११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

अझै टेकोमै छन् भक्तपुरका घर

भूकम्पले क्षतिग्रस्त भक्तपुरका अधिकांश घरहरू अझै टेकोका भरमा छन्। भक्तपुरका पुराना बस्तीहरू बंशगोपाल, सुकुलढोका, टेखापुखु, दत्तात्रय, चोर्चा, टौमढी, गोल्मढी, दरवार स्क्वायर क्षेत्रका घरमा अझै टेको हट्न सकेको छैन। घरमा टेको लगाउनु घरधनीको रहर होइन, बाध्यता हो। यसको मुख्य कारण हो– आर्थिक अभाव। जसका कारण यहाँका भूकम्पपीडितले घर बनाउन पाएका छैनन्।

स्थानीय राजाराम बोहजु आर्थिक अभावले घर बनाउन नसकेको बताउँछन्। जग्गा अंशवन्डा पनि नभएकाले भूकम्पपीडितबाफतको राहत रकम नपाइएको उनले बताए। घर पुनर्निर्माण गर्न नसकेपछि यहाँका भूकम्पपीडित मर्काका छन्। घर पुनर्निर्माण हुन नसकेपछि व्यासीकी सरु बासुकला अहिले डेरामा बसिरहेकी छन्। ‘घर बनाउँदा सँधियारको घर भत्कने खतरा छ। त्यसैले घर बनाउन सकेकी छैन,’ उनले भनिन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति, भक्तपुरका प्रमुख धुव्र गैडाले आर्थिक अभावले भक्तपुरका भूकम्पपीडितले घर पुनर्निर्माण गर्न नसकेको बताए। उनका अनुसार जम्मा २५ प्रतिशत भूकम्पपीडितले मात्रै घर बनाएका छन्। स्थानीयका अनुसार आर्थिक अभाव, जग्गा अंशबन्डा नहुनुलगायत कारणले भूकम्पपीडितले घर पुनर्निर्माण गर्न नसकेका हुन्।

भक्तपुरका पुराना बस्तीहरू बंशगोपाल, सुकुलढोका, टेखापुखु, दत्तात्रय, चोर्चा, टौमढी, गोल्मढी, दरवार स्क्वायर क्षेत्रका घरमा अझै टेको हट्न सकेको छैन।

निजी आवास अनुदान वितरण प्रगति विवरण अनुसार भक्तपुरका चार नगरपालिकामा २८ हजार तीन सय आठ घर पुनर्निर्माण गर्नुपर्ने थियो। त्यसमध्ये २४ हजार ८७ घरको अनुदान सम्झौता भएको थियो। सबै घरधनीले पहिलो किस्ता रकम पाएको प्रगति विवरणमा उल्लेख छ। विवरण अनुसार दोस्रो किस्ता पाउने घरधनी ६ हजार पाँच सय ३९ छन्। तेस्रो किस्ता पाउने घरधनी पाँच हजार आठ सय ५९ छन्।

प्रकाशित: ९ पुस २०७५ ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App