coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सकियो अतिथि सत्कारको पर्व ‘पाहांचःह्रे’

काठमाडौंको थँहिति र लगनटोलको बीचमा बस्ने नेवार जातिले दसैँपछिको दोस्रो ठूलो पर्वका रूपमा ३ दिन पाहांचःह्रे पर्व मनाए। बिहीबार सुरू भएर शनिबार साँझ सकिएको उक्त पर्वको बेला नेवार समुदायभित्र पाहुनालाई भोज खुवाउने, भगवान् शिवको पूजा गर्ने, साना केटाकेटीलाई जडीबुटी राखेर बनाइएको परिकार मरःजा खुवाइयो। मरःजा विभिन्न जडीबुटी प्रयोग गरेर बनाइएको पौष्टिक खानेकुरा हो। यो परिकार खुवाएपछि बच्चालाई कुनै रोगव्याधि नलाग्ने विश्वास गरिन्छ।

बालबालिकालाई पौष्टिक आहारा खुवाउने र अतिथिलाई सक्दो सत्कार चलन यस पर्वका बेला गरिन्छ। पाहांचःह्रेको बेला घर–घरमा पाहुना बोलाउने र उनीहरुलाई भोज तथा अन्य परिकार खुवाउने गरिन्छ। नेपालभाषामा ‘पाहाँ’को अर्थ ‘अतिथि’ र चःह्रेको अर्थ ‘चतुर्दशी’तिथि हुने भएकाले पनि यो जात्रा प्रत्येक वर्ष चैतकृष्ण चतुर्दशीका दिन मनाउने चलन रहेको संस्कृतिविद् चुन्डा बज्राचार्य बताउँछन्। उनका अनुसार यो पर्व अतिथि सत्कारसँग जोडिएको छ।

जात्रा अवधिभर महादेवलाई पञ्चमकार अर्थात् मत्स्य, मांस, मध्य, मुद्रा र मैथुन राखेर पूजा गर्ने प्रचलन रहिआएको छ। सोही अनुसार बिहीबारदेखि शनिबारसम्म पाहुना डाक्ने र उनीहरुलाई सत्कार गर्ने कार्य गरिएको थियो। ‘यो जात्रा महादेव र उनकी तीन वटी बहिनीसँग जोडिएको छ, जसमा कंकेश्वरी, उचु भद्रकाली र लुमहि भद्रकाली थिए।यसैलाई स्मरण गर्दै आजसम्म पनि चैत्रकृष्ण अष्टमीका दिन पशुपतिबाट दुदुंच्यांच्यां जात्रा गर्ने परम्परा छ,’ उनले भनिन्। यसबाहेक जात्राका बेला अहिले पनि टोलटोलमा रहेका लुकुमहाद्यः अर्थात् ‘लुकेर बसेको महादेव’लाई लुँबुँवहःबुँभनी तोरी र मुलाको फूल चढाउने र पूजा गर्ने चलन पनि छ। जात्रा अवधिमा मुख्यतया कंकेश्वरी, नरदेवी, टंकेश्वरको नीलवाराही, भद्रकाली देवीहरूको जात्राहुने पनि हुने गर्छ। हरेक टोलमा गणेश, भैरव, गंगालगायत भगवान्को पूजाआजा गर्ने चलन छ।

‘नेपालभाषामा ‘पाहाँ’को अर्थ ‘अतिथि’ र चःह्रेको अर्थ ‘चतुर्दशी’तिथि हुने भएकाले पनि यो जात्रा प्रत्येक वर्ष चैतकृष्ण चतुर्दशीका दिन मनाउने चलन छ।’

यसै जात्राका अवसरमा काठमाडौंकै बांगेमुढा, प्यंगःथांस्थित नरसिंहको जात्रा पनि देखाइएको थियो। जात्रा संरक्षणका अभियन्ता राजन महर्जनका अनुसार यो जात्रा भष्भासुरसँग झगडा परेर लुकेका महादेवलाई जगाउने जात्रा हो। परापूर्व कालमा महादेव भष्मासुरसँग झगडा परी फोहोरले भरिएको ठाउँमा लुक्न जान्छन्। उनी लामो समयसम्म आउँदैनन्। उनैलाई जगाउन उनका बहिनीहरूले यो जात्रा सुरु गरेको पनि किंवदन्ती छ। ‘यो जात्रा उपत्यकाभित्र मनाउने जात्रामध्येमै फरक छ, फोहोरमा लुकेका महादेवले पनि अरुले देख्ला भनेर लुँबुँवहःबुँ (अर्थात् सुनको फूल र चाँदीको फूल) ले छेकेर यो भोजन ग्रहण गरेको मान्यता छ,’ उनले भने, ‘जात्राका बेला अहिले पनि टोलटोलमा रहेका लुकुमहाद्यःअर्थात् ‘लुकेर बसेको महादेव’लाई लुँबुँवहःबुँभनी तोरी र मुलाको फूल चढाउने र पूजा गर्ने चलन छ।’ उनले जात्राको पहिलो दिन काठमाडौंका विविध शक्ति पीठहरूको विशेष पूजा गरिएको बताए। सोही दिनलाई नेवार समुदायमा आतिथ्यता बढाउने, भ्रातृत्व र सद्भाव कायम गर्ने दिनका रूपमा पनि लिइन्छ। ‘पाहांचःह्रे पर्वका बेला काठमाडौंको भित्री सहरमा विशेष गरेर कंकेश्वरी र भद्रकालीको जात्रालाई प्रमुख मान्यता दिइन्छ,’ महर्जन भने, ‘यसवर्ष पनि विगतको परम्परालाई निरन्तरता दिइएको थियो।’

 जात्राको पहिलो दिन जात्रामा देखाइने देवताहरूको मूर्तिलाई मूल मन्दिरमा लगिएको थियो। जसलाई नेवारीमा द्यः गमय् तयेगु भनिन्छ। त्यहाँ विधिवत रूपमा होमपूजा पनि गरिएको थियो। त्यसको भोलिपल्ट औँशीका दिन टोलटोलमा ‘मरःजा’ खुवाइयो। यसमा व्रतबन्ध नभएका बालक र बेलविवाह सम्पन्न नभएका बालिकालाई सरिक गराइएको थियो। सोहीदिन राति कंकेश्वरी, वटु भद्रकाली र तेबहाः भद्रकाली देवीका तीनवटा खटलाई टुँडिखेलमा जुधाइन्छजसलाई नेवारीमा खः ल्वाकेगु भनिन्छ। त्यसै दिन इन्द्रचोकमा काठमाडौंकी कुमारीलाई उपस्थित गराएर अजिमा खुवाउने गरिन्छ। जात्राको अन्तिम दिन चैत्र शुक्ल प्रतिपदाका दिन दिउँसो असनमा अन्नपूर्ण मन्दिरको अगाडि टुँडिखेलमा जस्तै तिनै वटा खट जुधाएर जात्रा समापन गर्ने चलन छ। जसलाई असनय् खः ल्वाकेगु भनिन्छ। चतुर्दशीको दिनदेखि सुरु भएको जात्रा चैत्र शुक्ल प्रतिपदाका दिन असनमा देवखट जुधाइसकेपछि देवघरमा देवता भिœयाउने क्रियासँगै जात्रा सकिएको थियो।

प्रकाशित: २६ चैत्र २०७५ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App