coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

आगो छिचोलेर गति

कसैको जीवनमा खुट्टा नहुनुले सगर खसेजस्तो आपत बुझाउछन तर हाम्रै समाजमा केही यस्ता पात्र छन्, जसले त्यस्तो आपतलाई अवसरमा बदलेका छन्। अञ्जना त्यस्तै आपतलाई अवसरमा बदल्नेमध्येकी एक हुन्। तस्बिर:अर्जुन शाह

अञ्जना जन्मिएपछि माइत ‘खान’ उनकी आमा गाउँ गएकी थिइन्। आमासँगै काखे अञ्जना जाँदा साबुतै थिइन्, फर्कंदा भने एउटा गोडा साबुत थिएन। खेल्दाखेल्दै कुन बेला आगोसँग जिस्किइन्, कसैलाई पत्तो भएन। जब काखे अञ्जनाको होश खुल्यो, अरुको होश उड्यो। चिकित्सकहरुले उनको देब्रे खुट्टा नकाटे ज्यानै जाने सम्भावना देखाए। मुटुमाथि ढुङ्गा राखेर बाबुआमाले उनको एउटा गोडा काट्ने स्वीकृति दिए।

बालखैमा एउटा गोडा नभएकाले अञ्जनालाई कहिल्यै गोडाको अभाव महसुस हुँदैन। ‘सायद गोडाहरुमा अभ्यस्त हुने भएकी भए मलाई चित्त दुख्थ्यो होला,’ पोखराकी अञ्जना काठमाडौँ आएका बेला नागरिक परिवारसँग कुरा गर्दै भनिन्, ‘मलाई एउटै गोडामा बानी परिसक्यो, त्यसैले म जे छु ठीक छु।’

त्यसो त एउटै मात्र गोडा नभएका कारण उनलाई केही अप्ठेराहरु नआएका होइनन्। ‘कतिपय अवस्थामा दुई खुट्टा नै चाहिने कामहरु हुन्छन्, त्यस्तो बेला ओहो, मसँग त एउटा गोडा नै छैन भन्ने लाग्छ तर तीबाहेक पनि अन्य हजार उपाय हुन्छन्। म खुट्टा छैनमा ध्यान दिन्नँ, भएको एउटा खुट्टालाई सदुपयोग गरेर के गर्न सक्छु भन्नेबारे मात्र ध्यान दिन्छु।’

यस्तो साहस पलाएको भने धेरै भएको छैन। पाँच वर्षअघि जब उनको स्कुलले एउटा कार्यक्रम राख्यो, उनलाई गाउने रहर पलाएर आयो। उनलाई स्कुलका शिक्षकहरुले गाउनुको साटो नृत्य गर्न सुझाए। हुन पनि यसो गर्नु एउटा पृथक् कुरा हुन्थ्यो। भिडबाट उनी अलग्ग देखिने थिइन्। उनी भिडबाट अलग हुने चाहनाले त होइन तर त्यो दिन प्रयास गर्ने मुडमा आइन्। जसै उनले केही नृत्यका चालहरु चल्न थालिन्, साथी र शिक्षकहरुले हौसला बढाए।

उनलाई नृत्यका केही चालहरु चलिसकेपछि नृत्यमै पो केहीगर्न सकिन्छ कि भन्ने लाग्न थाल्यो। केही दिनको अथक् परिश्रमपछि जुन नृत्य पस्कन सकिन्, सबैले जिब्रो टोके। भने, ‘एउटा गोडा नभएकी यी नानीले कसरी नाच्न सकेकी होलिन्!’

यसपछि उनको नृत्य–रहर एउटा जीविकोपार्जन गर्ने माध्यम मात्र बनेन स्वाभिमानको बाटो पनि बन्यो।

त्यसो त गोडाको समस्याका कारण उनी ढिला स्कुल गइन्। सात वर्षको उमेरमा उनले नर्सरीमा एबिसिडी पढ्न थालेकी हुन्। अहिले २६ वर्षकी अञ्जनाले भर्खरै १२ कक्षा पास गरिन्। आफ्नो पढाइ ढिला भएकामा उनलाई कुनै पछुतो छैन, बरु शिक्षाको महत्व बुझेपछि पढ्न पाएकामा खुसी लागेको छ।

कतिपय बाबुआमा आफ्ना सन्तानको अपाङ्गताका कारण दुःखी हुने गर्छन्। दुःखी त उनका बाबुआमा पनि हुँदाहुन् तर उनी भने छैनन्। ‘मेरो एउटा गोडा नभए पनि अरुले झैँ सामान्य रुपमा काम गर्न सकेकी छु,’ उनले भनिन्, ‘नाचेर पैसा कमाएकी छु, आफ्नो ज्यान पालेकी छु। शरीरले साथ दिउञ्जेल यही काम गर्ने सोच छ भने मैले आफ्नो शारीरिक अङ्गलाई लिएर किन दुःखी हुने?

दुःखको क्षण 

आफ्नो अपाङ्गताका कारण न त उनका स्कुले साथीले उनलाई कुनै फरक व्यवहार गरे न त परिवारले नै। त्यसैले उनलाई कहिल्यै आफू अरुभन्दा फरक छु भन्ने मान्दिनन् तर समाजले सधैँ त्यसरी कहाँ हेर्छ र?

एक पटक बुबाका साथीले अञ्जनाको बिहेको कुरा लिएर आए। उनले अञ्जनालाई कहिल्यै देखेका थिएनन्, मात्र अञ्जनाका बारे सुनेका मात्र थिए। जसै उनले अञ्जनाको एउटा गोडा छैन भन्ने थाहा पाए, भने, ‘विचरा अब यसको बिहे कसरी होला!’

यो कुरा सुन्दा भने उनलाई नरमाइलो लाग्यो। उनले भनिन्, ‘मेरो एउटा गोडा मात्र त नभएको हो! अरु सबै काम गर्न सक्छु भने म कसरी अपाङ्ग भएँ? तर मैले जस्तो त समाजले सोच्दोरहेनछ भन्ने मलाई त्यही दिन महसुस भयो। म उनीहरुप्रति दया देखाउनबाहेक अरु के गर्न सक्छु र!’

त्यसो त पूरै मानव समाज नै दुई खुट्टामा उभिएको छ भने एउटा मात्र खुट्टामा उभिएकालाई अप्ठेरो देख्नु अस्वाभाविक पनि होइन भन्ने उनलाई लाग्छ। तर समाजको यही भावना भने उनलाई काम लागिरहेको छ। उनी जब मञ्चमा एउटा मात्र गोडामा नृत्य गर्न थाल्छिन्, दर्शकदीर्घामा होहल्ला, वाहवाही, प्रशंसा र तालीको गडगडाहट मात्रै सुनिन्छ।

‘म दयाको पात्र हुन चाहन्नँ,’ उनी भन्छिन्, ‘तर मेरो प्रतिभा अरुको भन्दा कम छैन भन्ने प्रमाणित गर्ने इच्छा भने छ।’ र, यही इच्छाले उनलाई महिनाभरि नै विभिन्न कार्यक्रम, महोत्सव र यात्राका लागि निमन्त्रणा दिलाइरहेको छ। उनले विभिन्न कार्यक्रमहरुमा नृत्य गरेको ५० हजार रुपैयाँसम्म लिइरहेकी छन्।

‘मेरो खर्च म आफैँले मज्जाले उठाइरहेकी हुन्छु,’ उनले गर्वका साथ सुनाइन्, ‘अरुले हेर्दा विचरा भन्लान् तर दुई खुट्टामा उभ्भिइरहेका कयौँ युवायुवती भन्दा म आत्मनिर्भर छु। यसमा मलाई गर्व लाग्छ। र, मेरो यस किसिमको आत्मनिर्भरता देखेर मेरो बाबाआमालाई पनि गर्व महसुुस हुने गरेको छ।’

आत्मनिर्भरताको शक्ति 

के उसो भए उनलाई दोहोरो गोडामा हिँड्न मन छैन त? यो प्रश्न खासमा सोधिएको त अञ्जनालाई थियो तर उत्तर भने अनपेक्षित तरिकाले आयो, छेउमा कुरा सुनिरहेका डा. जसवन शाक्यबाट। शाक्य सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लास्टिक सर्जन मात्र होइनन्, मेडिकल डाइरेक्टर पनि हुन्। उनले दोहोरो गोडामा अञ्जनालाई नहिँडाउन आग्रह नै गरे, भने, ‘अञ्जनाजी दोहोरो खुट्टाका लागि बनिनु भएको होइन । जुन बेलादेखि उहाँको चेतना आयो, उहाँले आफूलाई एक्लो गोडामा नै उभ्याउँदै आउनुभयो। यसका लागि उहाँको भावना, मस्तिष्क र शरीर अभ्यस्त भइसकेको छ। त्यसैले अब उहाँलाई दोहोरो खुट्टामा उभ्याउने प्रयास गर्न थालियो भने शरीरले रिजेक्ट गर्छ। त्यसपछि जे नहुनुपर्ने हो त्यो हुन थाल्छ। त्यसैले उहाँलाई जे कुरामा सजिलो भइरहेको छ, त्यसैलाई निरन्तरता दिनुपर्छ।’

सर्जन शाक्य थप्छन्, ‘हामी नेपालीहरु बडो भावुक छौँ। कसैको दुःख देख्न सक्तैनौँ र त्यसका लागि चन्दा उठाउन थालिहाल्छौँ। जब तपाईंले अञ्जनाजीका बारेमा छाप्नु हुन्छ, उहाँलाई अर्को खुट्टा थपिदिन अभियान चल्न सक्छ तर उहाँका लागि यो प्रत्युत्पादक हुनसक्छ।’

उनले कारण सुनाउँदै भने, ‘जब दुई खुट्टामा हिँड्न अभ्यस्त भइसकेको व्यक्ति दुर्घटनामा परेर गोडा गुमाउँछ, उसले दुई खुट्टाबाहेक अरु केही पनि दिमागमा आउँदैन। कसरी हिँड्नु भन्ने मानसिकताले उनी दुःखी हुन्छ। त्यस्तो दुःख त अञ्जनालाई भएको छैन भने हामीले उनलाई गोडा थप्नु भनेको अर्को चार वर्ष त्यसका लागि तालिम दिनु हो, अभ्यस्त बनाउनु हो। यस्तो अवस्थामा जुन मिहिनेत गर्नुपर्छ, त्यो मिहिनेत उनले अरु नै कुरामा गरिन् भने उनी सुखी हुन सक्छिन्।’

नभन्दै अञ्जनाले पनि यही कुरा दोहो-याइन्, भनिन्, ‘हो, मलाई अर्को खुट्टा चाहिएको छैन किनभने मलाई दोहोरो खुट्टाको बानी छैन। जुन कुराको बानी छैन, त्यसका लागि समय, ऊर्जा र पैसा किन खेर फाल्ने?’

यही धारणाले उनले नृत्य सिकेकी थिइन्। उनले यसैमा कुशलता प्राप्त गरिन्। यसैले उनलाई अहिले पहिचान दिलाएको छ।

भन्छिन्, ‘दुःख मान्न थाल्यो भने तपाईंलाई दुःख दिने हजारौँ विषयहरु हुनसक्छन् तर मन लागेको एउटै कुरामा ध्यान दिएर ग-यौँ भने ती हजारौँ दुःख बिर्साइदिन्छन्।’

प्रकाशित: २५ चैत्र २०७५ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App