दसैँको बिदाइसँगै हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको स्वागतका लागि घरघरमा खानाका थरिथरिका परिकारहरू पाक्न सुरु भइसकेको छ । तिहारमा अधिकांश परिकार तेलमा पकाइन्छन्। तेलमा तारेर बनाइएका परिकारले शरीरमा प्रत्यक्ष असर पार्ने पोषणविद् डा. अरूणा उप्रेती बताउँछिन्।
यतिबेला नेपाली भान्छामा विभिन्न थरिका अन्नको पिठोबाट स्वादिलो खाने कुरा तयार पार्न निकै भ्याइनभ्याइ छ । तिहारमा तयार पारिएका थरिथरिका परिकारलाई पवित्र खानाको परिकारको रूपमा प्रयोग गरिन्छ । तिहारका परिकारको महŒव धार्मिक, सांस्कृतिकरूपमा भए पनि यसको अत्यधिक प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने उनी बताउँछिन्।
तर, शरीरलाई आवश्यक मात्रामा चिल्लो पदार्थ सेवन गर्नुपर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘शरीरलाई चिल्लो पनि चाहिन्छ । तर, चाहिनेभन्दा बढी सेवन गर्दा हानीकारक हुन्छ।
शरीरका लागि आवश्यक परिकार पनि बढी मात्रामा खाए समस्या उत्पन्न हुने उनी बताउँछिन् । ‘शरीरले पचाउन सक्ने भन्दा बढी खुवाउने र खाने चलन कम गर्नुपर्छ,’ उनले भनिन्।
‘हाम्रो समाजमा ‘अघि पछि खाइँदैन, चाडवाडमा त हो नि केही हुन्न’ भन्ने प्रचलन छ, जुन गलत हो,’ उनले भनिन् । । चाडबाडमा खाइने परिकारमा प्रोटिन, कार्वोहाइडेड र चिल्लोको मात्रा धेरै हुने भएकाले खानेकुरामा ध्यान दिनुपर्ने उनको भनाई छ । ‘घरमा आएका पाहुनालाई टन्न कोच्याई कोच्याई जवरजस्ती खुवाइयो भने पाहुनाको सम्मान भएको सोचाई अझै समाजमा यथावत नै छ, जुन गलत हो,’ उनले भनिन्, ‘चाडवाडको समयमा अधिकांश भान्छामा चामलको पिठो प्रयोग गरिन्छ, जसमा अधिक कार्बाेहाइडेड हुन्छ । दुध र घ्युमा प्रोटिन र चिल्लो पदार्थ अत्यधिक हुन्छ जसको दैनिक र अत्यधिक प्रयोग गर्नाले शरीरमा प्रत्यक्ष नकारात्मक असर पर्न सक्छ।’
त्यसैले शरीरलाई आवश्यक पौष्टिक तत्वको अनुमान लगाएर खानेकुरा खानुपर्ने उनको सुझाव छ । ग्यास्ट्राइटिस (ग्यास्टिक)को नेपालीहरूको कमन रोग भएकाले चिल्लो खानुअघि ध्यान दिनुपर्ने उनी सुझाउँछिन्।
मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, मुटुसम्बन्धी समस्या हुनेहरूले विशेष स्वास्थ्यको ख्याल राख्नुपर्ने उनी सुझाउँछिन् । ‘भान्छामा पकाइने खानाहरू सबैलाई एकमेसै बनाउने चलन छ, साना नानीदेखि पाका उमेरसम्मको लागि एउटै भान्छा हुने भएकाले यस विषयमा पनि ध्यान दिनुपर्छ,’ उनले भनिन् । शरीरलाई उमेर अनुसारको प्रोटिन, मिनिरल, क्याल्सियम, आइरन र फाइबर आवश्यक हुने भएकाले मिलाएर खानुपर्ने उनी बताउँछिन् । चाडवाडमा चिल्लोयुक्त मासु, माछाका परिकार, तेलमा तारिएको चिल्लो रोटीका परिकार, सधैंभन्दा बढी र धेरैपटक खाइने भएकाले स्वास्थ्यमा खराब हुन सक्ने उनी बताउँछिन् । ‘चाडवाड भन्नेबित्तिकै धेरै चिल्लो र मसलायुक्त खाना मात्र खानुपर्छ भन्ने छैन, शरीरलाई आवश्यक भिटामिनयुक्त खाना मिलाएर खान सकिन्छ,’ उनले भनिन्।
तिहारको समयलाई मध्यनजर गर्दै तयार पारिने तिहारका परिकार बनाउँदा विशेष ध्यान दिनुपर्ने उनी सुझाउँछिन् । उनी भन्छिन्, ‘घरमा तिहारको लागि तयार पारिने खानाका परिकार बनाउँदा सके शुद्ध घ्यु नभए फ्याट कम हुने खालका तेलको प्रयोग गर्नु उत्तम मानिन्छ ।’ एकपटक प्रयोग गरिएको खारेको तेल धेरै दिन राखेर प्रयोग गर्न नहुने उनी बताउँछिन् । नेपाली भान्छामा तिहारको समयमा आवश्यक भन्दा बढी खानाका परिकार बनाएर राख्ने प्रचलन गलत रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘तिहारको मौका पारेर टन्न रोटी हालेर लामो समयसम्म राखेर खाने प्रचलन छ, जुन गलत हो, धेरै दिनसम्म राख्दा बिग्रने र स्वास्थ्यमा नराम्रो असर गर्छ ।’ उहिले हजुरआमाको पालामा जस्तो शुद्ध तेल, घ्युबाट रोटी नबनाइने हुनाले अहिलेको मिसावट तेल, घ्युबाट तयार पारिएको रोटीले नकारात्मक असर गर्ने उनी बताउँछिन्।
फलफूल र हरियो सागसब्जी नेपाली भान्छामा चाडको समयमा प्रशस्त भए पनि कम प्रयोग गरेको पाइन्छ । हरियो सागपात र फलफूलको दैनिक रूपमा प्रयोग गर्नुपर्ने उनी सुझाउँछिन् । ‘धेरैथरि मरमसलायुक्त मासुका परिकारसँगै चिल्लोयुक्त रोटी बढी खाइयो भने पाचन प्रणालीमा समस्या आउन सक्छ,’ उनले भनिन् । दाजुभाइको आयुको लागि बनाइएका परिकारको मात्रा धेरै र अनियन्त्रित भए त्यहि परिकार जहर हुन सक्ने उनी बताउँछिन्।
चाडवाडमा रमाउँदा स्वास्थ्यलाई पनि ध्यान दिन आवश्यक हुन्छ । अपच र शरीरलाई धेरै हुने गरी खानुपर्ने आवश्यक देखिन्छ । जिब्रोको मिठासका लागि अत्याधिक चिल्लो, पिरो, मसलेदार खानुअघि स्वास्थ्यको ख्याल गर्नुपर्ने पोषणविद् डा. अरूणा उप्रेती सुझाउँछिन् । चाडवाडमा अनियन्त्रित खानाका परिकार खानुभन्दा सागसब्जी मिलाएर खानुपर्ने उनी बताउँछिन् । हरियो सागसब्जीमा रेसादार पदार्थ पर्याप्त हुने भएकाले कब्जियत हुनबाट बचाउने भएकाले शरीरको लागि निकै फाइदाजनक मानिन्छ ।
मोटोपन, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, मुटुको समस्या भएका बिरामीहरूले विशेष ध्यान दिनुपर्ने उनी बताउँछिन् । ‘तिहारको रौनकले झकिझकाउ भएको र रमाइलो गरी मनाउने पर्वमा शारीरिक समस्या हुनुभन्दा अगाडि नै विचार गर्नुपर्छ,’ उनले भनिन् । मौसम अनुसारको फलफूलको जुस बनाएर खानुपर्ने उनी सल्लाह दिन्छिन् । ‘बाहिरबाट मगाइएको चिसो पेय पदार्थ भुलेर पनि नपिउन् यो बिष नै हो,’ उनले भनिन्।
चाडवाडमा खुसी बाँड्ने र आफन्तजनमा आत्मियता हुनुमा खानाको ठूलो भूमिका रहन्छ । खानाको परिकारलाई मिलाएर, आवश्यकता अनुसार चाहिए जति मात्रामा खानु फाइदाजनक हुने उनी बताउँछिन् । ‘चाडवाडमा परिकार खाँदा स्वास्थ्यको ख्याल राख्न सके चाडवाड बेग्लै मज्जा हुन्छ,’ उनले भनिन्।
प्रकाशित: १६ कार्तिक २०७५ ०४:३४ शुक्रबार