्फी रूपमा मात्रै तानिन्छ। रथ ल्योसिंखेलमा पुगेपछि मात्रै लिंगो उठाउन सुरु गर्ने चलन छ।
भोलि (शनिबार) लिंगो उठाइँदै
९ दिन लामो बिस्केट जात्राको मुख्य आकर्षण लिंगो उठाउनु नै हो। भक्तपुरको भेलुखेलमा ५५ हात लामा लिंगो उठाइन्छ। प्रत्येक वर्ष चैत मसान्त (यो वर्ष शनिबार) साँझ यहाँ लिंगो उठाइन्छ। प्रत्येक वर्ष बिस्केट जात्रामा लिंगो उठाउने भएकाले यस ठाउँको नाम ल्योसिंखेल ( लिंगो उठाउने ठाउँ) राखिएको हो। उठाइएको लिंगो प्रत्येक वर्ष वैशाख १ गते साँझ ढालिन्छ। यसदिन दिनभर बाजागाजाका साथ ठाउँठाउँबाट भक्तजन लिंगो उठाएको हेर्न आउँछन्।

यही दिन बिहान भक्तपुरकै पोटरी स्वायरमा पनि हात नभएको लिंगो उठाइन्छ। तर, यो लिंगो भने जात्राको अन्तिम दिन वैशाख ५ गते मात्रै ढालिन्छ। ल्योसिंखेलमा उठाउने लिंगो लामो हुनका साथै हात भएको हुन्छ भने पोटरी स्क्वायरमा उठाउने लिंगो तुलनात्मक रूपमा सानो र हात नभएको हुन्छ।
द्यो स्वगं वियगू जात्रा
यो बिस्केट जात्राको एउटा मुख्य आकर्षक मानिन्छ। यो जात्रा प्रत्येक वर्ष बिस्केट जात्राको क्रममा वैशाख ४ गते अर्थात् जात्रा समापनको एक दिन अगाडि हुने गर्छ। स्थानीय नेपालभाषामा यसलाई द्यो स्वगं वियगू भनिन्छ, जसको नेपाली अर्थ देवतालाई सगुन चढाउनु हो। जात्राको क्रममा सहभागी प्रत्येकले नगरभरिका शक्तिपीठमा पुगेर आफूलाई इच्छाएको खाद्यवस्तु सगुनका रूपमा चढाउँछन्। जात्राका क्रममा महिला बाजागाजाका साथ नगर परिक्रमा गर्छन्। उनीहरू परम्परागत पोशाक हाकुपटासी (कालो फरिया) मा सजिएर भक्तपुर नगरका देवस्थलमा सगुन चढाउँछन्। देवस्थलमा अण्डा, दूध, रक्सी, मिठाइ, चक्लेट, चोकोपन, बिस्कुट लगायतका इच्छाएको एउटा–एउटा परिकार देवतालाई सगुनका रूपमा चढाउने परम्परा छ। जात्रामा पुरुष पनि उत्तिकै सहभागी हुन्छन्। साथै नगरभरिका बाटामा पनि हेर्न पनि उत्तिकै भेटिन्छन्। बिहानदेखि सुरु हुने यो जात्रा लाइन बसेर नगर परिक्रमा गर्नुपर्ने भएकाले दिनभर लाग्छ।
यस्तो छ इतिहास
इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए। तर, उपत्यकाको राजनीतिक विखण्डन लगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनीतिक–प्रशासनिक महŒव गुमाएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुगेको उनको भनाई छ। तर, अहिले यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक लगायत जिल्लाबाट मानिस आउने गर्छन्।

 

प्रकाशित: २९ चैत्र २०७५ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App