१५ चैत्र २०८० बिहीबार
अन्य

‘सहरका घर जोडिए पनि मन जोडिएन’

सुजित थापा, कलाकार

तपाईंको विचारमा सहर भनेको के हो ?
सहर भनेको सबैखाले सेवा सुविधा भएको व्यवस्थित बस्ती हो। सहरमा हरेक किसिमका विविधता लुकेका हुन्छन्। त्यहाँ धेरैभरका मानिसको रैथानेदेखि आुधनिक संस्कृतिसम्म भेटिन्छ। राज्यले पनि सहरको सुरक्षामा उच्च निगरानी राखेको हुन्छ। नीति नियमले सहरी क्षेत्रलाई चुस्त र व्यवस्थित बनाएको हुन्छ। 

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मलाई काठमाडौं नै प्यारो लाग्छ। यो सहरका केही पक्ष नराम्रा भए पनि धेरै राम्रा छन्। सहरका नराम्रा पक्ष हामीबाटै निर्मित भएका हुन्। यीबाहेक उपत्यकाभित्रको पौराणिक र वातावरणीय पक्षलाई हेर्ने हो भने निकै सुन्दर छ यो ठाउँ। यहाँको मौसम सदावहार छ। वरिपरि हरियाली डाँडाकाँडा छन्। बसोबासको हिसाबले काठमाडौं ज्यादै उपयुक्त ठाउँ हो। तर, मानिसकै कारण पछिल्लो समय काठमाडौं अव्यवस्थित भएको हो। अर्को कुरा, काठमाडौंसँग मेरो आत्मिय प्रेम पनि छ। केही कारणले सहर फोहर देखिएको हो। यहाँका अन्य पक्ष राम्रा छन्। काठमाडौंमा धेरैले अवसर पाएका छन्। गाउँ–गाउँमा लुकेर बसेका प्रतिभा काठमाडौंमै आएर आफूलाई चिनाउन पाएका छन्।

उपत्यका बाहिर मनपर्ने सहर ?
मलाई मनपर्ने सहर पोखरा हो। यो सहर आफैमा सजिएको छ। वातावरण पनि सफा छ। वरिपरिका डाडाँकाडाँ सुन्दर लाग्छन्। यहाँ घुम्ने ठाउँ पनि प्रशस्त छन्। ती ठाउँ रमणीय लाग्छन्। प्रकृतिले दिएको सुन्दरतालाई पोखरावासीले झनै सुन्दर बनाएका छन्। पछिल्लो समय उपत्यकाबाहिर अलि व्यवस्थित मानिने सहर पोखरा नै हो। 

हालको उपत्यका कस्तो लाग्छ ?
सेवा सुविधा हेर्दा काठमाडौं ठिकै लाग्छ। यहाँको अस्तव्यस्तता देख्दा बस्ने मन लाग्दैन। काठमाडौं सहर पछिल्लो समय धेरै नै कोलाहल भएको छ। यो ठाउँमा आएर धेरैले आफूलाई चिनाए। तर, सहरको लागि कुनै किसिमको योगदान दिन सकेनन्। 

‘काठमाडौंसँग मेरो आत्मिय प्रेम पनि छ। केही कारणले सहर फोहर देखिएको हो। यहाँका अन्य पक्ष राम्रा छन्। काठमाडौंमा धेरैले अवसर पाएका छन्। गाउँ–गाउँमा लुकेर बसेका प्रतिभा काठमाडौंमै आएर आफूलाई चिनाउन पाएका छन्।’

नेपालबाहिर कहाँ–कहाँ घुम्नुभएको छ ?
विदेशका केही सहर घुमेको छु। इजरायल र भारतका सहर घुमेको छु। विदेशका सहरको चमक हाम्रा सहरमा देखिन्न। त्यहाँका सहरजस्तै बन्न हामीलाई लामो समय लाग्छ। 

हामी के कुरामा पछि परेका रहेछौं ?
परम्परागत र पुर्खाले सिर्जेका कुरामा हामी अघि छौं। पछिल्लो भनौं वा ५० वर्षयताको पुस्ताले गरेको काममा हामी धेरै पछि छौं। विदेशका सहर आधुनिक र सुविधासम्पन्न छन्। सहरमा हरेक सुविधा छ। सहरका हरेक ठाउँ सुरक्षित छन्। विपद् आउँदा पनि बस्ने ठाउँ धेरै छन्। हाम्रो त सहरीकरणले सबै खुला ठाउँ खायो। कुनै प्राकृतिक विपति आइलाग्यो भने हामी जोगिने ठाउँ छैन। उपत्यका भवनै भवनको सहर बनेको छ। 

तपाईंको विचारमा सहर कस्तो हुनुपर्ला ? 
सहरको हरेक पक्ष राम्रो हुनुपर्छ। त्यहाँको सरकारी निकायले गर्ने काम पनि निकै चुस्त हुन जरुरी छ। नागरिक पनि सुसूचित हुनुपर्छ। मानिसका हरेक आवश्यकता सहरभित्रै पूरा भएको हुनपर्छ। 

सहरको विकास कसरी होला ?
विकासको लागि राज्य र त्यहाँको नीति–नियम कडा हुनुपर्छ। राज्यले बनाएका कानुन लागू गराउन सक्नुपर्छ। नागरिक पनि सहरको विकासबारे होसियार भएर लाग्नुपर्छ। विकासको लागि ल्याइएका योजना सक्नुपर्याे। कुन–कुन ठाउँमा विकास गर्दा सहर बिग्रन्न उक्त कुराको अध्ययन पनि गर्नुपर्याे। सरकारमा बस्नेहरूको विकासतिर ध्यानै गएन। खाली व्यक्तिगत फाइदातर्फ मात्रै लागे।

सहरको विकासमा सरकारी निकायले कसरी काम गर्नुपर्ला ?
सहरका खास–खास समस्यालाई केन्द्रमा राख्नुपर्छ। सहरलाई कुन कुराले कुरूप बनाएको छ त्यसलाई हटाउनतर्फ लाग्नुपर्छ। सरकारले चाहने हो भने देशको विकास गर्न धेरै वर्ष लाग्दैन। सरकारले सरसफाइ, बाटोघाटो निर्माण, पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम लगायत विषयलाई मुख्य तहमा राखेर काम गर्ने हो भने सहरको विकास चाडैं हुनसक्छ। 

विदेशका सहरलाई हेर्दा हामी के कुरामा भिन्न रहेछौं ?
प्रकृतिले निःशुल्क रूपमा दिएका र पुर्खाले सिर्जेका सम्पत्तिले हामी धनी छौं। यहाँका मठ–मन्दिर र ऐतिहासिक ठाउँ अन्य देशमा पाइन्नन्। पछिल्लो पुस्ताले पुर्खाको सम्पत्ति जोगाउन सकेनन्। उनीहरूले सहरको विकासबारे सोच्दै सोचेनन्। सहरको विकासको लागि सरकार पनि प्रतिबद्ध भएर लागेका छैनन्। विदेशका कुरा गर्ने हो भने विकासमा उनीहरू धेरै अघि छन्।

सहरवासीको बानी कस्तो लाग्छ ?
हाम्रा नागरिक सुसूचित नै छैनन्। घर जोडिए पनि मन टाढा छ सहरवासीबीचमा। कसैले कसैको वास्ता राख्दैनन्। त्यसकारण पनि सहर बिरानो बन्दै गइरहेको छ भन्ने महसुस हुन्छ। सबै आ–आफ्नै रसमा अडिएका हुन्छन्। तर, घरभित्रको फोहर सडकमा मिल्काउँछन्। यी प्रवृत्ति निकै खराब हुन्। सही ठाउँमा फोहर फाल्ने र अरुलाई खबरदारी गर्ने प्रवृत्ति भए सहर यति धेरै अस्तव्यस्त हुने थिएन होला।  

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ? 
म व्यवस्थित र सुरक्षित हुनपर्छ। खुला ठाउँ प्रशस्त मात्रामा हुनुपर्छ। म बसेको सहर हरेक पक्षमा धनी होस् भन्ने लाग्छ। सहरमा बस्ने हरेकले राज्यका सबैखाले सुविधा सहजै पाउन्। सहरभित्र स्वच्छ हावा र हरियाली दृश्य देख्न पाइयोस्। सहरभित्र घुम्ने र आपत पर्दा बस्ने खुला ठाउँ हौन भन्ने लाग्छ।

उपत्यकाको सबैभन्दा मन पर्ने पक्ष ?
हावापानी सदावहार लाग्छ। उपत्यका धेरै सेवा–सुविधा भएको ठाउँ हो। मात्रै हामीले गर्ने विकास निर्माणका काम ठिक भएनन्। 

यहाँको मन नपर्ने पक्ष केहो ?
सबैभन्दा बाटो मन पर्दैन। ट्राफिक जाम, धुलोधुवाँ र मानिसको भीडभाड देख्दा दिक्क लाग्छ। सहरका मुख्य सडकको अवस्था पनि बिजोग छ। थोत्रा सवारी जो बीसौं वर्षअघि देखि बाटोमा गुडेका हुन्छन्। सडकपेटी पनि भद्रगोल छ। फोहर व्यवस्थापन पनि छैन। यहाँका सडक सुरक्षित छैनन्। ९० प्रतिशत सडक प्रयोग गर्न मिल्दैनन् जस्तो लाग्छ। 

के गरियो भने सहर बन्ला ? 
राजनीतिक स्थिरता अपनाए पनि सहरको योजनावद्ध विकास हुन सकेन। ठेकेदारलाई सरकारले कुनै खालको कारबाही गर्न सकेन। दीर्घकालीन सहरी योजना सरकारले ल्याउन सकेन। केही ठूला योजना कागजमै सीमित रहेका छन्। कानुन भए पनि त्यसको परिपालन भएको छैन। 

उपत्यकाभित्र कतै घुम्न जानुपर्याे भने कुन ठाउँ रोज्नुहुन्छ ?
पाइलट बाबा आश्रम, जर्सिङपौवा, भोटेचौरतिर जान्छु। नगरकोटतिर बाटो बिग्रेको छ। उपत्यकाका वरिपरि डाँडाकाँडा सुन्दर भए पनि त्यहाँसम्म पुग्ने भौतिक पूर्वाधार भने ठिक छैनन्। 

पछिल्लो समय घुमेको सहर कुन हो ?
चिववन र हेटौंडा गएको थिएँ। यो वर्ष युरोप जाने कार्यक्रम छ। 

सहरको मिठो लाग्ने खाने कुरा के हो ?
नेवारी खानेकुरा नै मिठो लाग्छ। 
                                                        प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: १ चैत्र २०७५ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App