८ वैशाख २०८१ शनिबार
अन्य

भक्तपुर नगरपालिका वडा–१० मा यस्ता छन् समस्या

फुटपाथ चाहियो
प्रज्ञा दुवाल (स्थानीय, कमलविनायक) 

भक्तपुरको कमलविनायक क्षेत्र भक्तपुरकै दोस्रो प्रख्यात ठाउँ हो। सूर्यविनायकपछि कमलविनायकको नाम आउने गर्छ। यस्तो प्रख्यात ठाउँमा भने बाटोमा हिँड्ने बटुवाहरूको लागि फुटपाथ नभएको समस्या छ। भक्तपुरको कमलविनायक पोखरीबाट नगरकोट जाने बाटोमा फुटपाथ नै छैन। गाडी दुईतिर आयो भने बटुवाहरू उभिने ठाउँ पनि छैन। कुनै–कुनै ठाउँमा भएको फुटपाथमा पनि मानिसहरूले मोटरसाइकल तथा गाडी पार्किङ गर्ने गरेको छ। 
धारा छ, पानी छैन

धारा छ, पानी छैन
सृजना गोसाई (स्थानीय, कमलविनायक) 

भक्तपुरको कमविनायकमा धारा छ, पानी छैन। कमलविनायका पाइपलाइनमा समय समयमा धाराको पाइप फुटिरहने गर्छ। पाइप फुटिराखेको खानेपानी अफिसलाई जानकारी गराउँदा पनि बेवास्ता गर्ने गरेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई फोन गर्दा फोन नै उठ्दैन् उठाए पनि आउँछु भन्छ आउँदैन। नेपालभर पानीको समस्या भएको बेला यहाँ पानी खेर जाँदा पनि वास्ता नै गर्दैनन्। 

निकास चाहियो 
सुरेश सैंजु (स्थानीय, कमलविनायक)

कमलविनायक क्षेत्रमा धेरै घर बन्ने क्रम वर्षेनी बढ्दै गएको छ। पहिला खुला ठाउँको रूपमा रहेको पाइपलाइन क्षेत्रमा दिनदिनै नयाँ घर बन्ने क्रम बढ्दो छ। घर बन्ने क्रम बढे पनि आधारभूत आवश्यकताको रूपमा रहेको ढल निकासको व्यवस्था भने यहाँ छैन। ढल निकासको अभावमा यहाँका बासिन्दा समस्यामा छन्। त्यसकारण जति सक्दो छिटो ढलको निकासको व्यवस्था गरिदिनुपर्यो।

 समस्या समाधानको प्रयासमा छु
लक्ष्मीप्रसाद ह्यौंमिखा (वडा अध्यक्ष)

वडामा धेरै समस्या छन्। यी समस्याको समाधान गर्न वडाले समय–समयमा जनतासँग सल्लाह गरेर काम गरिराखेको छौं। वडामा समस्या धेरै बजेट भने कम भएको कारण काम छिटो हुन सकेको छैन। त्यसकारण मैले पटक–पटक नगरपालिका तथा सरकारको आफ्नो वडाको समस्या राखिराखेको छु, जस्तै ः कमलविनायकबाट नगरकोट जाने बाटो बनाउनका लागि मैले सडक विभाग लगायत सरोकारवाला निकायलाई घच्घच्याउने काम गरेको छु। प्रस्तुति : रेणु त्वानाबासु

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App