३१ श्रावण २०७७ शनिबार
अन्य

धर्तीगान

सुरेश हाचेकाली स्थापित कवि हुन्। प्राचीन बिम्ब र मिथकहरुलाई कलात्मक रुपमा प्रस्तुत गरी जनजीवनसँग अन्तरघुलन गरेर कविता लेख्नु उनका विशेषता हुन्। हामी धेरैले मिथक भन्नेबित्तिकै पुराकथा, पुराविद्या, कल्पकथा, आदिम कथा भन्ने बुझ्छौं। मिथकको अर्थ यतिमै सीमित छैन। अमेरिकी समालोचक फिलिप ह्विलराइटले भनेका छन्, ‘मिथक सम्पूर्ण मानवका समग्र अनुभवहरुको अभिव्यक्ति हो।’ हाचेकालीको पछिल्लो कविता संग्रह ‘पृथ्वी सवाई’ यस्तै अनुभवहरूको सँगालो हो।

कविले आफू जन्मेको खोटाङको ग्रामीण परिवेश, मुलुक र अन्तर्राष्ट्रिय परिवेशसम्मका मिथक कवितामा उतारेका छन्। ती नेपाली जनजीवनसँग मात्र सीमित नरही पौरस्त्य एवम् पाश्चात्य सभ्यता, संस्कृति र लोकजीवनसँग केन्द्रित हुन पुगेका छन्। उनको मिथकको आधारभूमिचाहिँ नेपालको पूर्वी पहाडी जिल्ला खोटाङ आसपास हो।

हाचेकालीका कवितामा प्राकृतिक सौन्दर्यको बयान हैन, ती सम्पदा नासिँदै, मासिँदै गएकोमा चिन्ता पाइन्छ र त्यसलाई जोगाउनुपर्छ भन्ने सन्देश पाइन्छ।


जुन कवितामा लोक बोलेको छ, त्यो कविता जीवन्त हुन्छ। त्यसैले कविता लोकका लागि लेखिनुपर्छ भन्ने धारणा विकसित भएको हो। नेपाली लोकजीवन र लोकतत्त्वका आधारमा हाचेकालीको ‘पृथ्वी सवाई’ संग्रहका कविता जीवन्त छन्। यहाँ नेपाली लोकपरम्परादेखि प्रचलनका विभिन्न मूल्यमान्यता, धार्मिक एवम् सांस्कृतिक विश्वास, लोकभेषभूषा, लोकखानपान, लोकऔजार आदिलाई काव्यिक रूप दिइएको छ। ती कतै बिम्बका रूपमा आएका छन् त कतै यथार्थ रूपमा।

उनका कविता पढ्दा माझकिरातका आमाहरूसँग साक्षात्कार गरेको अनुभूति हुन्छ। यस्तै कवितामा प्रयुक्त प्राचीन भारत वर्षको पौराणिक र ऐतिहासिक सन्दर्भले हामीलाई विगततर्फ फर्कन उत्साहित गर्दछ भने ग्रिक सभ्यतासँग जोडिएका मिथकले पश्चिमी सभ्यताको आदिमताबारे बोध गराउँछ। ‘लेथ नदीको एक कमण्डुल पानी’ मा ग्रिक सभ्यता, भारतीय सभ्यता र काठमाडौं उपत्यकाको मिश्रित मिथक पाइन्छ। यस्ता मिश्रित मिथक धेरै कवितामा छन्। ती कविता पढ्दा पाठकको मथिङ्गल मात्र हल्लाउँदैन, हाचेकालीको बौद्धिक साधकको परिचय पनि सँगसँगै दिन्छ। यसरी सुरेशका कविता भावनात्मक र काल्पनिक मात्र नभएर यथार्थपरक छन्, बौद्धिक छन् र समय सान्दर्भिक पनि। 

उनका हरेक कविताले जीवन बोलेका छन्। नेपाली माटोमा उम्रिएर पनि उनका विश्वजननिन बन्न पुगेका छन्। यो नै उनको सफलता हो।

कविताले उठाएको महत्त्वपूर्ण विषय वातावरण हो। यसो त कविता संग्रहको शीर्षक नै ‘पृथ्वी सवाई’ ले नै स्पष्ट हुन्छ– यो धर्तीको गीत हो। यहाँ वातावरणसँग सम्बन्धित धेरै प्रसंग छन्। कवितामा नदी, माटो, पानी, वायु, बादल, आकाश मात्र होइन वृक्ष, डाँफे, इन्द्रेणी, जूनतारा, कर्कलो, हिमनदी, हिमाल, सागर, वायुदेव, जडीबुटी, खनिज, चट्टान, जलकुण्ड, सिंह, झरना, कुहिरो, सिमसार, ओजन तह, टापु, नागराजा, अनिकाल, हैजा, भूमिदेवता, भुइँचालो आदिको गाथा गाइएको छ। 

विगतका कविहरू प्राकृतिक वातावरणमा रमाएर तिनको वर्णन गर्दै कविता लेख्थे। यो पुरानो मान्यता हो। हाचेकालीका कवितामा प्राकृतिक सौन्दर्यको बयान हैन, ती सम्पदा नासिँदै, मासिँदै गएकोमा चिन्ता पाइन्छ र त्यसलाई जोगाउनुपर्छ भन्ने सन्देश पाइन्छ। प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्ध जोगाउन सम्पदाहरूको संरक्षण गर्नुपर्छ र आगामी पुस्तालाई सकुशल हस्तान्तरण गर्नुपर्छ भन्ने भाव उनका कविताले दिएका छन्। मानिसले विकासका नाममा विकृति निम्त्याएर सुन्दर धर्तीलाई बिगारिरहेकोमा कवि असन्तुष्ट छन्। 

प्रस्तुत संग्रहका कवितामा नारीलाई उच्च सम्मान दिइएको छ। संग्रहका १३ वटा कविता नारीसँग सम्बन्धित छन्। ‘यसो भन्छिन् किरातिनी आमा’ कविताले किरात महिलाको मिथक बाहिर ल्याइदिएको छ भने मातृशक्तिको सहनशीलता, धैर्य र कोमलताको मिठो वर्णन पाइन्छ। जीवन बाँच्नका लागि महिलाले भोग्नुपरेका सास्ती उनका कवितामा पाइन्छन्। नारी केन्द्रित कविता महिलाको बाहिरी सौन्दर्यमा अलमलिएका छैनन् ती त नारीको आन्तरिक सौन्दर्य, भावना एवम् जीवन भोगाइका विभिन्न आरोहअवरोहमा केन्द्रित छन्। 

नारी सृष्टिका संवाहक हुन्। वंश परम्परा चलाउन नारीले आदिम युगदेखि त्याग गर्दै आएका छन्। तर वंशावली, पहिचान र सामाजिक भूमिकामा नारीलाई सधैं पछाडि पारिएकोमा कविको आपत्ति छ। 

मुलुकमा राजनीतिक परिवर्तन भएको छ। चेतना फैलिएको त छ तर आर्थिक विषता, जातीय भेदभावजस्ता समस्याले जीवन कठोर अवस्थामा छ। मुखिया प्रथा हटे पनि गाउँमा ठालुको हैकम जीवित छ। दलित र विपन्नमाथिको शोषण छँदैछ। बेरोजगारी, अवसरको कमी तथा अर्काको देखासिकीले युवापुस्तामा मातृभूमिप्रति माया हराउँदै जान थालेको र पराया देशको मोहमा डुब्न थालेकामा कवि चिन्तित छन्। युवाले काम र माम प्राप्तिका लागि विदेश जानुपर्ने बाध्यता छ। तर उनी विदेश जानेहरूसँग सहमत छैनन्। आफ्नै धर्तीमा बसेर परिश्रम गरी मुलुक हराभरा बनाउनुपर्ने उनको आसय छ। गाउँमा वद्धवृद्धाको दयनीय अवस्था, विदेशी संस्कृतिले भित्र्याएका विकृति आदि विषय उनका कवितामा पाइन्छन्।

‘पृथ्वी सवाई’मा ३२ कविता छन्। प्रत्येक कविता भिन्नै विषय, आयाम र भावमा आधारित छन्। एउटै कवितामा सम्पूर्णता पाइनु यी कविताका विशेषता हुन्। त्यसैले यी कविता बत्तीसै लक्षणले युक्त छन्, नवयौवना जस्तै। उनका कविता जीवनको सम्पूर्ण अनुभव हो। कवि सुरेशका कवितामा समालोचक फिलिप ह्विलराइटलले भनेजस्तै सम्पूर्ण मानवका समग्र अनुभवको अभिव्यक्ति पाइन्छ। त्यस्ता अभिव्यक्ति तपाईंहाम्रा जस्तै मात्र होइन विश्वका हरेक मानवका जस्तै छन्।

 

प्रकाशित: ४ फाल्गुन २०७५ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App