३० श्रावण २०७७ शुक्रबार
अन्य

बारी बाँझै छ

यम बास्तोला

पसिनाका धाराले
खेतका डल्ला भिजाउन नसकेपछि
आँसु नझार्ने प्रण गरेर
आएको थिएँ बालुवाखानीमा
तर आएकै दिनदेखि
चुसेको चुस्यै छ बालुवाले
पसिना र आँसु ।

मेरा हातले कोदो रोप्न छोडेर
साहुको फलाम रोप्न थालेपछि
आफ्नो फूलबारीको गुलाव सुकाएर
मालिक्नीको बगैँचामा
झार सिलाखोज्न शुरु गरेपछि
दोयम बाँझैछ गाउँमा
अनाजको सट्टा उम्रिएको छ
सिरु र वनमारा ।

आमाले जीवनका पचासौँ वसन्तसम्म
आँटोसँगै कति खाईन नङको माटो
कहिले आँटो र
कहिले माटो खाँदा पनि
कहिल्यै भरिएन आमाको पेट
बरु भरियो ठूलोआन्द्रामा हावा
र बीसौँ वर्ष अघिको एक दिन
बुबालाई उडाएजस्तै
पलपल पछारीरहेछ आमालाई
त्यही हावाले ।

सुहागरातकै दिन
खरको छानामुनि
बेहुलीको दोसल्ला भिजेपछि
शीत छिर्ने त्यस पापी दुलोमा
सङ्कल्पको एकमुठी प्लाष्टिक खाँदेर
झुपडीको छानो टाल्न
म अरब हिँडेको थिएँ
हो त्यही दिनदेखि
टारबारी बाँझैछ मेरो ।

करेँसाको मेवा टिप्न नसक्ने मेरो आँट
गगनचुम्बी खजुरका काँधमा पुग्दा
प्राण रुमालमा पोको परेर
समुन्द्र तर्न खोज्थ्यो
खजुरका छुच्चा हातले
मेरो कोमल छाला कोतर्दा
बालुवामा खसेको एकथोपा रगतले
खोल्माको छानामा झुत्तिएको अङ्गुर सम्झाउँथ्यो

कहिले कहिले
सोचमा सल्लाघारी सुसायो
सपनाको टारीमा
अङ्गालाभरीभरीका सल्लाहरुले
मेरो भोक तिर्खा मेटे
कहिले पाउलोनिया पलायो मस्तिष्कमा
कहिले बोधिचित्त फल्यो
हरदम आँखामा एभोकार्डो र
जिब्रोमा किवी झुण्डिन थालेपछि
आँसु खसेको एकमुठी बालुवा उठाएर
सङ्कल्प गरेँथेँ मैले
अव फर्कन्छु गाउँमा
र मल्छु बाँझोबारी ।

तीनवर्षे कर्मको  
तीनलाखे पोको र
आमाको पूरानो थैलीमा लुकेका
केही रियल सम्झेर
पन्तुरा कस्दै थिएँ

समाचार पढेपछि एक्कासी
मेरो उठेको जाँगर
समुन्द्रको छालजस्तो
पछाडि फर्कियोे र ओरालो बग्न थाल्यो
सोचमा छु अझै
स्वभूमि फर्कँने बारे
त्यसैले महासय तपाईँलाई सोध्दैछु
मेरो बारीमा अव
बजेट खाने नहर मात्र आउँछ कि
पानी पनि आउँछ ?
आमाले आधागाग्रो पानी भर्न
अगुल्टो हल्लाउँदै मध्येरातमा
पाल्लेकुवा धाउनु पर्छ कि पर्दैन ?
कथङकदाचित
बारी बाँझो भए
कारण लेखाउन
मैले रगतसँग साटेको रियल
घुस खुवाउनु पर्छ कि पर्दैन ?

प्रकाशित: २६ माघ २०७५ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App