३० असार २०७७ मंगलबार
अन्य

डीक्रा बादीको सुखद् पुनरागमन

राष्ट्रिय नाचघरमा खचाखच दर्शक। मञ्चमा बसेर सारंगी रेटिरहेको एउटा अधबैंसे। उसको छेवैमा उभिएर गाउँदै गरेकी लोकगायिका। उनले विरहका राग अलाप्दा भावुक बनेको दर्शक दीर्घा। सुँक्कसुँक्क आवाज।  ‘वान्स मोर !’ गडगडाहट तालीसँगै दर्शक दोहोर्याउँछन्–‘वान्स मोर !’

यसरी ११ फागुन ०७५ का दिन काठमाडौंमा सुदूर पश्चिमकी डेउडा गायिका डीक्रा बादीले दर्शकलाई मन्त्रमुग्ध बनाइन्। वाहवाही पाइन्। सम्मान पाइन्। त्यसैले त यति बेला सांगीतिक बजारमा चर्चाको शिखरमा पुगेकी छिन् उनी।  

उनीहरूको (डीक्रा र कित्थ्या दम्पती) जीवनमा ‘टर्निङ पोइन्ट’ बन्यो ११ फागुन। त्यो दिन नाचघरमा ‘कन्सेप्ट नेपाल’ले आयोजना गरेको ‘एकल डेउडा गायन’बाट लोकगायिका डीक्राले एकसाथ तीन वटा उपलब्धि हासिल गरिन्। पहिलो, एक दशकपछि उनी गायनमा फर्किइन्। एकल कार्यक्रम लगत्तै उनका केही गीत रेकर्ड भए। दोस्रो, उनको स्वास्थ्योपचार भयो। र, तेस्रो आयोजकले कदरपत्रसहित दिएको नगद ५० हजारमा शुभेच्छुकले थपथाप पारेपछि उनले सवा लाख रुपैयाँ पाइन्।  लोकगायनमा डीक्रा बादीको सुखद् पुनरागमन भयो। अनि खुसी एवं उत्साह बोकेर गाउँ फर्कियो त्यो परेवा जोडी।    

अँधेरी खोलाकी न्याउली भने हुन्छ डीक्रालाई। हरपल विरहका गीत गाइरहने न्याउली। मध्यपश्चिम तथा सुदूर पश्चिममा गाइने ठाडी भाकामा विरह र वेदना पोखिन्छ। बिम्बात्मक हुन्छन् ठाडीका शब्दहरू। मुटु नै निचोरेर तिनै वेदनाका गीत गाउन सिपालु छिन् डीक्रा। 

मेलापात जाँदा होस् वा एकान्तमा पश्चिमेली महिला डेउडा गीतका लय गुनगुनाउन थालिहाल्छन्। काठमाडौंको कार्यक्रममा लोकगायिका डीक्राले ठाडी भाकाका ५ वटा गीत गाइन् भने ४ वटा दोहोरी। उनले गायनबाटै जातीय, आर्थिक र सामाजिक हिसाबले पछाडि परेका समुदायको आवाज उठाइन्। एक दशकपछि गायनमा फर्केकी डीक्राको स्वरमा उस्तै जादुगरी रहेछ। उस्तै मोहनी कला रहेछ। फेरि गाउन पाएकोमा उनका आँखामा खुसी टल्पलाइरह्यो। आत्मविश्वासको पहाड चढेर गाइरहिन्। ताली पाइरहिन्। ‘मेमोरी कार्ड चल्न थालेपछि गीत गाउनै छाडें’, आफू ओझेल पर्नुको कारण सुनाइन् उनले, ‘स्टुडियो पनि बन्द भए पश्चिमतिर।’ 

अनि न उनी गीत रेकर्ड गराउन काठमाडौंका डिजिटल स्टुडियोमा आउन सकिन्। न कसैले उनको खोजी नै ग¥यो। आफ्नै गाउँमा गुमनाम भइन्। कञ्चनपुरको बङ्क गाउँमा बसोबास गर्छिन् उनी। बाह्र वर्षमा खोलो पनि फर्कन्छ भन्छन्। एक दशकपछि फेरि गायनको मौका मिल्यो उनलाई। आइन् उनी मीठो सन्देश बोकेर। ‘त्यत्तिकै गाउँमा बसेका थियौं। यस्तो दिन आउला भन्ने लागेकै थिएन’, उनले मनका कुरा गरिन्।  

दर्शकले उनको स्वर र कित्थ्याको सारंगी धुनको तारिफ गरे। कतिसम्म भने डेउडा सुन्नै भनेर गीतकार सागर उदास दमौलीबाट काठमाडौं आइपुगेका थिए। कथाकार अभय श्रेष्ठचाहिँ पोखराको कार्यक्रम हापेर यतै बसेका थिए। उनको हौसला बढाउन डेउडा गायक नन्दकृष्ण जोशीले पनि वाह ! वाह ! भनिरहे। 

ठाडी गीत सुन्दा दशर्कहरू भावविह्वल बनेका थिए भने दोहोरीमा चाहिँ नाचे। लगातार दुई घन्टा चलेको कार्यक्रममा सबै मन्त्रमुग्ध बने। दोहोरीमा उनलाई पति कित्थ्या र गायिका झुमा लिम्बूले साथ दिए।  कार्यक्रमको संगीत संयोजन झुमाले नै गरेकी थिइन्। सांगीतिक टोलीमा शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बू र सञ्जीव मैनाली थिए। उनीहरूको फ्युजन संगीतले माहौललाई थप मिठासपूर्ण बनायो।    

डीक्रालाई सकेको आर्थिक सहयोग पनि गरौं भन्ने हाम्रो चाहना थियो। त्यसैले संगीतकार बुलु मुकारुङ र कवि श्यामलका हातबाट डीक्रालाई क्रमशः कदरपत्र र ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरेर हामीले डेउडा गायन शुभारम्भ गर्याैं।कार्यक्रममै श्यामलले व्यक्तिगत रूपमा डीक्रालाई ५ हजार रुपैयाँ दिने घोषणा गरे भने मुकारुङले ५ हजार, संगीतकार कालीप्रसाद बाँस्कोटाले २० हजार, पर्यटनकर्मी लिलाराम खड्काले ५ हजार रुपैयाँ प्रदान गरे। त्यहाँ राखिएको चन्दा बाकसमा जम्मा ४३ हजार ८ सय ७० रुपैयाँ उठ्यो। कार्यक्रमको भोलिपल्ट एक स्वयंसेवीले २५ हजार रुपैयाँ प्रदान गरिन्। यसरी सवा लाख रुपैयाँ पायो डीक्रा दम्पतीले। 

डीक्रा दम्पतीको जीवनमा ‘टर्निङ पोइन्ट’ बन्यो फागुन ११। त्यो दिन काठमाडौंमा ‘कन्सेप्ट नेपाल’ले आयोजना गरेको एकल डेउडा गायनबाट लोकगायिका डीक्रा बादीले एकसाथ तीन उपलब्धि हासिल गरिन्। पहिलो, एक दशकपछि उनी गायनमा फर्किइन्। लगत्तै उनका केही गीत रेकर्ड भए। सांगीतिक बजारमा उनी चर्चाको शिखरमा पुगिन्। दोस्रो, उनको स्वास्थ्य उपचार भयो। र, तेस्रो आयोजकले कदरपत्रसहित दिएको नगद ५० हजारमा शुभेच्छुकले थपथाप पारेपछि उनले सवा लाख रुपैयाँ पाइन्।  

एकल गायन सुनिरहेकी गायिका शोभा थापाले डीक्राको एउटा गीत रेकर्ड गरेर भिडियो बनाउने खर्च व्यर्होने प्रतिबद्धता जनाइन्। त्यही बेला गीतकार हर्क साउँदले डीक्राको स्वास्थ्य उपचार गरिदिने घोषणा गरे।  कार्यक्रमको केही दिनपछि उनले काठमाडौं मोडल अस्पतालमा स्वास्थ्य परीक्षण गराइदिए। धन्न पाठेघरमा ठूलो समस्या रहेनछ। साउँदले उपचार गरेर आफ्नो वचन पूरा गरे।   

सोचेभन्दा राम्रो भयो डेउडा गायन कार्यक्रम। पर्यटन प्रवद्र्धनमा सक्रिय युवाको संस्था ‘कन्सेप्ट नेपाल’ मुख्य आयोजक तथा रैथाने संगीत समूह काठमाडौं र अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान पोखराको सहआयोजनामा कार्यक्रम गरिएको थियो। तर कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ आउन पाएनन्। उतैबाट शुभकामना लेखिपठाए।   

डीक्रालाई एकल गायनमा उभ्याउने परिकल्पना पूरा भएकोमा मन हर्षित बन्यो। यसमा हाम्रो खप्तड काव्य–यात्राको सन्दर्भ जोडिएको छ। सुदूर पश्चिमको श्रीपेच खप्तडलाई पहुँचिलो बनाउन राम्रो प्रचार आवश्यक देखेर कन्सेप्ट नेपालले जेठ ६ देखि १३ गतेसम्म ‘खप्तड काव्य–यात्रा २०७५’ आयोजना गरेको थियो। यात्रामा मुलुकभित्रका २७ जना प्रभावशाली कवि, लेखक, पत्रकार र साइक्लिष्ट सहभागी थिए। 

खप्तडबाट फर्केपछि उनीहरूले विभिन्न मिडियामा लेख तथा रचनामार्फत् खप्तड उजागर गर्दै आएका छन्। अब लेखकहरूका रचनामा दीर्घकालसम्म खप्तडको प्रभाव परिरहने हाम्रो विश्वास छ।   काव्ययात्राकै दौरान कन्सेप्ट नेपालले डोटीको शैलेश्वरी मन्दिर हातामा सुदूर पश्चिमको संस्कृतिमा योगदान पुर्याएका तीन जना पाका संस्कृतिकर्मीहरू नाट्यकर्मी धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपालीलाई जनही १० हजार रुपैयाँसहित ‘खप्तड काव्य सम्मान’ प्रदान गर्याे।   

सम्मान गर्ने चार जना पात्रको छनोट गर्न डोट्याली कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवशलाई आग्रह गरेका थियौं। उनले लोकगायिका डीक्राको नाउँ पनि सुझाएका थिए। तर, हाम्रो यात्राको समय उनी उपचारका लागि भारत पुगेको खबर आयो। सम्मानित व्यक्तिको अनुहारमा छाउने खुसी हेर्नु थियो मलाई। हेमन्तसँग सोधें, ‘डीक्राको कुनै गीत छैन युट्युवमा ?

उनले आफ्नो मोबाइलमा एउटा ठाडी गीत बजाए। सुन्नेबित्तिकै मैले भनें, ‘गुरु ! खप्तड यात्रापछि समय मिलाएर काठमाडौंमा डीक्रा दिदीको एकल साँझ गरौं न !’ सधैं डीक्रा जस्तै भुइँमान्छेका जीवनकथा लेख्दै आएका मित्र हेमन्तजीको अनुहारमा एकाएक चमक थपियो। उनमा ऊर्जा बढेको अनुभव गरें। र, खप्तड यात्रामै एकल गायनको घोषणा गर्याैं।   हामीले गएको दसैंको संघारमा डीक्रालाई काठमाडौंमा उभ्याउने सोच बनाएका थियौं। तर, समय लाग्यो। ढिलै भए पनि राम्रै भयो। 

कार्यक्रम गर्न इच्छा भएर मात्र पुग्दैन। सहयोगी मनहरू पनि चाहिन्छ। एकल गायनको मिति टुङ्गो लगाउनेबित्तिकै सुदूर पश्चिमका तीन जना अर्बपतिसँग सहयोगका लागि मोबाइलमा सञ्देश पठाएको थिएँ। उनीहरूले तोलाको वचन खोलामा फ्याँकिदिए। बरु केही मध्यम वर्र्गीयले मुठी खोलेर सहयोग गरे। 

त्यो लहरमा छन्–पर्यटनकर्मीहरू अमरबहादुर शाही, लाक्पाढुण्डुप लामा, लिलाराम खड्का, चामबहादुर पुन र गगनराज न्यौपाने। त्यस्तै सहयोगी गीतकारहरूमा डा. राजेन्द्र भट्ट, सागर उदास र हर्क साउँद छन्। अनि शिक्षासेवीहरू गणेशप्रसाद जोशी, टोपेन्द्र शाह, दीपिका रिमाल थापा, ओमप्रकाश गुरुङ र कृष्णगोपाल श्रेष्ठले होस्टेमा हैंसे गरिदिए। 

कार्यक्रममा एउटा ठाडी गीतमा भावपूर्ण नृत्य पस्केर सुदूरपश्चिमकै कलाकार देवु वराले सबैको मन जितेका थिए।  हेमन्त गुरुको अविराम सक्रियता, कन्सेप्ट नेपालका सदस्यहरु पवन शाक्य, राजेन्द्रबहादुर लामा, देवेन्द्र बस्न्यात र सुरेन्द्र रानाको चिन्ता सबैसबैले कार्यक्रमलाई फलदायी बनाउन मद्दत गर्याे। 

डीक्राको गायनमा सुदूरपश्चिमको सुवास पाइन्छ। आञ्चलिक स्वाद भेटिन्छ। सिंगो सुदूरपश्चिम बोकेर हिँडेकी उनी नेपालकै गौरव हुन्। तर, यही समाजले दलित भनेर हेप्यो उनलाई। कानुनमा निर्मुल भए पनि व्यवहारमा छुवाछुत निमिटयान्न भैसकेको छैन। त्यति मात्र होइन, विगतमा गीत गाउँदा समेत राम्रो पारिश्रमिक नदिएर अन्याय गरे कतिपयले।यद्यपि जीवन यात्रामा कित्थ्याको राम्रो साथ पाएकी छन् उनले। चौध वर्षकै उमेरमा उनीहरुबीच विवाह भएथ्यो। बाजुराको देउलीसैम गाविसमा जन्मे÷हुर्केकी हुन् उनी। कित्थ्याचाहिँ बझाङको सिमलपानीमा। 

डीक्राको उमेर ५० वर्ष पुग्यो। कित्थ्या ५२ वर्षका भए। हजुरआमा बनिसकिन् डीक्रा। उनको जेठो छोरा प्रकाश घरमै छन्, कान्छो छोरा विवश भारतमा मजदूरी गर्दै छन्। अरु परिवार बङ्कमै बस्छ। छोरी शान्ति र रेजिनाको बिहे भैसक्यो। 
सानैदेखि सांगीतिक माहौलमा हुर्के उनीहरू। बादी समुदायको पुख्र्यौली पेशा गाउने, बजाउने, नाच्ने, माछा मार्ने र माटाका भाँडा बनाउने हो। विशेषतः शुभकार्यहरू विवाह, व्रतवन्ध, पार्टी आदिमा नाचगान गरेपछि उनीहरू पैसा र अन्न पाउँथे। 

गाउँघरतिर नाचगान गर्ने चलन हटिसकेको छैन। नदीमा जाल थाप्ने, बल्छी खेल्ने र माछा मार्ने काम घट्दो क्रममा छ। माटाका भाँडा बनाउने कामचाहिँ हराउँदै गयो।   डीक्राको घरमा पनि सांगीतिक वातावरण थियो। उनका बा वैरागी र आमा जानकी संगीतकर्ममै थिए। दसैं र देवालीजस्ता पर्वमा घरमै गाउने–बजाउने गरिन्थ्यो। सानैदेखि मीठो स्वर भएकीले गर्दा उनलाई सबैले ‘ल गाऊ त’ भन्थे। त्यसैले ८–९ वर्षको उमेरदेखि नै गाउन थालिन्।   

‘त्योबेला धेरैजसो रेडियोमा सुनेका गीत गाउँथ्यौं’, डीक्रा बाल्यकाल सम्झिन्छिन्, ‘पछि भजन, ठाडी भाका र दोहोरी गाउन थाल्यौं।’ ग्रामीण परिवेशले गायिका बनाइदियो उनलाई। कित्थ्यासँग बिहे भएपछि भारतबाट दरबानी गरेर फर्केकाहरूले उनका गीत रेकर्ड गरेर लान्थे। उनीहरू हातमा टेप रेकर्डर बोकेर आउँथे। त्यो टेपरेकर्डरलाई गाउँघरतिर ‘टेर्पिकाट’ भनिन्थ्यो। त्यसकै अगाडि डीक्रालाई गाउन लगाउँथे। उनी सुरिलो भाकामा गाइदिन्थिन्। 

पहाडमा जिन्दगी चलिरहेकै थियो। खलो बटुल्दै, सारङ्गी रेट्दै, गीत गाउँदै जीविका चलाउन गाह्रो भएकाले उनीहरू ०४९ सालमा तराई झरे। दुःख गरेर कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका–२ बङ्कको ऐलानी जग्गामा एउटा घर बनाए। अचेल त्यहीँ बसेर जीवनका सपना बुन्छ डीक्रा दम्पती।  दुःखले चल्दै छ जीवन। बैंसमा मजदुरी गर्न भारतमा पुग्थे कित्थ्या। उनले रेकर्डिङ स्टुडियोमा सारंगी बादकका रूपमा पनि काम गरे। फेरि त्यस्तै काम पाए हुन्थ्यो भन्छन् उनी।   

पुराना स्वर्णिम क्षण सम्झेर बरोबर भावुक बन्छिन् डीक्रा। ‘गाउन त अझै ३–४ घन्टा लगातार गाउन सक्छु’, उनले भनिन्। त्यसो त नाचघरको गायनमा हामीले उनको आत्मविश्वास देख्यौं। उनको क्षमता बुझ्यौं। आज सुदूर पश्चिममा मेला महोत्सव भैराख्छ। बिडम्बना ! त्यहाँ डीक्रा जस्ता रैथाने गायिकाको कदर हुँदैन। त्यस्ता मञ्चहरूमा मौका पाए कलाकारलाई हौसला मिल्छ। बाँच्न सजिलो हुन्छ। आशा गरौं, अबका दिनमा डीक्रा बादीहरूले मौका पाउने छन्। 

एकताका सुदूर पश्चिम र मध्य पश्चिममा सेलिब्रिटी बनेकी थिइन् डीक्रा। समयको कालखण्डमा गुमनाम भइन् उनी। एकल गायन कार्यक्रमबाट सुदूर पश्चिमेली र मध्य पश्चिमेली समुदायमा मात्र होइन, उनी सबैतिर चर्चित बनेकी छिन्। सबैभन्दा ठूलो कुरा–उनमा गाउने भोक कायमै छ। स्वरमा उस्तै जादु छ।  

हाम्रो कार्यक्रमले उनको आत्मविश्वास बढाइदियो। नेपाली समाज डीक्राको स्वर र कित्थ्याको सारंगी धुनमा झुम्न लालायित छ। उनीहरूबाट डेउडाको अर्गानिक स्वाद चाख्न पाइराखौं हामी। एनालग युगमै गुमनाम भएकी एउटी गायिकालाई हामीले डिजिटल युगमा ल्याउन अभियान चलायौं। सबैको सहयोगले सफलता मिल्यो। ठूलो सम्मान र चर्चासँगै गायनमा फर्किइन् उनी।

यसरी भुइँमान्छेको सम्मान गर्न पाउँदा आत्मसन्तुष्टि मिल्दो रहेछ। एकल गायनको भोलिपल्ट हामीले उनलाई अनुरोध गरेका थियौं, ‘डीक्रा दिदी ! अब तपाइँ सित्तैंमा नगाउनुस्। कम्तीमा एउटा गीत गाएको १० हजार रुपैयाँ लिनुस् है।’

म्युजिक भिडियोमा अनुहार देखाइदिन्छु भनेर कसैले फस्ल्याङफुस्लुङ पारेर सित्तैंमा गाउन नलगाऊन्। श्रमको सम्मान होस् भन्ने हाम्रो चाहना हो। हाम्रो कर्तव्य सकियो। अब हामी गायनमा फेरि उनी चम्केको हेर्न र सुन्न चाहन्छौं।
अन्त्यमा, डीक्रा दम्पतीको सुस्वास्थ्य एवं दीर्घायुको कामना ! 
                                                                    bhadgaonle@gmail.com

प्रकाशित: २ चैत्र २०७५ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App