coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जनप्रतिनिधि आए तर बानेश्वर सडकमा विकास आएन

काठमाडौं वडा नम्बर ३१ यस्तो वडा हो। सो वडाले प्रदेशसभामा सांसद पनि निर्वाचित गरेको छ। त्यति मात्रै होइन, संघीय संसद् भवनको चहलपहल पनि यही वडामा र्छ। तर, त्यही वडाका बासिन्दाका हकमा भने ‘बत्तीमुनिको अध्याँरो’ भन्ने उखान चरितार्थ भएको छ। खाल्डाखुल्डी, हिलाम्मे र धुलाम्मे सडक समस्याबाट गुज्रिएको वर्षाै भइसक्यो।

संघीय संसद् भवन अगाडीको सडक जति आकर्षक र चिटिक्क छन्। त्यसको दुई सय मिटर पछाडि रहेको सडकको हालत भने बेहाल छ। वडा नम्बर ३१ ले स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष पायो। वडाबाट पनि प्रदेशसभाको सांसद पनि विजयी गरायो। तर, दुर्भाग्य त्यही वडामा सर्वसाधारण भने लामो समयदेखि हिलाम्मे र धुलाम्मे सडकको सास्तीमा पर्न बाध्य भएका छन्। संघीय संसद् भवन पछाडि रहेका भित्री सडक हेर्न लायक नै छैन।

जताततै खाल्डाखुल्डी र धुलाम्मे सडकले सर्वसाधारण आक्रान्त भएको धेरै भइसक्यो। न त जनप्रतिनिधिले काम गरे। न त प्रदेश सांसदले नै।  ‘जनप्रतिनिधि आएको पनि २२ महिना हुन लागिसक्यो,’ सूर्यविक्रम मार्गका घनश्याम कँडेलले भने, ‘अहिलेसम्म ढलेको सिन्को समेत भाँच्ने काम गरेका छैनन् ।’ उनका अनुसार जनप्रतिनिधिले गम्भीर भएर काम नगर्दा हामी जनताले वर्षौदेखि सास्ती पाएका छौं। काठमाडौं महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष नारायण भण्डारी सडक मापदण्ड विवाद र ढल राख्ने क्रममा सडक लामो समयदेखि कालो पत्रे गर्न नसकेको बताउँछन्।

‘सूर्यविक्रम मार्ग र जनसहयोगी मार्गमा मापदण्ड विवादको कारणले काम अघि बढ्न सकेको छैन,’ उनले भने, ‘अन्य स्थानका सडकमा ढल तथा खानेपानीको काम सम्पन्न नभएकाले कालोपत्रे गर्न सकेका छैनौं ।’ उनले पछिल्लो समय विवाद नभएका सडकमा धमाधम काम भइरहेको दाबी गरे।

‘बानेश्वरको भित्री सडकमा खाल्डाखुल्डी हिलोबाहेक केही देखिन्न,’ जनसहयोगी मार्गका अमन श्रेष्ठले भने, ‘महानगरपालिकाको वेवास्ताकै कारणले हामीले सास्ती पाइरहेका छौं।’

काठमाडौं महानगरपालिका भित्र १४ सय किलोमिटर सडक  पर्दछ। जसमा तीन सय किलोमिटर सडक सडक विभाग मातहत पर्छ। काठमाडौं महानगरपालिका मातहत ११ सय किलोमिटर सडक पर्छ। काठमाडौं महानगरपालिकाले ८ मिटर र सोभन्दा कम मिटरका सडकको व्यवस्थापन गर्दै आइरहेको छ। काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख नारायण भट्टराईले फागुन महिना लागेसँगै भित्री सडक कालोपत्रे धमाधम हुने बताए। ‘अहिले धमाधम टेण्डर प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘चिसोयाम सकिने बित्तिकै धमाधम कालोपत्रे थाल्नेछौं।’

काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले भने महानगरपालिका मातहत पर्ने सडक ८० प्रतिशत कालोपत्रे भएको दाबी गरे। ‘महानगरको मातहत पर्ने करिव ८० प्रतिशत सडक कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘महानगरपालिकाले ६ महिनाको अवधिमा ३५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ ।’ उनका अनुसार महानगरपालिकाले ४५ किलोमिटर मर्मतसम्भार गरेको छ।

प्रकाशित: २१ माघ २०७५ ०५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App