१६ चैत्र २०८० शुक्रबार
अन्य

ट्युसन पढाउँदै कलेज पढ्दै

दर्शनशास्त्री डा. महादेव साह राजनीति, अर्थशास्त्र, प्राचीन दर्शन विषयमा गहन छलफल र विश्लेषणका लागि चिनिएको नाम हो। लहान सफ्टेक कलेजका संस्थापक उनी बाबुआमाका ६ सन्तानमध्ये कान्छो हुन्। कालिगढ (सुनचाँदीको गरगहना बनाउने) सुन्दरीवत्ती र सीताराम साहको कान्छो छोराको रुपमा लहानमा जन्मिएका महादेवले स्कुले शिक्षा लहानमै लिए।

बाल्यकालदेखि नै उनमा पढ्ने रहर भए पनि परिवारको कमजोर आर्थिक स्थितिका कारण उनको स्कुले पढाइ नियमित हुन सकेन।  आगलागीका कारण घर जलेर खरानी भएपछि उनको पढाइ नै अवरुद्ध हुन पुग्यो। भारतको मधुवनी जिल्ला हरिपुरका शिक्षक जो लहानस्थित पशुपति माविमा पढाउँथे, उनकै सहयोगमा महादेवले कक्षा ९ र १० को पढाइ नियमित पढे।

जसकारण उनको स्कुले जीवनमा गणित कमजोर विषय रह्यो। त्यो बेला अहिलेको जस्तो निजी र सरकारी विद्यालय भन्ने थिएन। उनले स्कुले जीवन सम्झे, ‘हाम्रो पालामा हाईस्कुल भन्ने सरकारी विद्यालय मात्र थियो।’ त्यो बेला गरिबीका कारण कलेजको पढाइ धेरैका लागि गाह्रो विषय थियो।

जग्गा हुनेका छोराछोरीहरुलाई पनि कलेजसम्मको पढाइलाई निरन्तरता दिन गाह्रो पथ्र्यो। धेरै साथीहरु पढाइलाई स्कुलमै रोके। कलेज पढ्न जिल्ला बाहिर राजविराज जानुपर्ने बाध्यता थियो। पढाइप्रति रुचिका कारण महादेव राजविराज हानिए। कलेजको पढाइ खर्च जोहो गर्न उनले स्कुले बालबालिकालाई ट्युसन पढाउँथे। उनले सम्झे, ‘स्कुले पढाइ खर्च बिँडी बनाएर जुटाए, कलेज खर्च ट्युसन पढाएर। एक विद्यार्थीलाई पढाउँदै दिनको चार आना ट्युसन फी पाउँथे, उनले थपे।’

हिन्दी साहित्यमा रुचि
पढाइमा लगनशील र जेहेन्दार साहमा साहित्य अध्ययनप्रति बढी नै रुचि थियो। त्यो बेला नेपाली सहित्यका पुस्तकहरु यस भेगमा कमै पाइन्थ्यो। सीमाञ्चलका पुस्तक पसलहरुमा हिन्दी साहित्यका  पुस्तकहरु सहज उपलब्ध थियो। हिन्दी साहित्य पढेर साहित्य अध्ययनको भोक मेटाउँथे, उनी।

त्यो बेला याक चुरोटको खुब नाम थियो। उनले स्कुले जीवन सम्झे, ‘एकजना माडवारी साथीले घरबाट चोरेर ल्याएको याक चुरोट एक सर्को मैले पनि तानेँ। मेरो जीवनमा त्यो सर्को पहिलो र अन्तिम थियो,’ उनले भने।

स्कुले जीवनमा सामान्य विद्यार्थी साह कलेज प्रवेशपछि तेज विद्यार्थीको रुपमा आफूलाई स्थापित गरे। कडा मिहिनेत र लगनका कारण कलेज जीवनमा राम्रो अंक हात पार्न सफल भए। उनले स्कुले जीवनको ४५ प्रतिशत अंकलाई कलेज पुग्दा ६४ प्रतिशतमा पुर्याए। इन्टरमिडियटको पढाइ राजविराजमा सकेर उनी स्नातक अध्ययनका लागि वीरगञ्ज पुगे। वीरगञ्जमा बीएडको पढाइ सकेपछि उनमा शिक्षक बन्ने रहर जाग्यो। उनी शिक्षण पेशाका लागि सिंहदेवी माध्यमिक विद्यालय आमचोक, इलामका लागि छनोट भए।

यस विद्यालयमा तीन वर्ष मावि शिक्षकको रुपमा अध्यापन गराउँदा जीवन बुझ्ने अवसर मिल्यो, उनले भने। अभाव, सीमितता, संघर्ष, मिहिनेत, धैर्यता सबै यहाँका मानिसबाट सिक्ने अवसर मिल्यो। यस विद्यालयमा म अंग्रेजी शिक्षकको पदमा नियुक्त भए पनि सामाजिक शिक्षा, नेपाली, अर्थशास्त्र, पञ्चायत परिचयलगायतका ६ वटा विषय पढाउँथे, उनले सम्झे। उनी यस विद्यालयमा ०३५ सालमा मावि शिक्षकको पदमा भर्ना भएका थिए।

सून्यबाट सय प्रतिशत परिणाम
चाहनाले शिक्षण पेशा अँगालेका होला उनमा पढाउने र पढ्ने भोक औधी थियो। पहाडी जिल्ला इलाम। त्यसमा पनि दुर्गम आपचोकको माध्यमिक विद्यालय। पुस्तक, कापीको अभावका बीच पठनपाठन गर्नु गराउनु कम्ती गाह्रो थिएन। दुर्गममा पढ्नु र पढाउनु दुवै भिर उक्लिनुभन्दा कठिन रहेको उनको सम्झना छ। पाठ्य सामग्री अभावले यहाँका विद्यार्थीहरु राम्रो नतिजा ल्याउन सक्दैनथे। सिंहदेवी माविको एसएलसी परीक्षाफल (रिजल्ट) सून्य थियो। २०३७ सालसम्म हुनुपर्छ यस विद्यालयको रिजल्ट सून्य थियो उनले सम्झँदै भने, ‘म गएको दोस्रो वर्ष यस विद्यालयको परीक्षाफल सून्यबाट १०० प्रतिशत पुग्यो।’ त्यो क्षणलाई मेरो जीवनकै सबैभन्दा आनन्ददायी क्षणको रुपमा सम्झन्छु, सम्झिरहनेछु, उनी भावुक भए।

बहुदलको पक्षमा लाग्दा जागिर चट्
शिक्षकको जागिरमा रहरले प्रवेश गरेका साह बाध्यताले बाहिरिनुपर्यो। उनी ईलाममै शिक्षक रहँदा जनमत संग्रह घोषणा भयो। जनमत संग्रहमा बहुदलको पक्षमा वकालत गर्न उनी जागिर छाडेर घर फर्के। जागिर छाडेपछि परिवारमा आर्थिक संकट निम्तियो। परिवारको गुजाराको एक मात्र सहारा आफू जागिर छाडेर बेरोजगार भएपछि परिवारको हातमुख जोड्ने समस्या भएको उनले सम्झे। त्यो बेला पड्रियाका बहुदल पक्षीय समाजले आफ्नो परिवारको भरणपोषणको जिम्मा लिएका थिए, उनले भने। जसले उनलाई बहुदलको पक्षमा पूर्णकालीन प्रचारक बन्न मद्दत पुग्यो। जनमत संग्रहमा बहुदल पक्ष पराजित भए। जसले उनलाई केही समय विचलित बनायो। परिवारमा आर्थिक संकट बढ्दै थियो। शिक्षकको जागिर छोडिसकेकाले फेरि जागिरमा फर्कने बाटो थिएन। आर्थिक संकटले उनको छटपटि बढाइरहेको थियो।

शिक्षा सेवा आयोग खुल्यो। उनी फेरि शिक्षक बन्ने निधो गरे। शिक्षा सेवा आयोग भरे। सेवा उत्तीर्ण गरेपछि उनी सिरहाकै इनर्वास्थित हप्र माविमा शिक्षकको जागिरमा पुनः प्रवेश गरे। रुचिको जागिरमा उनी लगनका साथ काम गरेर यस भेगमा असल शिक्षकको रुपमा नाम कमाए।

शिक्षण पेसा साहको रुचिको पेशा भएपछि उनी यस पेशामा धेरै समय टिकिराख्न सकेनन्। शिक्षककै जागिरमा रहँदा उनलाई उच्च शिक्षा हासिल गर्ने अवसर जुर्यो। उनी १९८३ मा सोभियत संघको मस्कोस्थित जनमैत्री विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न शिक्षकको जागिर छोडे।

विश्वविद्यालयबाट बेला मासिक ९५  रुबल (रुसी रुपैयाँ) पाउँथे उनी। जसबाट ५ रुबल लेबी बुझाएर बाँकी आफ्नो खर्च राखेर ४५ रुबल घर पठाउँथे साह। विश्वविद्यालयमा उनले नौलो अनुभूति के भने मौखिक परीक्षा प्रणाली। जसका कारण बोल्ने शैलीको विकास भएको उनको अनुभूति छ। खरिएका विद्वान् प्राध्यापकहरुको सान्निध्य पाउँदा अध्ययनपद्धतिको नौलो अनुभूति प्राप्त भएको उनी सम्झन्छन्।

प्रथम विद्यावारिधिको उपाधिका लागि तयार पारेको सोधपत्रमा नेपालका कम्युनिष्ट र प्रजातन्त्रवादीहरु एक ठाउँमा नउभिएसम्म प्रजातन्त्रको पुनस्र्थापना सम्भव छैन भन्ने सोध निष्कर्ष थियो। उनी भन्छन्, ‘अन्ततः त्यो निष्कर्ष इतिहासले प्रमाणित गरिदियो।’

इतिहासले ज्ञानको सबै जिज्ञासाको उत्तर दिएन। इतिहासको दर्शन के हो ? इतिहास किन आफैँलाई दोहोर्याउँछ ? कुन दर्शनबाट इतिहास निर्देशित हुन्छ ? इतिहासको दर्शन र दर्शनको इतिहासमा के सम्बन्ध छ ? भन्ने बारे उनले अर्को सोध सुरु गरे। प्राचीन भारतीय दर्शन, चिनियाँ दर्शन, ग्रीक दर्शनको अध्ययनबाट उनले दोस्रो विद्यावारिधिको सोध प्राचीन भारतीय र चिनियाँ दर्शनमा अहिंसाको दार्शनिक स्रोत तयार पारे। सोध निष्कर्षमा उनले अहिंसाका हजारांै सोधपत्रको विपरीत अहिंसा हिंसाको विरोधमा होइन अपि तु अहिंसा हिंसा अहिंसाको वृत प्रकृतिमा कामय रहेको तथ्यलाई उपनिसदीय ज्ञान सत्यमेव जयते अर्थात् सत्य असत्य सत्यको सनातन वृत्तले प्रमाणित ग¥यो, उनले सम्झे।

४० वर्षको उमेरमा साहले पूर्वीय र पाश्चात्य दार्शनिक परम्परामा राजनीतिक सत्ताको दार्शनिक आधार विषयमा महाविद्यावारिधिको सोधपत्र तयार पारेका थिए। उनी जनमैत्री विश्वविद्यालयमा डाक्टर अफ साइन्स इन फिलोसोफीको सोध ग्रन्थ तयार र प्रमाणित गरेका हुन्।

साहसँगै उनकी श्रीमती रेणु पनि मस्कोस्थित जनमैत्री विश्वविद्यालयमा विश्व इतिहास संकायमा अध्ययनरत थिइन्। उनी अध्ययनकै क्रममा मस्कोमा छोरी रेकमा र छोरा अंकुरलाई जन्म दिइन्। जेठी छोरी कविताको रुसी बाल विद्यालयमा प्रारम्भिक अध्ययन पूरा भयो।

त्यो बेला रुसमा नेपालीहरुको उलेख्य उपस्थिति रहेको उनी सम्झन्छन्। कोही चिकित्सा विज्ञान त कोही इन्जिनियरको पढाइका लागि रुसमा छरिएका थिए। दसैं र तिहारमा नेपालीहरु एक ठाउँ जम्मा हुन्थे। तर, उनीहरुबीच वैचारिक गुटबन्दी थियो। भेलामा वैचारिक मन्थन हुन्थ्यो। समय–समयमा नेपाली दूतावासले नेपाली विद्यार्थीलाई भेला गर्ने अवसर दिन्थ्यो। नेपाली भूमी बाहिर नेपालीपन खुब प्यारो र आदर्श लाग्थ्यो। नेपाली हुनुको गौरव भूमि छोडेपछि पो लाग्दो रहेछ, त्यो मस्कोमा महसुस गरेको थिएँ, उनले सम्झे।

रुसको सम्झना
रुसी संस्कृतिको एउटा रोचक पक्ष यादगार छ। त्यो हो विवाह गर्ने र मन नपरेमा महिलाले पुनः पारपाचुके गर्ने। जस्तो कि सुपर मार्केटमा मन परेको वस्तु छनोट गर्ने विकल्पवादी परम्परा। पतिपत्नी छनोट पनि उस्तै। नेपाली त्यसमा पनि मधेसको मान्छे मेरा लागि त्यो संस्कृति टिठलाग्दो थियो उनले भने। अहिले पनि त्यो परम्परा सम्झँदा छक्क पर्छु, हाँस्छु, चिन्तित हुन्छ, उनले भने।

एक पल्ट एक रुसी महिला प्राध्यापकले मलाई आफ्नो जन्मदिनको भोजमा निम्तो गरिन्। त्यहाँ उनले चारजना पुरुषसँग मेरो परिचय गराइन्। जसमध्ये तीन पुरुष उनका पूर्वपति  थिए। र चौथो वर्तमान पति। तीन जनै पूर्वपतिहरु ती प्राध्यापकका वर्तमान पतिलाई बधाई दिँदै गरेको दृश्यले मलाई अनौठो अनुभूति गराइरह्यो। रोचक त के भने तीनजना पूर्व पतिहरु शुभकामना दिँदै थिए– मलाई त विवाह फापेन तिमीलाई फापोस्। त्यो क्षण सम्झँदा अहिले पनि मलाई घोत्लिन बाध्य तुल्याउँछ, उनले भने। तर, त्यसलाई अर्को पाटोबाट विश्लेषण गर्दा कम्युनिस्ट देशमा यति फराकिलो प्रजातान्त्रिक चिन्तन भएका मानिस ! विशेश्वरप्रसाद कोइरालाको तीन घुम्ती उपन्यास वा बाबु आमा छोरो उपन्यासमा वर्णित अस्तित्ववाद भन्दा पनि फराकिलो प्रजातान्त्रिक चिन्तन।

मस्को बसाईकै क्रममा सन् १९८६ ताका हुनुपर्छ। विश्वविद्यालयमा वार्षिक अंक पत्रिका निकाल्दा उनलाई नेपालको राजनीतिबारे लेख्न भनियो। उनले अ पोलिटिकल पोर्टेट अफ बीपी भन्ने शीर्षकमा लेख लेखे। बीपीको गहिरो अध्ययनविना कम्युनिस्टहरुले उनीमाथि लगाउने गरेका आरोपको विरोधमा तर्क र तथ्य प्रस्तुत गरी रुसी भाषामा लेखिएको त्यो लेखले अर्थपूर्ण प्रतिक्रिया पाए।

त्यो लेख सँगैका कतिपय कम्युनिस्ट साथीलाई मन नपरेको रहेछ। लगत्तै त्यो बेलाका एक पोलिटब्युरो नेता मस्को भ्रमणमा आउँदा केही साथीले त्यो लेख उद्धृत गर्दै उनको खिलाप पोल लगाए। साहलाई अराजक किटान गरियो। अनौठो त के भने साहलाई अराजक किटान गर्ने ती नेता पछि बीपीकै पार्टीमा प्रवेश गरेर राजदूत बने।

अनुवादकको अनुभूती
सन् १९९६ को सेप्टेम्बरमा जनमैत्री विश्वविद्यालयका रेक्टर प्राध्यापक म्लिमिर स्तानिससँग नेपाल आउँदाको क्षण स्मरणीय छ साहका लागि। राजा वीरेन्द्रलाई जनमैत्री विश्वविद्यालयले मानार्थ डाक्टरको उपाधिले सम्मानित गरिँदै थियो। रुसी विश्वविद्यालयहरुबाट पढेर आएका डिग्री होल्डरलाई डिग्रीको समस्या समाधान गराउनु विश्वविद्यालयको उद्देश्य थियो। त्यो बेला दरबारका सोच र रुसी विश्वविद्यालयको उद्देश्य नजिकबाट बुझ्ने अवसर पाए साहले। साह रुसी प्रतिनिधि मण्डल र राजाबीच दोभासेको भूमिका निर्वाह गर्दै थिए। राजालाई नेपाली भाषामा आफ्ना विचार व्यक्त गर्न निकै अप्ठ्यारो परेको मैले अनुभूति गरेँ, साहले सम्झे।

१९९६ मा मस्कोबाट घर फर्कँदा आमा निकै बिरामी हुनुहुन्थ्यो। उहाँलाई हेरचाह गर्ने कोही थिएन। आमाले मलाई घरमै बस्न धेरै आग्रह गरिन्। मैले आमाको इच्छा मार्न सकिनँ। मैले आमाको इच्छालाई पहिलो प्राथमिकतामा राखेँ। म लहानमै आमासँग बस्ने निर्णय गरेँ।

शिक्षा क्षेत्रमै जीवनको अधिकांश समय बिताएकोले मैले शिक्षा सेवामै जीवन समर्पित गर्ने अठोट गरेँ। उनले आफ्नै शिक्षालय सञ्चालन गर्ने सोच बनाए। आफ्नो अनुकूलको स्वतन्त्रता र सेवा अनि प्रयोग गर्न पाइने। मैले सफ्टेक कलेज सञ्चालन गरेँ। जहाँ एउटा नयाँ प्रयोग गरेँ– पाँच दिन पढाइ एक दिन परीक्षा। शिक्षा पेशामा समर्पित हुन पाउँदा आनन्द महसुस हुँदै छ।

अहिलेका व्यक्तिमा पहिलाको जस्तो गहन अध्ययनको अभाव देखिन्छ। नेपाल र मस्कोको विश्वविद्यालयमा पढेका साह भन्छन् अध्ययन अनुसन्धानमूलक हुनुपर्छ।

प्रकाशित: १७ फाल्गुन २०७५ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App