७ वैशाख २०८१ शुक्रबार
अन्य

चिसोले कठ्याङ्ग्रिएर राजधानीमै मर्छन जनता

काठमाडौं उपत्यकामा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएका केही प्रतिनिधिमूलक घटना हुन् यी। पछिल्लो समय काठमाडौं उपत्यकामा ह्वातै  चिसो बढेसँगै सडकपेटीमा आश्रयस्थल बनाउँदै आएका अशक्त वृद्धवृद्धाको मृत्यु हुने गरेको छ। सडकपेटीमा बसोबास गर्दै आएका वृद्धवृद्धाहरुको उचित स्याहारसुसार नहुँदा दिनहुँजसो ज्यान गुमाउन बाध्य भएका छन्। चिसोका कारणले सडकमा नै बसोबास गर्दै आएका वृद्धवृद्धाहरु उच्च जोखिमा छन्।  महानगरीय  प्रहरी कार्यालय रानीपोखरीका अनुसार चिसोको कारणले उपत्यकामा दैनिक सरदर २ देखी ६ जनाको ज्यान जाने गरेको छ। 

काठमाडौं महाराजगन्जस्थित सडकपेटीमा पुस २० गते भिख मागेर गुजारा चलाउँदै आएका एक पुरुषको चिसोले कठ्याङग्रिएर सडकमा लडेको अवस्थामा भेट्टिए। उनलाई प्रहरीले उठाएर उपचार गर्नको लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। तर, अस्पताल पुग्ने बित्तिकै उनको मृत्यु भयो। मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन। उनको शव अहिले त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंह उपत्यकामा चिसोको कारणले सडकपेटीमा रात गुजार्दै आएका व्यक्तिहरुको मृत्यु समेत हुने गरेको बताइन्। ‘अत्याधिक चिसोले कठ्याङिग्रएर वृद्धवृद्धाको सडकमा नै ज्यान जाने गरेको छ,’ उनले भनिन्, ‘सडकमा रहेका वृद्धवृद्धाको मृत्यु हुन थालेपछि प्रहरीले उद्धार गरेर विभिन्न आश्रममा पठाउन थालेका छौं।’

उनका अनुसार जाडोयाममा सडकमा नै जीवन गुजार्दै आएका व्यक्तिहरुको मृत्यु हुँदै आएको छ। ‘उमेर ढल्किएका तथा रोगले गस्रीत भएका बिरामीको मृत्यु हुने गरेको छ,’ उनले भनिन्, ‘प्रहरीले सडकबाट उद्धार गरेसँगै अहिले मृत्यु हुनेको संख्यामा कमी आएको छ।’ प्रहरीका अनुसार सडकमा बेवारिसे अवस्थामा बस्दै आएकाहरुलाई जाडोले निकै पिरोल्ने गर्छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले गत पुस १७ गतेदेखि सडकमा रहेका वृद्धावृद्धाको उद्धार गर्दै आएको बताए। परिसरले गत पुस १७ गते यता एक सय ४० जना वृद्धवृद्धाको उद्धार गरेर उपत्यकामा १० वटा विभिन्न आश्रममा राखेको जनायो।

पुस २६ गते क्षेत्रपाटीको फुटपाथबाट गम्भीर अवस्थामा लक्ष्मी लामाको उद्धार गरिएको थियो। चिसोको कारणले सडकमै लडेकी उनलाई उपचारका लािग थापाथलीस्थित प्रसूतिगृहमा पुर्‍याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भयो। उनको मृत्यु चिसोकै कारणले भएको चिकित्सकले जनाएका छन्। उनलाई महानगरीय प्रहरीले सडकबाट उठाएर अस्पताल पुर्‍याएको थियो।

‘चिसोको कारणले अत्याधिक मात्रामा सडकमा रहेका वृद्धवृद्धाको मृत्युभएसँगै धमाधम उद्धार गरेर आश्रममा पठाएका छौं,’ उनले भने, ‘आश्रममा पठाएका मध्ये अहिलेसम्म दुई जनाको मृत्यु भएको छ।’ उनका अनुसार परिवारबाट अपहेलित भएका, गरिबी शारीरिक अशक्तलगायतका कारणले वृद्धवृद्धा सडकमा आएर बस्न बाध्य छन्। प्रवक्ता थापाका अनुसार वृद्धवृद्धालाई उद्धार गरेर आश्रममा पठाएसँगै चिसोले मृत्यु हुनेको संख्यामा कमी आएको छ। काठमाडौं उपत्यकामा करिब दुई सय वृद्धवृद्धा रहेका छन्। त्यस्तै गरी सडक बालबालिकाको संख्या पनि दुई सयभन्दा धेरै रहेका छन्। चिसोका कारणले वृद्धवृद्धा मात्रै होइन, सडकमा नै बेवारिसे ढंगले बस्दै आएका सडकबालबालिकाहरु पनि चिसोका कारणले प्रभावित छन्।

बालकल्याण समितिका अनुसार काठमाडौं उपत्यकामा करिब एक सयभन्दा धेरै सडक बालबालिका रहेका छन्। केन्द्रीय बालकल्याण समितिका बालसंरक्षण अधिकृत सुनिता रानाले चिसोका कारणले वृद्धवृद्धाजस्तै सडकबालकालिका समेत प्रभावित हुने बताइन्। ‘चिसोकै कारणले वृद्धवृद्धाजस्तै सडकबालबालिकाको ज्यान गएको अहिलेसम्म भेटेका छैनौं,’ उनले भनिन्, ‘चिसोको कारणले अन्य समस्या भने देखिएका छन्।’ उनका अनुसार गर्मीयामभन्दा जाडोमा सडकबालबालिका चिसोका कारणले धेरै प्रभावित हुने गर्दछन्।

चिसोका कारणले सडक बालबालिकमा निमोनिया, रुघाखोकी लगायतका समस्या देखिएका छन्। केन्द्रीय बालकल्याण समितिले जाडोयाम सुरु भएसँगै करिब ५० भन्दा धेरै बालबालिकाको उद्धार गरेको जनाएको छ। समितिले दुई वर्षको अवधिमा करिब एक हजार बालबालिकालाई उद्धार गरेर सामाजिकीकरण अन्तर्गत विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। नवजीवन परोकार समाजले वैशाखयता सडकपेटीमा बस्दै आएका बालबालिकासहित ८० जनाको उद्धार गरेर विभिन्न संघ संस्थामा पुर्‍याएको छ। समाजले बालबालिकालाई भक्तपुरस्थित मानव समाज कल्याणमा पुर्‍याउने गरेको छ। समाजका अध्यक्ष दुर्गानाथ दाहालले परिवारबाट अपहेलित, असहाय, गरिब र आफन्त नभएका व्यक्ति चिसोबाट बढी प्रभावित हुने गरेको बताए। उनका अनुसार जाडोकै कारण कठ्याङ्ग्रिएर ३/४ जनाको मृत्यु भएको छ। ‘जाडो याममा सडकमा बस्ने, उपचार माया मारेर बसेका बिरामीलगायत अन्य बेवारिसे मानिस धेरै भेटिन्छन्,’ उनले भने, ‘सिंहदरबार अगाडि नै यस्ता वेवारिसे लास र मानिस भेटिएका छन्।’

प्रकाशित: १४ माघ २०७५ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App