८ वैशाख २०८१ शनिबार
अन्य

‘चुनावी अजेन्डामा टेकेर काम गरेका छौंं’

मुना अधिकारी, उपमेयर गोदावरी नगरपालिका, ललितपुर

जनप्रतिनिधि भएर जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?
जनताले भोगेका प्रत्यक्ष समस्यालाई हामीले मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं । चुनावी अजेन्डाभित्र समेटिएका  केही काम भएका छन् । सुरू–सुरूमा त हामीलाई काम गर्न निकै चुनौति भयो । चुनौतिलाई व्यवस्थापन गर्दै अहिले विकासका काम सुरू गरिसकेका छौं । गोदावरी क्षेत्रमा खानेपानी र सडकको समस्या छ । त्यसको लागि हामीले सडक विभागसँग मिलेर काम गर्दैछौं । सडक विभागले पनि यसमा तदारुकता देखाएको छ । नगर क्षेत्र आसपासको पाँच किमी सडक कालोपत्रे गर्ने, खानेपानीको डिप बोरिङ गर्नेलगायत धेरै काम सुरु भएका छन् । त्यस्तै, सातदोबाटो–गोदवरी, छम्पी जोड्ने सडक र  चापागाउँ सडकलाई कालोपत्रे गर्ने योजना पनि बनाएका छौं।

तपाईँ न्यायिक समिति संयोजक हुनुहुन्छ ? कति मुद्दा आएका छन्?
गत बर्ष ७६ वटा मुद्धा दर्ता भएका थिए । त्यसमा ४६ वटा मुद्धा छलफलबाट टुंगायौं । अरु हेरफेरकै क्रममा छन् । हामीले सक्ने खालका मुद्धा मिलाइदिएका छौं । यो बर्ष २९ वटा मुद्धा परेका छन् । गोदावरी क्षेत्रमा सबैभन्दा बढी मुद्धा जग्गाकै विषयमा आउने गरेका छन्।

तपाईको नगरपालिकाले अनावश्यक कर उठायो भनेर आलोचना भइरहेको छ, न्युनतम् सेवा नदिने तर, मनपरी कर किन उठायो?
हामीले अनावश्यक कर संकलन गरेकै होइनौं । बरू कर तिर्नबाट पन्छिएकालाई करको दायरामा ल्याएका छौं । जनतालाई भार पर्नेगरी करको दर बढाएका छैनौं । केहीले हल्ला मात्रै फैलाएका हुन्।

स्थानीय कस्ता–कस्ता समस्या बोकेर आउँछन्?
धेरैले नक्सापास नमिलेको, राहत नपाउँदा घर बनाउन नपाएको, प्राधिकरणले मापदण्ड नतोकिदिएको, घर बनाउन प्राविधिक समस्या भएकोलगायत गुनासा लिएर आउँछन् । खानेपानी, सडक, फोहर व्यवस्थापनको समस्या स्थानीयले सुझाएका छन् । त्यसमा हामी चासो दिएर काम थालेका छौं।

भूकम्पपीडितका समस्या समाधानको लागि नगरपालिकाले किन चासो दिएन?
हामीले चासो दिएका छौं । पटक–पटक प्राधिकरणलाई गुहारेका छौं । स्थानीयलाई सामान्य कुरामा नझुलाउन आग्रह पनि गरेका छौं । तर, प्राधिकरणले त्यति चासो दिएको छैन।

अन्य नगरपालिकामा मेयर र उपमेयरबीच विवाद देखिन्छ, तपाईँहरूकहाँ कस्तो छ?
मेरोमा नगरपालिकामा त्यस्तो समस्या छैन । सबै पक्ष मिलेको छ । कर्मचारीलाई मिलाएर पदीय जिम्मेवारी दिएका छौं । जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न सुझाएका छौं । कर्मचारीले गरेका कतिपय काममा हामीले अनुगमन र निगरानी पनि राखेका छौं । प्रशासनिक काममा जनताले कुनै किसिमको दुःख नपाउन् भन्ने हाम्रो ध्येय हो।

दशै–तिहार नजिकिँदै छ, त्यसलाई लक्षित गरेर बजार अनुगमन कसरी गर्दै हुनुहुन्छ?
हामीले चार्डपर्वलक्षित अनुगमन समिति बनाइसकेका छौं । हरेक पसलमा अनुगमन गर्ने, सुरक्षा निकायसँग मिलेर सुरक्षा व्यवस्थालाई पनि चुस्त पार्नेजस्ता योजना बनिसकेका छन् । केही दिनमा बजार अनुगमन थाल्छौं।

तपाई नगरपालिकाको विकास निर्माण योजनाको अनुगमनकर्ता समेत हुनुहुन्छ, के–के समस्या रहेछन्?
अहिलेसम्म त्यतिधेरै समस्या देखिएका छैनन् । हामीले नगरपालिकाभित्र भएका हरेक विकास निर्माणका कामको अनुगमन गरेका छौं । त्यसको पाविधिक पक्षलाई पनि हेर्ने गरेका छौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
सर्वप्रथम पहिलेका योजनालाई निरन्तरता दिएका छौं । भ्यूटावर, खेलमैदान, चिस्यान केन्द्र, गोदावरी कुण्ड, प्लटु पढाई हुने स्कूल बनाउनेलगायत योजना अघि सारेका छौं । यसपाली नगर क्षेत्रमा थप प्राविधिकि कलेजको लागि पनि एक करोडको योजना पारेका छौं । नगर क्षेत्रका सडक कालोपत्र गर्न ३ करोड बजेट छुट्याएका छौं।

महिलाको लागि कस्तो योजना अघि सार्नुभएको छ?
किशोरीहरूलाई आन्तनिर्भर हुने खालका तालिम दिने, शिशु स्याहार केन्द्र स्थापना गर्ने, रोजगार सिर्जना गर्ने, महिलालाई उत्पादनमा लाग्न उत्प्रेरित गर्नेजस्ता धेरै योजना अघि सारेका छौं । त्यसको लागि बजेट पनि छुट्याएका छौं । देवीचौर र लेलेलाई हस्तकलाका रुपमा विकास गर्ने हाम्रो योजना छ।

तपाईको नगरपालिकाभित्र अवैध रुपमा सञ्चालनमा भएका खानीको विषयमा विवाद आइरहन्छ, त्यसलाई किन रोक्न सक्नुभएन?
 हामीले वैध र अवैध खानी कति छन् भनेर सबै अनुगमन गरेको अवस्था हो । अवैध खानी बन्द गरेका छौं । नियमित रुपमा चल्दै आएका खानीलाई पनि केन्द्रिय सरकारको मापदण्ड अनुसार चल्न दिइका छौं।

आफ्नो कार्यकालत्रिभ नगरपालिकालाई कस्तो बनाउने सपना छ?
कार्यकालभित्र असाध्यै समृद्ध र व्यवस्थित नगरपालिका बनाउने मेरो सपना छ । यसबाहेक पर्यटन क्षेत्रको विकास गर्ने,  उद्योग कारखाना खोल्ने, रोजगार सिर्जना गर्नेलगायत योजना छन्  । ती योजनालाई मुर्त रुप दिनका लागि हामी कस्सिएका छौं।

गोदावरी नगरपालिका पर्यटन क्षेत्रको लागि आर्कषक मानिन्छ, त्यसको प्रवद्र्धन र विकासको लागि कस्तो योजना योजना छ?
देवीचौरमा भ्युटावर बनाउने, गोदावरीलाई नगरकोटजस्तै बनाउने, सडक विस्तार गर्ने, कोटडाँडामा पर्यटक तान्ने कार्यक्रमको थालनी गर्नेजस्ता धेरै योजना हामीले अघि सारेका छाैं।

कृषि क्षेत्रको विकासको लागि कस्तो योजना छ?
देवीचोर र लेलेमा बढी तरकारी खेती हुन्छ । यो क्षेत्रमा चिस्यान केन्द्र (कोल्ड स्टोर) बनाउने योजना सारेका छौं । नगरपालिकाको ११ वडामा तरकारी संकलन केन्द्र बनाउने योजना  छ।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: २२ आश्विन २०७५ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App