२७ श्रावण २०७७ मंगलबार
अन्य

रङ फेरिरहने झिलमिला

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सुदूरपश्चिम। महाभारत पर्वत शृंखलाको कान्छो पहाडको मध्यभाग। चारैतिर घना जंगल। बीचमा सफा सुन्दर र सान्त ताल। स्निग्ध वातावरण। चारैतिर देवीदेवताका थान। तालको पानी कति कञ्चन भने, न त्यहाँ रुखका पात खसेका छन्, न पानीको कुनै निकास नै भेटिन्छ। अलौकिक सौन्दर्य नियालेर हेर्ने हो भने पानीका फोकाहरू हल्का गरी झिल्का जस्तो देखिने गर्छन्।

भीमदत्त नगरपालिका–९, चुरे पहाडमा रहेको झिलमिला ताल स्वदेशी र विदेशी पर्यटकको रोजाइमा परेको छ। यहाँको दृष्यले पर्यटकलाई मन्त्रमुग्ध पारेको छ। 

झिलमिला संरक्षण विकास समिति उपाध्यक्ष लालबहादुर विष्ट मन्दिरमा मनोकामना पूरा गर्न दशनार्थी आउने गरेको बताउँछन्। ‘अप्ठेरो समस्यामा परेका मान्छेहरू आफ्नो मनोकामना लिएर आउँछन्, माता झिलमिलाको दर्शन गरेपछि मनोकामना पूरा हुने विश्वास गरिन्छ,’ उनले भने।  

बिहान, दिउँसो र साँझ तीन पटक पानीको रङ फेरिन्छ। बिहान सुनहरा, दिउँसो नीलो र साँझ हरियो देखिन्छ ताल । रङ फेरिरहने भएकाले यसलाई झिलमिला भनिएको हो। 

दुई वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेलधुराको परशुराम नगरपालिकाका वासिन्दाले संयुक्त रूपमा ताल संरक्षणका लागि भीमदत्त नगरपालिका–९ का मोतीसिंह महताको अध्यक्षतामा समिति गठन गरेका हुन्। 
तालमा अलौकिक शक्ति रहेको समिति उपाध्यक्ष विष्ट बताउँछन्। ‘मैले सानैदेखि यो ताल देखेको छु, न त यसको पानी कतै निकास हुन्छ, न त कम हुन्छ, बर्खामा अलि मात्रै बढ्छ,’ विष्टले भने, ‘यो तालमा के शक्ति छ, कस्तो छ, आजसम्म कसैलाई पनि थाहा छैन।’

बिहान, दिउँसो र साँझ तालको पानीको रङ फेरिने गर्छ। तालको पानीमा बिहान सुनहरा, दिउँसो नीलो र साँझ हरियो रङ देखिन्छ। दैनिक रङ फेरिने भएकाले यसको नाम झिलमिला राखिएको हो। ‘यसरी दिनदिनै रङ फेरिएर झिलमिल हुने भएकाले यसको नाम झिलमिला रहेको हो,’ उपाध्यक्ष विष्टले भने।

महाभारतमा झिलमिला तालको अलौकिक शक्तिको वर्णन गरिएको छ। किंवदन्ती अनुसार पाण्डवहरू वनबासमा हुँदा द्रोपतीलाई तिर्खा लाग्यो। युधिष्ठिरले पानी खोज्न कान्छो भाइ सहदेवलाई पानी लिन अह्राए। धेरै समयसम्म पनि सहदेव नआएपछि क्रमशः नकुल, अर्जुन र भीमलाई पठाए। तर, कोही फर्केनन्। अन्त्यमा उनी आफै पानी खोज्न हिँडे। हिँड्दै जाँदा ताल छेउमा सबै भाइ लडिरहेको देखें। त्यहीँ बेला तालबाट निस्केको अदृष्य शक्तिले युधिष्ठिरलाई प्रश्न सोधे। उनले प्रश्नको जवाफ दिएपछि उनलाई एउटा भाइ जिउँदो माग्ने वर माग्न लगाइयो। युधिष्ठिरले सौतेलो भाइ नकुललाई जिउँदो बनाइदिन माग गरे। त्यसपछि त्यो अलौलिक शक्तिले युधिष्ठिरका सबै भाइलाई जिउँदो बनाएको थियो। 

‘यसले पनि तालमा अलौलिक शक्ति भएको विश्वास गरिन्छ,’ विष्ट भन्छन्। 
तालको प्राकृतिकरूपमा मात्र होइन, धार्मिक हिसाबले पनि महत्व बोकेको छ। दर्शनार्थीले फ्याकृेका अक्षता खान झुप्पामा आउने कालो कद भएका जुँगे माछाले मनलाई झन् हौसाइदिन्छ। काला माछाबाहेक तालमा सर्प पनि देखिने गरेका छन्। 

अक्षता खान हुल बाँधेर आउने माछा सर्पसित डराएको जस्तो देखिँदैन। वर्षौदेखि समान आकारमा देखिँदै आएका माछा दर्शनार्थीका नजरमा ठ्याक्कै पर्ने गर्छन्। तालको दैवीय शक्तिका कारण माछा मारेर खाने गरिएको छैन। तत्कालिन नेकपा (माओवादी) को सशस्त्र जनयुद्धमा तालका माछा मार्ने माओवादी कार्यकर्ता सैनिक कारवाहीमा मारिएको स्थानीय बताउँछन्। 

‘अरु कसैले खाएका थिएन, माछा खाएका दिन उनीहरू सैनिक कारवाहीमा मारिए, त्यो दैवीय शक्तिले त होला, त्यहीँ दिन सेना पुग्यो, भिडन्तमा मृत्यु भयो,’ विष्टले सम्झिन्छन्।

केही वर्षअघि माछालाई पोलिथिनमा राखेर घर लैजान खोज्ने भारतीय नागरिक बेहोस भएको स्थानीय बताउँछन्। 
डेढ किलोमिटर लम्बाईको ताल चार बिगाहामा फैलिएको छ। ताल १७ मिटर गहिरो छ। ताल चारैतिरबाट घना जंगलले ढाकिएको छ। तालको चारैतिर परिक्रमा गर्ने बाटो बनाउन थालिएको छ। 

तालको चार दिशामा देवी देवताका मन्दिर स्थापना गरिएका छन्। दक्षिणतिर झिलमिला माताको मन्दिर छ। सुरुमा झिलमिला माताको दर्शन गरी ताललाई दाहिने गरी दर्शनार्थीले ताल परिक्रमा गर्छन्। माताको मन्दिर नजिक सिद्ध बैजनाथको मन्दिर छ। पश्चिमी किनारमा काली अर्थात दुर्गा माता र अर्को छेउमा पूर्णागिरीको मन्दिर छ। ‘हरेक दर्शनार्थी सबै देवी देवताको पूजापाठ गरी फर्किने गर्छन्,’ भीमदत्त नगरपालिका ब्रह्मदेबका शंकरसिंह विष्टले भने।
वर्षभरि दर्शनार्थी जाने तालमा माघे संक्रान्तिको अघिल्लो दिन भव्यरूपमा मनाइने गरिएको छ। त्यस दिन दर्शनार्थीहरू रातभर जाग्राम बसेर भजनकिर्तन गर्छन्। अर्को दिन देवी देवताका मन्दिरमा पूजापाठ गरी घर फर्कने गरेका छन्। 

पूर्णागिरी मेला अर्थात् चैते दसैँमा भारतका विभिन्न सहरबाट दर्शनार्थीहरू आएर ताल छेउको पूर्णागिरी माताको दर्शन गर्दैै आएका छन्। दर्शनार्थीले मन्दिरमा चढाएका त्रिशुल र रंगिन बस्नले तालको शोभा बढेको छ।

भीमदत्त नगरपालिकाको मटेनाबाट चुरेको जंगल हुँदै दुई घण्टामा तालसम्म पुग्न सकिन्छ। मटेनाबाट गहुँताणी मन्दिर हुँदै ताराकोट भएर झिलमिला पुग्ने गरिएको छ। ब्रह्मदेव र कालिताल झरना बाटो भएर ताराकोट हुँदै तालसम्म पुग्ने बाटा छन्। 

मटेनामा ताराकोटसम्म ९ दशमदव ५ किलोमिटर र त्यसपछि डेढ किलोमिटर दूरी उकालो र तेस्रो बाटो पार गरी तालमा पुग्न सकिन्छ। दर्शनार्थीलाई सहज रूपमा तालसम्म पु¥याउन भीमदत्त नगरपालिकाले तालसम्म पुग्ने मोटरबाटो बनाउन सुरु गरेको छ। मटेना हुँदै ताराकोटसम्म पक्की सडक र त्यसपछि डेढ किलोमिटरमा पदमार्ग निर्माण गर्ने योजना अघि सारिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए।

‘तालको संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्र बनाउने सोचाइका साथ योजना अघि बढाएका छौं,’ उनले भने, ‘यसका लागि संघ र प्रदेश सरकार पनि पहल गरिरहेका छौं।’

ताल नजिक पूजापाठ र बस्नका लागि पूर्वाधार निर्माण गरिएका छन्। धुनीघर, पूजारी घर धर्मशाला बनाइएको छ। धर्मलाशा दुई ओटा छन्। एउटा धर्मशालामा दर्शनार्थी पर्यटकलाई खाना पकाउनका लागि भाँडाकुँडा राखिएका छन्।
अहिले पुजारी बस्ने घरमा यसअघि महात्मा बस्ने गर्थे। उनको निधनपछि पुजारी बस्दै आएका हुन्।  

झिलमिलामा तालको प्रचारप्रसार र पूर्वाधार निर्माण गरिएका छन्। ताल वरिपरि चक्रपथ निर्माण र ताल छेउमा बस्नका लागि बेञ्च राखिएका छन्। ती बेञ्च प्रयोगविहीन छन्। केही बेञ्च घाँसमा छोपिएका छन्। पूर्वी किनारको बेञ्च भने बस्न सकिने अवस्थामा छ। ती बेञ्च प्रयोगविहिन छन्। 

‘तालको प्रचारप्रसारका लागि शिवपुराण लगायौं, शौचालय निर्माण, सोलार जडान लगायत पूर्वाधार बनाएका छौ’ विष्टले भने।

तल उत्तर र पूर्वी किनारबाट बर्खामा आउने माटोले पुरिने गरेको छ। ताल पुरिन नदिन माटो रोकथामका लागि कार्यक्रम गरिनुपर्ने विष्टले बताए। ‘नत्र ताल पुरिन सक्छ, यसका लागि समयमै सचेत हुन आवश्यक छ,’ उनले भने।
झिलमिलालाई पर्यटकीय गन्तव्य बनाउने प्रयास भएका छन्। तत्कालिन जिल्ला समन्वय समितिका सभापति ऋषिराज लुम्सालीले सडक खनेका थिए। जिविसको विश्व खाद्य कार्यक्रम खनिएको सडकमा केही समय गाडी गुडेका थिए। सशस्त्र द्वन्द्वका कारण सवारी सञ्चालन रोकिएको थियो।

धुमपान निषेधका अभियन्ता हेल्प मदन चन्दको हेल्प नेपाल, कञ्चनपुर उद्योग वाणिज्य संघ, राष्ट्रिय सञ्चार केन्द्र लगायतले तालको पर्यटन प्रवद्र्धनलाई सहयोग गरेका छन्।

भीमदत्त नगरपालिका वडा नं. ९ मटेना, ब्रह्मदेव र भीनपा १० तिल्केनीबाट झिलमिला ताल पुग्न सकिन्छ। चुरे फेदमा दुई घण्टा हिँडेपछि ताल छेउमा पुग्ने गरिन्छ। यी तीनै ठाउँका बाटो ताराकोटमा जोडिन्छन्। भीमदत्त नगरपालिकाको भ्यू टावर प्रस्तावित ताराकोटमा यसअघि स्थानीय गोठ थिए। 

चुरे संरक्षण कार्यक्रम सुरु गरिएपछि ती गोठ हटाइएका थिए। ताराकोटबाट माथि झिलमिला हिँडेपछि माछा मासु खान नपाइने भएकाले ताराकोटलाई पिकनिक स्पट बनाउने नगरपालिकाको योजना छ। मटेनाबाट गहुँताणी मन्दिर हुँदै जंगल छिचोल्दै ताराकोट पैदल पुगिन्छ। तिल्केनीको बाटो भएर ताराकोट पुग्न सकिन्छ। डडेलधुराबाट आउनेहरू भने परशुराम नगरपालिका न्वाला गाउँ भएर आउने गरेका छन्।  

 

प्रकाशित: २९ मंसिर २०७५ १०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App