१३ जेष्ठ २०७७ मंगलबार
अन्य

नेपालको इतिहासमा असोज

पृथ्वीनारायण शाहको दबदबा वि.सं. १८२२ बढेको थियो र उनको सेना काठमाडौँ राज्यको शोभा भगवतीको वरिपरि आइपुगेका थियो । सेतो मच्छिन्द्रनाथलाई पूजा गर्नका लागि शोभाभगवती नजिकैको विष्णुमतीको पानी ल्याउनुपथ्र्यो । त्यो बेला गोर्खालीहरु शोभा भगवतीछेउमै आइसकेको हुनाले पूजारी (गुभाजु)हरु त्यहाँ जानु सम्भव भएन । काठमाडौँका राजा जयप्रकाश मल्लले केही सिपाहीको व्यवस्था मिलाई पूजारी शोभाभगवती गई, विष्णुमतीबाट पानी ल्याई मच्छिन्द्रनाथको पूजा गरे भन्ने बयान पाइन्छ ।

त्यो बेला मुख्य सहरको वरिपरि किल्ला हुन्थ्यो । ठूलो ढोका हरबखत लगाइएको हुन्थ्यो । यही बडेमाको ढोका फोर्न नसकी गोर्खालीहरु बाहिरै मौका कुरेर बसेका थिए ।

इन्द्रजात्रा आएपछि चाडबाडको मौकामा सबै जना खानपिनमा मग्न हुँदा गोर्खाली सेनाले तीनतिरबाट आक्रमण ग¥यो । तीन ढोकामध्ये भीमसेनस्थान, नरदेवी र टुँडिखेलबाट भएको त्यस आक्रमणमा नरदेवीपट्टिको नेतृत्व पृथ्वीनारायण शाह आफैँले गरेका थिए । तीन तिरबाट आक्रमण भएपछि काठमाडौँका राजा जयप्रकाश मल्ल भागेर पाटनतर्फ लागे । जुन दिन पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरे, त्यो दिन वि.सं. १८२५ असोज १३ गतेको दिन थियो ।

इन्द्रजात्रा चलिरहेको थियो । राजा जयप्रकाश मल्लले कुमारीलाई रथयात्रा गराइरहेका थिए । राजा भागेपछि पृथ्वीनारायण आफैँले जात्रालाई निरन्तरता दिए र कुमारीछेउमा बसे । जब कुनै राजाले सांस्कृतिक कार्यलाई निरन्तरता दिन्छ, ऊ स्वतः त्यसको आधिकारिक व्यक्ति बन्छ । सायद काठमाडौँबासीले उनको त्यस कार्यलाई रुचाए । त्यसैले त्यहाँ कुनै किसिमको विद्रोह नभएको देखिन्छ ।

उता पाटनमा राजा तेजप्रकाश मल्ल थिए । तेजप्रकाशको तेज त्यो बेला नै निभिसकेको थियो । उनीभन्दा बलिया पाटनका मन्त्री थिए । पाटनका ६ प्रधानका नाउँमा उनीहरुले शासन चलाइरहेका हुनाले र मनपर्दी गरेका हुनाले जनता न राजाबाट सन्तुष्ट थिए न त प्रधानहरुबाट नै । यो कमजोरी थाहा पाएका पृथ्वीनारायण शाहले आक्रमण गर्नै परेन । वि.सं. १८२५ असोज २० गते पाटनका राजा तेजप्रकाश र काठमाडौँबाट भागेका राजा जयप्रकाश पाटनबाट भागेर भक्तपुर पुगे । वि.सं. १८२५ असोज २४ गते गोर्खालीहरु सजिलैसँग पाटन सहर प्रवेश गर्न समर्थन भए।

काठमाडौँमा राजा बलिया, पाटनमा प्रधान बलिया र भक्तपुरमा जनता बलिया भन्ने आहान खुब चल्तीमा थियो। काठमाडौँ त्यो बेलाको धनी राज्य थियो । देश धनी हुनु भनेको त्यहाँका शासक बलियो हुनु भइहाल्यो । यस हिसाबले पनि पृथ्वीनारायण शाहले बलियो र धनी राज्य हात पार्न खोजेका थिए । जसअनुसार उनी सफल पनि भए ।

पाटनमा राजाभन्दा प्रधानहरु अर्थात् मन्त्रीहरु बलिया थिए । प्रधानहरु आफ्नो मनमौजीका धनी थिए । त्यसैले राजा कमजोर बन्न पुगे । राजा र प्रजा दुवै कमजोर भएको मुलुकमा शासकलाई कसैले पनि साथ दिने अवस्था हुँदैन । त्यसैले पाटनलाई गोर्खाली सेनाले सजिलैसँग आफ्नो अधिनमा पारे । यो बुझेका तेजप्रकाश र जयप्रकाश भागेर भक्तपुर पुगे । उनीहरु सोझै रणजित् मल्लको दरबारमा शरण लिन जान सकेनन् । रणजित मल्लले पनि सोझै उनीहरुलाई स्वागत गर्न सकेनन् । बरु यसका लागि जनताको राय लिए । जनताले पनि शरणको मरण गर्नु हुँदैन भन्ने राय दिएपछि तेजप्रकाश र जयप्रकाशलाई दरबारमा शरण दिइयो ।

भक्तपुरमा जनता बलिया भन्नुको कारण यही थियो । राजाले जनतासँग सरसल्लाह गरेर निर्णय गर्थे । गोर्खालीलाई युद्धमा जित्न सकिन्न भन्ने कुरा भक्तपुरेलाई थाहा थियो तर शरण माग्न आएकालाई मरण गर्नु हुँदैन, बरु आफ्नो शानका लागि ज्यानै त्याग्नु परे पनि त्यागौँला भन्ने निधो जनताले दिएपछि गोर्खालीसँग भक्तपुरेले युद्ध गरे । 

भक्तपुरका राजा रणजित् मल्ल पृथ्वीनारायण शाहका मितबुबा भएकाले यो राज्य हात पार्न एक वर्षभन्दा बढी समय छलफल चल्यो तापनि गोर्खालीको केही लागेन । जब गोर्खालीहरुले भक्तपुरमा आक्रमण गरे, दुवैतर्फ ठूलो क्षति भयो। 

पृथ्वीनारायण शाह सकेसम्म मान्छे नमरुन् भन्ने चाहन्थे । लुट्ने मान्छेले सकेसम्म बढी क्षति पार्ने प्रयास गर्छ । उनको यो मनसाय थिएन । उनी शासन गर्न चाहन्थे । शासन गर्नेले जनताको मन जित्नैपर्छ । उनीहरुको चित्त दुखाएर शासन सञ्चालन हुन सक्तैन । तर जब भक्तपुरमा गोर्खाली सेना छि-यो, घमासान युद्ध भयो । गोली लागेर जयप्रकाश घाइते भए र भक्तपुर विजय भएको वि.सं. १८२६ मंसिर १ गतेको ६ दिनपछि मंसिर ७ गते उनको निधन भयो ।

जयप्रकाशको निधनपछि श्राद्ध गर्नका लागि पृथ्वीनारायण शाहले रकम दिएका थिए । शक्तिशाली राजाको उनी मान मर्दन गर्न चाहँदैन थिए । त्यसैले ससम्मान उनको श्राद्धका लागि व्यवस्था मिलाइदिएका थिए । जयप्रकाशको मृत्यु भएको दुई सय वर्षपछिसम्म पनि उनको श्राद्धका लागि सरकारले पैसा दिन्थ्यो । यसरी शक्तिशाली राजालाई उचित सम्मान दिने पृथ्वीनारायणले तेजप्रकाशलाई भने जेलमै सडाए ।

आफ्ना मितबुबासमेत रहेका रणजित् मल्ललाई उनकै मागअनुसार माघ १ गतेको साइतमा काठमाडौँ हुँदै काशीबास पठाए । वि.सं. १८२८ जेठ १३ गते डेढ वर्षको काशीवासपछि काशीमै रणजित मल्लको मृत्युभयो । 

कोतपर्वको कुरा

भीमसेन थापाको अवसानपछि नेपालको राजनीतिमा ठूलो अस्थिरता देखिन थाल्यो । यसको कारणमा राजा राजेन्द्र विक्रम शाह कमजोर हुनु पनि हो । उनी कमजोर भएपछि दुई रानीहरु साम्राज्यलक्ष्मी र राज्यलक्ष्मीबीचको चलखेलले पनि बढी स्थान पायो । जब मूल शासकमा कमजोरी आउँछ, भाइभारदारबाट गर्नुपर्ने कर्तव्यमा कमी हुनु कुनै अस्वाभाविक कुरा होइन । यस्तै परिवेशमा कहिले अंग्रेजसँग मित्रभाव लिने, कहिले अंग्रेजको राज्यअन्तर्गतको प्रदेशमा सैन्य पठाएर आक्रमण गर्ने, अंग्रेजको धम्की आएपछि लुरुक्क फर्कनेजस्ता कमजोरी देखाउन थालियो । अब शासनमा केही स्थिरता दिनुप-यो भन्ने भावना पलाउन थाल्यो । सोहीअनुरुप भारततिर रहेका भीमसेन थापाका भतिजा माथवरसिंह थापालाई झिकाइयो ।

माथवरसिंह थापाले शासनमा स्थिरताका लागि गर्नुपर्ने कामभन्दा काका भीमसेन थापालाई कैद गर्नेहरुलाई छानीछानी बदला लिने दाउमा रहे । उनी पहिले मिनिस्टरर पद लिएका थिए पछि प्राइम मिनिस्टरमा बढुवा भए । नेपालको इतिहासमा पहिलो प्राइम मिनिस्टर उनी नै हुन् । धेरैले भीमसेन थापालाई प्रथम प्राइम मिनिस्टरको पदवी दिएको पाइन्छ तर यो प्रामाणिक कुरा होइन । उनको अधिकार प्राइममिनिस्टरको भए पनि पदवी भने दिइएको थिएन । प्रधानमन्त्रीको शक्ति मल्ल कालमा चौतरियाले चलाएका थिए । काजीले पनि त्यत्ति नै शक्ति चलाएका हुन् । काजी कालु पाँडेले प्रधानमन्त्रीकै काम गरेका हुन् । त्यस्ता कुरा धेरै पाइन्छ । लिच्छविकालमा पनि प्रधानमन्त्रीको अधिकार प्रयोग गर्ने गरेका थिए नै तर प्राइममिनिस्टर अर्थात् प्रधानमन्त्री पद पाउने चाहिँ माथवरसिंह थापा नै हुन् ।

माथवरसिंह थापा नेपाल भित्रिदा जेठी रानी साम्राज्यलक्ष्मीको निधन भइसकेको थियो । राज्यलक्ष्मीको जगजगी भइरहेको थियो । राज्यलक्ष्मीको विरुद्ध कसले पो बोल्न सक्ने ? साम्राज्यलक्ष्मीका दुई छोरा थिए, सुरेन्द्र र उपेन्द्र । राज्यलक्ष्मीका पनि दुई छोरा थिए, रणेन्द्र र वीरेन्द्र । राज्यलक्ष्मी भने आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउन खोज्थिन् । 

राज्यलक्ष्मीको महङ्खवाकांक्षा अकारण थिएन । यसअघि पनि रणबहादुर शाहपछि गीर्वाणयुद्ध राजा भएका थिए । जबकि गीर्वाणयुद्धका क्षत्रिनीपट्टिका दुई जना दाजु रणोद्योत शाह र समरशेर शाह छँदैथिए तर मैथिल विधवा ब्राह्मणीबाट जन्मिएका कान्छा गीर्वाणयुद्धलाई राजा बनाइयो । गीर्वाणलाई राजा बनाउन मिल्छ भने सुरेन्द्रको साटो रणेन्द्रलाई किन सकिँदैन भन्ने प्रश्न राज्यलक्ष्मीको थियो ।

माथवरसिंह थापाले न राजा राजेन्द्रलाई खुसी पार्न सके न त रानी राज्यलक्ष्मीलाई । राजा बेखुस हुनुको कारण चाहिँ उनी आउनेबित्तिकै आफ्नो चुरिफुरी देखाउन थाल्नु थियो । त्यो राजाले रुचाएका थिएनन् । रानीको प्रस्ताव रणेन्द्रलाई राजा बनाउने कुरा पनि माथवरसिंह थापाले मानेनन् । त्यसैले माथवरसिंहको हत्या हुन पुग्यो । यसको केही समयपछि चौतरिया फत्यजंग शाहको नेतृत्वमा गगन सिंह, जंगबहादुर र अभिमानसिंह रानामगरसहितको चार जनाको मन्त्रिमण्डल गठन भयो । रणेन्द्रलाई राजा बनाउने उद्देश्यका साथ गगनसिंह पनि अघि बढे । यसबाट बेखुस भएका अर्को पक्षले गगनसिंहले पूजा गरिरहेका बेला उनको हत्या ग-यो । आफ्नो छोरालाई राजा बनाउने सूत्रको हत्या भएपछि रानी राज्यलक्ष्मी उग्रचण्डी भइन् ।

गगनसिंहलाई कसले हत्या ग-यो ? यो कुरा पत्ता लगाउन कोतमा भारदारी सभा बोलाइयो । रात्रिकालिक बैठकमा कति आए, कति आएनन् तर मुख्य व्यक्तिहरु भने भेला भए । जब गगनसिंहको हत्याका प्रसंगमा चर्का आरोपप्रत्यारोप हुन थालेपछि कतिपय बाठा मानिसहरु लुसुक्क निस्किए । राजा राजेन्द्रले विवाद लम्बेको हेर्न सकेनन्, उनले केहीलाई चुप लगाउने प्रयास पनि गरे तर रानी राज्यलक्ष्मीले आँखा तरेपछि उनी बैठकबाटै बाहिरिए । उनी अंग्रेज दूतलाई भेट्न लैनचौर पुगे ।

राजा शक्तिहीन छन् भन्ने दूतलाई थाहा थियो । यतिबेला गडबड अवश्य हुनेछ भन्ने आशंका पनि हुँदो हो । त्यसैले दूतले पनि राजालाई हेपेर राति भेट्दिनँ भनी जवाफ फर्कायो । निराश भएर राजा राजेन्द्र दरबार फर्किए । त्यतिञ्जेलसम्म कोतमा हत्याकाण्ड मच्चिइसकेको थियो ।

फत्यजंग शाह र अभिमानसिंह राना राजाका मान्छे भनेर चिनिन्थे भने गगनसिंह र जंगबहादुर रानीका मान्छे भनेर चिनिन्थे । अभिमान सिंहले गगनसिंहलाई जंगबहादुरले मारेको हो भनी कोतमा हल्ला गरेपछि जंगबहादुर र उनका भाइले काटमार सुरु गरिहाले । वि.सं. १९०३ भदौ ३१ गतेको यस घटनामा ३० भन्दा बढी मानिस मारिए ।

यस घटनापछि जंगबहादुर शक्तिमा आए । तर उनी पनि रणेन्द्रलाई राजा बनाउन तयार भएनन् । उनी सुरेन्द्रका पक्षमा रहे । यसपछि वि.सं. १९०३ कात्तिक १७ गते भण्डारखालमा काण्ड मच्चाई जंगबहादुरलाई मार्ने योजना बुनियो । रानीले वीरध्वज बस्नेत लगायतका मानिसहरु प्रयोग गरेकी थिइन् तर यतिञ्जेल जंगबहादुर बलियो बनिसकेका थिए । रानीले उनलाई केही गर्न सकिनन् ।

रानीले भण्डारखालपछि ठूलो बेइज्जत भोग्नुप-यो । उनी व्यभिचारिणी थिइन् भन्ने कुरा जनजनमा पु-याइएको थियो । उनको नाम गगनसिंहसँग जोडिएको थियो । रानी राज्यलक्ष्मीले गगनसिंहसँग प्रेम गरेको घटना भने उति विश्वसनीय देखिँदैन । वि.सं. १८७४ मा रानी राज्यलक्ष्मी जन्मिएकी थिइन्, गगनसिंह वि.सं. १८५३ मा जन्मिएका थिए । उमेरमा २० वर्षको फरक भएको नोकरसँग कुनै रानी सल्किएको कुरा उति विश्वस्त हुने ठाउँ छैन । बूढाले तरुनी खोज्नु र बूढीले पनि तरुनालाई नै आँखा लगाउनु विश्वासिलो मान्न सकिएला । तर बूढो नोकरमाथि रानीले आँखा लगाइन् भन्नु भनेको उनको बेइज्जती गर्ने एउटा खेलो थियो भन्ने लाग्छ । 

रानी वि.सं. १९०३ कात्तिक २६ गते काशी गइन् । त्यो बेला पनि रानी दलबहादुर थापासँग सल्किएकी छन् भनेर खुबै हल्ला चलाइएको थियो । रानी निकै वर्ष बाँचिन् र एक किसिमको अपयश बोकेर बाँचिन् । दलबहादुर जंगबहादुर आफैँले नियुक्त गरेको मानिस थिए । रानीको सेवा गर्न र सेवासँगै गोप्य षड्यन्त्र होला कि भनी पत्ता लगाउका राखेको मानिसका रुपमा दलबहादुरको नाम छ । जब रानीको षड्यन्त्र काम लाग्दैन भन्ने जंगबहादुरले थाहा पाए, उनले दलबहादुरलाई फिर्ता बोलाएर आफ्नो काममा लगाए ।

त्यसै पनि स्त्रीको चरित्रमा दाग लगाइदिए मात्र पुग्छ, हो कि होइन भनेर कसैले सत्यतथ्य पत्ता लगाउँदैन । फेरि कसैलाई यौनको आक्षेप नै उसका लागि सजाय बन्न पुग्छ । रानीको सन्दर्भमा पहिल्यैदेखि यस्तो दाग लगाइएको थियो । किनभने उनलाई यस्तो दाग नलगाइएको खण्डमा उनलाई अँचेट्न गाह्रो हुन्छ भन्ने थाहा थियो । तसर्थ, रानीमाथिको आरोपमा सत्यताको मात्रा निकै कम देखिन्छ ।

रानीलाई काशी वास गराएको केही कालसम्म पनि उनले जंगबहादुरलाई सखाप पार्नका लागि कयौँ षड्यन्त्र गरिरहिन्। पछि नसकेर हार मानेपछि र खर्चबर्चसमेत नहुने अवस्था आएपछि उनी जंगबहादुरको शरणमा परिन् । जब राज्यलक्ष्मी भुत्ते भइन्, अनि उनमाथि लगाइएको व्यभिचारिणी चरित्र कम हुँदै गयो । 

यसरी एउटी रानीको महङ्खवाकांक्षाका कारण कोतपर्व र भण्डारखालपर्व मच्चिन पुग्यो र कयौँ सपुतको हत्या हुन पुग्यो ।

जंगबहादुरको उदय त्यस समयको माग थियो । उनी नभइदिएको भए अहिले नेपालको जुन स्वतन्त्रता छ, त्यो नहुन सक्थ्यो । उनले अंग्रेजलाई आफू उनीहरुकै हुँ भनी आश्वस्त पारेर नेपालमा अंग्रेजको सैन्य गतिविधिलाई छिर्न दिएनन् । जंगबहादुर अंग्रेजका विरोधी भएको भए जसरी भए पनि सिध्याउँथ्यो । 

प्रकाशित: ३० आश्विन २०७५ १६:१५ मंगलबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App