१६ चैत्र २०८० शुक्रबार
अन्य

कागेश्वरी मनोहरा नगरपालिका वडा– ६ मुलपानीका समस्या

सडक बेहाल छ
राजकुमार डंगाल (स्थानीय, मुलपानी खहरे)

यो ठाउँको मुख्य समस्या सडक हो। गोठाटार, बाबाचोक एरियाको सबै सडकमा खाल्डाखुल्डी छन्। पानी जमेर पोखरीजस्तै बनेको छ। त्यसैले सडक बेहाल भएकाले निर्माण सामग्रीको ढुवानी गर्ने समेत मुस्किल छ। केही दिनअगाडि मात्रै त्यही ठाउँमा मेरो मोटरसाइकल भासियो र साथीको सहयोगमा बेलुका निकाले। धेरै सवारीजाम हुन्छ। अहिले भइरहेको सडक विस्तारको काम पनि सुस्त छ। फोहोर लिन पनि कहिले महिनौ दिनसम्म गाडी आउँदैन। हामी वडा कार्यालयमा केही कामको लागि गर्‍यो भने विभिन्न बहाना बनाएर काम गर्देनन् जनप्रतिनिधिले। सानो कामको लागि पनि हामी बारम्बार धाउनुपर्छ। खानेपानीको पनि सुविधा छैन। पानीको लागि १५ मिनेटको पैदलमा ढुंगेधारा जानुपर्छ। त्यहाँ पुगेर पनि घण्टौ लाइनमा बस्नुपर्छ।

मापदण्ड अनुसार काम भएन
प्रह्लाद खनाल ( स्थानीय, मुलपानी चौर)

यहाँ योजनाबिना वडाले सडक विस्तार गरिरहेको छ। विकास गर्नु राम्रो हो। तर, काम गर्नुअगाडि हामीमा केही जानकारी हुनुपथ्र्यो, त्यो भएन। अहिले आएर हाम्रो घर नै उच्च जोखिम पारेर काम गरिरहेका छन्। केही अगाडि मात्रै यस विषयमा विवाद पर्दा कुटपिट समेत भएको छ। जसका कारण काम गर्ने ठेकेदार नै भागेर अर्को ठेकेदार ल्याइएको छ। अहिले मानटारदेखि गोठाटार, बाबाचोकमा सडक निर्माण गरिरहेको ठाउँमा कुनै सूचनाको होर्डिङ बोर्ड राखिएको छैन। त्यसैले सवारीजाम हुन्छ। ढलको पनि व्यवस्थापन छैन। जताततै बिजुलीका तार लथालिंग छ। अहिले विकास निर्माण भए पनि सार्वजनिक सम्पतिको दुरपयोग भइरहेको छ। यस विषयमा जनप्रतिनिधिसँग कुरा गर्दा सरकारको पैसा र काम हो भनेर उल्टै स्थानीयलाई धम्की दिन्छ। २५ वर्षपहिले मूलपानीबाट १३ करोड लिटर पानी उपत्यकामा वितरण हुन्थ्यो। बोरिङ गरिएकाले अहिले त खानेपानी समेत छैन यहाँ। चुनावमा निर्वाचित भएका जनप्रतिनिधिहरूले समाजप्रति उत्तरदायी भएर काम गरेका छैनन्।

खानेपानीको समस्या छ
दुर्गा ढकाल (स्थानीय, मूलपानी मिलनचोक)

हाम्रो समस्या नै खानेपानी हो। १२ वर्ष भयो, खानेपानी नपाएको। कुनै पनि ठाउँमा सार्वजनिक धारा नै छैनन्। अधिकांश ठाउँका सडक लथालिंग छन्। वडा कार्यालयले ढलको पनि व्यवस्थापन गरेको छैन। सडक विस्तारका क्रममा भत्काएका पोल घरको आँगनमा राखिदिएको छ। यसलाई कसले र कसरी हटाउने हो ? स्थानीयलाई जानकारी नदिई अहिले काम भइरहेको छ। सागसब्जी रोपेका छौँ। तर, पानी नभएर सबै सुकिसकेको छ। त्यसैले छिट्टै पानीको सुविधा हुनुपर्छ। कुनै ठाउँबाट ढलको निकास भएको छैन। त्यसैले ढलको पनि ठूलो समस्या छ। यस्ता विभिन्न समस्या छन्। तर, सरोकारवालाले चासो नदिँदा हामीले सास्ती भोग्न बाध्य छौँ।

बाटो र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेका छौँ
प्रकाश फुयाल (वडा अध्यक्ष)

लामो अन्तरालपछि हामी जनप्रतिनिधि आएर पनि अहिले सडक विस्तार, स्वच्छ खानेपानीको कामलाई नै तीव्रता दिएका छौँ। पहिले सबै सडक भताभुंग थियो। तर, मुलपानी पीपलबाट ब्रम्हाखेलसम्म करिब चार किलोमिटर अर्को साबिक गोठाटारदेखि मूलपानी चागुनारायणसम्मको करिब पाँच किलोमिटर ११ मिटर चौडाइको सडक रफ्तार ढंगले निर्माण भइरहेको छ। ढल व्यवस्थापनको पनि करिब २८ प्रतिशत काम सम्पन्न गरेका छौँ। बाँकी काम गर्दै जाने छौँ। निर्माण थाल्नुअगाडि नै स्थानीयलाई जानकारी गराएका थियौँ। यो कामको योजनाका लागि सूचना पनि एक वर्षअगाडि नै निकालिसकेका थियौँ। वडाका जनप्रतिनिधिले स्थानीयलाई भेला पारेर नै सबैको बराबरी जग्गा दिनुपर्छ भनेर सहमति समेत गरेका थियौँ। त्यही अनुसारले अहिले हामीले काम गरेका हौँ। तर, केही विवाद पनि पर्‍यो। यो सामान्य मान्नुपर्छ। ठेकेदार भने भागेको छैन। र, भाग्न पनि पाउँदैन। कतिपय सडक पिच भइसकेको पनि मेलम्ची खानेपानीले भत्काइदियो। यहाँका सडक हाम्रो वडामा मात्र नभई अन्य वडामा समेत पर्छ। त्यसैले धेरै सडक निर्माण गर्नुपर्छ। खानेपानीको त राष्ट्रिय समस्या नै हो। हाम्रोमा पानीको स्रोत छैन। केही ठाउँमा भने बोरिङ गरेर पानी वितरण गरेका छौँ। मेलम्ची खानेपानी आएपछि यो समस्या हल हुने छ। कसरी कति र कहाँ–कहाँ वितरण गर्ने भनेर डिपिआर पनि गरिरहेका छौँ। नगरपालिकाले फोहोरहरू व्यवस्थापन गर्ने खालका केही योजना ल्याउनु आवश्यक छ। यसमा हामी पनि सहयोग गर्ने छौँ। यो वडामा यस वर्ष एक करोड ७० लाख बजेट विनियोजन भएको छ। ९० प्रतिशत बजेट भौतिक पूर्वाधार विकासको लागि छुट्याएका छौँ। हामी आएपछि सडक विस्तार, खानेपानी बोरिङ, र भूक्षयका नालीहरू व्यवस्थापन लगायत काम गरिसकेका छौँ। सेवाग्राहीको काम एक घण्टामा गरिदिन्छौँ। गैरकानुनी काम ल्यायो भने त्यसको काम छैन। सार्वजनिक जग्गा अतिक्रमणको पनि संरक्षण गर्दै आएका छौँ। मेरो कार्यकालमा अधिकांश सडकको पिच, ढल व्यवस्थापन, स्वच्छ खानेपानी वितरण र सार्वजनिक खाली जग्गामा पार्क निर्माण गर्नेछु। प्रस्तुति : श्याम राई   

    

प्रकाशित: ३० पुस २०७५ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App