coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

अविचल कर्मयोद्धा

बिहानीले टुकुटुकु पाइला टेक्तै गरेको सडकमा
अभावको लबेदा पहिरिएर
नुन र पिठो भेटिने आसमा धूलो बढारिरहेछु ।

कच्याककुचुक पारेर फालिएका प्लाष्टिकका बोतलहरु
आफ्नै जिन्दगी झैँ प्रिय लाग्छन् ।

मक्किएको बोरामा कोचिएका हरेक सामानहरु
मेरै सपना र चाहनाजस्तै भान हुन्छन् ।

बेबारिसे मिल्काइएका प्रत्येक संवेदनाहीन चिजहरुमा
कोमल मुटु र आत्मीय हृदय भेट्छु ।

उमेरको यो दौडमा
सन्तापका थर्मामिटरले त्रासदीय उष्णता नापेर
एकमुठी जिजीविषा बचाइराख्न
हिम्मती बहाव बोक्दै जिन्दगी नदीजस्तै बगिरहन्छ ।

यसबेलै आकाशको छानोमुनि ठडिएको
मेरो महलको मखमली बिछ्यौनामा
प्राकृतिक निद्राहरु बिथाल्दै
मच्छडका सिरिञ्जहरु नसा नसाामा
चुनावी नाराजस्ता नक्कली राहतहरु सञ्चार गरिरहन्छन् ।

ए ! मेरा भरोसाका नायकहरु
यो जाडोको आशन्न
चिसो आगमनको अवश्यम्भावी कँपाइभन्दा
लाखौँ गुणा बढी त मेरो मुटुको कँपाइ छ ।

तिमीहरु विश्वासका किरण झुल्काउँदै
भावनाका फित्ताले उक्लिरहेको गरिबीको रेखाचित्र नापेर
दशकौँदेखि खोक्रिएको मेरो पेटमा भोजन उमार्न सक्छौ ?

प्रकाशित: १० कार्तिक २०७५ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App