२९ श्रावण २०७७ बिहीबार
अन्य

घमाइला कविता

हरिसुन्दर छुकां

ऐतिहासिक नगरी पनौतिका सूर्यप्रसाद लाकोजू सक्रिय साहित्यकार हुन्। उनी गीत, कविता, मुक्तक र हाइकु लेख्छन्। उनको गीत संग्रह ‘सुसेली’, तीन वटा मुक्तक संग्रहहरु ‘भावनाका फूलहरु’, ‘फूलहरुको मेला’ र ‘शाश्वत श्वरहरु’, दुइटा कविता संग्रह ‘मेरो मन मेरो मीत’, ‘घामको चुम्बन’ अनि दुई हाइकू संग्रहहरु, ‘गुराँस फूल्ने मनहरु’ र ‘अक्षरका श्वरहरु’ प्रकाशित छन्। संस्कृति सम्बन्धी ‘पनौति’, ‘पनौतिको बाह्रवर्षे मकरमेला’ पनि प्रकाशित छन्। उनका ‘यः मरी’ बाल पुस्तक र बाल कविता संग्रहहरु ‘घाम उदायो’ र ‘कोपिला’ छापिएका छन्।
लाकोजुको नवीनतम् कविता संग्रह हो–‘मेरो घाम’। घामलाई आफ्नो बनाएर घामजस्तो न्यानो, तातो, पवित्र, स्वीकारयोग्य अनि कहिलेकाहिँ पोल्ने स्वभावका ५३ कविता पढिसकेपछि भन्न मन लाग्यो,
सबतिर घाम फिजाउँछ सूर्य
मनमनमा आराम फिजाउँछ सूर्य।
कलमले डाक्छ पात विरुवामा
वसन्तको याम फिजाउँछ सूर्य।

देश किन बनेन ? भन्ने विषयमा विभिन्न ठाउँमा विमर्श हुन्छ। त्यही विमर्शमा जोडिने गर्छन् दल र नेताहरु। देश नबन्नुमा तिनीहरुमात्र हैन, जनता पनि दोषी छन्। कारण, देशका अधिकांश मानिस दल भन्ने बित्तिक्कै आँखा चिम्लन्छन्, नेताले कालो भने कार्यकर्ता पनि कालै भन्ने प्रवृत्ति छ। यही प्रवृत्तिको अन्त्य चाहन्छन् लाकोजू। उनी कविताबाटै भन्छन्,
जतिसुकै अँध्यारो भए पनि
डरको भूकम्पबाट 
कम्पित गरे पनि
डरकै साम्राज्य चलाउने
प्रयास गरे पनि
छोटो हुन्छ उसको आयु
मेरो घाम बिउँझिएपछि
रात कुलेलम ठोक्छ
आँधिको बेगमा।

कविता समयको बलियो विम्व हो। समयलाई बोल्न सक्ने आवाज दिन सक्ने लाकोजूको ‘मेरो घाम’ भित्रका कविता देश, काल, परिस्थितिबाट विमुख छैनन्, कोरा छैनन्। उनका कविताले वर्तमान बोलिरहेको छ।
कविताका विषयवस्तु सजिव छन्, यसैले त ती जीउँदा छन्। तीनले मान्छेलाई छोएको छ। मानिस, मानिसले बाँचेको परिवेश, मानिसले देखेका सपना, मनोभावना बुझ्न सक्नु कविको शक्ति हो। लाकोजूले मानिसकै कथा, व्यथा, भोगाइ, सपना, यथार्थलाई कविताको रुप दिएका छन्। उनका कवितामा मानवीय संवेदनाको कयौं नदी आफ्नै गतिले बगेका छन्। औपचारिक शिक्षा पाए पनि मानिसले गुमाउँदै गएको मानिस हुनुको चेतना, विलाउँदै गएको मानवता, खिइँदै गएको नागरिक भावना, झागिँदै गएको स्वार्थलाई कविताको विषय बनाएका छन्।

सूर्यका कविताले भूइँमान्छेका दबाइएका श्वरलाई सतहमा ल्याएका छन्। उनी कवितामा कहिले कोमल छन् त कहिले कडा। कहिले बिहानको घाम, कहिले मध्यान्हको, कहिले साँझको घाम बनेर लेखिएका उनका कविता घामजस्तै छन्। पूर्ण रुपमा सूर्यलाई विम्व बनाएर लेखिएका कविता जोशिला छन्, आशाका घाम लगाउने, उत्साहको बीज, नयाँपनको आरम्भ गर्ने प्रकृतिका छन्। साथै घाम डुबेपछि हुने अँध्यारो र अँध्यारोमा हुने गलत गतिविधि हटाउन पनि उज्यालो चाहिन्छ भनेका छन् उनले। घाम लागेपछि वा प्रकाश परेपछि कुनै पनि वस्तुको आकार थाहा हुन्छ, परिचय फेला पर्छ, कविले कवितामार्फत् विषयवस्तुलाई आकार दिएका छन्।

पाठकको आँखाले ‘मेरो घाम’ भित्रका रङ ठम्याउन पनि असहज छैन, किनकि उनका कविता सरल छन्, मिठा छन् र जनताले बोल्ने भाषामा लेखिएका छन्।

 

प्रकाशित: १२ माघ २०७५ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App