१५ चैत्र २०८० बिहीबार
अन्य

कौशलटार–जडिबुटी चोक पार गर्न डेढ घण्टा

सात वर्षअघि कोटेश्वर–सूर्यविनायक ६ लेनको सडक विस्तार भयो । सडक विस्तार भएसँगै धेरैले सोचेका थिए–अबचाहिँ कोटेश्वर र जडीबुटीको जाम घट्ने भयो । हुन पनि केही समय त त्यस्तै नै भयो । ६ लेनको चिल्लो सडकमा सरर गाडी गुड्थे । जामको त कुनै गुन्जायस नै हुँदैन्थ्यो।

सडकमा चार लेन हाइस्पिड लेन र दुई लेन सर्भिस लेन तथा तीन मिटरको बगैँचा सहितको ‘मेडियन’ बनाइयो । सडकमा सवारी जाम हुँदैनथ्यो । उक्त सडक हेर्नेकै लागि पनि सर्वसाधारणको ओइरो लाग्थ्यो।

जापान सरकारको सहयोगमा २०६५ सालमा सडक निर्माण भएको हो । त्यो बेला उक्त सडकखण्ड उपत्यकाकै नमुना सडकखण्डको रूपमा चिनिन्थ्यो । तर, अहिले सडकको अवस्था पहिलेजस्तो छैन । सडकमा सहजरूपमा यात्रा गर्न त परै जाओस्, पाइलापिच्छे जामको सामना गर्नुपर्ने बाध्यता छ।

सूर्यविनायक–कोटेश्वरको दूरी १२.८ किलोमिटर छ । कार्यालय समयमा यो दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई एक–डेढ घण्टासम्म लाग्ने गरेको छ।

सूर्यविनायक–कोटेश्वरको दूरी १२.८ किलोमिटर छ । कार्यालय समयमा यो दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई एक–डेढ घण्टासम्म लाग्ने गरेको छ । ‘सूर्यविनायकदेखि कोटेश्वरसम्मलाई एक घण्टा समय छुट्टाएर हिँड्नुपर्ने भइसक्यो,’ सूर्यविनायक भक्तपुरकी शर्मिला श्रेष्ठले भनिन्, ‘कतिबेला कहाँ जाममा परिने हो भन्ने थाहा नै हुँदैन । त्यसैले एक घण्टाभन्दा धेरै समय बाटोलाई समय छुटाएर हिँडने गर्छु।’

ट्राफिक नियमअनुसार सहरी क्षेत्रमा प्रतिघन्टा ४० किलोमिटरसम्म गतिमा सवारीसाधन गुडाउन पाइन्छ । यो गतिमा गाडी गुड्न पाउने हो भने सूर्यविनायक–कोटेश्वरको दूरी  १९  मिनेटमै तय गर्न सकिन्छ । तर, अत्यधिक ट्राफिक जामकै कारणले १९ मिनेटमा पार गर्न सकिने दूरीका लागि समेत एक–डेढ घन्टा लाग्ने गरेको छ । सूर्यविनायकदेखि कोटेश्वरसम्म कम्तिमा चार स्थानमा लामो जाम हुने गर्छ । पिक आवरमा कौशलटार, लोकन्थली र जडीबुटी चोक पार गर्न बढीमा डेढ घन्टासम्म लाग्ने गर्छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक दिवसबहादुर जिसीले पिक आवरमा १० मिनेटदेखि एक घन्टासम्मको जाम पर्ने बताउँछन् । भन्छन्, ‘कोटेश्वर चोकको सडक ‘बोत्तलको घाँटी’ जस्तै आकारमा फैलिएको छ । जसको कारणले अत्यधिक जाम हुने गरेको हो,’ उनले भने, ‘कंलकीबाट आएको आठको सडक कोटेश्वरमा आएर दुई लेनमा टुंगिने गर्छ । एयरपोर्ट तर्फबाट चार लेनमा आउने सवारीसाधन पनि कोटेश्वरमा आउनेबित्तिकै खुम्चिन्छ । त्यति मात्रै होइन, तीनकुनेबाट आउने सवारीसाधन पनि दुई लेनमा नै खुम्चिनु पर्दा अत्याधिक सवारीको चाप परेको हो ।’ उनका अनुसार कोटेश्वरको सडक बोत्तलको घाँटी आकारमा रहेकाले पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको हो।

यस्तो छ कोटेश्वरको जामको कारण    
ट्राफिक प्रहरीका अनुसार कोटेश्वर भित्रिने सवारीसाधन पछिल्लो समय अत्याधिक ढंगले वृद्धि भएको छ । कलंकी– कोटेश्वर सडक १०.३९ किलोमिटरको चक्रपथ विस्तार गरेसँगै कोटेश्वरमा सवारीसाधनको अत्याधिक चाप बढेको हो । कलंकीको खसीबजारबाट छुटेको बस १० देखि १५ मिनेटमा सोझै कोटेश्वर भित्रिने गर्छन् । अर्काेतर्फ  चक्रपथमा चल्ने सवारीसाधन गौशालाबाट पनि १० मिनेटकै हाराहारीमा कोटेश्वर चोकमा आइपुग्छ । अर्काेतर्फ बानेश्वरको जाम कटेर अघि बढेको सवारीसाधन पनि  कोटेश्वरमा नै रोकिने गर्छ । अर्काेतर्फ अरनिको राजमार्ग भएर कोटेश्वर भित्रिने सवारीसाधन पनि कोटेश्वर नै ‘सेन्ट्रल प्वाइन्ट’ पर्ने भएकाले सवारीको अत्याधिक चाप बढेको हो।

‘चोक–चोकमा ट्राफिक लाइट भएको खण्डमा सवारीसाधन ‘कन्ट्रोल’ हुन्थे,’ उनले भने, ‘ट्राफिक लाइट नहुँदा सवारीसाधनको चाप कोटेश्वरमा रोकिने देखिएको छ ।’ प्रभागले कोटेश्वर एरिया मातहत दैनिक ६० ट्राफिक खटाएर जाम कम गर्ने प्रयत्न गरिरहेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका अनुसार कोटेश्वरबाट दैनिक पूर्वतर्फ एक लाख १५ हजार सवारीसाधन गुड्ने गर्छन् । जसको कारणले पनि ट्राफिक व्यवस्थापनमा समस्या भएको हो।

पूर्वट्राफिक प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ सहर विस्तारको तुलनामा चोकहरू व्यवस्थापन हुन नसकेकाले जाम बढेको बताउँछन् । ‘सडकको इन्जिनियररिङ अनुसार चोक व्यवस्थापन गर्नै सकेनौँ,’ उनले भने, ‘त्यसले अहिले समस्या देखिएको हो ।’ उनले चोकहरू गाडी घुमाउन मिल्ने गरी ‘ओभल सेप’मा हुनुपर्ने बताए । ‘यहाँका अधिकांश चोक ९० डिग्री कोणमा बनेका छन्,’ श्रेष्ठले भने, ‘दुई–चार सवारी घुम्नेबित्तिकै चोक अस्तव्यस्त हुने अवस्था छ।’

कोटेश्वरमा साँघुरो सडक र अत्यधिक सवारी चापकै कारणले जाम हुने गर्छ । उनका अनुसार ‘पिक आवर’ कोटेश्वर–जडीबुटी क्षेत्रमा गाडी चलाउने जोसुकैले धेरैबेर ट्राफिक जाममा बस्नुपर्छ । भक्तपुरबाट कोटेश्वरतर्फ आउने र कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारीसाधनले जडीबुटी चोकमा केहीबेर नरोकी बाटो छिचोल्नै पाउँदैनन् । यस क्षेत्रमा जाम हुनुको मुख्य कारण नै पेप्सीकोला–काँडाघारीबाट आएका र त्यसतर्फ जाने सवारीसाधन सहजै पार हुने संरचना नहुनु हो । पेप्सीकोला–काँडाघारी तर्फबाट आउने तथा भक्तपुरबाट आएका गाडी त्यतातर्फ जानलाई यो क्षेत्रमा न ‘फ्लाइओभर’ छ, न त ‘अन्डरपास’ नै।

यसरी कम गर्न सकिन्छ कोटेश्वरको जाम
पेप्सीकोलाबाट आएका सवारीसाधनलाई जडीबुटीको कार्यालयतर्फ मोडेर मनहरा पुलमुनिबाट सिधै बालकुमारीतर्फ पास गराउन सकिन्छ । त्यसैगरी भक्तपुरतर्फबाट आई पेप्सीकोलातिर जानेलाई पनि पुलमुनिबाट पठाउन सकिन्छ । प्राविधिक र ट्राफिक व्यवस्थापनका अनुभवीहरू यो कुरामा सहमत देखिन्छन् । ट्राफिक इन्जिनियर आशिष गजुरेल उपत्यकाका पुललाई मात्र प्रयोग गरेर पनि धेरै हदसम्म ट्राफिक जाम हटाउन सकिने बताउँछन् । उनी पुल मुनिबाट सवारीसाधन गुडाएर अल्पकालीन भए पनि जाम कम गर्नुपर्नेमा जोड दिन्छन् । मनहरा, बाग्मती पुल, धोबीखोलाको पुल र विष्णुमती करिडोर सञ्चालनमा ल्याउन सके मात्रै उपत्यकाको १० प्रतिशत ट्राफिक जाम कम गर्न सकिने महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख जिसी बताउँछन्।

‘करिडोर सञ्चालनमा ल्याउन सके मात्रै धेरै हदसम्म जाम कम गर्न सकिन्थ्यो,’ उनले भने, ‘सरोकारवालाले तत्कालै करिडोर खोलेर स्थायी रूपमा सञ्चालनमा ल्याउनुपर्नेछ।’ अरनिको राजमार्गमा जाने अधिकांश सवारीसाधन कोटेश्वरबाट छुट्ने गर्छन् । कोटेश्वर चोक अहिले मिनिबसपार्क जस्तै छ । जनकपुर, ओखलढुंगा, सिन्धुली लगायतका पूर्वी जिल्लामा जाने सवारीसाधन सडकमा नै रोकेर यात्रा चढाउने गरिन्छ । अर्काेतर्फ कोटेश्वर चोकमा नै बस स्टप रहेको छ । जहाँ लामो दूरीका सवारीसाधन दिनभरजस्तै पार्क गरेर राखिएका हुन्छन् । जसको कारणले पनि भक्तपुर, पेप्सीखोला लगायतका स्थानमा चल्ने सवारीसाधन सडकमा नै रोकेर यात्रु चढाउने र झार्ने भएको पनि चोकमा अत्यधिक जाम भएको हो । ‘कोटेश्वर चोकमा रहेको बस पकेट हटाउन सकेमा पनि धेरै हदसम्म जाम कम हुन्थ्यो,’ प्रहरी निरीक्षक जिसीले भने, ‘बस पकेट सडक विभाग मातहत हुने भएकाले ट्राफिक प्रहरीले हटाउन सकेको छैन।’

प्रहरी निरीक्षक जिसीका अनुसार कोटेश्वर चोकमा अन्डरपास तथा फ्लाइओभरको विकल्प नभएको बताउँछन् । ‘कोटेश्वर चोकको दीर्घकालीन जामको अन्त्य गर्नको लागि  अन्डरपास वा फ्लाइओभरको विकल्प छैन,’ उनले भने, ‘अहिले कोटेश्वर चोकमा तीनैतर्फ घुमेको आकाशे पुलको आवश्यकता भइसक्यो।’

प्रकाशित: ३ मंसिर २०७५ ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App