३० असार २०७७ मंगलबार
अन्य

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली

भाइबहिनीहरू ! नेपालमा २०६२/०६३ को आन्दोलनले राजालाई फ्याँक्यो। देशमा गणतन्त्र आयो। आन्दोलन सफल नहुन्जेल नेपालको राष्ट्रिय गान ‘श्रीमान् गम्भीर...’ थियो। त्यो राष्ट्रगानमा राजा/महाराजाको गुनगान गाइन्थ्यो। त्यसैले आन्दोलनपछि त्यसलाई गाउन छाडियो।

नेपालले नयाँ राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ पाउनुअघि केही विद्यालयले ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’लाई नै राष्ट्रगानका रूपमा गाएका थिए।

खासमा यो कविता हो। यसका लेखक हुन् राष्ट्रकवि माधवप्रसाद घिमिरे। विगतमा कक्षा ४ को नेपाली (महेन्द्र माला)मा पनि यसलाई समावेश गरिएको थियो। राष्ट्रकविले यो कविता २०१० सालतिर लेखेका हुन्। सुरुमा यसलाई तारादेवी र जनार्दन समले गाएका हुन्।  संगीतकार उस्ताद गोविन्दलाल हुन्।

के हो त ज्योतिको पंख उचाली भनेको? राष्ट्रकवि भन्छन्, ‘ज्योतिको पंख भनेको प्रकाशको पखेटा हो। यसले चन्द्र–सूर्यअंकित झण्डालाई संकेत गरेको हो।’

उनका अनुसार सूर्य पनि ज्योति हो। चन्द्र पनि ज्योति। चन्द्र–सूर्य अंकित झन्डा उचालेर नेपाली गाउँछन्।

यो कविता रेकर्ड भएपछि रेडियो/टेलिभिजनमा धेरै बज्यो। अझै बजिरहेकै छ, जुन सुन्दा राष्ट्रिय भावना जाग्छ।

यसमा भनिएको छ, ‘सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली।’ नेपालको तेन्जिङ शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेकाले गौरव गरेका हुन् कविले। कविताको अर्थ त्यतिमा सीमित छैन। हामी नेपाली जहिले पनि उचाइमा सबभन्दा पहिला पुग्छौं भन्ने सन्देश यसबाट मिल्छ।

देशभक्ति छ कविता। त्यसैले त नेपालभर सबैले गाउँछन् यो कविता।

बालसाहित्य लेखनमा समेत अब्बल छन् राष्ट्रकवि। उनले धेरै गीत सिर्जना गरेका छन्, तीमध्ये अधिकांश बालबालिकाको ओठमा झुन्डिएका छन्। ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल’, ‘टालाटुली बाटुली’, ‘सियो खोई सियो’, ‘दिउँसो लाग्ने घाम, राति लाग्ने जून’, ‘कुरा गर्छन् कसरी भँगेरा र भँगेरी’, ‘लाग्छ मलाई रमाइलो मेरै पाखा पखेरो’ लगायतका गीत उनैले लेखेका हुन्।
बालबालिकाका लागि लेख्नु सजिलो काम होइन। गाउँमा आमा तथा दिदीले बच्चालाई लिएर गीत गाउँछन्। यसरी जगमा साहित्यको संस्कार राखिदियो भने साहित्य आउँछ। यस्तै भयो उनको जीवनमा पनि। उनका बालसाहित्यमा घामपानी (२०१०), बालालहरी (२०२६), सुनपंखी चरी (२०५३) र बिजुले र बिजुला (२०६३) नामक बालकविता र बालगीतका पुस्तक प्रकाशन भएका छन्।

उनलाई बालबालिकाप्रति ठूलो आशा र भरोसा छ। ‘बालबालिका भनेको नेपालको भविष्य हो, हामी जे जति काम गर्छौं। बालबालिकाकै लागि गरौं।’

उनका बालकविता र बालगीतमा उपदेशको भारी छैन। उनका सिर्जनाले बालबालिकालाई उत्साही, प्रफुल्ल र सिर्जनशील बनाउँछ। उनी बालबालिकाको रुचि, मनोविज्ञान र बालभाषा प्रयोग गरी  लेख्छन्। 

अब उनको विगतबारे केही कुरा गरौं है। राष्ट्रकविको जन्म १९७६ असोज ७ गते लमजुङको विकट गाउँ पुस्तुनमा भएको थियो। रुद्री, चण्डी र श्राद्ध–तर्पणको मन्त्र घोकेरै उनको बाल्यकाल बित्यो। त्यसको प्रभावले उनी काव्यात्मक बन्दै गयो।

उनले खरबारीको कुटीमा बस्ने बाबाबाट बाह्रखरी सिके र रातमाटे धुलौटेमा बाँसको छेस्काले अक्षर लेख्न सिके। उनले शास्त्री (दर्शन) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।

उनलाई ‘ऋतु विचार’ र ‘उपदेश मञ्जरी’बाट कविता लेख्ने प्रेरणा मिलेको थियो। उनले २००५ सालमा लमजुङकै गाउँसहरस्थित आधार स्कुलमा प्रधानाध्यापक छँदादेखि नै लोकलय र बालबोलीको गीत र कविताद्वारा लेखनलाई निरन्तरता दिएका हुन्।

उनले १५ वर्षको उमेरमा ‘गोरखापत्र’मा पहिलो कविता ‘ज्ञानपुष्प’ (१९९२ साल) शीर्षकको कविता प्रकाशित गरेका थिए। विभिन्न पत्रपत्रिकामा पनि उनका बालकविता र बालगीत प्रकाशित छन्। उनका बालसाहित्यका चार संग्रहमध्ये ‘घामपानी’मा ‘पानी पर् पानी पर्’, ‘भँगेरा र भँगेरी’, ‘बस बस माहुरी’, ‘यो घर कसको आलेको’ जस्ता बाइस गीत–कविता संग्रहित छन्। ‘बालालहरी’मा ‘काली कुती ब्याइछ’, ‘सियो खोई सियो’, ‘यति सानो नानी बोले– कस्तो हुन्थ्यो!’, ‘बाघको भाञ्जो बिरालो’, ‘खित्खित् खित्का’ आदि शीर्षकका बालगीत तथा बालकविता छन्। ‘सुनपखी चरी’मा ‘लुलीलुली पाखुरी’, ‘बाँडीचुँडी खाने हो’, ‘हाम्री बहिनी टुल्की’, ‘घामछाया’, ‘रूपैरूपको पन्छी’, ‘तारा पनि सुन्छ रे!’, ‘आँखाको नानी’ जस्ता बालसिर्जना छन्। ‘बिजुले र बिजुला’मा ‘चन्द्रसूर्य झन्डा फरर’, ‘फोनमा बोल्ने म हो’, ‘सारंगीमा राइँराइँ’, ‘फूलैफूलको तरेली’ आदि छन्।

उनका बालकविता र बालगीतमा उपदेशको भारी छैन। उनका सिर्जनाले बालबालिकालाई उत्साही, प्रफुल्ल र सिर्जनशील बनाउँछ। उनी बालबालिकाको रुचि, मनोविज्ञान र बालभाषा प्रयोग गरी  लेख्छन्, बालबालिकालाई सधैं सुन्दर र स्वस्थ रहन हौसला प्रदान गर्छन। अनुकरणात्मक, झर्रा र बोलीचालीमा प्रयोग हुने शब्द प्रयोगमा सिपालु छन् उनी। उनको बालगीत तथा बालसिर्जना  अनुकरणात्मक शब्दको प्रयोग, सरल भाषाशैली र सुन्दर लयात्मकताले नेपाली बालबालिकाको मुखमुखमा झुन्डिएको पाइन्छ। 
‘गौरी’, ‘अश्वत्थामा’, ‘राष्ट्रनिर्माता’, ‘राजेश्वरी’, ‘शकुन्तला’, ‘विषकन्या’, ‘घामपानी’, ‘सुनपंखी चरी’, ‘आफ्नै बाँसुरी आफ्नै गीत’, ‘मनचिन्ते मुरली’ आदि उनले लेखेका प्रसिद्घ किताब हुन्। 

उनका दर्जनौं साहित्यिक कृति प्रकाशित छन्। उनले धेरै पुरस्कार पाएका छन्। उनलाई ०६० सालमा सरकारले राष्ट्रकवि उपाधि दिएको हो।

‘गौरी’ उनको निकै लोकप्रिय कृति हो। पहिली श्रीमती गौरी बितेपछि उनकै सम्झनामा उनले लेखेको शोककाव्य हो यो। हाल उनी कान्छी श्रीमती महाकालीसँग काठमाडौंको लैनचोरमा बस्छन्।

उनी सय वर्षमा हिँड्दै छन्। शारीरिक रूपमा बिरामी पनि छन्। बिरामी भएकाले दिनहुँ ओखती खान्छन्। घरमै बसेर लेख्छन्। यतिबेला ‘ऋतुंभरा’ महाकाव्य पूरा गर्दैछन्। 

 

प्रकाशित: १६ चैत्र २०७५ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App