२२ असार २०७७ सोमबार
अन्य

उपत्यकाका किसानलाई धान काट्ने चटारो

कागेश्वरी मनोहरा नगरपालिका–८ मूलपानीका किसान खेतमा काम गर्दै। तस्बिर : श्याम राई

काठमाडौंका किसानलाई धान भित्र्याउने चटारो छ। बस्ती बस्न बाँकी रहेको उपत्यकाको काँठ क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो लागेको हो। 

वर्षेनी दसैंको आसपासमा उपत्यकाको किसानलाई धान भित्र्याउने चटारो हुने गरेको छ । दसैंअघि नै धान भित्र्याएर फुर्सदमा दसैं मनाउने तयारीमा किसानहरू जुटेका छन्। 

दसै नजिकिएसँगै धान काटेर भित्र्याउने चटारोमा परेको कागेश्वरी मनोहरा नगरपालिका– ८ मूलपानीका किसान मैया कार्कीले बताइन् । ‘दसंै नजिकिँदै छ, धान भित्र्याउनेमा व्यस्त छौँ,’ उनले सुनाइन्, ‘अहिले सबै काम सकायो भने आनन्दले दसंै मनाउन पाइन्छ ।’ उनका अनुसार पहिलेदेखि नै चाडपर्व नजिकिँदा किसानहरूलाई  धान भित्र्याउने चटारो हुन्छ । पछिल्लो समयमा पाकेको फसल भित्र्याउने जनशक्ति अभाव परेको उनले बताइन् । धान काट्ने बेलामा जनशक्ति नहुँदा तराईका जिल्लाबाट कामदार मगाएर धान काटेर भित्र्याउने गरिन्छ । कार्कीका अनुसार कामदार सहजै पाइँदैन । पालो कुरेर कामदार लगाउनुपर्छ। 

पर्म गर्न नसकेपछि दिनको लाठेको १५ सय र महिलालाई १ हजार रूपैयाँ दिएर काम गराउँदै आएका किसानहरूको भनाई छ । धान काट्न र भित्र्याउने मात्रै १८ हजार भन्दा बढी खर्च हुने गर्छ । करिब दुई रोपनी जग्गाबाट ७ मुरी धान भित्र्याउने गरेको उनले बताइन् । अहिलेसम्म धान रोप्दै आए पनि जनशक्तिको अभावले पछिल्लो समयमा विस्तारै धान रोप्ने प्रचलन हराउँदै जाने उनको अनुमान छ। 

बिहानदेिख नै धान काट्ने र झार्ने काममा व्यस्त भएको मूलपानीका अर्का कृषक मावन कार्कीले बताइन् । ‘दसैं नजिकिँदैछ सबै काम त अहिले सकाउनुप¥यो,’ उनले भनिन्, ‘दसैंका बेलामा त काम गरिन्न । साथीभाइसँग रमाइलो पो गर्नुपर्छ ।’ कामको व्यस्तताले खाजा समेत खान नपाएको बताइन्। 

मूलपानीका सबै किसानहरू खेतमा देखिन्छन् । तर, यही समयमा काम गर्ने जनशक्तिको अभाव पर्छ । कामदार पाए पनि ज्याला दिनुपर्ने हुँदा धानको मूल्यभन्दा पनि बढी खर्च हुने गरेको कार्कीले गुनासो गरिन् । उनका अनुसार दिनमा ८ कामदार राख्दा करिब १५ हजार रूपैयाँ खर्च हुन्छ । बाहिर देशको  खाद्मन्न आम मानिसहरूले उपभोग गर्दै आएकोले विस्तारै धान रोप्ने प्रचलन हराउदै जान्छ कि भन्ने चिन्तामा परेको उनले सुनाइन्। 

काठमाडौं उपत्यकामा मलिलो र उर्वर माटो भएकाले खेतीपातीका लागि योग्य मानिन्छ । पानीको पनि त्यस्तै सुविधा छ । तर, पछिल्लो समय यो उर्वर भूमिमा घर लगायतका अन्य संरचना बनेकाले खेतीयोग्य जमिन मासिँदै गएको छ । भौतिक संरचना नबनेका खाली जग्गा भक्तपुर, ललितपुर, कागेश्वरी मनोहरा, चागुनारायण लगायतका ठाउँहरूमा भने किसानले धान रोप्ने प्रचलन अझै छ। 

प्रकाशित: १९ आश्विन २०७५ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App