१६ चैत्र २०८० शुक्रबार
अन्य

कहिले बन्ला धुम्रपानमुक्त काठमाडौं महानगरपालिका ?

काठमाडौं महानगरपालिकाले २०७४ फागुन ११ गते महानगरपालिकालाई धूम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्याे। महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकालाई ‘हेल्दी सिटी’को रूपमा विकास गर्न धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त सहर घोषणा गरेका थिए।

मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर लगायत प्राणघातक रोगबाट बचाउन यो अभियान सञ्चालन गरेको उनले बताएका थिए। सुर्तीजन्य पदार्थको आयात, बिक्रीवितरण, उत्पादन तथा सेवनलाई न्यूनीकरण गर्न अमेरिकी गैरसरकारी संस्था बुलुम्बर्ग फिलानट्रोपिजले एक करोड रूपैयाँ महानगरपालिकालाई दिने सम्झौता गरेको थियो। तर, एक वर्ष नबित्दै यो योजना कार्यन्वयन हुन सकेन। कामको सुरुवातीमा महानगरपालिकालाई २५ लाख रूपैयाँ दिएको थियो। तर, कामको उपलब्धि देखिएको छैन। सम्झौता अनुसार महानगरपालिकाले प्रभावकारी काम नगरेपछि फिलानट्रोपिज संस्थाले बाँकी रकम दिएको छैन।  

महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महाशाखाका निर्देशक नरेन्द्र बज्राचार्य फिलानट्रोपिज संस्थाले यस योजनामा फलोअप नगरेकोले कार्यन्वयनमा ल्याउन नसकेको बताउँछन्। ‘विदेशी फिलानट्रोपिज संस्थाको सहयोगमा महानगरपालिकालाई धूम्रपानमुक्त गरी ‘हेल्दी सिटी’ बनाउने सम्झौता भएको थियो,’ उनले भने, ‘सम्झौता अनुसार काममा फिलानट्रोपिज संस्थाले फलोअप नगरेपछि यो योजना कार्यन्वयन हुन सकेन।’ उनका अनुसार धूम्रपानमुक्त सहर बनाउने सम्झौताको समय सकिसकेको छ। उक्त योजनामा सार्वजनिक ठाउँमा धुम्रपान निषेधको बोट राख्ने कार्य, सर्बे लगायत पाँच कार्यक्रम मात्रै गर्न सकियो।

सम्झौता अनुसार समय सकिए पनि थप समय गरेर यो योजना कार्यन्यवयनमा ल्याउने उनले बताए। स्वास्थ्य मन्त्रालयसँग यस विषयमा छलफल गर्दै आएकाले ढिलै भए पनि कार्यान्वयनमा ल्याउने उनले जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयसँग बैठक बसिसकेका छौँ,’ उनले भने, ‘धूम्रपानले स्वास्थ्यमा हानी पुर्याउने भएकाले फेरि छलफल गरेर यो योजना कार्यान्वयनमा ल्याउने छौँ।’  उनका अनुसार तत्कालै धूम्रपानमुक्त सहर बनाउन गाह्रो हुन्छ। त्यसैले जनसंख्याको आधारमा अध्ययन गरी स्टेपबाई स्टेप अनुसार उक्त योजनालाई कार्यन्वयनमा ल्याइनेछ।  

महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान सेवन र बिक्री वितरणमा रोक लगाउन थुप्रै कार्यक्रम ल्याएको छ। तर, प्रभावकारी भएको छैन। फेरि पनि सुर्तीजन्य पदार्थको नियन्त्रण विद्यालय र अस्पतालबाट गर्ने महानगरपालिकाको योजना छ। महानगरपालिकाले बारम्बार ल्याएको योजनाले सार्थकता नपाएपछि कहिले बन्ला त धुम्रपानमुक्त काठमाडौं महानगरपालिका भन्ने प्रश्न खडा भएको छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल महानगरपालिकालाई धूम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त बनाउनको लागि विभिन्न कार्यक्रम ल्याए पनि अहिलेसम्म प्रभावकारी हुन नसकेको स्वीकारे। ‘महानगरपालिकालाई ध्रुम्रपान मुक्त बनाउन थुपै्र कार्यक्रम आयोजना गरे पनि यसले सार्थकता पाएको छैन,’ उनले भने, ‘कसरी कार्यन्वयन गरेर प्रभावकारी बनाउने भन्ने विषयमा जनस्वास्थ्या विभागसँग छलफल गर्दै आएका छौँ।’ सार्वजनिक ठाउँमा धूम्रपान गर्न पाइँदैन भनेर सबै नागरिकले स्वीकारे पनि कडाईका साथ अगाडि नबढे ‘हेल्दी सिटी’ बनाउन नसकिने उनले स्पष्ट पारे। सार्वजनिक ठाउँमा धूम्रपान गरे कारबाही गर्ने तरिकाले योजना ल्याउने तयारीमा रहेको उनले बताए।  

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमै नेपालका महिलाले बढी धूम्रपान गर्छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धू्रम्रपान सेवन रोक लगाउने सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नको लागि यस वर्ष मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारको लागि अर्थ मन्त्रालयबाट ४० करोड रूपैयाँ बजेट विनियोजन भएको छ। तर, बजेट अनुसार कुनै अपेक्षित काम हुन सकेको छैन।

नेपाल सरकारले २०४९ सालदेखि धुम्रपान नियन्त्रण गर्दै लैजाने योजना ल्याएको थियो। त्यसपछि सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ जारी गरेको थियो। उक्त ऐनमा सरकारी कार्यालय, शिक्षण संस्था, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, पुस्तकालय, होटल, रेस्टुरेन्ट, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखाना, कार्यस्थल, चलचित्रघर, नाटकघर, रिर्सोट, रेस्टुरेन्ट, भोजनालय, चमेनागृह, रंगशाला, धर्मशाला लगायतका सार्वजनिक स्थलमा धूम्रपान  सेवन गर्न नपाइने व्यवस्था गरेको छ। यी स्थानमा धुम्रपान गरे तत्काल एक सय रूपैयाँसम्म जरिवाना वा अन्य विभागीय कारबाही हुने व्यवस्था छ। 

प्रकाशित: १ चैत्र २०७५ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App