१६ जेष्ठ २०७७ शुक्रबार
अन्य

‘काठमाडौंले बढी भार खेप्यो’

‘जगल्टिएका तारलाई हेर्दा थाहा हुन्छ, काठमाडौं कति कुरूप र असुरक्षित छ भन्ने। यसले सहरलाई नै भद्रगोल बनाएको छ। तारलाई भूमिगत बनाउन जरुरी छ। यहाँको जनघनत्व पनि बढी छ। अर्को कुरा, सहरमा नीति–नियमको अभ्यास नै राम्ररी भएन। त्यसकारण पनि सहर बिग्रियो भन्ने लाग्छ।’ 

तपाईँको विचारमा सहर भनेको के हो ?
मानिसका रहर, आकांक्षा र हरेक आवश्यकता परिपूर्ति गर्न सक्ने व्यवस्थित र सुरक्षित ठाउँ नै सहर हो। सहरको जनघनत्व बढी हुन्छ। त्यहाँ असीमित सम्भावना लुकेका हुन्छन्। सहरकोे प्रशासनले त्यसै अनुरूपको दक्षता र पूर्वतयारी गरेको हुनुपर्छ, ताकि सहरमा कुनै विनास र आपत्तिको सामना गर्न सजिलो होस्। अर्को कुरा, कस्तोलाई सहर मान्ने भन्ने कुरामा पनि भर पर्छ। मेरो बुझाईमा सहर र व्यवस्थित सहरमा धेरै फरक छ। व्यवस्थित सहर त्यो हो, जहाँ सन्तुष्टि मिल्छ र आवश्यकताहरू सहजै पूरा हुन सक्छन्। त्यो मुलुक कति सम्पन्न, व्यवस्थित, शिक्षित र सुरक्षित छ भन्ने कुरा पनि सहरको रूपले निर्धारण गर्छ। 

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
जापानमा केही सहर मलाई मनपर्‍यो। त्यहाँका सहर बखान गर्न लायक छन्। हामीले पनि तदारुकता देखाएर काम गर्ने हो भने केही वर्षमै नेपालका सहरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौं। 

पछिल्लो समय सबैतिर ‘स्मार्ट सिटी’को चर्चा सुनिन्छ। जनप्रतिनिधिले पनि त्यसैलाई आफ्नो मूल अजेन्डा बनाएका थिए। तर, स्मार्ट सिटीको यथेष्ट योजना छैन, तपाईँको बुझाईमा स्मार्ट सिटी के हो ?
सहर ‘कि त हरियो कि त भरियो’ हुनुपर्छ। मैले चुनाव ताका उठाएको नारा पनि यही हो। सहरलाई व्यवस्थित, स्मार्ट सिटी वा स्याट लाइट सिटीका रूपमा अघि बढाउन धेरै पक्षको आवश्यकता पर्छ। सहर विकासको पहिलो सर्त भनेको बाटोघाटो र पुल–पुलेसा हो। हामीले संसारका सर्वोत्कृष्ट सहर हेर्‍यौं भने पनि त्यहाँ सडक र वातावरणलाई पहिलो नम्बरमा राखिएको हुन्छ। हाम्रो देशका मुख्य सहर काठमाडौं, विराटनगरलगायत सहरको समस्या भनेको धुलो, धुवाँ र प्रदूषण नै हो। सहरभित्र सडक बनाउँदा हाम्रो ध्यान खासै गएन। त्यसकारण सबैभन्दा पहिले सडक भर्ने र त्यसमा हरियो बनाउन जरुरी देखिन्छ। ‘कि त हरियो कि त भरियो’ भन्ने नारा लिएर अघि बढियो भने सहरको विकास हुनसक्छ। 

अहिले भइरहेको सहरलाई कसरी व्यवस्थापन गर्न सकिएला ?
काठमाडौं समस्याग्रस्त सहर भएको छ। यहाँ अनेक समस्या छन्। ती सबै मानवीय समस्या हुन् अर्थात् हाम्रै कारणले उब्जिएका समस्या हुन्। गुजुल्टिएका तार, धराप खाल्डाखुल्डी, अव्यवस्थित यातायात, बढी भीड, अस्तव्यस्तता लगायतले सहर दिक्कलाग्दो बनिसकेको छ। त्यसकारण यो सहरलाई अलि व्यवस्थित बनाउन यहाँ भएका सेवा सुविधा अन्य सहरमा विकेन्द्रीकरण गर्न जरुरी छ। काठमाडौंकै कुरा गर्दा, सहरभित्रका पनि विभिन्न ठाउँलाई छुट्याएर विकास गर्न आवश्यक ठानिन्छ। मैले सहरलाई कसरी सपार्न सकिन्छ भनेर केही अध्ययन पनि गरेको थिएँ। त्यसमा केही यसप्रकार छन्। नहर होइन, सहर बनाऊ, तार तल, सेवा माथि, नथाक्ने र नसुत्ने सहर, सुरक्षित सार्वजनिक यातायातलगायत हुन्। सहर दिनरात जाग्राम हुनुपर्छ। चहलपहल बढ्यो भने आर्थिक क्रियाकलाप पनि बढ्छ। त्यसले देशलाई नै फाइदा गर्छ। अर्को कुरा, काठमाडौं कुरूपको अर्को नमुना तारलाई हामीले व्यवस्थित पार्न जरुरी छ। यसलाई सहरलाई नै असुरक्षित र भद्रगोल बनाएको छ। यसलाई भूमिगत बनाउन जरुरी छ। त्यस्तै, सहर नहरजस्तै बनेका छन्। जिम्मेवार निकायबीच समन्वय नहुँदा विकास निर्माणको काम छिद्र भइरहेको छ। विकासको नाममा सहरवासी अनावश्यक सास्ती खेपिरहेका छन्। सरकारले समय र विकास गर्दा हुने असुविधालाई मिलाएर तीव्र गतिमा काम गर्न जरुरी छ। यसलाई सबै निकायले आत्मसाथ गर्दै यो हाम्रै जिम्मेवारी हो भनेर अघि बढाउन जरुरी छ

सहरको विकासको लागि कस्तो राजनीतिक नेतृत्व चाहिएला ?
कुशल नेतृत्व चाहिन्छ, जसले म होइन हामी भन्ने सोचोस्। सबै निकाय र राजनीतिक नेतृत्वले शुसासन र नीति नियमको परिपालना गर्ने। एउटा सरकारले सुरु गरेको योजना अर्को सरकार आएपछि अलपत्र नपारोस्। सरकारैपिच्छे विकास निर्माणको फरक फरक ‘मोडल’ र योजना नल्याइयोस्। सहर विकासका हरेक साझा योजनालाई कार्यान्वयनमा ल्याइयोस्। थालेको योजनालाई निरन्तरता दिइयोस्। यद्यपि अहिलेको सरकारले सबै पक्षलाई समेटेर विकास गरिरहेको छ। जति प्रगति गरिसक्नुपर्ने हो त्यो भने देखिएको छैन। यसको लागि यी काम गर्न जरुरी देखिन्छ। 
वैदेसिक लगानी (एफडिआइ)लाई आकर्षण गर्ने नीति बनाउने, सहरको नेतृत्व परेको बेला लचिलो र कठोर हुने, सुरक्षा र सुशासन बसाउने, पूर्वाधारको मर्मत सम्भार गर्ने, विकास निर्माणको सही अनुगमन गर्ने, गुरुयोजना बनाएर भावी पुस्तालाई फाइदा पुग्ने गरी सहरको विकास थाल्ने, हरेक पक्षलाई व्यवस्थित गरी समन्वयकारी रूपमा विकास गर्ने, सहरको विकासमा सबैको सहभागिता गराउने, राजनीतिक पदमा भएका मन्त्री वा सो सरहको नेताले सही सल्लाकार राख्ने। 

यति गरियो भने सहरको विकासले अलि तीव्रता लिन्छ जस्तो लाग्छ। यसबाहेक हामीले आफूलाई कुन–कुन कुरामा चिनाउन सकिन्छ भन्ने पक्षलाई पनि हेक्का राख्न जरुरी देखिन्छ। कला, संस्कृति, गौतम बुद्ध, सगरमाथा, हरियाली वन, पाखा पखेरा, रगडिएका आकर्षक पडाडलगायत अनेक सम्पत्ति हामीसँग छन्। यिनको सदुपयोग र जर्गेना गर्न जरुरी छ। 

काठमाडौंलाई व्यवस्थित र खुकुलो पार्न के गर्नुपर्ला ?
प्रचण्ड प्रधानमन्त्री हुँदा काठमाडौंलाई अलि खुकुलो पारौं भन्ने हिसाबबाट केही अवधारणा बनेका थिए। जसअन्तर्गत भक्तपुरको मनोहरा क्षेत्रमा एक लाख रोपनी जग्गामा स्मार्ट सिटी बनाउने निर्णय पनि भएको थियो। यसले काठमाडौंको अस्तव्यस्त अलि कम गर्नेछ भन्ने सोचका साथ यो कामको थालनी भएको हो। त्यहाँ बन्ने नेपाली मौलिकता झल्काउने घर बनाउने योजना थियो। मानिसले आवश्यकता अनुसार फ्ल्याट पनि भाडामा लिएर बस्न सकुन् भन्ने तवरले योजना सुरु भएको थियो। सरकार परिवर्तनपछि उक्त काम ओझेलमा परेकै हो। यसबारे सोच्न जरुरी छ। अर्को कुरा सहर निर्माण गर्दा हरेक क्षेत्र छुट्याइनुपर्छ। जस्तैः रेसिडेन्सियल क्षेत्र, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, वन क्षेत्र, पार्किङ र खुला क्षेत्रलगायत पक्षलाई ध्यानमा राख्दै ठाउँ छुट्टयाएर सहर व्यवस्थित पार्न सकिन्छ भन्ने मेरो बुझाई हो। 

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
सहरसँग हरेक व्यक्तिको सपना र भविष्य जोडिएको हुन्छ। सुन्दरताभित्र पनि र सुरक्षित हुनु सहरको अर्को विषेशता हो। म पनि यस्तै सहरको परिकल्पना गर्छु। हरेक व्यक्तिले सहजता महसुस गरुन्। कोही पनि सरकारी सेवा र पहुँचबाट वञ्चित नहोस्। सडक र यातायात शान्त र सुरक्षित होस्। सबै मिलेर बसेको देख्न पाइयोस्। सहरवासी सबैमा हाम्रो भन्ने भावना होस्। विकास निर्माणका काममा सबैको एकनासे सहभागिता रहोस्। सहरको नियमले सबैलाई समान घेरामा बाँधोस्। सहरी इलाका प्रवेश गर्नासाथ आहा ! भन्ने खालको होस्। म यस्तो सहरको परिकल्पना गर्छु। 

उपत्यकाको मनपर्ने पक्ष के हो ?
उपत्यका मौलिकता बोकेको एक जीवन्त सहर हो। यहाँ हाम्रा पुर्खाका कलात्मक सांस्कृतिक सिर्जनाहरू छन्। ती सिर्जनाले पनि हाम्रो मौलिकता झल्काएको छ। अझ आज भन्दा केही वर्षपछाडि फर्केर हेर्दा उपत्यका अहिलेभन्दा निकै व्यवस्थित थियो। जनघनत्व बढेसँग सहर अस्तव्यस्त भएको छ। यसलाई व्यवस्थापन गर्न जरुरी छ। यहाँको मौसम पनि विश्वलाई लोभ्याउने किसिमको छ। यहाँको मौसम र कला संस्कृति हेर्न विदेशीहरू तानिएका छन्।

यहाँको मन नपर्ने पक्ष ?
काठमाडौंले चाहिनेभन्दा बढी भार खेप्यो। जनघनत्व बढी भएकै कारण काठमाडौं अस्तव्यस्त बनेको छ। प्रदेश सरकार बने पनि यहाँको भीडभाडमा कमी देखिएको छैन। यसबारे सबैले सोच्न जरुरी देखिन्छ। यहाँको सेवा सुविधा अन्त विकेन्द्रीकरण गर्ने हो भने काठमाडौं सहज बन्ला। 

नेपाल बाहिर कहाँ पुग्नुभएको छ ?
केही देशका सहर घुमेँ। जापान, चाइनालगायत देशका सहरलाई बुझ्न र अनुभव गर्न पाएँ। विदेशका सहर व्यवस्थित छन्। नीति नियम र योजनाले चलेका छन्। सहरको सुरक्षाले सबैलाई एउटै घेराभित्र राखेको छ। हाम्रोमा त्यसको विपरित छ। सहरको नीति नियमको अभ्यास नै राम्ररी भएन। त्यसकारण पनि सहर बिग्रियो भन्ने लाग्छ। 

नेपालभित्र मनपर्ने सहर ?
पोखरा र इलाम अन्य सहरभन्दा फरक छन्। यी सहरमा प्राकृतिक छनक भेटिन्छ। अरु सहरमा भीडभाड बढी छ। 

सहरको मनपर्ने खानेकुरा के हो ?
म सामान्य दाल, भात र तरकारी नै रुचाउँछु। मैले जाँड रक्सी खान त परै जाओस्, छोएको पनि छैन। आफ्नो स्वास्थ्यप्रति सधैं सचेत रहन्छु।  
प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: १६ पुस २०७५ ११:५७ सोमबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App