coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मेरो अष्ट्रेलिया भ्रमण

गीत पछाई ढकाल,कक्षा – ३, अक्षरा स्कुल, काँडाघारी
यसपालिको दसैँ विदामा म मेरो बाबा र मम्मीसँग अष्ट्रेलिया पुगेँ। मेरो दोस्रोपटकको अष्ट्रेलिया भ्रमण निकै रमाइलो रह्यो। झण्डै एक महिना लामो समय हामी अष्ट्रेलिया बस्यौँ। अष्ट्रेलियामा विभिन्न कार्यक्रम, भेटघाट अनि नयाँ र रमणीय ठाउँको अवलोकनमा बित्यो। कतिपय पहिले नै पुगेको ठाउँमा पुगेँ भने केही नयाँ ठाउँ पुगेँ।

मलाई अष्ट्रेलियाको सि वल्र्ड साह्रै मनपर्छ। त्यहाँ हुने डल्फिन शो यसपालि पनि हेर्ने मौका मिल्यो। अनि मलाई कंगारु र कोला पनि असाध्यै मनपर्छ। मैले धेरै समय कंगारुसँग बिताए भने कुवलालाई छोएर रमाइलो माने। त्यहाँको स्थानीय स्वीमिङ क्लबमा पौडी प्रतियोगितामा भाग लिएँ। म मेरो उमेरका साथीहरूसँगको प्रतिस्पर्धामा दोस्रो भएँ। त्यस्तै म मेरो बाबासँगै अष्ट्रेलियाको ठूलो म्युजिक युनिभर्सिटी ग्रिफटिच युनिभर्सिटी, क्वीन्सल्यान्ड कन्जर भेटोरियममा पुगेँ। मलाई त्यहाँ पुगेर हेर्दा म्युजिक पढ्ने मन लाग्यो। रमाइलोसँगै मैले धेरै कुरा सिक्ने अवसर पाएँ। धेरै कुरा सेयर पनि गर्ने अवसर पाए।

यो पटक मेरो कथासङ्ग्रह पनि मसँगै पुगेको थियो अष्ट्रेलिया। मैले त्यहाँको तीनवटा स्कुलमा मेरो कथा लेखनको बारेमा सुनाउने मौका पाएँ। त्यहाँका विद्यार्थीहरू प्रश्न सोध्न एकदमै अगाडि सर्ने रहेछन्। मेरो पहिलो प्रस्तुती थियो पाइन कम्युनिटी स्कुल ब्रिसबेन अष्ट्रेलियामा। मेरो कथा र नेपालको बारेमा धेरै जिज्ञासा राखे। मैले पनि जानेजति नेपालको बारेमा सुनाएँ। हाम्रो स्कुलको र त्यहाँको पढाइ बेग्लै हुँदोरहेछ। चार कक्षाबाट होमवर्कको लागि ल्यापटप अनिवार्य हुँदोरहेछ। एउटै सर्भर प्रयोग गर्ने भएकोले होमवर्कमा भएको गल्ती पनि शिक्षकले तुरुन्तै थाहा पाएर त्यसको करेक्सनको लागि सहयोग गर्नुहुने रहेछ।

मलाई पनि त्यस्तो सिस्टम मन पर्‍यो। नेपालमा पनि त्यस्तो भए सजिलो हुने जस्तो लाग्यो। मैले आठ बर्षमा कथा लेखेको भन्दा सबैजना छक्क पर्नुभयो। अझ मेरो अङ्ग्रेजी बोलाइले उहाँहरू प्रभावित हुनुभयो। मेरो अङ्ग्रेजी निकै राम्रो छ रे। मलाई पनि त्यस्तै लाग्छ। मैले र बाबाले त्यस स्कुलमा राष्ट्रिय गीत पनि गायौँ। मैले स्कुलको लाइब्रेरीका लागि मेरो कथा हस्तान्तरण गरेँ। प्रिन्सिपलले मलाई एक सय डलर पठाउनुभएको थियो खुसी भएर। मैले त्यो पैसा गुल्मी जिल्लाको माझी बालबालिकाका लागि दान गरेँ।

माझी बालबालिकाको शिक्षाको लागि मेरो मम्मी जानुका ढकाल र बाबा विनोद पछाईले सहयोग गर्दै आउनुभएको छ। मलाई पनि बाबा मम्मीजस्तै सकेको सहयोग गर्न मन लाग्छ। अष्ट्रेलियाका नेपाली कन्सुलर जोय टोमासँग मैले दोस्रो पटक भेट्ने मौका पाएँ। उहाँसँगको भेट मेरो अष्ट्रेलियन अंकल माइक होगनले मिलाउनुभएको थियो। उहाँले नेपालमा महिलाहरूको क्यान्सरको लागि पनि सहयोग गर्दै आउनुभएको रहेछ, अष्ट्रेलिया सर्भाइकल क्यान्सर फाउण्डेसनमार्फत। मैले पनि नेपालमा रहेका महिलाहरूको उपचारको लागि तीसहजार नेपाली रुपैयाँ दिएँ, जुन पैसा मेरो किताब बिक्रीबाट आएको थियो। त्यो किताब जोय टोमाले मलाई हौसला दिनको लागि बेचिदिनुभएको थियो।

मैले स्कुलको लाइब्रेरीका लागि मेरो कथा हस्तान्तरण गरेँ। प्रिन्सिपलले मलाई एक सय डलर पठाउनुभएको थियो खुसी भएर। मैले त्यो पैसा गुल्मी जिल्लाको माझी बालबालिकाका लागि दान गरेँ।

त्यसपछि मेरो अर्को कार्यक्रम अल्वानी हिल स्टेट स्कुलमा थियो। स्टेटले खर्च गरेकोले निशुल्क पढाइ हँुदोरहेछ। त्यो स्कुल हाम्रो प्राइभेट स्कुलभन्दा पनि धेरै सुविधासम्पन्न रहेछ। भित्र फोटो खिच्न भने निषेध थियो। त्यसैले मेरो साथी एनेवल र मैले बाहिरमात्रै फोटो खिच्यौँ। त्यहाँ पनि मेरो कथालाई सबैले मन पराइदिनुभयो। लाइब्रेरीमा मैले केही किताब डोनेसन गरेँ। मैले त्यहाँको मजस्तै बच्चाहरूमा नेपालप्रतिको धेरै चासो भएको पाएँ। नेपाल–अष्ट्रेलिया धेरै टाढाको दूरीमा रहेको छ। यति टाढाबाट आएको भनेर सबैले खुसी मान्नुभयो। म जुनजुन स्कुलमा गएँ, जसजसलाई भेटेँ, फेरि पनि किताब लेख्ने प्रोत्साहन पाएँ। मलाई सबैले अर्को बर्ष आउँदा फेरि अर्को किताब पढ्न पाइयोस् भन्नुभयो।

मेरो तेस्रो प्रस्तुती थियो सेन्ट युगेन कलेज, जसले मेरो लागि विशेष कार्यक्रम आयोजना गरेको थियो। छ सय जना विद्यार्थीको अगाडि मेरो प्रस्तुती थियो। त्यहाँ मलाई शिक्षकहरूले प्रश्न सोध्नुभयो। सुरुमा त अलि नर्भस भएँ तर अगाडि गएपछि मेरो आत्मविश्वास बढ्यो। त्यसपछि विद्यार्थीलाई प्रश्न सोध्न दिनुभयो। हरेक विद्यार्थीले हात उठाएका थिए तर मैले जम्मा दश जनाको मात्रै प्रश्नको जवाफ दिन पाएँ। ग्रेड फाइभको कक्षामा गएर छुट्टै अन्तरक्रिया कार्यक्रम थियो। त्यहाँ मलाई शिक्षकले फेरि अर्को वर्ष अष्ट्रेलिया आउने निम्तो दिनुभयो अनि मेरो अर्को कथा पनि पढ्न उत्सुक रहेको बताउनुभयो। अष्ट्रेलिया भ्रमणले मलाई झनै कथा लेख्ने प्रोत्साहन मिलेको छ। हुन त मलाई नेपालका धेरै स्कुलहरूले निमन्त्रणा गर्नुभयो। मेरा किताब थुप्रै स्कुलले किनेर आफ्नो लाइब्रेरीमा राखिदिनुभयो। मजस्तै साथीहरूलाई किन्न लगाउनुभयो। त्यसले मलाई फेरि पनि किताब लेख्ने हौसला मिलेको छ। अहिले म अर्को च्याप्टर बुक लेख्दैछु। यो किताब लेखिसक्न अलि समय लाग्छ होला तर मैले फेरि पनि यस्तै माया पाउँछु भन्ने आशा लागेको छ। मेरो अष्ट्रेलिया भ्रमणलाई विशेष बनाइदिने मेरा साथीहरू ऐला, एनेबल र एलसलाई धन्यवाद दिन चाहन्छु।

प्रकाशित: ५ माघ २०७५ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App