coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

लीला लेखनका स्रोत र सीमाहरू

साहित्यकार इन्द्र बहादुर राईद्वारा प्रतिपादित लीला लेखन एक पाठ हो। जसलाई बुझ्न त्यस पाठका संकेत र स्रोत थाहा पाउनु पर्ने हुन्छ। लीलाको लेख्य र मौखिक स्रोतहरू हामी पूर्विय दर्शन भारतीय र चीनीया दर्शनमा पाउन सक्छौ। अरू यसो पनि भन्न सक्छौ कि जीवन र जगतलाई एउटा प्रकृया मान्ने हो भने फेनोमेनामै लीला छ। त्यो लीला त पछिबाट भाषा र संकेतहरूमा व्यक्त भयो। चिन्तक, तत्वमिमांसक, धर्मशास्त्री र साहित्यका साधकले त्यसलाई महसुस गरेर लेखिदिए। अरु अगाडि गएर भन्ने हो भने लीला लेखन किताब हो। यो किताबको अघिल्तिर, पछिल्तिर र तलमाथि किताबै किताब छ। ज्ञानको समय अतितबाट वर्तमान हुँदै भविष्यतर्फ बहन्छ भने भविष्यबाट वर्तमान हुँदै अतिततर्फ पनि बहन्छ। लीला यो दुवै समयमा बहेको ज्ञान हो।

ग्रीसेली दार्शनिक प्लेटोदेखि बिसौं शताब्दीका भौतिक शास्त्री अल्बर्ट आइन्स्टाइनसम्म यो बगेको छ। पूर्वमा बौद्ध दार्शनिक नागार्जुनदेखि हाम्रो आधुनिक कथाकार गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ सम्मलाई यसले छोएको छ। प्लेटोका किताबदेखि मैनालीका किताबसम्मले लिला लेखन समेटेको छ। २००७ सालको आधुनिकीकरणबाट सुरु भएको नेपाली साहित्यिक चेतनालाई ज्ञान मीमांसीय र तत्व भीमांसीय रूपमा लीला लेखनमा आएर रोकिन्छ। यसरी व्यवस्थित ढंगको अर्को चिन्तन यस पछि छैन। चिन्तनको स्पेशमा लीला लेखन नेपाली साहित्यको चरम विमर्श हो। यो विमर्शबाट प्रविधि र वैचारिकतामा अरू कोही  नपुगेको ठाउँमा साहित्यकार राई पुगेका छन् भन्दा अत्युक्ति हुँदैन। नेपाली साहित्यमा दार्शनिक उत्खनन गर्ने परम्परा त्यति छैन। सिर्जना र त्यसमाथि गरिने परम्परागत समालोचनाले ठाउँ ओगटेको छ। राईको चिन्तन र सीर्जनाले उत्तर आधुनिक विचार स्थापना गरेको छ। वैचारिक रूपमा बालकृष्ण समको ‘नियमित  आकस्मिकता’ नै विशुद्ध साहित्यकारले लेखेको दार्शनिक कृति हो। सिर्जनामा दर्शन आए तर प्राज्ञिक रूपमा व्यवस्थित र अनुशासित रूपमा दार्शनिकता भने राईले नै देखाए। अघि नै भनियो कि लीला लेखनको संकेत, स्रोत र पुस्तकहरुको ऐतिहासिकता र सन्दर्भ जोडनु पर्ने हुन्छ। २०१८ सालबाट शुरु भएको तेस्रो आयाम कालबाट इन्द्रबहादुर राई, बैरागी काईला र ईश्वर बल्लभको दार्शनिक घरातल त्यो युगको साहित्यिक चेतनाबाट निसृत थियो। साहित्य मात्र होइन भौतिक विज्ञान, चित्रकला र मनोविज्ञानबाट यसका रूपहरू प्रभावित थिए। यिनीहरूले जर्मन दार्शनिक इमानुएल कान्टबाट वस्तुता लिए। वस्तुतालाई बुद्धिले ज्ञापित गरेको धारणा माथि राईले पछिबाट अविश्वास गरे। चित्रकलाको सोझो र साम्य भाषा र मनोविज्ञानको आद्यस्वरुपलाई यिनीहरुले कविता, कथा र निबन्धहरूमा लेखे। तर क्षणको काललाई सदा बग्ने कालमा लेखेर यसरी तेस्रो आयाम नेपाली साहित्यको इतिहासमा सशक्त बौद्धिक हस्तक्षेप भयो। यसले सफलता प्राप्त ग-यो।

तर ध्यानस्थ आँखा भएका राई चुप लागेनन्। समय बित्दै जाँदा यिनले लीला लेखनको प्रारम्भ ०३४ सालको रुपरेखा पत्रिकामार्फत् ‘भ्रान्तीहरु लीला लेखन मात्र’ लेख लेखि यसको आरम्भ गरे। पछि ‘कठपूतलीको मन’ कथा संग्रहमार्फत् २० बुँदे घोषणा लिएर देखा परे। ती घोषणाका बुँदा हेर्दा यस्तो लाग्छ राई आफ्नो युगको सार्वभौम साहित्यिक मान्यता प्रतिपादन गर्न चाहन्छन। घोषणामा पूर्व पश्चिमका ज्ञानहरूको फयूजन थियो। लीला लेखन नौलो बन्यो। सन् साठीको अन्तिम तिर पश्चिमीमा प्राज्ञिक डेरिडाको विनिर्माणवादले प्रवेश पायो। प्रमात्रा भौतिकीका हाइजेनवर्ग र बौद्ध दार्शनिक नागार्जुन मात्र होइन माक्र्सवादको वैचारिकले समेत स्थान पायो। ज्ञानका विभिन्न अनुशासन समेटिए। यो औजारमार्फत् नेपाली वाङ्मयको बुद्धिलाई राईले अपदस्थ गरे र लीला लेखनको उदय भयो। अमेरिकी अध्यात्म वैज्ञानिक केन विल्वरले मानवलाई जीवन जगत बुझ्न तीनवटा आँखा भएको बताएका छन्। त्यसमा भौतिक आँखा, मस्तिस्कको आँखा र ध्यानस्थ आँखा। लीला लेखनले तीनै वटा आँखाबाट जीवन र जगतलाई हे-यो तर राईको बौद्धिक दृष्टि भने सबभन्दा उत्कृष्ट आँखा ध्यानस्थ आँखा थियो।

यस प्रकारको आँखाका साहित्य सन् ६० को दशकबाट देखिन थालेका थिए। प्रमात्रा भौतिकी र पूर्विय अध्यात्मशास्त्र हिन्दु, बौद्ध, जन र ताओबीच समानता छन् भनी भौतिकशास्त्री फ्रित्जोफ काप्राले ‘दि ता ओ अफ फिजीक्स’ लेखे जसरी अणुहरुलाई निश्चित चरित्र र रूपमा राख्न सकिँदैन। त्यसरी नै फेनोमेना बुझ्ने चेतनालाई राख्न सकिँदैन। यो अणु जस्तै अस्थिर छ भन्ने धारणा अनिश्चय सिद्धान्तसँग मिल्न पुग्यो। त्यस्तै अमेरिकी लेखक ग्यारी जकोवकोपछि ‘डान्सिङ विली मास्टर्स’ प्रमात्रा विज्ञान र चिनियाँ दर्शनबीचको सामीप्य देखाउने अर्को रोचक कृति हो। यसमा जुकोवले अणुहरुको चरित्र पूर्वीय कृष्ण लीलाका भाव र संकेतसँग गरेका छन्। प्रमात्रा भौतिकी पनि चेतनाको अध्ययन गर्दछ भने प्राचीन ज्ञानले पनि चेतनाको अध्ययन गर्दछ। संसारिकताबाट मुक्ति दिलाउँछ। यस प्राचीन अध्यात्म दर्शन र आधुनिक प्रमात्रा भौतिकिको मिलन भयो। जसलाई इन्द्रबहादुर राईले कृष्ण धारावासीद्वारा सम्पादित ‘लीला प्रस्तावना’का लेखहरूमा बारम्बार जिकिर गरेका छन्।

विनिर्माणवादको जन्म भएपछि यसको पूर्विय चिन्तनसँगको सम्बन्धबारे हयारोल्ड कोवार्डले ‘डेरिडा एण्ड इन्डियन फिलोसफी’ किताब लेखी कसरी शंकराचार्य, नागार्जुन भतृहरी र अरविन्दको दर्शनसँग डेरीडाको भाषा दर्शनले तत्व मीमांसीय सम्बन्ध राख्छ भन्ने देखाएका छन्। भाषा मानसिक उत्पादन हो। यो कहिल्यै पूर्ण हुँदैन। संकेतहरु बन्ने र भत्काउने कार्य यसले गर्छ। परम सत्यको आभास दिने मात्रै हो। त्यो सत्य पनि यसले भन्दैन जस्ता विचार यसमा समेटिएका छन्। अझ अगाडि डेरिडा भन्छन् कि भाषा बाहिर हामी यथार्थलाई बुझन सक्दैनौ। पूर्विय दार्शनीकहरू भाषा मस्तीष्कको उत्पादन भएकोले परमसत्य यसबाट चिन्न पूर्ण रूपले सकिन्दैन भन्छन्। भाषाको उत्पती र लीलाबारे छ यो पुस्तक। यस्तै सन्देश भएको डेभीड लोचको “दि क्लोटुर अफ डीकन्सट्रक्सन: महायान क्रिटीक” भन्ने पुस्तक हो। राईले बौद्ध दार्शनिक नागार्जुनको सुन्यताको सत्य ठुलो विनिर्माण मानेका छन्। बस्तु पूर्ण छैन, अन्तरसम्बन्धित छ। एउटा बन्दो छ र अर्को नासीदो छ यहि अस्थिरतालाई सुन्य भनिन्छ। सुन्यता कुनै ठोस वस्तु होइन यो भाव सत्ता हो जसबाट नागार्जुन फेनोमेना बारे भन्छन। यहि नागार्जुनको फेनोमेनाको चर्चा डेरीडा सँग मिल्छ। इन्द्र बहादुर राईले लीला लेखन मार्फत साहित्यको मनोवैज्ञानिकीकरण, अध्यात्मिकीकरण गर्दै रहस्यमय बनाए। उनका कतिपय लीला कथाहरु जस्तो कि “झ्याल” र “कठपुतलीको मन” मा शब्दकोषको तानाशाहीबाट भाषालाई मुक्त राखेका छन्। यी कथाहरुमा राईले जुन रुपहरु सीर्जना गरेका छन, त्यस्तो रुप आधुनिक नेपाली साहित्यमा कसैले गरेको छैन। यीनको काल्पनिकी असाधारण छ। जर्मन दार्शनिक फ्रेडरिक नित्सेले भनेका छन् कि त्यहाँ तथ्य छैन, व्याँख्या मात्र छ। यहिलाई आधार बनाएर राईले कथाको विनिर्माण गर्दै साहित्यको नयाँ भाष्यशास्त्र खडा गरे। आफ्नो सिर्जनामा सार्वभौमलाई स्थानिय बनाए, स्थानियलाई सार्वभौम बनाए। क्याम्ब्रीज्ड विश्वविद्यालयका भाषा दार्शनिक लडुविग विगेन्स्टाइनले सत्य र तथ्य बुझ्न भाषालाई समस्या रहेको निष्कर्ष निकालेका थिए। राईको ज्ञापित बुद्धिमा विश्वास छैन। यसर्थ उनि शुन्यता र ब्रम्हजस्तो दर्शनमा अडेसो राख्छन। विनिर्माणवादी डेरीडा भन्थे साहित्यमा अर्थहरुको गृहयुद्ध हुन्छ। त्यसमा शंसय व्यक्त हुन्छ। निश्चित अर्थ भन्ने हुदैन। पाठले आफैले आफैलाई भत्काई रहेको हुन्छ। पाठकले आफ्नै प्रकारले पाठलाई बुझछ। यहि पाठकको जन्ममा लेखकको मृत्यु हुन्छ। अनन्त बुझाई, शाब्दिकीकरण र बोधहरुको लहरबाट पाठ गुज्रीन्छ। व्याख्या, अतिव्याख्या र मूल बुझाईबाट पाठ गुज्रीन्छ। यिनै उत्तर आधुनिक प्रस्तावनाहरुलाई भाषाको खेलबाट खेल्दै राईले लीला लेखन गरे। स्मरण गर्नु पर्ने कुरा के छ भने राईले भनेका छन् कि म आजको मान्छे हुँ, आजकै कुरा गर्छु भोली आउनेले भोलीकै कुरा गर्दछन। लीला लेखनको आज सम्म राईले ठिकै गरे तर अहिले आइरहेको उत्तर मानववाद विज्ञान प्रविधिको मानव शरिरमा प्रवेश पाए देखि लीला लेखनका सीमा कोरीन्छ। लीला लेखन ज्ञान मीमांसाका रुपमा नयाँ र पुरानो दुबै हो। तर उत्तर मानववाद विशेष गरेर स्नायू विज्ञान र कृतिम बुद्धिको अविष्कारले परम्परीत साहित्यिक चिन्तनलाई चुनौति दिन्छ। गुगुलका रे कर्जवेल मानव मस्तिष्क कृतिम रुपमा बनाउन सकिन्छ भन्छन।

इन्द्र बहादुर राईले लीला लेखन मार्फत साहित्यको मनोवैज्ञानिकीकरण, आध्यात्मिकीकरण गर्दै रहस्यमय बनाए। उनका कतिपय लीला कथाहरु जस्तो कि “झ्याल” र “कठपुतलीको मन” मा शब्दकोषको तानाशाहीबाट भाषालाई मुक्त राखेका छन्। यी कथामा  राईले जुन रुपहरु सिर्जना गरेका छन, त्यस्तो रुप आधुनिक नेपाली साहित्यमा कसैले गरेको छैन। 

मस्तिष्कको क्षमता र संरचनालाई औषधी विज्ञान मार्फत परिवर्तन गर्न सकिन्छ। रोबोटले कविता लेख्छ, चित्र बनाउँछ। निश्चित छैन मानव बुद्धिको। यस्को स्वरुपमाथि विज्ञानले खेलवाड गर्छ। तर त्यहाँ रहस्य र लिला भन्ने रहन्छ। त्यो अर्को रुप हो ब्राम्हण्ड विज्ञानले भन्छ फेनोमेना प्रकृया मात्रै हो निश्चितता छैन। चेतनाको स्वतन्त्र अस्तित्व छैन। अराजक र अव्यवस्थाले भरिएको छ फेनोमेना। यदि “पोष्ट ह्यूमन कन्डीसन” का लेखक रोबर्ट पिपीरेल भन्छनकि अव्यवस्थाले भरीएको साहित्य उत्तम साहित्य हो। साहित्य चेतनाको उत्पादन हो। तर चेतना आफै रहस्य र भेद पाउन नसकिने बस्तु रहेछ भनी उनिहरु भन्दैछन। यदि चेतनाको रहस्य र उत्पतीको कारणहरुको अविष्कार भयो भने लीला रहदैन कि? अन्त्यमा भन्नु पर्ने के छ भने भारतिय दार्शनिक यू.जी. कृष्णमुत्तिले मानव विचार र संवेदनाकै विनिर्माण गरे। डेरीडा र राईहरुले वाद सीर्जना गरे मस्तिष्कबाट। यू.जी. ले मस्तिष्ककै विघटन गरी दिए विचारलाई च्याति दिए मन, आत्मा र स्वमा आधारित मानव सभ्यता र संस्कृतिमाथीको ज्ञानलाई विघटनगर्दै त्यसमाथि शरिरको आदिबुद्धि र विवेक स्थापना गरे। शायद यस्मा पनि लीला लेखनको सीमा छ होला। राईले साहित्यमा प्रमात्रा भौतिकवादको स्रीजनशीलताको प्रयोग गर्दै अणुको स्वभाव र शब्दको अर्थलाई लीलामा स्पष्ट पारे। उनको “सम्पुरक” समालोचना संग्रहमा छापिएको ”कवितामा अनिधार्यता” यस्तै विषयको सुक्षम अध्ययन थियो। अहिले नयाँ विज्ञान विषेश गरेर जेनेटिक इन्जीनियरिङ्ग, स्नायु विज्ञान, कृतिम बुद्धि, र एलगोरिदमको अध्ययनले विषेश गरेर कृषि र औद्योगिक समाजले उत्पादन गरेको ज्ञानलाई चुनौती दिन थालेको छ। जन्म, मृत्यु, स्वर्ग, नर्क, सत्य, तथ्य, स्मृति, सपना र शब्दको परिभाषा बदलिएको छ। सुचना समाजबाट उत्तर मानव अर्थाच चौथो क्रान्तिमा जाँदा लीला लेखनका बैचारिकीहरुलाई पुनः सोच्नु पर्ने हुन्छ। राईले कृषि समाजको प्रबोधन ज्ञान, भौतिक विज्ञान र आधुनिक साहित्यको चेतनालाई समावेश गर्दै डेरिडिय विनिर्माणवादको समिश्रणबाट लीला लेखन प्रतिवादन गरेको हुनाले अव यो नयाँ आयाम तर्फ लीलावादीहरुले विचार गुर्नु पर्छ। राईले भनेका छन् की २१औ शताब्दिमा नयाँ क्षितिज उघ्रीन्छ। अब त्यो क्षितिज उघ्रिन थालेको छ। हिजोका सत्यहरु कम सत्य र असत्य लाग्न थालेको छ। परम सत्यहरु लडखडाउन थालेको छ। सिर्जनाको प्राविधिक यान्त्रीकरण शुरु भएको छ। जेम्स ग्लेइकले अव्यवस्थाको दर्शन प्रतिवादन गर्दा मौसम विज्ञान, भौतिक विज्ञान, ब्रहमण्डशास्त्र र जिव वैज्ञानिक फेनोमेनाहरु अव्यवस्थाको सिद्धान्तले परिचालित पाए। सायद यो सत्य अबको उत्तर मानव युगको सत्य हो। केन्द्र छैन, चेतना खण्डीत छ, जे बुझछौ अपुरो बुझछौ, तत्व मिमासीय  प्रश्नहरुको उत्तर छैन, भाषा एउटा पर्दा हो भन्ने धारणहरुले मस्तिष्क धचधचाउन थालेको छ। यी सन्दर्भहरुमा लीला लेखन नेपाली साहित्यको नयाँ दर्शन हो। तर लीला लेखन प्रश्न पनि हो। र यो प्रश्नहरु बिचनै बाँच्छ। 

 

प्रकाशित: १६ चैत्र २०७५ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App