१५ चैत्र २०८० बिहीबार
अन्य

चरिकोटेको काठमाडौं यात्रा

परिचय पब्लिकेसनले रत्न प्रजापतिको ‘चराहरूको घुमघाम’ चित्रकथा बजारमा ल्याएको छ। देवेन्द्र पाण्डेको लोभलाग्दो आवरण र रंगीन चित्रकलाले कृतिलाई आकर्षक बनाएको छ। कथामा चरिकोटका चराहरूले काठमाडौंमा भ्रमण गरेको चित्रण गरिएको छ। झिलीमिली काठमाडौं हेरेर उनीहरू अचम्मित भए। भोलिपल्ट बिहानै रानी वनका चरासँगै चरिकोटे चरा उडे। चरिकोटका काग र रानी वनका चराबीच कुराकानी भयो। रानी वनका कागले काठमाडौं घुमाइदिने भएपछि चरिकोट सबै चरा खुसी भए।

रानी वनका चराले चरिकोटेलाई पशुपति क्षेत्र लिएर गए। पहिल्यै महिमा सुनेका सबैले पशुपतिनाथलाई नमस्कार गरे। त्यहाँ परेवाको बथान र बाँदरको झुन्ड देखेर चरिकोटे चराले रमाइलो माने। उनीहरू स्वयम्भू गए। उनीहरूले त्यहाँ बुद्धको शान्त र शालीन मूर्तिलार्ई प्रणाम गरे। त्यहाँ पनि उनीहरूले परेवाको बथान र बाँदरको झुन्ड देखे। उनीहरू स्वयम्भूबाट सिधै वसन्तपुरको हनुमान ढोका दरबार गए। त्यहाँ वैशाख १२ गतेका भूकम्पले वसन्तपुरका मन्दिर ढलेका र केही ढल्न लागेका देखे। तिनीलाई पहिला जस्तै बनाउन काम थालेका देखे।

वसन्तपुरको डबलीमा मानिसले छरेको चामल खान त्यहाँका परेवाहरू तँछाडमछाड गरिरहेका देखेर चरिकोटे परेवालाई नरमाइलो लाग्छ। सुखले खान नपाउँदा रहेछन्। परेवाको बथानमा काग र भँगेरा पनि चारो खान तँछाडमछाड गर्दा रहेछन् भनेर निराश हुन्छन्। जताततै घरैघर र आहारा खोजेर खाने ठाउँ नभएकोमा जुरेली निराश हुन्छ। यस्तो फोहोर बागमती र विष्णुमतीमा मेरा दाजुभाइले कसरी आहार खोजेर खान्छन् भन्दै बकुल्ला दुःखी हुन्छन्। आफ्नो दाजुभाइलाई पिँजडामा थुनेकोमा मैना र सुगा निराश हुन्छन्। यहाँ कतै खाली जग्गा देखिदैन। किसानहरूले कहाँ खेती गर्दा हुन् पनि चिबे दुःखी  हुन्छ।

कागले मनको पीडा पोखे, ‘स्वतन्त्र ढंगले कहीँ जान र केही गर्न नपाएपछि स्वर्गै पाए पनि के मजा भयो र।’

सारस दाजुभाइ देख्न नपाएकोमा निराश हुन्छन्। रानी वनको कागले तिम्रो दाजुभाइलाई भेट्न चिडियाखाना जानु पर्छ। हेर्न जाने हो भन्छन्। सारसले मनको कुरा सुनेर खुसी हँुदै चिडियाखाना जाने रहर ग-यो। लगतै रानी वनका कागले चराहरूलाई चिडियाखानामा लिएर गयो। रानी वनको कागले चरिकोट चराहरूलाई लिएर जाँदै थिए। जाँदाजाँदै उनीहरूले भूकम्पले ढलेको धरहराका अवशेष पनि देखे।

चरिकोटका चरा चिडियाखानामा विभिन्न किसिमका जनावर र चराचुरुङ्गी देखेर छक्क पर्छन्। तर ती सबै कैद भएको देखेर उनीहरू निराश भए। कागले मनको पीडा पोखे, ‘स्वतन्त्र ढंगले कहीँ जान र केही गर्न नपाएपछि स्वर्गै पाए पनि के मजा भयो र।’ उनीहरू चिडियाखानापछि पाटनको कृष्ण मन्दिर गए। पाटन दरबार पनि गए। उनीहरू दरबार क्षेत्रका कलात्मक मन्दिरमा निकै बेर भुले।

उनीहरू घुम्दै भक्तपुर पनि गए। त्यहाँ पनि घरैघर देखे। धेरै घरहरू पुराना देखे। उनीहरू सहरमा हरियाली मासिएको देखेर खिन्न भए। यस्तै होे भने यहाँका चराहरूले आफू बसेको  गाउँठाउँ छोडी बसाइँ नै सर्नु  पर्ने हो कि भनेर चिन्तित भए। त्यहीँबाट चरिकोटे चरा घर फर्किने भए। छुट्ने बेला चरिकोटका कागले मान्छेले आफ्नो अधिकारको कुरा मात्र गरे। अब चराहरूको अधिकार रक्षा गर्न एकजुट हुन सुझाए। काठमाडौंैंमा कागको भाषा बुझ्ने एक जना मान्छे छन्। उनले पोहोर काग तिहारमा काग सम्मेलन गरेका थिए। हामी उनैलाई गुहार्छौ भनेर रानीवनका कागले सहमत जनाए। त्यसपछि चरिकोटका चरा खुसी भई फर्के।    – श्रीराम राई
 

प्रकाशित: २ चैत्र २०७५ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App