२७ श्रावण २०७७ मंगलबार
अन्य

अनुभवको अभिव्यक्ति

शिव लम्साल
कुनै दुर्घटनामा परेपछि त्यसको कारण नखोतल्ने र आफूलाई नसच्याउने हो भने फेरि अर्को दुर्घटनामा परिन्न भन्ने हुन्न। किनभने, बिनाकारण कुनै घटना हुन्नन्। अहिले नेपाली कांग्रेस बदलिँदो राष्ट्रिय राजनीतिको समीकरणबाट सिर्जित दुर्घटनाको चोटबाट थलिएको छ। नेपाली नागरिक जुन राजनीतिक–सामाजिक व्यवस्थाको उपभोग गरिरहेका छन्। त्यसको जननी दाबी गर्ने लोकतान्त्रिक पार्टी कांग्रेस पाँच वर्षका लागि प्रतिपक्षी बेञ्चमा धकेलिएको छ। तर पनि, जीवनका उर्वर उमेर पार्टीका लागि भनेर खर्चिएका पंक्ति नै कांग्रेसको भूमिकाप्रति सन्तुष्ट देखिँदैनन्। कांग्रेसको प्रतिपक्षी भूमिकाप्रति आमसर्वसाधारणको असन्तुष्टि रहनु अस्वभाविक होइन।

तर, ढिलै भए पनि कांग्रेसभित्र ऐतिहासिक पराजयको कारण खोजी हुन थालेको छ। प्रतिनिधि तथा प्रदेश निर्वाचन सम्पन्न भएको धेरै महिनासम्म पार्टी पराजयको नैतिक जिम्मेवारी लिन समेत आनाकानी गरिरहेका सभापति शेरबहादुर देउवाले गल्ती महसुस गर्न थालेको संकेत मिल्न थालेका छन्। टिकट वितरणदेखि पार्टी परिचालनसम्मको त्रुटिकै कारण कांग्रेसले पराजय भोग्नुपरेको निष्कर्ष सभापति देउवाको मुखबाट निस्किएको सम्भवतः पहिलो अभिव्यक्ति हो। यसले के संकेत गर्छ भने फेरि पनि राष्ट्रिय राजनीतिको नेतृत्वकर्ता दल बन्न कांग्रेसभित्र गम्भीर समीक्षाका लागि ढोका खुला हुँदैछन्।

दोस्रो पुस्ताका यी रामचन्द्र पौडेलले आफ्नो अनुभव पुस्तकमा अभिव्यक्त गरेका हुन्। भातृ संगठनहरूको भावि कार्यभारबारे उनको योजना हेर्दा लाग्छ– सभापतिको दावेदार मानिने उनी नेतृत्वमा पुगे आफैंले उठाएका एजेण्डा पूरा गर्लान् ?

अनि, कांग्रेसको पुनर्जीवनबारे पार्टी पंक्तिमा वर्तमान समस्या र समाधानको खोजी हुन थालेको छ। त्यसैको एक रूप हो, पार्टीको आधिकारिक राजनीतिक–आर्थिक प्रतिवेदन बाहेकका प्रकाशनहरू। अनि, पार्टीलाई पुनर्जीवन कसरी दिलाउन सकिन्छ भन्ने चिन्तनसहित बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि छुट्टै पुस्तक ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’मार्फत् आफ्नो धारणा सार्वजनिक गरेका छन्। यो पुस्तक काठमाडौंमा हुने महासमिति बैठकमा संस्थापनसँग पृथकदेखि प्रकाशन गरिएका हुन् भन्ने अनुमान लगाउन पनि सकिएला। तर, यस पुस्तकमा अभिव्यक्त विचारहरू भने साँच्चै नै मनन् योग्य देखिन्छ।

कांग्रेस चुकेको समय
पार्टी पराजयको कारण जसरी कम्युनिस्टको एकता भनिएको छ, यसभन्दा अरू फ्याक्टर नखोज्ने हो भने कांग्रेस फेरि पनि उठ्न सक्दैन भन्ने पौडेलको निष्कर्ष छ। ‘पराजित भएर के भो ? भोट घटेको छैन’ भन्ने कांग्रेस नेताहरूको सार्वजनिक अभिव्यक्तिप्रति पौडेल सहमत देखिँदैनन्। लेख्छन्, ‘दुई पार्टी मिलेकाले हार्यौं भन्ने सोंचले त कम्युनिस्ट सरकारले कमजोरी गर्छन्, अनि अर्काे निर्वाचन जित्छौं भन्ने निष्कर्ष निस्कन्छ। यो चिन्तन नै बदल्नुपर्छ।’

पार्टीभित्रको गुटलाई कांग्रेसको पुरानै रोग स्वीकार्ने नेता पौडेल अहिलेको गुटबन्दी चरम अवस्थामा पुगेको निष्कर्ष निकाल्छन्। हिजो, पार्टीभित्र गुटबन्दी भए पनि एउटै कांग्रेस थियो। ठीक उल्टो अवस्था बनेकैले पार्टीको यो अवस्थाको विश्लेषण पौडेलले गरेका छन्। कम्युनिस्टसँग पराजित भए पनि कांग्रेसभित्र जित्ने होडबाजीलाई ठूलो समस्या ठानिएको छ। नेता पौडेलको बुझाईमा २०४८ पछि कांग्रेसले केही गल्ती गरे। जसको पूरापुर लाभ कम्युनिस्टले उठाए। प्रजातन्त्र निश्चय नै महत्वपूर्ण विषय हो। नागरिक स्वतन्त्रता नहुने हो भने मानिसको अर्थोक अधिकार असम्भव छ।

तर, पञ्चायती निरंकुशताका समयमा कांग्रेसले राजनीतिक अधिकार मात्रै भनिरह्यो। त्यसबेला कम्युनिस्टहरूले सामाजिक–आर्थिक अधिकारका समेत कुरा उठाए। जुन, कुरा बीपीले दशको दशकमै भनेकै हुन्। तर, कांग्रेसवृत्त त्यसको व्याख्या र प्रचार गर्नतिर लागेनन्। नेपाली समाजमा अहिले जुन उपलब्धी उपभोग गरिँदैछ। त्यसमा कांग्रेसले लिएको उदारीकरण अर्थनीति र लोकतान्त्रिक व्यवस्थाकै कारण सम्भव रहेको निष्कर्ष निकाल्ने पौडेल कांग्रेस कम्युनिस्ट जसरी प्रचार गर्नमा चुकेको स्वीकार्छन्।

२०६२–०६३ को जनआन्दोलन र २०७२ मा संघीय संविधान जारी गर्ने नेतृत्व गरे पनि पार्टी पंक्तिले त्यसको लाभ लिन सकेन। यसको दोष नेता पौडेल कांग्रेसभित्र मौलाउँदै गएको गलत प्रवृत्तिलाई दिन्छन्। भन्छन्– नेताले कार्यकर्ता बनाउने तर, कार्यकर्ताले नेता बनाउन नसक्ने उल्टो संस्कृति पार्टीमा हावी हुँदै गएको छ। यिनै कारणले कांग्रेस राष्ट्रिय राजनीतिको किनारातिर धकेलियो। पार्टीभित्र सुशासन, पारदर्शिता, निष्ठा र वैचारिक पक्ष जसरी कमजोर हुँदै गएको छ। यसलाई नसुधार्ने हो भने पार्टीको गरिमामय बिरासत फर्काउन सकिनेमा पौडेल सन्देश व्यक्त गर्छन्।

लिगमा फर्कने कसरी ?
कुनै बेलाका क्रान्तिकारी छवियुक्त कांग्रेस आफू हिँडेको लिगबाट धर्मराउन थालेकामा पौडेल चिन्ता व्यक्त गर्छन्। पार्टी नेतृत्वमा हिजो भए गरेका राम्रा कामहरू जनमस्तिष्कमा स्थापित गराउन चुकेको कांग्रेस बिस्तारै बीपीले हिँडेको लिगबाटै अलग हुन लागेका हुन् कि भन्नेबारे गम्भीर समीक्षाको खाँचो पौडेल देख्छन्।

त्यसका लागि वैचारिक पक्ष प्रमुख हुन्। कम्युनिस्ट नेता–कार्यकर्ता स–साना विषय र प्रसंगमा चिन्तन गर्छन्। के नेपाली कांग्रेसमा त्यस्तो संस्कार छ ? पौडेल लेख्छन्– प्रतिद्वन्द्वी चिन्तनशील र वैचारिक छ भने उससँग लड्ने पंक्ति पनि त्यस्तै हुन जरुरी छ।

अब कांग्रेस कसरी उठ्छ त ? भन्ने निष्कर्षमा पौडेल भन्छन्– कांग्रेस पहिले जनताका सुख–दुःखका साथी बन्नुपर्छ र वैचारिकरूपमा तीक्ष्ण बन्न जरुरी छ। ‘सत्ताले भ्रष्ट बनाउँछ अनि पूर्ण सत्ताले सम्पूर्णरूपमा भ्रष्ट बनाउँछ’ उक्ति उल्लेख गर्दै पौडेल लेख्छन्, ‘अब, कांग्रेसले लोकतान्त्रिक समाजवाद र साम्यवादी समाजवादबारे जनतालाई प्रस्ट भन्न सक्नुपर्छ। त्यो भन्न सक्ने नेतृत्व स्थानीय तहसम्मै उत्पादन गर्नुको विकल्प छैन। कांग्रेसले यतातिर ध्यान दिनुपर्छ।’

दोस्रो पुस्ताका पौडेलले आफ्नो अनुभव पुस्तकमा अभिव्यक्त गरेका हुन्। युवा पंक्ति, महिला, दलित, जनजाति, अल्पसंख्यकदेखि पार्टी भातृ संगठनहरूको भावी कार्यभारबारे नेता पौडेलको योजना हेर्दा लाग्छ– सभापतिको दावेदार मानिने उनी नेतृत्वमा पुगे आफैंले उठाएका एजेण्डा पूरा गर्लान् ?

प्रकाशित: १४ पुस २०७५ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App