३० असार २०७७ मंगलबार
अन्य

मेरो सानो खरायो, आज कता हरायो

कल्पना प्रधान बालसाहित्यमा स्थापित नाम हो। उनको जेठो छोरा प्रतीक प्रधानचाहिँ पत्रकारितामा स्थापित छन्। तिनै प्रतीकलाई खुसी बनाउन आमा कल्पनाले लेखेकी थिइन् बाल कविता, ‘मेरो सानो खरायो आज कता हरायो।’ तिनताका उनीहरू काठमाडौंको वसन्तपुरमा डेरा गरी बस्थे। कुरा त्यस्तै ०२७ सालतिरको। प्रतीक बिरामी थिए। उनले जे पायो त्यही खान मिल्दैनथ्यो। छोरालाई फकाउन उनले काठको गुड्ने खरायो किनिदिएकी थिइन्।

न्यूरोडमा महिला संघले कार्यालयमै पसल खोलेको थियो। कल्पनाले छोरालाई औषधि गर्न लाँदा सोधिन्, ‘के किनिदिऊँ ?’ प्रतीकले खरायोतिर औंला सोझ्याए। उनले किनिदिइन्। दुई छोरा र दुई छोरीमध्ये जेठा प्रतीक खरायो पाएर दंग परे। प्रतीक सानै थिए। गुडिया खरायो दम दिएपछि मजाले  कुद्थ्यो। त्यो गुडिया महिना दिनमै हरायो। डेरामा मान्छेहरूको ओहोरदोहोर भैराख्थ्यो। कसले लग्यो, पत्तै भएन।

खरायो हराएपछि प्रतीक रुन थाले। जसरी हुन्छ चाहियो भन्न थाले। खाना खान पनि सम्झाउनु पथ्र्यो। एक दिन घरका सबै सुतिसकेपछि राति एघार बजे कल्पनाको दिमागमा कविता फु¥यो। र, उनले लेखिन्, ‘मेरो सानो खरायो।’ छोरालाई फकाउन कल्पनाले सिर्जना गरेकी हुन् बाल कविता। त्यसको केही समयपछि वासु रिमाल यात्रीले ‘कति राम्रो कविता रहेछ’ भनेर बालपत्रिका ‘बालक’मा छपाइदिए त्यसलाई।  
यात्री ‘बालक’ पत्रिकाका सम्पादक थिए। ‘यस्तो कविता किन रिमाललाई दिएको भनेर म श्रीमान्सँग रिसाएँं’, उनले सम्झिइन्, ‘छोरालाई फकाउन पो लेखेकी हुँ भनें।’

 ‘मेरो सानो खरायो’ उनको पहिलो कविता हो। त्यसअघि उनी लोककथाहरू लेख्थिन्। त्यतिबेला उनी भीमसेनागोला प्राविमा पढाउँथिन्। पढाउने क्रममा आफ्नो कविता पत्रिकामा छापिएको देखेर उनी फुरुङ्ङ भइन्। चिया पकाउन भान्छामा गएका बेला रिमालले कविता देखेर मन पराएर लगेका रहेछन्। कविता छापिएपछि धेरैले मन पराए। लाखौं बालबालिकाले यो बालकविता पढेका र सुनेका छन्।

धेरैले उनलाई खरायो फर्केको कविता पनि लेख्न सुझाए। त्यसैले उनले लेखिन्, ‘आज मेरो खरायो, घर फर्की आयो।’ यो बालकविताले विसं २०३२ देखि २०६३ सालसम्म (करिब ३ दशक) कक्षा ३ को नेपाली(महेन्द्रमाला)सरकारी पाठ्यपुस्तकमा स्थान पायो  र धेरै पुस्ताबाट पढियो।
साहित्यकार कल्पना खोटाङमा २००३ सालमा जन्मिएकी हुन्। हाल उनीहरू नयाँ बानेश्वरमा बस्छन्। उनको खास नाम जानुकादेवी रेग्मी हो। उनका पति चर्चित आख्यानकार परशु प्रधान हुन्।

खोटाङको बालसाहित्यलाई चिनाउने श्रेय पनि उनैलाई जान्छ। उनका धेरै पुस्तक प्रकाशित छन्। बालकथाका २४, बालकविताका ६ र बालउपन्यास ५ गरी ३५ ओटा पुस्तक छापिएका छन्।  उनका २० वटाभन्दा बढी पुस्तकका पाण्डुलिपि छाप्न तयारी अवस्थामा छन्। बेलाबेलामा ‘बाह्रखरी डटकम’ र ‘मुना’ मासिक जस्ता पत्रपत्रिकामा उनका रचना प्रकाशित भइरहन्छन्। उनले बाल साहित्यका मात्र एक दर्जनभन्दा बढी पुरस्कार पाइसकेकी छिन्। बुढ्यौलीमा पनि लेखनमा सक्रिय छिन्। लेख्छिन्। पढ्छिन्। ‘बच्चाका लागि लेख्नै भनेर जन्मेकी हुँ’, ७२ वर्षीया कल्पनाले भनिन्।

प्रकाशित: २ चैत्र २०७५ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App