८ वैशाख २०८१ शनिबार
अन्य

‘सकभर मेलमिलापबाटै मुद्दा टुंगाउँछु’

बिणा बाँस्तोला, उपप्रमुख, चाँगुनारायण नगरपालिका

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?
जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नेबित्तिकै नगरसभा सम्पन्न ग-यौं । नगरसभाबाट जनताको आवश्यकता र समस्यालाई मध्यनजर गरेर बजेट तथा नीति कार्यक्रम ल्याएका छौं । चालू आर्थिक वर्षमा प्रत्येक वडाको लागि एक करोड ७० करोड रूपैयाँ बजेट विनियोजन गरेका छौं । प्रत्येक वडामा एउटा सडक बनाउन एक करोड बजेट पनि विनियोजन गरेका छौं । वडाको मुख्य समस्या भनेको नै सडक, खानेपानी र ढल व्यवस्थापन हो । सबै वडालाई समानुपातिक ढंगले बजेट विनियोजन गरेर काम अगाडि बढाइरहेका छौं । सरकारबाट आउने अनुदान रकम कम भएकाले जनताले अपेक्षा अनुसारको धेरै काम गर्न सकेका छैनौं । नगरपालिकाले टार्गेट अनुसार नै आन्तरिकतर्फको राजस्व संकलन गरिरहेका छौं । नगरपरिषद्बाट पारित भएका योजनाको लागत इस्टिमेट तयार पारेर काम अगाडि बढाइसकेका छौं । अबको केही समयभित्रै जनताले अनुभूति गर्ने काम देखिनेछ।

जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जसको कारणले जनताको आंकाक्षा र चाहना धेरै छन् । त्यसैले जनताले अपेक्षा गरेअनुसार काम गर्न सकेका छैनौं । हामीसँग बजेट अत्यन्तै सीमित छ । त्यसैले सोचेअनुसार काम काम गर्न सकिरहेका छैनौं । पर्याप्त बजेट नभएपछि विकास निर्माणको कामलाई अघि बढाउन समस्या भएको हो । तैपनि हामी निराश भएका छैनौं । विभिन्न निकायसँग समन्वय गरेर जनताको अपेक्षा अनुसार नै काम अगाडि बढाइरहेका छौं।

तपाईं न्यायिक समिति संयोजक हुनुहुन्छ? कति मुद्दा आएका छन्?
गत पुसदेखि न्यायिक समितिको गठन गरेर न्यायिक समितिमार्फत् काम गर्दै आइरहेकी छु । न्यायिक समितिमा अहिलेसम्म ७० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये १५ मुद्दाको न्यायिक निरूपण गरिसक्यौं । करिव १५ मुद्दा आफ्नो क्षेत्राधिकार बाहिर भएकाले अदालतमा सिफारिस गरेका पठाएका छौं । करिव आधा दर्जन मुद्दा मेलमिलापबाटै टुंगाएका छौ । अधिकांश मुद्दा जग्गा विवाद,  सम्बन्ध विच्छेद, साँध विवाद लगायतका आउने गर्छन् । त्यस्ता मुद्दा मालपोत र नापी कार्यालयसँग समन्वय गरेर काम अगाडि बढाइरहेको छु।   

कस्ता मुद्दा आउने रैछन् नि?
संविधानले तोके बमोजिम नगरपालिकामा देवयानी खालको मुद्दा आउने गर्छ । विशेष गरी चारकिल्ला सीमाना विवाद, जग्गा मिचेको, बहुविवाह, सम्बन्ध विच्छेद, झैझगडाको मुद्दा आइराखेका छन् । सकभर मेलमिलापबाटै मुद्दा टुंगाउँछु । नमिलेका मुद्दा जिल्ला अदालतमा पठाउनेछौं ।  नगरपालिकामा छुट्टै कानुन अधिकृतको व्यवस्था हुन सकेको छैन । त्यसैले कानुन बुझेकासँग परामर्श गरेर मुद्दा टुंगाउने गरेकी छु।

अन्य नगरपालिकामा मेयर र उपमेयरबीच विवाद चर्काे देखिन्छ, तपाईंको नगरपालिकामा कस्तो छ?
मेयरसा’ब र मबीच कुनै आन्तरिक विवाद छैन । हामी दुवै एउटै राजनीतिक दलबाट आएका छौं । त्यसैले विवाद हुने कुरै भएन । हामी जुनसुकै कुरामा पनि एक–अर्काेसँग सरसल्लाह गरेर काम गर्दै आएका छौं । त्यसैले विवाद हुन नपाएको हो । मेयरसा’ब र म विकास निर्माणका हरेक क्रियाकलापमा छलफल गरेर नै अघि बढिरहेका छौं।

नगर क्षेत्रमा भइरहेका विकास निर्माण योजनाका अनुगमनकर्ता समेत हुनुहुन्छ, के–के समस्या रहेछन्?
गत आर्थिक वर्षमा नगरपरिषद्बाट पारित भएका योजनाहरूको अनुगमन गरिराखेका छौं । वडास्तरीय योजनाहरू समयमा सम्पन्न भइरहेका छन् । तर, केन्द्रीय सरकार मातहत रहेका योजना समयमा नै निर्माण सम्पन्न भएको देखिँदैन । ठेकेदार कम्पनीले अनेक बहानाबाजी र आलटाल गरिरहेको पाएका छौं । सरकारले समयमा नै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनुपर्ने जरुरी भइसक्यो । स–साना योजनामा पनि ठेकेदारले मापदण्ड नअपनाएको भेटाएका छौं । त्यस्ता ठेकेदारलाई फेरि मापदण्ड अनुसार काम गर्न लगाउँछौं । प्रत्येक योजनाको अनगुमन गर्दा सम्बन्धित शाखा र वडा अध्यक्षलाई साथमा लिएर अनुगमन गरेका छौं।

सार्वजनिक जग्गा अतिक्रमण भइरहेका छन्, यसको नियन्त्रण गर्न कस्ता योजना बनाउनुभएको छ?
नगर क्षेत्रमा पर्याप्त मात्रामा सार्वजनिक जग्गा छन् । स्थानीय तह करिव २० वर्ष जनप्रतिनिधिविहीन रह्यो ।  जनप्रतिनिधि नहुनुको फाइदा उठाउँदै नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण आएका छन् । नगर क्षेत्रमा कति सार्वजनिक जग्गा मिचिएका छन् भनेर तथ्यांक निकाल्न सकेका छैनौं । नगरसभाबाट अतिक्रमणमा परेर सार्वजनिक जग्गाको लागत छुट्टाएर संरक्षण गर्ने नीतिगत निर्णय गरिसकेका छौं । मालपोत र नापी कार्यालयसँग समन्वय गरेर अतिक्रमणमा परेका सार्वजनिक जग्गा केही समयभित्रै फिर्ता ल्याउने योजना बनाएका छौं।

तपाईँको नगर क्षेत्रमा खानेपानीको हाहाकार छ, कसरी व्यवस्थापन गर्दे हुनुुहुन्छ?
चाँगुनारायण नगर क्षेत्र भौगोलिक रूपले अग्लो भूभागमा छ । खानेपानीका मुहान पर्याप्त छैन । माग अनुसारको खानेपानी आपूर्ति गर्न नसक्दा नगर क्षेत्रमा खानेपानीको समस्या यथावत् नै छ । नगरपालिकाले वडामा विभिन्न स्थानमा सात ड्रिप बोरिङमार्फत् खानेपानी उपलब्ध गराउँदै आएको छ । तर, त्यो अझै पनि पर्याप्त छैन । प्रत्येक वडामा खानेपानी व्यवस्थापन गर्न २० लाखका दरले बजेट विनियोजन गरेका छौं । नगर क्षेत्रमा दीर्घकालीन खानेपानीको काठमाडौं उपत्यका खानेपानी लिमिटेड,आयोजना कार्यान्वयन निर्देशनालयसँग पटक–पटक अनुरोध गरेका छौं । अहिले डिपिआर निर्माण गर्ने चरणमा छौं । अबको साढे तीन वर्षमा एक घर एक पानीसहितको धारा व्यवस्थापन गर्ने लक्ष्य राखेका छौं।

महिलाको लागि कस्तो योजना अघि सार्नुभएको छ?
नगरपालिकाले महिला सशक्तीकरण र सीपमूलक कार्यक्रममार्फत् महिलाहरूलाई आत्मनिर्भरको बाटोमा लैजानेतर्फ अग्रसर भएका छौं । नगरपालिकाले महिलालक्षित कार्यक्रमको लागि ३५ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट महिलाहरूको लागि लोक सेवाको कक्षा सञ्चालन, ब्युटिसियनको तालिम, मन्टेश्वरी कक्षा, फूलको सजावट, बुकी निर्माण लगायतका विभिन्न तालिम सञ्चालन ग¥यौं । जसबाट करिव पाँच सय महिला लाभान्वित भएका छन् । तालिम लिएका महिलाहरू उद्यमशील क्षेत्रमा सक्रिय छन् । त्यसैगरी नगरपालिकाले सीपमूलक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ।

कस्तो नगर क्षेत्र बनाउने योजना छ?
हामी नमुना नगर क्षेत्र बनाउने अभिभारा लिएर अघि बढिरहेका छौं । नगर क्षेत्रका बासिन्दाको लागि हरेक प्रकारका सेवासुविधा उपलब्ध गराउने योजना लिएर अघि बढ्नेछौं । खानेपानी, सडक, ढल, बिजुली लगायतका सम्पूर्ण पूर्वाधार तयार गरेर जनमैत्री बनाउँदै लैजाने लक्ष्य रहेको छ । नगर क्षेत्रमा हरियाली र वृक्षारोपण गरेर हरियाली बनाउनेछौं।

प्रस्तुतिः हिमाल लम्साल

प्रकाशित: १९ कार्तिक २०७५ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App