२५ असार २०७७ बिहीबार
अन्य

मार्खेजको नविन प्रयोग

कोलोम्बियाली आख्यानकार गार्बियल गार्सिया मार्खेजका उपन्यास पढ्न नेपाली पाठकले झेल्नुपर्ने चुनौती भनेकै साँस्कृतिक दूरी हो। त्यसकारण उनका उपन्यासमा आउने पात्र नेपाली पाठकका लागि अजीव र अस्वाभाविक लाग्छन्। उनको उपन्यास ‘लिफ स्ट्रम’ को केन्द्रीय पात्र डाक्टर पनि यस्तै अजीव र अस्वाभाविक पात्र लाग्नेछ।

प्रथम विश्व युद्धको क्रममा भएको बसाईसराईको सिलसिलामा बसेको बस्ती हो–माकोन्डा। त्यहीँ गर्भवती र आदिबासी सहयोगीसँगै आइपुगेका हुन्छन्–कर्णेल। छोरी जन्माएर कर्णेलकी श्रीमतीको निधन हुन्छ। छोरीको नाम राखिन्छ–इसाबेल। कर्णेलले दोस्रो विवाह गर्छ–एड्रिनासँग। त्यहीबेला कर्णेलका मित्र अरिलानो व्युनडाईको पत्र बोकेर डाक्टर कर्णेलको घरमा आइपुग्छ।

भर्खर बसेको माकोन्डामा डाक्टरको क्लिनिक मज्जाले चल्छ। समयान्तरमा खुलेको बनाना नामको बहुराष्ट्रिय कम्पनीले आयोजना गरेका स्वास्थ्य शिविरले डाक्टरका ग्राहक कम हुन्छन्। चिकित्सक पेशाप्रति डाक्टरको आकर्षण कम हुँदै जान्छ। उनी सामाजिक व्यवहारबाट एक्लोपनामा बस्न रुचाउन थाल्छन्। कर्णेलकै घरमा काम गर्ने आदिबासी महिलासँग बस्न थाल्छ। एक दिन माकोन्डामा भएको दुर्घटनामा परी केही मानिस मृत्युको मुखमा पर्दा उपचारका लागि डाक्टरको दैलोमा गुहार्न बस्तीका मेयरलगायत सबै पुग्दा समेत उनले ढोका खोल्न समेत मान्दैनन्। फलतः पूरै बस्तीले कुनै दिन डाक्टर मरे उसको सद्गति नगर्ने, लास नकुहुञ्जेल वास्ता नगर्ने निर्णय हुन्छ। धेरै दिनसम्म उनीसँगै बस्दै आएकी महिलालाई कसैले नदेखेपछि डाक्टरले हत्या गरी घरभित्रै गाडेको हुनसक्ने शंका गरिन्छ।

युद्धले सामाजिक मनोविज्ञानमा पार्ने प्रभाव उपन्यासको मूल विषयवस्तु हो।

एक बिहान डाक्टरले आत्महत्या गर्छ। शहर उनको लास कुहिने समयको प्रतिक्षामा बस्छ। तर कर्णेलले डाक्टरलाई वचन दिएको हुन्छ– सद्गति गर्ने। बुढो कर्णेलसँग उनकी श्रीमती समेत जान मान्दिनन्। कर्णेलसँग त्यो बिरानो घरमा डाक्टरको लास हेर्न जान्छन्–इसाबेल र छाडेर गएको उनको स्वार्थी श्रीमानबाट पाएको छोरा।

उपन्यासमा डाक्टरको लास हेर्न जाने तीन जना पात्र–कर्णेल, इसाबेल र उनको छोरामार्फत् कथा भनिएको छ। तीन पुस्तामा पात्रमार्फत्को कथावाचनले एउटै घटनालाई आयामिक तरिकाबाट हेर्न मिल्ने बनाएको छ। मार्खेजको यो उपन्यास सन् १९५५ मा प्रकाशन गरेका थिए। तत्कालीन समयका लागि उपन्यास लेखनमा यो नयाँ आविस्कार थियो। मार्खेजले फ्रान्सेली डाक्टरलाई किन यस प्रकार चित्रण गरे? ‘लिफ स्ट्रम’ प्रथम विश्वयुद्ध पछिको अवस्थामा आधारित उपन्यास हो। युद्धले सामाजिक मनोविज्ञानमा पार्ने प्रभाव उपन्यासको मूल विषयवस्तु हो।

मुख्य पात्रको मनोविज्ञानमा युद्धका कष्टसाध्य यथार्थ मात्र प्रतिविम्बित बनाएको छैन, बरु मोकान्डोमा खुलेको बहुराष्ट्रिय कम्पनीबाट समेत प्रभावित बन्ने गर्दछ। इसाबेलसँग विवाह गरेका मार्टिनले उनीसँगको प्रेमका कारण नभई कर्णेलबाट व्यापारमा हुने फाइदालाई ध्यानमा राखी विवाह गरेको हुन्छ र पछि इसाबेललाई छाडेर जान्छ। यो घटनाले सामाजिक सम्बन्धका सन्दर्भमा पुँजी र व्यापार हावी बनिरहेको बदलिंदो परिस्थिति संकेत गरेको छ।

समाजले बहिस्कार गर्ने निर्णय गरेको व्यक्तिको अन्तिम सद्गति गर्ने जिम्मेवारी बहन गर्न कर्णेलको पहललाई इसाबेलले भयका रुपमा पनि लिएकी हुन्छिन्। डाक्टरको लासलाई चिहानसम्म लाने निर्णयप्रति समाजको प्रतिक्रिया रुखो हुन सक्नेप्रति उनीहरू सचेत हुन्छन्। तर उपन्यासको अन्तिममा डाक्टरको लास निकाल्न कसैले अड्चन नगर्नुले समाजमा व्याप्त मानवता र सामाजिक भावना झल्काउन खोजिएको छ।

सांस्कृतिक दूरीका कारण उपन्यासका सबै आशय र पृष्ठकथा उपन्यास पुरै पढेर पनि बुझ्न सके जस्तो लाग्दैन। नेपाली भाषामा अनुवाद गरे पनि लरोतरो अनुवादकले उपन्यासभित्रको रस निकाल्न सक्नेमा शंका लाग्छ। यसको नेपाली अनुवाद ‘कर्णेलको घोडा’ मा पनि पाठकले यस्तै महशुस गर्छन्।

 

प्रकाशित: १६ चैत्र २०७५ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App